आफ्ना अभिव्यक्तिमा 'खराब कामलाई कुनै पनि किसिमले सहयोग नगरौं' भनेर नथाके पनि परेका बेलामा छुस्स घुस दिन, कालोबजारबाट तेल किन्न, कपाल कन्याउँदै मेरो फलानाको यति काम गरिदिनुपर्योर भन्न हामी त्यति धक मान्दैनौं। कालोबजारीका बारेमा चर्कै कुरा बोलेर, लेखेर, घर फर्कनासाथ कुनै पुलिस अफिसरलाई फोन गरेर र अलि बढी पैसा तिरेर धेरै 'सक्षम' हरुले गाडीमा तेल हालेका छौं नाकाबन्दीका बेलामा। 'युवा पुस्तामा विश्वास गरौं, युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरौ'ं भनेर भाषण गर्नेहरु मञ्चबाट ओर्लेपछि युवा पुस्ता कति काम नलाग्ने भएको छ भनेर भन्न थाल्छन्। मन्त्र जप्नु एउटा कुरा हुन्छ, मन्त्रको मर्मलाई व्यवहारमा उतार्नु नितान्त फरक कुरा हुन्छ हामीमध्ये अधिकांशलाई।
यो हाम्रै देशको मात्र कुरा भने हैन। भ्रष्टाचारका विरुद्धमा धावा बोल्ने छवि बनाएका नेताहरुको विकिलिक्सदेखि पानामा पेपर्ससम्ममा नाम निस्किरहन्छ, जनताका निम्ति राजनीति गरेको भनेर चिनिएका मानिस को गरिबप्रतिको व्यवहारमा अकल्पनीय संवेदनबिहीनता देखिन्छ, शक्ति, सम्पत्ति, प्रभाव, ख्याति कुनै कुराको कमी नभएका विश्व शासकका रूपमा आफूलाई देख्नेहरु कामवासनाको वशिभूत भएर अकल्पनीय अस्वाभाविक हर्कत गरिरहेका हुन्छन्।
पाखण्डको शासन जताततै छ। जहाँ पनि, जुन देशमा पनि, जुनसुकै कालखण्डमा पनि, राजनीतिमा जत्तिको नाङ्गो पाखण्ड अन्यत्र नदेखिएला। तर पाखण्डबाट मुक्त कुनै पनि मानवीय गतिविधि छैन। अनेक वेशभूषामा अनेक भावभंगिमाका साथ अनेक भाषा र शैलीमा प्रस्तुत हुने गुरुहरुका कर्तुतबारे जब खबर छापिन्छन्, बडो चाख लिएर हामी पढ्ने गर्छौं। नेताहरुका कर्तुतबारे जब सुन्छौं, मन त्यसै प्रफुल्लित हुन्छ। अरुलाई गाली गरिरहँदा शायद हामी आफूलाई माफी दिने बहाना पाइरहेका हुन्छौं। नत्र नेताका पाखण्डका कुराले हामीलाई दुःखी तुल्याउनुपर्ने हो, खुसीको, प्रफुल्लताको, सन्तुष्टिको कुनै पनि रूप र मात्रा नदेखिनुपर्ने हो। यो पाखण्डको साम्राज्यमा कसरी बाँच्ने? पाखण्डबाट मुक्त कसरी हुने? मानव समाजबाट हराउँदै नहराउने व्याधि हो त यो?
पूर्णतया पाखण्डरहित समाज बन्ला कि नबन्ला थाहा छैन। अहिलेसम्मको लिखित वा श्रुत इतिहास हेर्दा मानिसको अस्तित्व आफैँमा ईश्वर र सैतानका बीच प्रतिस्पर्धाको थलो जस्तो देखिन्छ। सैतानबाट मुक्त ईश्वर हुँदो हो त शायद मानिस अस्तित्वमा आउने नै थिएन होला। कहिले शाश्वत सत्य बनेर, कहिले पूर्णता वा सम्यकता बनेर ईश्वर त सुदूर क्षितिजमा उज्यालो बोकेर बस्छ र मानिसलाई दिशाबोध गराइरहन्छ, आफूतिर आउन आह्वान गरिरहन्छ। जानेर, नजानेर त्यो उज्यालोतिरको यात्रामा निस्केको मानिसको छेउमा सुटुक्क सैतान आएर एकछिन् पनि नछोडी सँगसँगै हिँड्न थाल्छ। यात्रीलाई पथबाट विचलित बनाउने यत्न ऊ गरी नै रहन्छ। मायावी हुन्छ सैतान। अनेक रूप लिन्छ त्यसले। कहिले त्यो व्यावहारिकताका नाममा प्रस्तुत हुन्छ, कहिले त्यो परिस्थितिको विशिष्टताका नाममा प्रस्तुत हुन्छ, कहिले आत्मसम्मानका नाममा, कहिले रणनीतिका नाममा, कहिले व्यापारका नियमका नाममा... अनेकरूपमा अनेक निहुँमा प्रस्तुत हुने सैतानको सबभन्दा प्रभावकारी अस्त्र भने प्रायः पाखण्ड हुने गर्छ।
हामी सबै यात्रामा छौं। कोही सजग भएर लागेका छौं, कोही अरुका पछि लागेका छौं, कोही चेतनालाई एकातिर मिल्काएर मात्तेको रक्स्याहा जुलुसमा सामेल भएझैं गरी अरुसँगै हुलमा मिस्सिएर हिंँडेका छौं। एकैछिन पनि सैतानले कसैलाई छाडेको छैन। हामी हरेकसँग टाँस्सिएरै हिँंडिरहेको छ सैतान। तर 'मेरो कानमा भर्खरै फुस्फुसाएर गएको सैतानले हो' भनेर जसले ठम्याउँछ, ऊ कम पाखण्डी हुन्छ। जति सचेत भएर सैतानलाई देख्न सक्यो, पाखण्डको मात्रा त्यति नै कम हुने हो। सैतानको सबभन्दा प्रभावशाली हतियार पाखण्डलाई जित्न, उसले गर्ने सक्ने हानिबाट जोगिने अर्को कुनै उपाय छैन, उसलाई देख्ने यत्न गर्नुबाहेक। यसैलाई बुद्धले विपश्यना भनेका हुन्। विपश्वीका अगाडि जुनसुकैरूपमा पाखण्ड आउन खोजे पनि नाङ्गिन्छ जसरी जुनसुकैरूपमा आए पनि बुद्धले मारलाई सहजै ठम्याउँथे।
मानिसका कर्मले पृथ्वी नामको यो ग्रहमा धेरै नोक्सान भएको छ तर राम्रा काम पनि भएका छन्। कसैले चाहे पनि नचाहे पनि सञ्चार प्रविधिका कारण पारदर्शिता पहिलेभन्दा बढ्दैछ। अरुलाई ठग्न, ढाँट्न पहिले जति सजिलो थियो, अब त्यति सजिलो नहोला। यसले मानिसको पाखण्डविरुद्धको लडाइँमा पक्कै पनि सहयोग पुर्याछउनेछ।
प्रविधिको प्रयोगका कारण मानिसको व्यक्तिगत स्वतन्त्रता हनन् हुने हो कि भनेर हामीमध्ये धेरै चिन्तित पनि छौं। तर व्यक्तिगत स्वतन्त्रता र पारदर्शिता एकअर्काका विरोधी नै हुनुपर्छ भन्ने छैन। कुनै पनि कुरा लुकाउनै नपर्ने किसिमको जीवनशैली रोज्ने हो भने पारदर्शिता कहिल्यै वैयक्तिक स्वतन्त्रताको बाटोमा आउँदैन। पारदर्शितादेखि डराएर गोप्यताको बोझ मनमा बोकेर हिँड्ने मानस खुसी हुन झनै गाह्रो हुन्छ। दुःखी मानिस कसरी स्वतन्त्र हुन सक्छ र? व्यक्तिगत स्वतन्त्रता त मानिसको आन्तरिक संसारको कुरा हो। आफ्नो जीवनको स्टियरिङ आफ्नै हातमा लिने कुरा हो। कुनै व्यक्तिको आन्तरिक संसारमा त अरु कोही प्रवेश गर्नै सक्दैन। सञ्चार प्रविधिको जतिसुकै विकास होस्, उसको त्यो संसारको बाह्य सतहभन्दा भित्र त्यो पुग्नै सक्दैन। पारदर्शिताले भ्याउने भनेको त मानिसको गतिविधि र ती गतिविधिसँग सम्बन्धित आशयसम्म मात्र हो।
कुनै न कुनै मात्रामा, रूपमा, पाखण्ड मानिससँग जोडिइरहेको होला भविष्यमा पनि तर आफँैभित्र लुकेको त्यो पाखण्डलाई चिन्ने आँट गर्ने हो भने विषकन्याले झैं त्यसले आफूलाई वशिभूत पार्न नदिने हो भने त्यसले गर्ने नोक्सानी पक्कै कम हुन्छ होला। मानिसले प्राप्त गर्न सकेको ज्ञान/विज्ञानलाई समेत पाखण्डविरुद्धको लडाइँमा उपयोग गर्न सक्ने हो भने हाम्रो लोकतान्त्रिक यात्रा पक्कै पनि अहिलेभन्दा बढी सुनिर्दिष्ट हुन सक्नेछ। जनताको नयाँ सिर्जनशील राजनीति यस्तै विपश्वीहरुको संघ बन्न सकोस्। नयाँ वर्षको मङ्गलमय शुभकामना!
प्रकाशित: २ वैशाख २०७३ २१:५६ बिहीबार