श्यामप्रसादको जन्म वि.सं. १९८६ असार ६ गते तत्कालीन ललितपुर र हाल मकवानपुर जिल्लाको मन्थली गाविसको सोलीथुम गाउँमा भएको हो । उनकी माताको नाम हुतुकुमारी देवी र पिताको नाम जोगनाथ उपाध्याय हो । वंशगत थर लामिछाने भए पनि र आफ्ना पिताले ब्राह्मणगत श्रेष्ठता देखाउन उपाध्याय थर लेख्ने गरेको देखिए तापनि नेपाली वाङ्मयका क्षेत्रमा यी श्यामप्रसाद र श्यामप्रसाद शर्माका नामबाट सुपरिचित छन् । दश कक्षासम्मको मात्र औपचारिक शिक्षा प्राप्त गरेका श्यामप्रसादले स्वाध्यायबाटै विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूमा धाएर माथापच्चिसी गर्दा गर्दा विद्यावारिधि र महाविद्यावारिधिका उपाधि लिनेहरूलाई पछारेका छन् र आफ्नो बहुआयामिक व्यक्तित्व र कृतित्वको आलोक फैलाएका छन् ।
मकैको खेती पुस्तक लेखेबापत कृष्णलाल अधिकारीले पाएको दण्ड, भारतमा चलिरहेको अङ्ग्रेज भगाउ आन्दोलन, वि.सं.१९९७ को सहिद काण्ड आदिबाट प्रभावित भएर राजनीतितिर आकर्षित भएका श्यामप्रसाद सुवर्णशमसशेर, सूर्यप्रसाद उपाध्यायका पिता शङ्करप्रसाद, मनमोहन अधिकारीका काका बाबुराम अधिकारीबाट समेत प्रेरित र प्रभावित भई सक्रिय राजनीतिमा संलग्न भएका थिए । वि.सं.२००४ मा राष्ट्रिय काङ्ग्रेसको आह्वानमा भएको सत्याग्रहमा उनको पनि सक्रिय थियो । कृष्णप्रसाद भट्टराई र दयाशङ्कर मुन्सीहरू भारतको रक्सौलमा निर्वासित जीवन बिताउँदै श्यामप्रसादलगायतका युवालाई राजनीतिक प्रशिक्षण दिने गर्थे । श्यामप्रसाद र अन्य साथी वीरगन्जमा नारा जुलुस गरेर राणा शासनको विरोध गर्थे । राणाशासन विरोधी पहिलो अहिंसात्मक, सविनय अवज्ञा सत्याग्रह आन्दोलनको पहिलो डफ्फामा छानिएका श्यामप्रसाद वि.सं.२००४ असोज २२ मा पक्राउ परेपछि एक महिना जेल जीवन बिताएर मुक्त भएका थिए ।
वि.सं. २००५ माघ १३ मा उनी दोस्रो पटक पक्राउ परेर वि.सं. २००६ मा जेलबाट छुटे पनि काठमाडौँ उपत्यकाबाहिर जान नपाउने गरी नजरबन्दमा राखिएका थिए । उनले राणा विरोधी आन्दोलनलाई थप सशक्त पार्न पाँच भाइ संगठन निर्माण गरी यसको निर्देशनमा सन्देश साहित्यिक पत्रिका र कोसेली भूमिगत राजनीतिक (हस्तलिखित) पत्रिका प्रकाशन गरेका थिए । वि.सं. २००७ जेठमा राइटर विष्णुप्रसाद ढुङ्गेल र उमानाथ शास्त्रीलाई नेपालको राजनीतिलाई अहिलेदेखि नै समाजवादी मोड दिनुपर्छ भन्ने आशयको पत्र लेखेको अभियोगमा श्यामप्रसादलाई तेस्रो पटक जेल चलान गरिएको थियो । यस अवधिमा उनले जेलभित्रका राजनीतिक बन्दीलाई सङ्गठित गरी जनसाहित्य मण्डल र प्रगतिशील तरूण समाज नामक सङ्गठन निर्माण गरी प्रशिक्षणसमेत दिए । ज्वाला, तरूण र गुनासो जस्ता स्लेटपत्र जेलभित्रैबाट प्रकाशन गरे । उनले थुनामा रहँदा लेखेका दैनिकीलाई थुनुवाको डायरीका रूपमा प्रकाशन पनि गरेका छन् । वि.सं.२००७ पुस २७ गते उनी तेस्रो पटकको जेल जीवनबाट मुक्त भए ।
पुष्पलालको सक्रियतामा वि.सं.२००६ मै स्थापना भइसकेको नेपाल कम्युनिस्ट पार्टीमा पुष्पलाल धनुषचन्द्र गौतम, मदनमणि दीक्षित, महेशमणि दीक्षित, रत्नदास वैद्यमार्फत् सङ्गठित हुन्छन् । महाधिवेशनमा केन्द्रीय कमिटीमा बस्न प्रस्ताव आउँदा कसैलाई पनि एकै पटक केन्द्रीय नेतृत्वमा लैजान नहुने भनेर उनले यसलाई अस्वीकार गरे । यही क्रममा जनमत, मसाल, नवयुग जस्ता पार्टी पत्रिकाको सम्पादन÷प्रकाशनको जिम्मेवारीसमेत बहन गरे । वि.सं.२०१७ पुस १ गते राजाले निर्दलीय पञ्चायती व्यवस्था थोपरेर पार्टीहरूलाई प्रतिबन्धित गरे पनि उनी अविचल भई पार्टी काममा डटेर खटिरहे । वि.सं.२०२४ पुसदेखि भने पूर्ण भूमिगत भए । भूमिगत अवस्थामै छुट्टै सङ्गठन आवश्यकता बोध गरी आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट संगठन निर्माण गरे । कट्टर सनातनी ब्राह्मण परिवारमा जन्मेर अनि राणाहरूको पारिवारिक सङ्गतमा रहँदै हुर्केर पनि वर्गीय मुक्तिको आन्दोलनमा होमिएका श्यामप्रसाद निर्भीक, न्यायप्रेमी र दृढ स्वभावका देखा पर्दै गए ।
वि.सं. २००१ सालमा प्रकाशित गाउँको सफाइ नामक रचना नै उनको प्रथम प्रकाशित रचना हो । उनको पहिलो साहित्यिक रचना भने वि.सं. २००२ सालमा उदय पत्रिकामा प्रकाशित हिन्दी कविताको अनुवाद सन्देश हो । वि.सं. २००७ मा बाल शिक्षा नामक सानो पुस्तिका छपाएर बालबालिकाको शिक्षामा जोड दिएका श्यामप्रसादको वि.सं. २००८ मा प्रकाशित बहिनीलाई चिठी (भाग–१) पहिलो पुस्तकाकार साहित्यिक कृति हो । हालसम्म ११२ कृति प्रकाशित गरेका छन् उनले । श्यामप्रसाद संलग्न भएको पहिलो संस्था सेवा सदन हो । आफ्नै घरमा वि.सं. २००२ सालमा पुस्तक पसलका रूपमा सञ्चालन सुरु गरेको सेवा सदनका माध्यमबाट वि.सं. २००८ सालदेखि सेवा नामक साहित्यिक मासिक पत्रिका प्रकाशन प्रारम्भ गरेका थिए । यो पत्रिका नै प्रगतिशील शब्द उल्लेख भएको नेपालबाट प्रकाशित पहिलो पत्रिका हो ।
श्यामप्रसादले २०१९ साल असार २५ देखि ३० सम्म मस्कोमा सम्पन्न निरस्त्रीकरण तथा विश्व शान्ति सम्मेलनमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेका थिए । त्यस्तै २०१९ सालकै साउन २२ देखि २६ गतेसम्म हङ्गेरीको राजधानी बुडापेस्टमा भएको पत्रकारहरूको अन्तर्राष्ट्रिय सङ्गठनको पाँचौँ महाधिवेशनमा समेत उनले प्रथम नेपाली पत्रकारका रूपमा भाग लिएका थिए । श्यामप्रसादले दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गरेका छन् । उनका कृति भाषिक दृष्टिले सरल, सरस र बोधगम्य छन् अनि समाजवादी यथार्थवादी अर्थात् प्रगतिवादी विचारले ओतप्रोत छन् । हाल विस्मरण रोगबाट ग्रस्त श्यामप्रसादले गरेको साहित्यिक योगदानको मात्र होइन, साहित्येतर क्षेत्रमा गरेका गम्भीर चिन्तन, विश्लेषण र योगदानको समेत तत्तत् क्षेत्रबाट अध्ययन एवम् अनुसन्धान हुनु आवश्यक छ ।
प्रकाशित: २८ वैशाख २०७३ १९:०५ मंगलबार