विचार

खानामा प्रकृतिका तीन गुण

सनातन धर्मशास्त्रका सबै किताबमा प्रकृतिका तीन गुण र ती गुण कसरी उत्पन्न हुन्छन् र मानिसका शरीर र दिमागलाई ती गुणले कसरी सञ्चालन गर्छन् भन्नेबारे उल्लेख भएको पाइन्छ। मानिस कुनै गुण लिएर जन्मेको हुँदैन। जति जति ऊ बढ्दै जान्छ, कुरा बुझ्ने हुँदै जान्छ र समाजका विभिन्न तत्वसँग भिज्दै जान्छ, त्यहीअनुसारको गुणमा ऊ रमाउन पुग्छ। त्यसपछि उसको जीवनशैली र क्रियाकलाप तीनै गुणको अधिनमा हुन पुग्छन्। साथै उसका आमा, बाबु र समाजले उसलाई जे जस्ता खाना खुवाउँदै जान्छन्् त्यही खानाको गुण उसले टिप्छ।

सत्व, रज र तम नामका यी गुणबीच मानिसको मन र मस्तिष्कभित्र चौबीसै घण्टा प्रतिस्पर्धा भइरहेको हुन्छ। जुन गुणले तत्कालीन समयमा जित्छ, सोही गुणको अधिनमा रही उसले आफ्नो क्रियाकलाप सञ्चालन गर्छ। कुनै पनि गुणले कुनै निश्चित समयमा जित्न त्यो मानिसको अगाडिको क्रियाकलापको ठूलो भूमिका हुन्छ।

सत्वगुणले प्रकाशको प्रतिनिधित्व गर्छ जसले सही मार्गमा हिँडाउन प्रेरित गर्छ र ज्ञानको बाटो देखाउँछ। सबैजसो शास्त्र सत्वगुणकारक हुन्छन्। यो गुणले युक्त जीवात्माले समभाव राख्छ। कर्मकुशलता यसको स्वाभाविक गुण हो। रजोगुण प्रवृत्तिको द्योतक हो। यसले धेरै हदसम्म आकांक्षाकोे प्रतिनिधित्व गर्छ र सांसारिक कर्मबन्धनमा बाँध्छ। आधुनिक समाजका विभिन्न वर्गको प्रतिनिधित्व यो गुणले गर्छ। कर्मबन्धन यसको स्वाभाविक गुण हो। तमोगुण अन्धकारको प्रतिनिधि हो र यसले अज्ञानता र मोहको प्रतिनिधित्व गर्छ। यसले मानिसलाई पाप कर्म गर्न प्रेरित गर्छ। झैझगडा, रिस, अत्यधिक मोहमा यो रमाउँछ। निद्रा र आलश्यता यसका स्वाभाविक गुण हुन्।

हरेक मानिसमा माथिका तीन गुण विद्यमान हुन्छन्, फरक यत्ति हो कि उसले आफ्ना कर्म कुन गुणअन्तर्गत सम्पादन गर्छ। यही तीन गुणको अधिनमा रही सनातन धर्मले मानव जीवनलाई तीन भागमा बाँडेको छ।

सत्व गुणको प्रधानता भएकालाई देवता भनिन्छ किनकि उनीहरु बाटो देखाउने अग्रज हुन्। उनीहरुकै नाममा लेखिएका किताबलाई हामी शास्त्र भन्छौं र राम्रा मानिसले ती किताबको अनुशरण गर्छन्। आज पनि बाबु आमा, माया गर्ने मानिस अनि गुरुहरुमा हामी देवता देख्छौं किनकि उनीहरुले हामीलाई सही बाटो देखाउँछन्। यदाकदा देवतातुल्य मानिसले देखाएका बाटो तीतो लागे पनि कालान्तरमा राम्रो मानिसमा सही कुराको बोध हुन्छ।

रजोगुणको प्रधानता भएकालाई मानिस भनिन्छ। मानिस कर्मबन्धन र लोभबाट ग्रसित हुन्छन्। उनीहरु पेशा, पैसा र प्यासमा रमाउँछन्। यिनीहरुमा यदाकदा सत्व गुण देखिए पनि धेरैजसो तल्लो कोटीकै गुणमा रमाउँछन्। दिनभरी इन्द्रीय तृप्तिका लागि मेहनत गर्नु, राति तमोगुणमा रमाउनु उनीहरुको दिनचर्या हुन्छ। केही राम्रा कोटीका रजोगुणी भने बिहान सत्वगुणी स्वभावमा गई पूजापाठ ध्यानमा आफूलाई समाहित गर्छन्। आधुनिक योग विज्ञानले पनि रजोगुणी मानिसका लागि यही व्यवहार सुध्याएको छ। बिहानको योग, दिनभरको कर्म र रातको आराम नै योगी जीवनकोे आधार हो। यसो गर्दा शरीर र मनको शुद्धता, शरीर र श्वासको व्यायाम, शुद्ध खानपिन र ध्यानलाई योग विज्ञानले प्रमुख मानेको छ। यो सबै प्रकृतिका माथिका तीन गुणको संयोजनबाहेक अरु केही हैन।

तमोगुणको प्रधानता भएकालाई दानव भनिन्छ। काम, क्रोध, लोभ, मोह सबैले यिनीहरुलाई ढपक्कै ढाक्छन्। यिनीहरु अरुको दुःखमा रमाउँछन्। अहंकार, घमण्ड, रिस उनीहरुको चरित्र हुन्छ। यिनीहरु इन्द्रीय तृप्तिका लागिमात्रै कर्म गर्छन्।

पहिलो कोटीकाहरु ज्ञानी हुन्छन्, सरल हुन्छन्, दृढ संकल्पमा हुन्छन् र मोक्षको बाटोमा मात्रै लाग्छन् भने दोस्रो कोटीकाहरु जीवनमा परिवार र अर्थको कामनाले कर्मको बाटोमा हिँड्छन्। तेस्रो कोटीकाहरुलाई अधम कोटीका भनिन्छ। झगडा र अविश्वास उनीहरुको जीवनशैली हुन्छ र झुट उनीहरुको भगवान। पहिलो कोटीले गर्ने दान निस्वार्थ हुन्छ भने दोस्रो प्रकारकाहरु भोलि केही पाउने आकांक्षासहित दान गर्छन्। तेस्रो र अधम कोटीकाहरु अरुलाई देखाउन र समाजमा आफू ठूलो हु ँभन्ने बताउन दान र सेवा गरेको ढोंग गर्छन्।

सत्वगुणीहरु कर्ता भएर पनि आफूलाई कर्ता मान्दैनन् भने रजोगुणीहरु आफूलाई कर्ता त मान्दैनन् तर कुनै घटकको माध्यम भने आफूलाई ठान्छन्। तमोगुणीहरु केही नहुँदानहुँदै पनि आफूलाई कर्ता र मालिक ठान्छन्। उनीहरु भ्रममा बाँच्छन्। आजका समाजका धेरै मानिस तमोगुण र रजोगुणको बीचतिरको जीवनमा बाँच्छन् र उनीहरुको प्रयास एक खुडि्कला माथि चढ्ने हुन्छ तर जानी वा नजानी भएका गल्तीले उनीहरु हरेक दिन एक खुडि्कला तल झरिरहेका हुन्छन्।

दीर्घकालीनरूपमा कुन गुण प्रधानमा मानिस बाँच्ने भन्ने कुरा ऊ हुर्केको वातावरणले धेरै असर गर्छ किनकि समाजको संरचना र सोच्ने तरिका स्थानपिच्छे अलग छ। हामी पश्चिमा मुलुकमा पुग्यौं भने त्यहाँ जीवनलाई हेर्ने दृष्टिकोण हाम्रो भन्दा पुरै अलग पाउँछौ। हाम्रै देशभित्र पनि विभिन्न गाउँ र सहरमा मनाइने सांस्कृतिक पर्व र खानपिनको संस्कार हेर्दा जीवन बाँच्ने तरिका फरक देखिन्छ। छोटो र तत्कालका लागि भने मानिसको गुण परिवर्तन गराउने दुई तत्व भनेको उसको दैनिकी र खानपिन नै हो। जब यी दुई तत्व लामो समयसम्म अंगालिन्छ, त्यो नै उसको जीवनशैली र गुण बन्न पुग्छ।

जति मानिसको दैनिकी नियमित हुन्छ त्यति नै ऊ माथिल्लो गुणतर्फ आकर्षित हुन्छ। दैनिकी कस्तो हुने भनेर भन्न कठिन छ किनकि हरेक मानिसको दैनिकीले उसको आस्था र कर्मसँग मेल खानुपर्छ। जस्तो कर्म र आस्था भए पनि मानिसको दैनिकी नियमित भने हुनुपर्छ। सामान्य परिस्थितिमा आज बिहान ५ बजे उठ्ने अनि भोलिपल्ट ७ बजे, आज व्यायाम गर्ने अनि भोलि नगर्ने जस्ता अनियमित दैनिकीले मानिसलाई तमोगुणतर्फ लैजान्छ। उठ्नेमा मात्र नभई कर्ममा पनि मानिस नियमित हुनैपर्छ। कर्मको नियमितताले मानिसलाई गलतबाटोतर्फ जानबाट रोक्छ। तसर्थ मानिसले कर्म कहिल्यै छाड्न हुन्न। सनातन धर्मशास्त्रले मात्रै हैन संसारमा हाल प्रचलित सबै धर्मशास्त्रले कर्मलाई नै जोड दिएका कारण पनि यही नै हो।

अब कर्म कस्तो हुने, सोच कस्तो हुने अनि सोच र कर्मको तालमेल कसरी मिलाउने भन्ने निर्णायक तत्व भनेको मानिसको खानपिन र रहनसहन नै हो। श्रीकृष्णले गीतामा अर्जुनलाई खानामा भएको गुण नै मानव जीवनको कारक हो भनेर बुझाउनुभएको छ। हामीले खाने खानेकुरामा माथिका प्रकृतिका तीन गुण विद्यमान रहन्छन्। जस्तो खानेकुरा हामी खान्छौं त्यसले तुरुन्तै हामीलाई त्यो गुणतर्फ आकर्षित गर्छ।

शास्त्रअनुसार सात्विक खानाले आयु बढाउँछ, जीवन शुद्ध पार्छ, बल तथा सुख प्रदान गर्छ, त्यसमा रस हुन्छ र घीउको चिल्लोपन हुन्छ। यस्तो खानाले ह्दयलाई आनन्दमय बनाउँछ। सत्वगुणी खानामा स्वादको कुरा गरिएको पाइन्न। के हुन त यस्ता खाना? दूध र दूधबाट बनेका पदार्थ, फलफूल, पानी अनि अन्न। यहाँ स्वास्थ्य प्रधान हो र स्वाद गौण। हामीले खाना खाँदा यो कुरालाई मात्र ध्यान दिन सक्यौं भने हाम्रो शरीर र मन दुवै शुद्ध हुन्छ। हुन त हामी कतिपय शरीरमा रोग लागिसकेपछि मात्रै सात्विक खाना खान थाल्छौं, जुन गलत हो।

त्यस्तै रजोगुणी खानाको चर्चा गर्दै सनातनशास्त्र भन्छ, यस्तो खानामा स्वाद प्रधान हुन्छ र स्वास्थ्य गौण। धर्मशास्त्र र आधुनिक विज्ञान दुवैले स्वादलाई छ भागमा बाँडेको पाइन्छ। गुलियो, अमिलो, पिरो, टर्रो, तीतो र नुनिलो। यस्ता खाना दुःखका कारण हुन् र यसले शरीर बिगार्छ। रजोगुणी खाना शारीरिक विकासका लागि भन्दा पनि जिब्रोको खुसीका लागि खाइन्छ र कालान्तरमा त्यो नै मानिसको रोगको कारण बन्न जान्छ। मीठो, नमीठो भन्ने शब्दको विकास यहीँबाट हुन्छ। जति जिब्रोले मीठो थाहा पाउँछ, मानिसले त्यति नै धेरै खान्छ। आवश्यकता भन्दा बढी खानाले त्यो नै उसको शरीरका लागि विष बन्दै जान्छ र रोगको कारण पनि। यस्ता खानाले तुरुन्तै रिस उठाउने र गलत कर्मतर्फ लाग्न प्रेरणा दिन्छन्। सत्वगुणी खानामा घीउको मात्रा हुन्छ भने रजोगुणी खानामा तेलको मात्रा हुन्छ। अहिले पनि यसै तथ्यलाई आधार मानेर गाउँघरतिर एउटा उखान सुन्न पाइन्छ, धनीको भान्छामा घीउ हुन्छ, गरिबको भान्छामा तेल। जब सत्वगुणी खानामा स्वाद मिसाइन्छ, त्यो खाना रजोगुणी बन्न जान्छ। जस्तै दूधमा चिनी, तरकारीमा नून र खुर्सानी। यस्ता खानाले शरीरको वजन विकास गर्न सहयोग गरे पनि दिमाग विकास गर्न कुनै सहयोग गर्दैन। हामीले हरेक दिन खाने खाना पनि यस्तै हुन्। सकेसम्म हामीले जिब्रो प्रधान खाना त्याग गर्नुपर्छ।

तमोगुणी खाना भनेको सडेको, गलेको, खानुभन्दा केही घण्टा अघि पकाएर वा बनाएर राखिएको, सडाएर वा कुहियाएर बनाइएको आदि खानालाई भनिन्छ। बासी खाना यही प्रकारको खानामा पर्छन्। यो प्रकारको खानाले तुरुन्तै मानिसको दिमागमा नकारात्मक असर गर्छ। मादक पदार्थ तथा विभिन्न प्रकारका उत्तेजना पैदा गर्ने मांसहारीे खाना तामसी खानाको मुख्य उदाहरण हो। झैझगडा आदि यस्तो प्रकारको खानाको प्रमुख काम हो। न त यसले शरीरको विकासमा टेवा पुग्छ न दिमागकै। यसमा स्वास्थ्य र स्वाद दुवैको प्रधानता हुँदैन। यस्तो खानामा दुर्व्यसन र अल्छीपनको प्रधानता हुन्छ। तामसी खानाले कि निद्रामा लगाउँछ कि त अपराधमा।

माथिका सबै कुराको एउटै अर्थ– हामी जस्तो खानालाई आफ्नो जीवनशैली बनाउँछौ, हामी त्यही गुणतर्फ आकर्षित हुन्छौं भन्ने हो। अनि हामी त्यही गुणअनुसारको कर्म गर्छौं र त्यही गुणअनुसार सोच्न थाल्छौं। सोच बदल्न समाज बदल्नु जरुरी छ र त्यसका लागि आफ्नो भान्छामा पाक्ने खाने कुरा।

प्रकाशित: १६ फाल्गुन २०७२ २१:३९ आइतबार