विचार

कांग्रेसको कठोर नियति

नेपाली कांग्रेस १३औँ महाधिवेशन सम्पन्न गर्ने चटारोमा रहेकै समयमा पार्टी सभापति एव पूर्वप्रधान मन्त्री सुशील कोइरालाले देहत्याग गरे। छ दशक लामो राजनीतिक याात्राबाट बिदा लिएका सुशीलका आफ्नै विशेषता छन्, यतिबेला त्यसको जोडघटाउन पनि गरिँदैछ। सादा, सरल जीवनशैली, लोकतान्त्रिक पद्धतिको पक्षमा उभिने, आफ्नो ब्रह्मले देखेको कुराबाट पछाडि नहट्ने र भ्रष्टाचारविरोधी नेताको छवि उनले निर्माण गरेका थिए। विरोधी खेमाका व्यक्ति पनि उनका यी विशेषताको मुक्तकण्ठले प्रशंसा गर्छन्।उनको भौतिक अवसानले राजनीतिक वृत्तमा ठूलो खाडल बनाएको विश्लेषण यसबखत भैरहेको छ। नेपाली जनताले दोस्रो संविधान सभामा सबैभन्दा ठूलो पार्टी बनाएर मुलुकप्रतिको दायित्व सुम्पिएको कांग्रेसको सभापतिको हैसियतमा पछिल्लो कालखण्डमा सुशीलले खेलेको भूमिकाले उनको राजनीतिक व्यक्तित्व उज्यालिएको छ, उचालिएको छ।

नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ असोज ३ मा जारी हुँदा उनी मुलुकको प्रधान मन्त्री पदमा थिए। कांग्रेस पार्टीको सभापति र मुलुकको प्रधान मन्त्रीको हैसियतम उनले अभिभावकीय भूमिका खेलेर विपरीत विचारधारामा विश्वास गर्ने राजनीतिक दलहरूबीच सहमति बनाएर संविधान जारी गर्नु आफैमा चुनौतीपूर्ण काम थियो। आफ्नो अडानबाट पछाडि नहट्ने परिचय बनाएका सुशीलले संविधान निर्माण गर्दा कतिपय अवस्थामा लचिलो भैदिए, सम्झौता गरिदिए। अडानको उनको अस्त्र संविधान जारी गर्ने मूल्यमा कमजोर भएको हामीले देख्याँै। संविधान निर्माणको शर्तमा आफूले पाएको प्रधान मन्त्री पद त्याग्नेसम्मको उदारता उनले प्रदर्शन गरेका थिए।

राज्यसञ्चालनका फरकफरक मोडलहरूबीच कांग्रेसले आफ्नो अडानहरूबीच सुधारिएको संसदीय लोकतान्त्रिक व्यवस्थामा चित्त बुझायो। कांग्रेसका लागि सम्झौताको दस्तावेज बन्यो नयाँ संविधान। त्यस्तै, संविधान निर्माणमा संलग्न अरु प्रमुख दल एमाले र एमाओवादीले पनि आफ्ना कतिपय महत्वपूर्ण अडान त्यागेर सम्झौतामा आएका थिए। एउटा लचिलो राजनीतिक वातावरण आवश्यक थियो संविधान निर्माण र त्यसलाई जारी गर्नका निम्ति। त्यो वातावरण बनाउन सुशीलले खेलेको भूमिका नै उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो उपलब्धि मान्नुपर्ने हुन्छ। संविधान जारी हुनुभन्दा केही समयअघिदेखि संविधान निर्माणबाट बाहिर रहेका विशेेषगरेर मधेस केन्द्रित दलहरूलाई समझदारीमा ल्याउने प्रयासमा उनी सक्रिय थिए। संविधान निर्माणदेखि नै विमति राख्दै आन्दोलनमा होमिएका मधेस केन्द्रित दलहरूका मागप्रति सहानुभूति राख्दै संविधान निर्माण सम्पन्न गर्ने दोहोरो भूमिका सुशीलले खेले। र, झन्डै छ महिना लामो मधेस केन्द्रित दलको राजनीतिक अवरोध अहिले साम्य हुने क्रममा छ। छ महिनादेखि आन्दोलन, बन्द, हड्ताल र नाकाबन्दीको राजनीतिबाट प्रभावित नेपाली जनजीवनले खुकुलो अनुभव गरिरहेको बेला सुशील भने यस धर्तीबाट बिदा भएका छन्। आफ्नै नेतृत्वको सरकारले अघि सारेको संविधान संशोधन प्रस्तावलाई कार्यान्वयन गरेर मधेस केन्द्रित दलका आंशिक माग पूरा गराउने र आन्दोलनलाई अवतरणको दिशामा उन्मुख गराउने राजनीतिको मुख्य श्रेय उनै सुशीललाई जान्छ।

नेपाली जनतालाई संविधान दिलाउने र आन्दोलनमा होमिएका मधेस केन्द्रित दलहरूलाई आन्दोलन बिसाएर वार्ता र संवादवाट राजनीतिक निकास निकाल्न अग्रणी भूमिका खेल्नु नै सुशीलको राजनीतिक जीवनको अविस्मरणीय उपलब्धिका रूपमा इतिहासमा अंकित हुनेछ। पछिल्लो समयमा उनले खेलेको भूमिकाका कारण उनले सफल राजनीतिक नेतृत्वको परिचय बनाएका छन्। खासमा राजनीतिक सफलताको शिखरमा पुगेको समयमा उनले देहत्याग गरे। इतिहास रचेको बेला र मुलुकमा संविधान जारी गर्न महत्वपुर्ण भूमिका खेलेको श्रेय पाएको बेला उनको निधन भएको छ। नेपाली समाजमा कतिपय मृत्युलाई तिथि, मिति र बारका आधारमा राम्रो भन्ने चलन छ। सुशील राजनीतिक प्राणी हुन्। उनको मरणको राजनीतिक विश्लेषण गर्नुपर्छ। यसअर्थमा उनको मरणलाई अत्यन्तै राम्रो भन्न सकिन्छ।

रोगब्याधले ग्रसित, कमजोर, गलित वयको भरमा आउँदा दिनको राजनीतिक यात्राबाट थप उपलब्धि प्राप्त गर्ने झिनो सम्भावनाबीच सुशील सक्रिय जीवनबाटै बिदा भए। उनको छ दशक लामो राजनीतिक यात्राबीच अहिलेको सयम परीक्षाको समय थियो। तर, १३औँ महाधिवेशनको महाभारतको जसअपजसको भागिदार उनले बन्नुपरेन। निश्चय नै उनी ठूलो अप्ठ्यारोमा थिए। उनका सामु लोकतान्त्रिक मूल्यमान्यतामा नेपाली कांग्रेसलाई अघि बढाउने योजनाका साथ वंशपरम्परा जीवित गर्नुपर्ने चुनौती पनि थियो। १३औँ महाधिवेशनमा फेरि सभापतिको उम्मेदवार बन्ने उनको योजनाका पछाडि आफ्नै राजनीतिक आकांक्षाभन्दा कोइरालावंशको विरासत बिसाउने योजनाबाट निर्देशित रहेको आकलन भैरहेको थियो। जसरी दिवंगत गिरिजाप्रसाद कोइरलाको विरासत सुशीलमा सरेको थियो। त्यसैगरी, सुशीलबाट अर्को 'कोइरालावंश'का नेतामा कांग्रेसको नेतृत्व हस्तान्तरण गर्ने योजनाको रचना भैरहेको देखिन्थ्यो। सुशीलको नेतृत्वमा पार्टीमा संस्थापन पक्ष भनेर चिनिएको गुट १३औँ महाधिवेशनको संघारमा आएर छिन्नभिन्न भएको अवस्था थियो। सुशील आफै सभापतिको उम्मेदवार बन्ने सुरमा थिए भने उपसभापति रामचन्द पौडेल, जो संस्थापन पक्षकै भनेर चिनिन्छन् उनले पनि सोही पदमा उम्मेदवारी घोषणा गरिसकेका थिए। आफ्ना मान्छेहरूलाई मिलाउन हम्मे परेको अवस्थामा सुशील ठूलो समस्यामा घेरिएका थिए। पार्टी राजनीतिमा उनको भूमिकाबारे एकैखाले विचार छैनन्। उनलाई सफल राजनीतिज्ञ मान्नेको जमात पनि नभएको होइन। तर, त्योभन्दा ठूलो कांग्रेसजमातले उनलाई एउटा कोटरीको नेता मान्ने गर्थे।

राजनीतिक सुझबुझ, बौद्धिकता र चार्तुयताभन्दा लामो समयदेखिको निरन्तरता, आफ्नैखालको राजनीतिक जीवनशैली र विरासतको परम्पराले कांग्रेस सभापतिको पदमा पुगेका सुशीलको राजनीतिक यात्रा सरलरेखाबाट हिँडेको छैन। उनको यात्रा संघर्षपूर्ण, जोखिम र आरोहअवरोहले भरिएको छ। छ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय सुशीलले दुई दशक त निर्वासनमा बिताए। निर्वासनमा रहेकै बेला कांग्रेसले प्रजातान्त्रिक आन्दोलन सफल पार्नका निम्ति जहाज अपहरण गर्नेजस्तो जोखिमपूर्ण काममा उनलाई संलग्न गरायो। भारतमै जेल यातना भोगेका सुशीलको राजनीतिक यात्राका विशेषता र मौलिकखाले कमजोरीहरू पनि छन्। कांग्रेस पार्र्टी सत्तामा रहँदा वा नरहँदा करिब ३ दशकदेखि उनी महत्वपूर्ण जिम्मेवारीमा थिए। पार्टी राजनीतिमा केन्द्रीय सदस्य र महामन्त्री, उपसभापति र कार्यवाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिको जिम्मेवारी पाएका सुशीललाई पार्टीमा आमकार्यकर्तालाई नसमेट्ने र सानो कोटरीबाट सञ्चालित हुने नेताका रूपमा चिन्छन् कतिपय कांग्रेसजनले। कांग्रेस इतिहासदेखि नै दुईधारको राजनीतिक प्रतिस्पर्धाबाट गुजि्रएको छ। र, सुशील कोइराला पक्षधार धारको प्रतिनिधिका रूपमा चिनिन्छन्। कांग्रेसमा अनुशासन, पद्धति र भ्रष्टाचारविरोधी अभियन्ताजस्तै बनेका सुशीलको कमजोरी भनेको आफूले मानेका दिवंगत नेता गिरिजाप्रसादका विश्वासपात्र–अन्धभक्त भैदिनु हो। गिरिजाप्रसाद सभापति हुँदा भित्रभित्रै पार्टी सञ्चालनमा अर्थपूर्ण र प्रभावकारी भूमिका खेल्ने सुशीलले राजनीतिक अभ्यासका क्रममा थुप्रै विरोधी पनि कमाए, पार्टीभित्र उनका विरोधी ठूलो संख्यामा देखिए।

कांग्रेस अहिले ठूलो संकटमा छ। कांग्रेसजन पार्टी सभापतिको मृत्युमा लामो सयमसम्म दुःखमनाउ गर्नेभन्दा पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक अप्ठेरामा छन्। सुशीलको नेतृत्वमा रहेको पार्टीको संस्थापन पक्ष अब कसरी महाधिवेशनमा प्रस्तुत हुन्छ र त्यसका विरुद्ध वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष कसरी अगाडि बढ्ला? सभापति गुमाएको पीडा बिर्सन नपाउँदै चुनावी जोडघटाउमा सक्रिय हुनुपर्ने नियतिबाट कांग्रेस गुज्रँदै छ। कांग्रेसको राजनीतिमा सक्रिय कोइराला परिवारका सदस्यहरू सुजाता, डा. शशांक र डा. शेखरको आसन्न महाधिवेशनमा केकस्तो भूमिका हुने हो? सुशीलबाट विरासत हात पार्ने ध्याउन्नमा रहेका शशांक सम्भवतः सबैभन्दा बढी मर्माहत भएका हुन सक्छन् अहिलेको घडीमा। बेलाबेलामा पार्टी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रने संकेत गर्दै आएकी गिरिजापुत्री सुजाताको आगामी भूमिका के हुने हो? सुशीलको अभिभावकीय नेतृत्वमा हुर्किएको कांग्रेसको संस्थापन खेमामा कोइरालाको विरासत कोइरालामै सर्नुपर्छ भन्नेको संख्या ठूलो छ। अहिले सुशील छैनन्। बद्लिएको परिस्थितिमा वंशपरम्परावादी सोच परिवर्तन गरेर उदारमना हुनसक्दा नै कांग्रेसलाई राष्ट्रियरूपमा फाइदा पुग्छ। त्यस्तो हुनसक्यो भनेमात्र कांग्रेसको १३औँ महाधिवेशन सफल हुनेछ।

प्रकाशित: २७ माघ २०७२ २१:४६ बुधबार