हो, मानिसको जीवनमा पिताको भन्दा माताको स्थान उच्च छ। तर, मातासँगै पिताको महत्व पनि कम छैन। वास्तवमा हरेक मानिस बाबु–आमाका एक नयाँ रूप नै त हुन्। छोरा–छोरीको पुरुषार्थ देखेर निःस्वार्थ आनन्द लिने व्यक्तिमात्र बाबु–आमा हुन्छन्।
माताका २१ नाम
माताका २१ नामको ठूलो महत्व छ। मातृत्वमा निहित ममता, स्नेह, करुणा जस्ता गुण र निःस्वार्थ स्वभावको चिनारी गराउने माताका २१ नाम यस प्रकार छन्– १. माता (आमा) २. धरित्री, ३. जननी ४. दयार्द्रह्दय ५. शिवा ६. देवी ७. त्रिभुवनश्रेष्ठा ८. निर्दोषा ९. सर्वदुःखहा १०. परमाराधनिया ११. दया १२. शक्ति १३. क्षमा १४. धृति १५. स्वाहा १६. स्वधा १७ गौरी १८ पद्मा १९. विजया २०. जया तथा २१. दुःखहन्त्री। यी प्रत्येक नामले माताको महनीय बिम्बलाई आत्मसात् गराउँछन्। उक्त २१ नामहरूको श्रवण र मनन गरी माताको महिमा बुझेर सम्मान, सेवा र सत्कार गर्ने सन्तानहरू दुःखबाट मुक्त हुन्छन्।
तर, कतिपय मानिसको जीवनमा माताको यो महत्व एक रत्ति पनि भेटिँदैन। त्यसैले त आफ्नी आमालाई भरपूर सम्मान, सेवा र सत्कार गर्ने ठाउँमा बूढी भएकी आमालाई आश्रममा राख्ने तथा सडकमा बेसहारा छाडिदिने छोराछोरी पनि थुप्रै छन् यहाँ। यसरी नै आफ्नो स्वार्थका लागि मातृभूमिलाई नै जातका नाममा, धर्म–संस्कृतिका नाममा टुक्रा–टुक्रा पार्न खोज्ने नक्कली नेताहरू पनि कम छैनन् यहाँ।
मातातीर्थ औंसी
नेपाली समाजमा वैशाख कृष्णपक्ष औंसीलाई मातातीर्थ औंसीका रूपमा मनाइन्छ। यस दिनलाई मातृ दिवस तथा आमाको मुख हेर्ने दिन पनि भनिन्छ। यस दिन छोराछोरीले बिहानै उठी स्नान गरी आफ्नी आमालाई राम्राराम्रा लुगा तथा मीठामीठा खानेकुरा दिई र शास्त्रीय मान्यताअनुसार गुरु र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्दै आशीर्वाद थाप्ने चलन छ। यस दिनलाई संसारभर रहेका नेपालीले मनाउँछन्।
आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् र कष्टपूर्ण काम सम्झने गर्छन्। शास्त्रमा हरेक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। यस दिन दिवंगत आमाको सम्झनामा थानकोट नजिक मातातीर्थमा ठूलो मेला लाग्छ । आमा नहुने नरनारी बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर(विष्णु र शिव)को दर्शन र पूजा गर्छन्। सो तीर्थ परिसरमा सबैकी आमाको प्रतीकका रूपमा साझा आमाको मूर्ति पनि स्थापित छ।
मातातीर्थको उत्पत्ति सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्ष पहिला त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो। एक दिन एउटा गोठालाले उक्त चौरमा फयाँकेको रोटीको टुक्रा हरायो। उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फयाँक्यो, त्यो पनि हरायो। अरु गोठालाले पनि रोटीका टुक्रा फयाँके। तर आमा जीवित हुने गोठालाहरुले फयाँकेका रोटी त्यहीँ रहे। आमा नहुने गोठालाले फ्याँकेका रोटीमात्र गायब भए। कथाअनुसार पहिलो चोटि रोटी फ्याँक्नेकी पनि आमा थिइनन्। त्यो दिन वैशाख कृष्णपक्षको औंसी थियो। दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन। यो कुरा चाल पाएपछि गाउँलेले औंसीका दिन मृत आमाहरु त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदारहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाइ मातातीर्थ नामकरण गरे। यसरी हरेक वर्ष यस दिन आमा नहुनेहरुले त्यो कुण्डमा नुहाएर मीठामीठा खाद्यवस्तु चढाई मातृ दिवस मनाउन थालेका हुन्।
नेपालमा जस्तै अन्य देशमा पनि आआफ्ना मान्यताका साथ मातृ दिवस अर्थात मदर्स डे मनाउने गरिन्छ। अमेरिकालगायतका कतिपय देशमा मे महिनाको दोस्रो आइताबारलाई मदर्स डे का रूपमा मनाउने गरेको पाइन्छ।
मातृभूमि
आमा छोराछोरीकी माता हुन्। देश जनताकी माता हुन्। त्यसैले त जन्मथलो (देश)लाई मातृभूमि भन्ने गरिन्छ। वास्तवमा माता र मातृभूमि एउटै कुरा हुन्। त्यसैले त भनिएको छ– जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी अर्थात् माता र मातृमूमि स्वर्गभन्दा पनि गरिमामय हुन्छन्। तर हाम्रा अधिकांश नेताका लागि मातृभूमि आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा कहिल्यै गरिमामय भएन। नेपाल यति पिछडिनु र विदेशीको हस्तक्षेपले हाम्रो मातृभूमि हरेक दिन बलात् हुनुपर्ने कारण पनि यही हो।
पुछारमा
भनिन्छ– 'अरुको लाख, आमाको काख।' आमाको काख मात्रै भए पनि सन्तानका लागि त्यो स्वर्ग हो। त्यही स्वर्गमा हुर्कन पाउनेहरु संसारका सबैभन्दा बढी भाग्यमानी हुन्छन्। आमाको कोखमा ९ महिना बसेर आमाकै काखमा हुर्कन पाउनु सन्तानका लागि सबैभन्दा ठुलो भाग्य हो। तर कसैलाई पनि सधैभरि आमाको काख प्राप्त हुँदैन। त्यो किनभने मानिसको मृत्यु अवश्यम्भावी छ, मानिस जन्मिएपछि सबैलाई ढिलो/चाँडो मर्नैपर्छ। हो, मानिस जन्मन्छन्, अनि मर्छन्। मानिस मरेपछि उसको भौतिक शरीर खरानी बन्छ, माटोमा मिल्छ। बाँकी केही रहन्छ भने मानिसका विचार, उनीहरूले गरेका कर्म तथा सम्झनामात्र। त्यसैले त कतिपय आफ्ना र राम्रा अनुहार बेलाबेलामा स्मृतिमा आउने गर्छन्।
मनोविद्
प्रकाशित: २३ वैशाख २०७३ २१:२० बिहीबार