विचार

मानिसकै काँध चढ्दासम्म

'नागरिक'को वैशाख २०७३ को हृदयस्पर्शी सम्पादकीय महानगरका 'मनु मित्र' ले मन झस्काएपछि केही लेख्न कुत्कुत्यायो। वस्तुतः सभ्यताको आदिम अवस्थामा आफैं पशुतुल्य मानिसले आफु सभ्यताको चरम चुलीमा पुगेको अवस्थामा अत्यन्त संवेदनशील पशुभित्र कुकुरप्रतिको व्यवहारमा परिवर्तन गर्न नसकेको कुरा कटु यथार्थ हो।र, मानिसले आफ्नो सहज जीवनयापनमा कुकुरबाट पाएको सहयोगप्रति संवेदनशीलता नदेखाएको पनि त्यत्तिकै सत्य हो। तर हामीले आफ्नो सहरभित्रका बेवारिसे कुकुरको उचित व्यवस्थापनका निम्ति पनि अमेरिकीलगायतका विदेशी संस्थाको सहयोगमा भर पर्नुपर्ने र तिनीहरूसँग झोली थाप्नुपर्ने अवस्था आइपर्नु त्यत्तिकै विचारणीय हो । हाम्रा समाजसेवी भनिएका सरकारी र गैरसरकारी संस्थामा रहेको अविवेकीपन र अक्षमतालाई उदाङ्गो तुल्याउने यस्ता गतिविधि झोली थापेर जीवन बिताउने मगन्तेका दिनचर्याभन्दा माथिल्लो स्तरका देखिँदैनन् । यस देशका सरकार प्रमुखहरूले विदेशयात्राका क्रममा छिमेकी मुलुकहरूसँग मागेको सहयोगको लामो सूचीको शीर्षक–उपशीर्षकअन्तर्गत यस्ता कुकुर–व्यवस्थापन लागि गरिने सहयोगको याचना पनि पर्न गएमा आश्चर्य मान्नुपर्ने छैन ।

पञ्चायतकालकै कुरा हो– काठमाडौंको फोहोर व्यवस्थापनका लागि जर्मनी सरकारले थुप्रै ट्याङ्कर उपलब्ध गरायो । तर यहाँको नगरपालिका आपैmँ अव्यवस्थित हुँदा र नागरिकमा सुग्घर र सुव्यवस्थित जीवन बाँच्ने अभ्यास नहुँदा ती ट्याङ्कर खिया लागेर परिचालित नहुने अवस्थामा पुगे । विदेशी मुलुकसँग झोली थापेर ल्याएका संसाधनहरूको उपयोग पनि नहुने र देशको मुटुलाई स्वस्थ राख्ने कुरामा नागरिक चेतना पनि जागृत नहुने अवस्था राजधानीले अहिलेसम्म पनि बेहोरिरहेकै छ । अहिले आएर काठमाडौंलाई 'मनु मित्र' सहर बनाउन चाल्न लागिएको यस अभियानलाई सहरको भौतिक स्वच्छता, मानिस र उसको घर–परिवारसँग घनिष्टरूपले जोडिँदै आएको पशुबीचको सौहाद्र्र सम्बन्ध स्थापनाका दृष्टिले समेत औचित्यपूर्ण कार्यका रूपमा यसलाई लिन सकिन्छ । यसका लागि दातृसंस्थाप्रतिको निर्भरताभन्दा बढी नागरिक सचेतनाको आवश्यकतातिर दृष्टि जानु उपयुक्त हुनेछ । नत्र भने फोहोर सफा र सङ्कलन गर्ने जर्मन ट्याङ्करकै दशा यस अभियानले पनि नबेहोर्ला भन्न सकिँदैन ।

केही वर्षयता पाश्चात्य मुलुक घुम्ने र त्यहाँको जनजीवनक निकटबाट अनुभव गर्ने नेपाली नागरिकको सङ्ख्या अप्रत्याशितरूपमा ह्वात्तै बढेको छ । अमेरिका, युरोप, क्यानडा, अस्ट्रेलिया पुगेका नेपालीले ती मुलुकका नागरिकसँग निकटतमरूपले जोडिएको कुकुरसँगको घनिष्टता पाश्चात्य सभ्यताको उपलब्धिका रूपमा लिने गरेका हुन सक्छन् । तर हिन्दु संस्कृतिमा कुकुरपालनको परम्परा प्राक् ऐतिहासिककालदेखि रहेको र कुकुर त्यस कालदेखि नै 'मनु मित्र' रहेको वास्तविकता हाम्रो आँखामा ओझेल पर्दै आएको छ ।

ऋग्वेदका सूक्तहरूमा घोडा, गाई आदि घरपालुवा पशुसँगै कुकुरको महिमा गायन गरिएको पाइन्छ । यसको दशौँ मण्डलका अनेकौं सूक्तले सरमा नामकी देवताहरूकी आज्ञाकारिणी कुकुर्नीका कार्य वर्णन गरेका छन् । ती सरमा राजा इन्द्रको दूतीका रूपमा ठूलो नदी पार गर्दै व्यापारी (पणि) हरूकहाँ पुग्छिन् । यहाँ उनको पणिहरूसँगको संवाद निकै उल्लेखनीय छ । आफ्ना रक्षक स्वामी इन्द्रप्रति सरमाले देखाएको इमानदारी र आज्ञाकारितालाई ऋग्वेदले निकै महत्वका साथ वर्णन गरेको छ । यहाँ इन्द्रको गोधनमाथि व्यापारीले गरेको आक्रमण र कुदृष्टि अनि त्यसप्रति सरमाले व्यक्त गरेको असहमतिले कुकुरको इमानदारी र आश्रयदाताप्रतिको आज्ञाकारितालाई ऋग्वेदका ती सूक्तले विशेष महत्व दिएका छन् ।

वाल्मीकीय रामायणले कुकुरसँगको मानवीय सम्बन्धको छोटो चर्चा गरेको छ । राम, लक्ष्मण र सीताको १४ वर्षका लागि भएको वनबास प्रस्थानपछि पुत्रवियोगको शोकले पिता दशरथको मृत्यु हुन्छ र अयोध्याको सिंहासन भरतलाई दिने रानी कैकेयीको वाचाअनुसार मामाघर (केकय देशको राजदरबार) मा बसेका अयोध्याका राजकुमारहरू भरत र शत्रुघ्नलाई अयोध्यामा ल्याउन मानिस पठाइन्छ । आफ्नी छोरी कैकेयीका पुत्रलाई बिदाई गरेर अयोध्या पठाउँदा केकय नरेशले दिएका उपहारमा कुकुरसमेत रहेको वाल्मीकीय रामायणले उल्लेख गरेको छ । त्यस्तै महाभारतमा द्रोणले आफ्ना शिष्यहरूलाई शिकारका लागि वनमा लिएर जाँदा कुकुरसमेत साथ लिई गएका र एकलव्यले त्यस कुकुरको मुखमा सातवटा वाण एकैचोटि प्रहार गरेको घटनाले त्यस कालमा कुकुरको प्रयोग शिकारको लागि गरिने थाहा हुन्छ । यसबाट प्राचीन भारतवर्षमा कुकुरपालनको महत्वलाई उक्त दुवै कथा–प्रसङ्गले दर्साएका छन् ।

हामी हिन्दु संस्कृतिका अनुयायीहरू आफ्नो प्राचीन परम्परामा रहेका सांस्कृतिक मूल्यहरूको खोजी र अनुशरण नगरी पश्चिमी मुलुकका समाजमा प्रचलित भएपछि मात्र तिनलाई मार्गदर्शन मान्ने रोगबाट आक्रान्त छौं । आपूmलाई हिन्दु धर्म र संस्कृतिका अग्रणी ठान्नेहरूले समेत आफ्ना संस्कृतिमा भएका सामाजिक सुधारका विषय आपैmँ अन्वेषण गर्न र समाजलाई मार्गनिर्देशन गर्न नसक्दाको परिणाम पनि हो यो । यसै प्रसङ्गमा आएको छ कुकुर र मानव जातिसँगको यसको सम्बन्धको प्रसङ्ग पनि ।

उपर्युक्त कुकुर–मानिसबीचको सम्बन्धका सन्दर्भमा एउटा उल्लेख गर्नैपर्ने विषय छ काठमाडौं महानगरपालिकाको नगर व्यवस्थापनको अर्को पक्ष । यस नगरपालिकाले विदेशी दातृनिकायको सहयोगमा काठमाडौंलाई 'मनुमैत्री' अर्थात् कुकुर व्यवस्थापन अभियान चलाउने योजना त बनायो तर काठमाडौं उपत्यकाका सहरी क्षेत्रमा व्यापकरूपमा बढिरहेको सडक, मन्दिर, मस्जिद, मठ, चैत्य आदिका वरपर बसेर हात पसार्दै याचना गर्ने मानिसको व्यवस्थापनमा दृष्टि पु¥याएको दिन कहिले आउने हो ? त्यसको प्रतीक्षा उपत्यकाका महानगरबासीले गरेका छन् ।

काठमाडौंका सडकमाथिका आकासे पुलमा यात्रा गर्ने पैदलयात्रीको बाटै अवरुद्ध गर्ने गरी पैmलिएका शारीरिकरूपले अत्यन्त रुग्ण देखिने अपाङ्गहरूका हातले दयाको याचना गरिरहेका दृश्य सामान्य भइसकेका छन् । ती याचक पैदलमार्गीका व्यक्ति–व्यक्तिका दयापात्रमात्र हुन् अथवा राज्यको तिनीहरूप्रतिको दायित्व पनि छ ? भन्ने प्रश्न उठ्नु स्वाभाविक लाग्छ । सडक किनारमा बस्ने विभिन्न असाध्य र गम्भीर प्रकृतिका रोगबाट आक्रान्त मानिसले आफ्नो रोगको उपचारका लागि आर्थिक सहयोगको आह्वान गरेका दृश्य विशेषगरी काठमाडौंको मुटु रहेको टुँडिखेल, रत्नपार्क, रानीपोखरी वरपर र धार्मिक मठमन्दिर, मस्जिद आदि वरपर देख्न सकिन्छ । यस्ता दृश्य जोसुकैका निम्ति हृदयविदारक छन् र ती विदेशी पर्यटकका आँखामा बिझाउने गरेको सहज अनुमान गर्न सकिन्छ । अनि हाम्रा पर्यटन व्यवसायी संस्थाहरू काठमाडौं विश्वका उत्कृष्ट गन्तव्यमध्येको एउटा सहर हो भन्दै सगर्व विज्ञापन कसरी गर्छन् ? बुझिनसक्नु छ । भावुकता र उत्तेजनामा आएर आफ्नो जन्मभूमिको महिमा गायन गर्नु, कल्पनाशील कवि लेखकका निम्ति सुहाउला तर राज्य व्यवस्थाका सञ्चालक र तिनका अङ्गमा रहनेहरूले देशको गरीबी, अव्यवस्था र यहाँका नागरिकको दुव्र्यवस्थालाई एकातिर पन्छाएर भावुकतामा देशको विज्ञापन गर्न सुहाउँदेन ।

नेपालको यात्रा गर्ने विदेशी पर्यटक राजकुमार ह्यारी स्तरका मात्र हुँदेनन् जो हवाइजहाज र चिल्ला सडकका पाहुना हुन्छन् अनि प्राकृतिक दृश्य हेरेर नेपालको प्रशंसा गर्छन् । प्रायः पर्यटक धार्मिक–सांस्कृतिक स्थल रोज्छन् । मन्दिर र मस्जिद घेरेर माग्न बस्नेहरूको अवस्थाले के सङ्केत गर्छ ? धर्म र संस्कृतिको मूल मर्ममा दया र करुणा जस्ता भाव हुन्छन् तर धर्म र संस्कृतिको संरक्षण गर्ने राज्यव्यवस्थाले धार्मिक–सांस्कृतिक स्थललाई मगन्तेहरूको आश्रयस्थलका रूपमा खुला छुट दिनु राज्यव्यवस्थाकै अकर्मण्यताको परिचायक ठहर्छ।

कुकुर र मानिस दुवै सामाजिक प्राणी हुन् । कुकुर मानव संरक्षित प्राणी हो र मानिसमा कुकुर र यस्तै जीवनजगत्का अन्य कैयन् प्राणीको संरक्षणको दायित्वसमेत छ । अतः मानिसले आफ्नो परिवार र समाजलाई व्यवस्थित बनाएरमात्र अरू घरेलु वा जीवनजगत्का अन्य प्राणीको व्यवस्थापनका लागि सोच्नु र त्यसअनुसार कार्य गर्नु उपयुक्त हुन्छ । तर समाजका असङ्ख्य अपाङ्ग र दुर्वल मानिसको सडकमा बढ्दो दुर्दशालाई एकातिर पन्छाएर कुकुरको व्यवस्थापनमा आफ्नो कार्यको महत्ता देख्नेहरूले मानिसको काँधमाथि चढेर मन्दिर धाउने यात्रीका महाकविको सन्देशलाई कार्यरूपमा ल्याउन्, अनिमात्र 'मनु मित्र'का कुरा गरुन् । सडकछाप नागरिकको व्यवस्थापन नगरी मानिसले मानिसकै काँध चढेर सभ्यताको ढोङ रच्दासम्म कुकुरप्रति राखिने सहृदयताले कुनै अर्थ राख्दैन ।

प्रकाशित: १९ वैशाख २०७३ २१:५३ आइतबार