विद्यालय घरभन्दा निकै टाढा हुनु, परिवारको आर्थिक अवस्थाका कारण शुल्क तिर्न नसक्नु, घरको कामकाजमा सघाउनु, सानै उमेरमा विवाह हुनु जस्ता कारणले छोराको तुलनामा छोरीलाई विद्यालय बीचैमा छोडाइन्छ । थारु समाजमा महिलाका हक–अधिकारको सम्मान गरिए पनि कतिपय ग्रामीण क्षेत्रमा ब्राह्मण, क्षेत्री परिवारका महिला–पुरुषबीच ज्यादै भेदभाव गरिन्छ । त्यस्तै, तराई क्षेत्रमा पढेलेखेकी छोरीलाई पढेलेखेकै पुरुषसँग विवाह गर्नुपर्ने हुँदा पुरुषको पढाइको स्तरअनुसार दाइजो दिनुपर्ने चलन व्याप्त छ । सोही कारण पनि छोरीलाई विद्यालय छाड्न बाध्य बनाइन्छ । परम्परागत सोचअनुसार बूढेसकालको सहारा छोरालाई मात्र मान्ने हुँदा छोरीलाई अझै पनि पराइ धनकै रूपमा हेरिन्छ र पढ्नबाट वञ्चित गराइन्छ।
हुन त नेपालमा औपचारिकरूपमा महिला शिक्षाको सुरुवात वीर शमशेरको पालामा १९४२–१९५८ मा भएको पाइन्छ । १९८० सालमा चन्द्र शमशेरले कन्या पाठशाला खोलेका थिए । लगभग सय वर्षको अवधि पुग्न लाग्दा पनि पुरुषभन्दा अधिक जनसंख्या रहेको महिलाको साक्षरता प्रतिशत ३७.८ मात्र रहनु दुःखलाग्दो कुरा हो ।
'पितृसत्तात्मक हिन्दु संस्कृतिले जरो गाडेको नेपाली समाजमा धार्मिक संस्कृतिले पुरुषलाई वंश चलाउने, किरिया बस्ने, श्राद्ध गर्ने जात भनी बढ्ता महŒव दिइने गरेकोले व्यावसायिकरूपमा महिलालाई पुरुषको महŒव र अधिकारकाबारे जति बुझाइएको हुन्छ, पुरुषलाई महिलाको महŒव र अधिकारबारे सिकाएको पाइन्न ।' डा. आरजु देउवाको यो भनाइ यहाँ सान्दर्भिक हुन आउँछ । यस्तै सोचका कारण एक्काइसौँ शताब्दिसम्म आइपुग्दा पनि हाम्रा दिदीबहिनी छोराको चाहनामा गर्भमा नै छोरीको भ्रुण हत्या गर्न उद्यत् हुन्छन् ।
१६ देखि ४० वर्ष उमेर समूहका महिलालाई वयस्क मानिन्छ । यो उमेरका महिला कलेज पढ्नुपर्ने हो, तर कतिपय महिला स्कुल स्तरकै पढाइ पूरा गर्न तल्लिन रहेका पाइन्छन् । कलिलो उमेरमा विद्यालय छाडेका बालिका वयस्क भएपछि पढाइको महŒव बुझ्न थाल्छन् । उनीहरू अनपढ भएका कारण नै अनेकौँ दुःख–कष्ट सहन बाध्य हुन्छन् । पढेलेखेका श्रीमान्को हेपाइबाट होस् वा फोनको नम्बर थिच्न नसकेर होस्, औपचारिकरूपमा विद्यालय गएर जुन कक्षामा आफ्नो पढाइ बन्द भएको थियो, त्यही कक्षादेखि पुनः पढाइ सुरु गर्न थालेका पाइन्छन् ।
वयस्क महिलालाई दोस्रो मौका दिन ठाउँठाउँमा विद्यालय स्थापना हुन थालेका छन् । यस्ता प्रतिनिधि विद्यालय उत्प्रेरणा महिला माध्यमिक विद्यालय लगनखेल, आस्था महिला विद्यालय गठ्ठाघर आदि रहेका छन् । कम्प्युटरमा विदेश गएका श्रीमान्, छोराछोरी वा अन्य कुनै व्यक्तिसँग कुरा गर्न अंग्रेजी भाषाको ज्ञान पाउन होस् वा मोबाइल, इन्टरनेट, इमेलको प्रयोग गर्न होस् वा आफन्तको विश्वासमा परेर कुनै तमसुकमा ल्याप्चे लगाउँदा सर्वस्व गुमाउनु परेर होस् वा बसमा लेखिएको अक्षर नचिनेर गन्तव्यमा अल्मलिनु परेर होस् महिला शिक्षाको ढोका ढक्ढक्याउन थालेका छन् ।
'अधुरो शिक्षा पूरा गरौँ, आत्मनिर्भर बनौँ' भन्ने नाराका साथ खोलिएको आस्था महिला विद्यालयमा करिब तीन सय वयस्क महिला विद्यार्थी अध्ययनरत छन् । महिला ढिलै भए पनि शिक्षाको उज्यालोबाट आफू प्रज्वलित हुन विद्यालय पुगेको बताउँछन् । ४० वर्षमाथिका महिला आफ्नो ज्ञान बढाउन र शिक्षित हुन विद्यालय आएको बताउँछन् । उनीहरू घर सम्हाल्दै दिनमा दुई घन्टाभन्दा बढी गृहकार्य गर्न र पढ्नमा बिताउँछन् ।
३० वर्षभन्दा कम उमेरका महिलाले एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गरी कुनै नोकरी गर्ने चाहना राखेको पाइन्छ भने त्योभन्दा बढी उमेरका महिलाले कुनै सीपमूलक तालिम लिएर आय आर्जन गरी आत्मनिर्भर हुन चाहन्छन् । कतिपय महिलालाई पति र छोराछोरीले विद्यालय जान प्रोत्साहन गरेको, घरमा काम सघाइदिएर पढ्ने समय मिलाइदिएको पाइन्छ भने कतिपयले घरपरिवारको समर्थन नभएर, बिरामी परेर, धेरै बेरसम्म बस्न नसकेर, छिटो बुझ्न नसकेर, बिर्सने बानी, बुझेका कुरा लेख्न नसक्ने आदि कारणले दोस्रो मौका पाएर पनि विद्यालय छोड्नुपरेको देखिएको छ ।
हाम्रो समाजमा छोरा र छोरीबीचको विभेद हटाउन महिला शिक्षामा जोड दिनुपर्छ । अवसर पाएका महिला राष्ट्रपति, मन्त्री, सचिव, डाक्टर, इन्जिनियर, पाइलट बनेका छन् भने अवसरबाट वञ्चित महिला घाँसदाउरा, मेलापातमै सीमित छन् । शिक्षा र स्वास्थ मानवका अपरिहार्य वस्तु हुन् । एउटी महिला शिक्षित हुँदा परिवारलाई नै शिक्षित बनाउँँछिन् भने एउटी महिला स्वस्थ भए परिवारकै स्वास्थमा ख्याल राख्न सक्छिन् ।
नेपालका अधिकांश ग्रामीण महिलामा आङ खस्ने समस्या रहेको पाइन्छ । जनचेतनाको अभावका कारण उनीहरू शारीरिक पीडा सहेर बाँचेका छन् । आफ्नो कमजोरी थाहा पाइ पतिले आफूलाई हेलाँ गरी दोस्रो बिहे गर्लान् भन्ने डरले पतिसमक्ष खुलेर कुरा गर्न सक्दैनन् । आर्थिक अभाव, डर, लाजजस्ता सामाजिक कारण तथा पारिवारिक असहयोगले अस्पताल जान सक्दैनन् । महिलाको यस्तो दयनीय अवस्थाबाट मुक्ति दिलाउन वयस्क महिलालाई शिक्षाको खाँचो छ ।
सरकारले बालबालिका शिक्षालाई मात्र बढी ध्यान दिएको देखिन्छ । वयस्क महिला राज्यकै एउटा अभिन्न अंग भए पनि सरकार उनीहरूको शिक्षाप्रति उदासीन छ । प्रौढ शिक्षामा केही लगानी गरे पनि त्यसले उचित उपलब्धि हासिल गर्न सकेको छैन । निजी क्षेत्रबाट यस्ता महिलाको पढाइलाई निरन्तरता दिन विद्यालयको स्थापना गरी पढाइ सुचारु गरेको पाइन्छ । तर, सरकारी पक्ष मौन रहेको देखिन्छ । सरकारी क्षेत्रबाट आर्थिक स्रोत जुटाएर प्राविधिक तथा व्यावहारिक शिक्षा दिलाउन सके यस्ता विद्यालयमा अध्ययनरत वयस्क महिला आत्मनिर्भर हुनुको साथै देशको आर्थिक, सामाजिक र शैक्षिक विकासमा टेवा पुर्याउन सक्ने थिए । यसैगरी, महिला स्वास्थ र प्रजनन स्वास्थसम्बन्धी तालिम दिलाउन सके स्वस्थ जनसंख्या वृद्धिमा सहयोग पुग्ने थियो ।
शिक्षा प्रकाशको त्यो पुञ्ज हो, जसले व्यक्तिलाई मात्र नभएर समाज र देशलाई समेत उज्यालो बनाउन सक्छ । भनिन्छ– 'एउटा पुरुष शिक्षित भए स्वयं ऊ मात्र शिक्षित हुनेछ, तर एउटी महिला शिक्षित भए पूरा परिवार नै शिक्षित बन्नेछ ।' त्यसैले कुनै पनि समाजको विकास गर्न त्यहाँका पुरुषमात्र नभई महिला पनि शिक्षित हुनैपर्छ ।
प्रकाशित: १६ चैत्र २०७२ २१:५० मंगलबार