विचार

स्त्रीका सात ऐश्वर्य

नारी, आधा आकाश र धरती। आमाको अवतारमा हरेक मानिसको जीवन सुरु गराउने माध्यम अथवा सबैकी जननी। विभिन्न कालखण्ड र परिवेशमा आइमाई, स्त्री अनि नारी भनेर बोलाइने नाम।समयक्रमसँगै अहिले आएर आइमाई शब्द यदाकदा गालि सूचक बन्न पुगेको छ। प्रचलनमा नारी शब्द बढी छ। तर, पौराणिक ग्रन्थमा भने सबैजसो स्थानमा स्त्री शब्द प्रयोग भएको पाइन्छ। आमा, दिदी, श्रीमती, साथी हुँदै छोरी सबैको एउटै जात। जतिजति र जहाँजहाँ नारीको इज्जतमा समय र स्रोत खर्च हुन्छ, त्यतित्यति समाज उन्नत बन्दै गएको उदाहरण इतिहासले देखाएको छ। मातृ शक्ति अनि भगवान्को शक्तिको रूपमा रहेकी नारीको परिभाषामा नै हामी यदाकदा अल्झेका हुन्छौँ।

शब्दकोशले यो शब्दलाई नारीसूचक लिंगको रूपमा मात्र परिभाषित गरेको छ। तर, विभिन्न सनातन पौराणिक किताब र विद्वानहरूका व्याख्यामा यसलाई गहनरूपमा प्रस्तुत गरेको पाइन्छ। लिंगकै रूपमा स्त्री हुन त प्रकृतिले दिएको नारी र पुरुषमध्धे एक भए पुग्ने तर व्यावहारिकरूपमा स्त्री हुन धेरै गुणले सम्पन्न हुनुपर्छ। जसलाई आधुनिक समाजमा लैगिंकताको रूपमा परिभाषित गरिन्छ र पढाइन्छ। लैंगिकता गुण हो, जुन सिक्न र व्यवहारमा उतार्न सकिन्छ। यस अर्थमा पनि स्त्री रूप र लिंग हैन, गुण हो। कतिपय स्थितिमा लैंगिकता पढाउँदा घरको भात–भान्छाका काम र प्रजननसम्बन्घी कुरा गरेर यो शब्दलाई नकारात्मकरूपमा समेत बताउने गरेको पाइन्छ, जुन सरासर गलत हो।

धेरै शास्त्रमा स्त्रीको व्याख्या गर्ने क्रममा विभिन्न प्रकारले गरे पनि गीतामा श्रीकृष्णले स्त्री शब्दबारे गरेको व्याख्या सबैभन्दा व्यावहारिक, समयसापेक्ष छ र कालान्तरसम्म रहिरहने छ। गीताका अनुसार कुनै नारी साँच्चिकै अर्थमा स्त्री हुन ती स्त्रीमा सात ऐश्वर्य हुनुपर्छ। सात ऐश्वर्यको सम्मिश्रण नभई कोही नारी साँचो अर्थमा स्त्री हुनै सक्दैन। ती हुन्– कीर्ति, लक्ष्मी, वाणी, स्मृति, बुद्धि, धृति र क्षमा। के हुन् त यी सात ऐश्वर्यका अर्थ र भावना? के अहिलेका नारीमा ती सबै वा केही लक्षण पाइन्छन्?

कीर्तिको अर्थ हुन्छ, नाम वा यश। जब कुनै राम्रो कामको प्रचार अरुबाट हुन्छ त्यो नै कीर्ति हो। आफ्नो काम र नामका प्रचार आफैले गर्नु कीर्ति हैन। त्यो शास्त्रीय भाषामा पाप हो। कीर्ति अमर हुन्छ, अजर हुन्छ र अरुले पनि कीर्ति राख्न सिको गर्छन्। नारी सबैको पहिलो विद्यालयसमेत भएकी हुँदा नाम वा यश नारीको पहिलो गुण हुन पुगेको हो। जुन घरकी नारीको कीर्ति टाढाटाढासम्म फैलिएको छ, त्यो घरका पुरुषले इज्जतका साथ समाजमा हिँड्न सक्छन्। तर, जुन घरकी नारीको समाजमा बदनाम छ, त्यो घरका पुरुष बाहिर असाध्यै दुःखी हुन्छन्। यस्तो स्थितिमा त्यस्ता पुरुषले आफ्नी श्रीमतीको खुसी बाहिरका पुरुषको आँखामा खोज्नुपर्ने हुन्छ। यस्ता पुरुषलाई नै शास्त्रले नपुंसक भन्छ। तसर्थ, पुरुषलाई कस्तो बनाउने भन्ने पनि नारीले नै हो।

लक्ष्मीको अर्थ हुन्छ धन। यहाँ धन शब्द जम्मा र खर्चको तालमेलसँग जोडेर लिइएको छ। ती नारीमात्रै साँच्चिकै नारी हुन् जसले स्रोत र साधनको उचित व्यवस्थापन गर्न सक्छिन्। जथाभावी र अनावश्यक स्थानमा खर्च गर्ने, के आवश्यक र के अनावश्यक हो भन्ने छुट्याउन नसक्ने अनि मातापिता, पति वा सन्तानको कमाइमा रजाईं गरेर ठाँट देखाउने नारीलाई शास्त्रले नारी मान्दैन। कमाइ, खर्च र बचतको तालमेल सबै नारी गुण हुन् र जुन घरमा नारीले यसको व्यवस्थापन गरेकी छन्, त्यो घर खुसी र सुखी हुन्छ। आफ्नो मात्र लवाइखवाइमा खर्च गर्ने अनि घरपरिवारको आवश्यकता र अभावबारे चासो नराख्ने नारी कुशल स्त्री हुन सक्दिनन्। त्यस्ता स्त्री कुलक्षण हुन्छन् र परिवारको नासको कारण बन्छिन्।

वाणीको अर्थ दुईवटा छ। एउटा मीठो बोली र अर्को सत्य बचन। यी दुवै सबै प्रकारका मानिसमा अत्यावश्यक गुण हुन्, तर नारीको त यो गुण र गहना पनि हो। मीठो र सत्य बोली सात्विक हुन्छ भने, खस्रो बोली रजोगुणले भरिएको हुन्छ। गालि र झुटमा तामसी गुण हुन्छ। जहाँ मधुरता हुन्छ, त्यो बोलीमा संगीत हुन्छ, लय हुन्छ। विभिन्न चरा र जनावरसमेत वाणीका कारण मानवजीवनसँग नजिक छन्। संगीत भनेकै मधुरताको अर्को नाम हो। मीठो बोल्दा समाज आफ्नो नजिक हुन्छ। खस्रो बोली एकछिन राम्रो सुनिए पनि मानिस फेरि त्यस्तै बोली सुन्न चाहँदैन। गालिले स्त्रीचरित्रलाई दुष्ट बनाउँछ। गालिका शब्द प्रयोग गर्ने स्त्रीको कहीँ गतिलो स्थान हुँदैन। नराम्रा कुरा नबोल्ने र अरुको कुरा नकाट्ने नै वाणीको गुण हो। धेरै बोल्ने, अरुको कुरा काट्ने र जुन विषयमा पनि अघि सरेर बोल्ने गुण हैन वैगुण हो, जसले नारीचरित्रमा दाग लगाउँछ।

जुन घरमा स्त्रीले झुट बोल्छिन्, त्यहाँ अनिकाल र कंगालको बास हुन्छ। झुटको सहारामा बाँचेकाले न त परिवार सम्हाल्न सक्छन् न त अरु सम्बन्ध नै सुधार्न। स्वार्थमा बाँच्नेहरू हरेक शब्दमा झुट बोल्छन् र सास फेरे पनि हरेक दिन मर्छन्। उनीहरू समाजबाट भाग्छन्, सत्यको अगाडि पर्न सक्ने आँट उनीहरूमा हुँदैन। त्यस्ता नारी निच मानिससँगको सम्बन्धमा रमाउँछन्। साथै, तामसी शब्द र झुटको सहारामा बाँच्नेहरू छोटो छोटो समयमा साथी र सम्बन्ध परिवर्तन गरिरहन्छन्। किनकि, दिगोपन उनीहरूमा हुन्न। ती तामसी प्रवृत्तिका मानिस बाहिरबाट खुसी देखिए पनि भित्रबाट एक्लो र दुःखी हुन्छन्।

स्मृतिको अर्थ हो सम्झना। जब सकारात्मकतामा नारी स्मृतिको कुरा आउँछ, त्यहाँ राम्रो कामको सम्झनाको चर्चा हुन्छ। जुन नारी राम्रा कुरा र व्यवहारलाई दिमागमा राख्छिन् अनि गलत कुरालाई बाहिर निकाल्छिन् र बिर्सन्छिन् तिनी नै साँचो अर्थमा स्त्री हुन्। सानोसानो कुरा बिर्सने वा बिर्सेको नाटक गर्ने गुण स्त्री गुण हैन। दिएर बिर्सनु अनि लिएर नबिर्सनु भन्ने भनाइ चरितार्थ पार्नु नै स्त्री गुण हो। यसैलाई यहाँ स्मृति भनिएको छ। स्मृतिले शिक्षा दिन्छ। आफूले जानेको–सिकेको कुरा आफूभन्दा तलको पिँढीलाई सिकाउनु र व्यवहारमा उतार्न लगाउनु पनि स्मृति हो। यस्तो गुणमा हुर्केका र जानेका नारीले आफ्ना सन्तानलाई सुयोग्य बनाउन सक्छन्।

नारीको अर्को गुण बुद्धि हो। धेरै–थोरै बुद्धि सबैसँग हुन्छ। बुद्धि जाँच्ने भनेको त्यसको प्रयोगमा हो। सही र गलत छुट्याउन सक्ने शक्ति नै बुद्धि हो। सही र गलतको परिभाषा स्थान र परिस्थितिअनुसार अलगअलग हुन्छ। यसको समेत ख्याल राख्न सक्ने शक्ति नै सुबुद्धि हो। जहाँ बुद्धि हुन्छ, त्यहाँ विवेकको आगमन हुन्छ। विवेकले मानिसलाई ज्ञानी र व्यावहारिक बनाउँछ। घरमा जब स्त्री बुद्धिमान हुन्छिन् सबैमा त्यो गुण सर्छ। तर, जब घरकी स्त्री नै बुद्धिहीन छिन् त्यहाँ अरु कुनै गुणको बास हुँदैन। ती स्त्री डुलुवा प्रकृतिकी हुन्छिन् र समाजको चर्चाको माध्यम बन्छिन्। बुद्धिमान स्त्रीले आफ्नो र पराया छुट्याउँदिनन्। सबैमा समभाव राख्छिन् र घरलाई बस्न योग्य बनाउँछिन्। उनी सुखमा मात्तिनन् र दुःखमा आत्तिनन्। यो नै बुद्धिको काम हो। जब मानिस सुख र दुःखमा धेरै हदसम्म समभाव राख्न सक्षम हुन्छ, उसमा देवत्व प्राप्त हुन्छ र सुमार्गतर्फ लम्कन्छ।

धृतिको अर्थ सहनशीलता हो। अझ स्पष्टरूपमा भन्नुपर्दा धृति शब्दले अस्थिरतामाथि विजय पाउने क्षमतालाई बुझाउँछ। यो गुण पुरुषमा कममात्रै पाइन्छ। जुन घर वा समाजमा यो गुण भएकी स्त्रीको बास हुन्छ, त्यहाँ झगडा र उतारचढावको सम्भावना कममात्रै रहन्छ। जहाँ धृति हुन्न, त्यहाँ हमेसा कलह हुन्छ। सानोसानो कुरामा नारी रिसाउने कारण धृतिको अभाव हो। यो गुण सिक्न कठिन छ। धृतिको यशको वर्णन सबैले गर्छन्।

कुनै नारी स्त्री हुन चाहिने अन्तिम गुण भनेको क्षमा हो। क्षमा यस्तो गुण हो, त्यसले लिनेलाई भन्दा दिनेलाई महान बनाउँछ। यहाँ क्षमाको अर्थ निस्वार्थ र मनमा कुनै क्लेस नराखी गरिने क्षमा भनेर बुझ्नुपर्छ। मैले क्षमा गरेँ भनेर मनमा दुःखको भावना राखिरहने स्थिति क्षमा हैन। यो ढोँग हो। ढोँगी नारीलाई स्त्रीको संज्ञा दिन सकिँदैन। कुनै मानिस आफूले गरेको गल्ती सम्झेर माफी माग्न आउँछ भने उसलाई क्षमा गर्नु अर्को पक्षको कर्तव्य हुन्छ। तर व्यवहारमा यो कमैमात्र देखिन्छ। जब नारी क्षमा गुणबाट सम्पन्न हुन्छिन् उनी सबैकी प्रिय हुन्छिन्।

माथिका सबै गुण जहाँ हुन्छ त्यहाँ सम्पन्नताको बास हुन्छ, यसै कारण यी गुणलाई सात ऐश्वर्य भनिएको हो। यी सबै गुणका कारण संसारमा जति पनि आवश्यक तŒव छन् तिनलाई स्त्रीवाचक बनाइएको छ। पृथ्वी, हिमाल, खोला यी सबैमा माथिका सबै गुण शत्प्रतिशत विद्यमान छन्। यसले सम्पूर्ण जीवनलाई ऊर्जा प्रदान गर्छ र स्त्री त्यसको कारक बनेर रहेकी छन्।

जहाँ गएर माथिका गुण हुन्न त्यहाँ विनाश र अधोगतिको आरम्भ हुन्छ। किनकि, जुन घरमा साँच्चिकै स्त्री हुन्नन्, त्यो घर नर्कतुल्य हुन्छ। त्यो घरमा बस्नेको भविष्यसमेत अन्धकार हुन्छ।

प्रकाशित: ७ चैत्र २०७२ २१:३६ आइतबार