विचार

फोहोरी नेपालका सिर्जनाकार

घरभित्रका सबै कोठा सफा गरेर एक पटक गृहिणी फोहोर फ्यात्त घरको ढोकामा फ्याँल्छिन् । बालबालिका खेल्ने क्रममा त्यही फोहोरको प्लास्टिकमा राखेका भातको सिता, मासुको टुक्रा, तरकारीको बोक्रा कुल्चेर फेरि घरभित्रै लैजान्छन् । भुस्याहा कुकुरले मासुको टुक्रा राखेको प्लास्टिक च्यातचुत पार्छ।कागले पनि उक्त फोहोर यताउति फ्याल्छ । बेलुकासम्म गृहिणीले फ्यालेको धेरै फोहोर पुनः घरभित्रै फर्कन्छ । अनि कति फोहोरले वातावरण दूषित गरिरहेको हुन्छ । यसको लेखाजोखा कसले गर्छ ? त्यसरी घरबाहिर फोहोर फ्याल्ने गृहिणीलाई शायदै हेक्का हुन्छ कि आफूले फ्यालेको फोहोर फेरि घरभित्रै पसिरहेको छ । अनेकथरीका सिरियल हेरेर त्यहीअनुसारका गहना र साडी लगाउन खप्पिस थुप्रै गृहिणीले यसरी सिंगो नेपाललाई फोहोर नै राख्न सघाउ पु¥याएका छैनन् र ?

अहिले योजना आयोगदेखि मनत्रालय हुँदै नेपालबाहिरका विभिन्न दूतावासमा कार्यरत कर्मचारीले समेत 'दिगो विकास' को नारा लगाइरहेका छन् । सन् २०१५ सम्मको 'सहस्राब्दी विकास' को नारा अब फाइलमा थन्किएको छ । नयाँ नारा सुरु भएको छ सयुक्त राष्ट्र संघको नेतृत्वमा । यी सबै नाराले नेपालमा 'सहस्राब्दी विकास' मा पनि फोहोरकै विकास ग¥यो । फोहोरीपन हटाउन सकेन । र, अब दिगो विकासको नाराले पनि फोहोरीपनलाई दिगो नै पार्ने संकेत काफी देखाइरहेको छ ।

ठूला—ठूला राजनीतिक सिद्धान्त, दर्शन, धर्मको कुरा गर्ने नेता, योगी, वैज्ञानिक, शिक्षक, सामाजिक कार्यकर्ता नेपालबाट 'फोहोरीपन' हट्नै नसक्ने विचार राख्छन् । किनकि यो विषयमा कसैले छलफलसमेत गरेको सुनिँदैन । आफ्नो आँगनभरि फोहोर, सडकभरि फोहोर, मन्दिर र पुरातात्विक महत्वका सबै ठाउँमा फोहोर नै फोहोर भएपछि फोहोरीपनको विकास दिगोरूपमै भएको मान्न पनि कुनै टाउको दुखाइरहनु परेन । यदि संयुक्त राष्ट्र संघले नेपालीका घर आँगन, मन्दिर, अस्पताल, चोक गल्लीबाट फोहोर हटाउन विश्वव्यापीरूपमा पैसा संकलन गरेर 'नेपालीलाई सफा हुन सिकाउँ' भन्ने नारासहित १५ वर्षे 'प्रोजेक्ट' बनायो भने बरु नेताहरुको छलफल यता पनि सुरु हुन्थ्यो कि ?

त्यसपछि अवश्य नेपालमा 'फोहोर मन्त्रालय' पनि थपिनेछ । अरबौँ रुपियाँको बजेट भएपछि फोहोर मन्त्रालयको फोहोरी सचिव र मन्त्री हुन पनि हानथाप हुने नै छ । शायद त्यस्तो 'प्रोजेक्ट' संयुक्त राष्ट्र संघले नै ल्याइदेओस् भनेर हुन सक्छ, पशुपति क्षेत्रसमेत बिनासफाइ छाडिएको छ । पशुपतिको मेला लाग्ने, भजन हुने ठूला मैदान कागज, बोतल, प्लास्टिक फ्याल्ने ठाउँ बनाइएको छ । टाढा जानै पर्दैन, एयरपोर्टबाट गौशालासम्म पुग्दा दायाँपट्टि हेर्दै देखिन्छ कि युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत यो क्षेत्रको चरम फोहोरी पारा । अर्थात दिगो फोहोरीपन । त्यस मैदानमा जति धेरै धर्म, दर्शन र आध्यात्मिकताका कुरा हुन्छन्, उति नै धेरै संसार धार्मिक भइसकेको भान हुन्छ । तर त्यही सभामा चारैतिर छरिएका फोहोर, खकार, कागज, प्लास्टिकका टुक्रा, फोहोरका टाला, पानीपुरी अर्थात जे जे फोहोर हुन्छन्, सबै फ्याँकिएको देख्दा लाग्छ– धर्म र फोहोरबीच पनि गतिलै सम्बन्ध रहेछ ।

अझ पशुपति क्षेत्रमा किरियापुत्री बस्ने ठाउँको पश्चिमपट्टिको ठूलो मैदान देख्दा त विरक्तै लाग्छ । खासगरी किरियाबाट उम्केपछि श्राद्ध गरिने त्यो ठाउँको फोहोरीपनाको बारेमा त हजार जिब्रा भएका नागले पनि वर्णन गर्न सक्दैनन् । श्राद्ध गर्नेले पकाएका भाँडा माझेपछि फ्याँकिने पानी, खाना खाएका प्लास्टिक र कागज, श्राद्ध खान निम्त्याइएका पाहुनाको ख्याक्क–खुक्कबाट निस्कने फोहोर देख्दा लाग्छ– यस्तो फोहोरी ठाउँमा दिइएको पिण्ड पितृले पनि ग्रहण गर्न घिनाउँछन् । कतै दुनिया फोहोर नै राख्दा यसैलाई मुद्दा बनाएर राजनीति गर्न पल्लेकाको त हात छैन यस्तोमा हुनुमा भन्ने पनि लाग्छ कहिलेकाहीँ त ।

कतिपय फोहोर फ्याल्ने ठाउँमा स्थानीय मिलेर भगवानको 'थान' नै बनाइदिने गरेको पनि देखिँदै आएको छ । मानौँ, भगवान पनि फोहोरमै बस्न रुचाउँछन् । विचरा, भगवानलाई पनि दिगो फोहोरभित्र राख्ने हामी नेपालीको चाहना साँच्चै महान् छ भन्ने पनि लाग्न थालेको छ । शायद अब भन्न पनि थाल्ने छौँ कि 'जहाँ फोहोरको आश, त्यहीँ भगवानको बास ।' बानेश्वरदेखि रत्नपार्कसम्मका फोहोर फ्याल्ने डंगुरका अगाडि बनेका मन्दिरले यही कुरा प्रमाणित गर्दैन र ?

वास्तवमा हामीलाई यस्ता फोहोरबारे खासै चिन्ता नलाग्नु स्वाभाविकै पनि हो । धेरै गन्ध र फोहोरमा रमाउन अभ्यस्त भइसकेकाले पनि यो हाम्रो चिन्ताको विषय रहेन । त्यसैले होला, कुनै अति सफा ठाउँ देख्यो कि हामीलाई मनमा 'कस्तो कस्तो' लागेर आउन थालेको । अनि के नमिलेको, के नमिलेको जस्तो लाग्न थालेको । यसैले त होला, जता पायो त्यतै, दिशापिशाव गर्न नपाएर, फोहोर गर्न नपाएर वैदेशिक रोजगारमा गएका नेपालीसमेत मानसिक समस्या लिएर नेपाल फर्कन थालेका । पान खाएर प्याच्च थुक्ने भित्तोदेखि सुन्तला र केराको बोक्रा फुत्त फ्याँक्ने बसको ढोकासम्म नभेटेपछि मनै पनि त कसरी शान्त रहोस् त !

कति जनालाई त बाटोमै पिशाव नगरेसम्म जीउ नै हलुको नहुने रोगै लागेको पाइन्छ । अनि कतिपय त सफा शौचालय जाँदासमेत अति मानसिक तनावमा पर्छन् र सहनै नसकेर नेपालको यादले सताएर फर्कन्छन् । जब एयरपोर्टको चर्पी, काठमाडौको फोहोरको डंगुर, पशुृपति र वाग्मतीको गन्ध फेला पार्छन्, बल्ल उनीहरुको मानसिक रोग हराउँछ । हैन भने सफासुग्घर देशमा बसुन्जेल मानसिक समस्या आउने तर नेपाल छिर्दासाथ हराउने कारण के हो त ? खोजीको विषय नै बनेको छ।

यति फोहोरी भएर पनि हामी धेरैलाई झाडा पखाला नलाग्नु अर्को रहस्यको विषय बनेको छ । तर त्यसमा पनि लाग्छ कि यसो हुनुको प्रमुख कारण हामीमा 'रोगसँग लड्ने क्षमता' अत्याधिक हुनु नै हो । लगातार यसैमा बानी परेपछि प्रतिरक्षा शक्ति नबढोस् पनि किन ? खासगरी भूकम्पको बेलामा धेरैले सफा पानी पाएनन्, चर्पी प्रयोग गर्न मिलेन । साबुनको त कुरै छाडौं । तर पनि झाडा पखालाले थोरैलाई मात्र आक्रमण गर्न सक्यो । आखिर फोहोरसँग अभ्यस्त हुने कारण नै त थियो यो । त्यसैले फोहोर मन पराउनुका फाइदा पनि रहेछन् भन्ने लाग्न थालेको छ एक मन त।

कोही मानिसले सफा सुग्घर हुने कुरा ग¥यो, जथाभावी थुक्न हुन्न भन्यो भने उसलाई आक्षेप लाग्छ कि यसलाई त सफाइको पागलपनले छोएछ । अनि उसैका कुरा काट्ने पनि निस्कन्छन् उत्तिकै । यसैले त अस्पतालदेखि शिक्षालय हुँदै सबैजसो सार्वजनिक स्थान दिगो फोहोरीपनका नमुना हुने क्रममा तीव्र प्रतिस्पर्धा गर्दै अघि बढेका छन् । ती ठाउँमा चर्पी त बनाइएका छन् तर पानी, साबुन जस्ता अत्यावश्यक सामग्री व्यवस्था नभएपछि ती चर्पी चर्पी नै कसरी बन्न सक्छन् ? यस्ताले पनि आखिर मुलुक फोहोर राख्नमै योगदान पुर्याएका छन् भन्न हिच्किचाउनु पर्दैन

राजमार्गका खाना पकाउने ठाउँ त 'फोहोर कसरी सिर्जना गर्ने' भन्ने प्रश्नका लागि अनुकरणीय ठाउँकै रूपमा देखिएका छन् । त्यस्तो ठाउँमा पकाइएका खाने कुरा पनि सबैलाई 'स्वस्थ' राख्न सक्षम छ। अनि लाग्छ– आन्तरिक पर्यटन प्रवद्र्धनमा फोहोरी खानाको पनि ठूलो योगदान छ । समग्रमा यी सबै पक्ष नेपाललाई दिगो फोहोरी राष्ट्र बनाउन लागिपरेका छन् भन्दा अत्युक्ति हुने छैन।

प्रकाशित: १५ फाल्गुन २०७२ २२:२७ शनिबार