विचार

'व्यावसायिक' सम्बन्ध आवश्यक

आगामी फागुन ७ गतेदेखि प्रधान मन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने तय भएको छ। द्विपक्षीय सम्बन्ध सुमधुर रहेका बखत एक देशको कार्यकारी प्रमुखले छिमेकीको भ्रमण गर्नु सामान्य कुरा हो। तर, विगत केही महिनादेखि त्यस निटकतम छिमेकीसँगको सम्बन्धमा चिसोपना उत्पन्न हुन पुगेको छ।यसकारण पनि प्रधान मन्त्रीको यस पटकको भारत भ्रमणले बेग्लै र दूरगामी महत्व राख्ने देखिन्छ। सबैभन्दा ठूलो कुरो बिनाकारण त्यस छिमेकीले झन्डै ५ महिना नेपालमा नाकाबन्दी लगाएपछि राजनीति र कूटनीतिमा पटक्कै चासो नराख्ने जनसमुदाय पनि भारतप्रति अविश्वास गर्न थालेका छन्। नेपालको अधिकांश युवाजमात् सुख–दुःखमा साथ दिँदै आएको त्यस छिमेकीप्रति औँला ठडाउन थालेका छन्।

हठात्को नाकाबन्दीको अन्त्य गत शुक्रबार चुपचाप हुन पुगेको छ। नाकाबन्दीको अवधिमा यस देशका सर्वसाधारणको चुल्हो त चिसियो नै साथमा अत्यावश्यक औषधिको समेत अभाव व्यहोर्नुपर्योद। सोही कारण अहिले नेपालमा ठूलो मानवीय संकट उत्पन्न भएको सारा विश्वले देख्यो। यसले भारतसँगको एकल परनिर्भरता कतिसम्म हानिकारक हुँदो रहेछ भन्ने पाठ सिकाएको छ। प्रधान मन्त्री ओलीले भ्रमणका क्रममा परनिर्भरतालाई नै बल पुग्नेगरी 'याचना' गर्दै इन्धनलगायतका अत्यावश्यक वस्तु पठाइदिनुपर्योी भन्ने होइन, अन्तर्निर्भरताका उपायबारे आफ्ना एजेन्डा अघि सार्न र छलफल गर्न सक्नुपर्छ। भारतलाई कम्तीमा बिजुलीमात्र बेच्न सक्ने अवस्थामा यो देश रहेको भए यतिविधि हेपाइ सहनु पदैनथ्यो भन्ने हेक्का उनले राख्नुपर्छ।

मंगलबार निधन भएका पूर्वप्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाल आइपुगेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले अब दुई देशबीचको 'सद्भाव' बढाउनुपर्ने बताइन्। भावुकताले ओतप्रोत उनको अभिव्यक्ति सुन्दा जति मीठो लाग्छ, व्यावहारिकताको कसीमा राख्दा त्यसले नेपाललाई नोक्सानमात्र पुर्यातएको बुझ्न सकिन्छ। परापूर्वकालदेखि 'रोटीबेटी'को सम्बन्धका साथै सामाजिक–सांस्कृतिक एकरूपतामा बाँधिएका यी दुई छिमेकीबीच किन समयसमयमा सद्भाव खल्बलिन्छ? कसका कारण कसले दुःख–कष्ट झेल्नुपर्छ? यस्ता प्रश्नका उत्तर खोज्न राजनीतिक र कूटनीतिक तथा इतिहासका ज्ञाताले ठूलै ठेली लेख्नुपर्छ। तर, सोझो र सीधा कुरा के हो भने, अब कुनै पनि अन्तर्देशीय सम्बन्ध 'सद्भाव'का आधारमा मात्र चल्न सक्दैन। सम्बन्ध पनि 'व्यावसायिक' हुनु आवश्यक छ। सम्बन्धको मजबुतीकरणका निम्ति लेनदेन वा हरहिसाब चुस्त रहनुपर्छ। यस मामिलामा नेपाल निरन्तर चुक्दै आएको छ। गत बैशाख १२ र २९ को महाभूकम्पको असरबाट नेपाललाई उतार्न जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको त्यहाँका प्रधान मन्त्री नरेन्द्र मोदीले बताउँदा सारा नेपाली भावुक भएका थिए। तर, त्यस बचनको मसी सुक्न नपाउँदै नाकाबन्दीजस्तो अमानवीय व्यवहार गर्नुको मुख्य कारण हामीले सम्बन्धलाई सधैँ 'सद्भाव' सीमित राख्नु हो, परनिर्भरतामै रमाइरहनु हो। प्रधान मन्त्रीको आसन्न भारत भ्रमणले यसको उपचार खोज्न सक्नुपर्छ।

अबको विश्वमा द्विपक्षीय वा बहुपक्षीय सम्बन्धको सूत्र 'सद्भाव'मात्रै हुन सक्दैन। उदाहरणका निम्ति भारत–पाकिस्तान सम्बन्ध नै पर्याप्त छ। ती दुई देशबीच रोटीबेटीको सम्बन्ध यति ज्यादा छ कि, नेपालसँग त्यसको तुलना हुनै सक्दैन। भाषा, संस्कृति, रहनसहन, सामाजिक बनावट धेरै मिल्छ। तर, राजनीतिक सम्बन्ध भने सदा कटु रहँदै आएको छ। सीमा जोडिएका कतिपय मुलुकबीच रोटीबेटी तथा सामाजिक–सांस्कृतिक समानता रहनु सामान्य कुरा हो। तर, यही आधारमा विकास वा सहयोग पनि समान हुन्छ भन्न सकिँदैन। यसकारण पनि प्रधान मन्त्री ओलीले आफ्नो भारत भ्रमणलाई 'विशेष' बनाउन सक्नुपर्छ।

सम्बन्ध सुधारको प्रयत्न गर्नु, सद्भाववृद्धिका अभिव्यक्ति दिनु आफ्नो ठाउँमा छँदैछ, साथमा आगामी दिनमा नेपालले भारतको तर्फबाट नाकाबन्दी खप्नुनपर्ने योजना पनि प्रस्तुत गर्न सक्नुपर्छ। कुनै बेला मोदीले भनेका थिए– नेपालको बिजुलीले भारतमा उज्यालो दिन्छ। उनकै भनाइमा टेक्दै त्यसलाई व्यावसायिक र व्यावहारिक गति दिने काम अगाडि बढाउन सकेमा प्रधान मन्त्री ओलीको भारत भ्रमणलाई एक हदसम्म सफल मान्न सकिनेछ।

प्रकाशित: २७ माघ २०७२ २१:४८ बुधबार