विचार

असरफ, इस्लाम र ईश्वर निन्दा

तिम्रो लाटो रगत बोल्ने छैन
जबसम्म मृत्युमा पुगेर
तिमी आफैँमाथि गर्व गर्छौ
कवितामा उनले पैगम्बर मोहमदलाई निन्दा पनि गरेका थिएनन्। मौलवीतन्त्रद्वारा निर्देशित सउदी अरबको अदालतले प्यालेस्टिनी मूलका कवि तथा चित्रकार असरफ फयादलाई गत नोभेम्बरमा मृत्युदण्ड सुनायो।सुन्दै कपाउने यो निर्णय अदालतले फयादको एउटा कविता संग्रहमा ईश्वर निन्दा भएको आरोपमा सुनाएको हो। कट्टरपन्थी धार्मिक समाजको प्रभाव झल्कने अदालतको यस निर्णयले पैगम्बर मुहम्मदको महान् उपदेशकै खिल्ली उडाएको छ। आत्माको अस्तित्व साँच्चिकै हुँदो हो त स्वर्गीय मुहम्मद यसो भन्दै थकथकी मानिरहेका होलान्, 'म उन्नत मानवीय समाजको सपना देख्थेँ, मेरा अनुयायीहरू मेरै सपनाको हत्या गरिरहेका छन्।'

पैगम्बरको सपना

भारतीय विद्वान् राहुल सांकृत्यायनको किताब 'इस्लाम धर्मकी रूपरेखा' का अनुसार इस्लाम धर्मका संस्थापक महात्मा मुहम्मद शान्तिप्रिय र ईश्वरभक्त थिए। अनेक सद्गुणले मनुष्य जातिलाई उनले ठूलो उपकार गरे। अगणितजनलाई उनको प्रकाशले मार्ग देखायो र तिनले शान्ति पाए। पैगम्बरले भनेका छन्, ईश्वर कलह रुचाउँदैनन् (कुरान, २ : २५ : ९)। अर्को ठाउँमा उनी भन्छन्, तिम्रा लागि तिम्रो धर्म, मेरा लागि मेरो धर्म। मोहमदका यी दुई वाणी शान्ति र धार्मिक सहिष्णुताको सुन्दर पाठ हुन्। इस्लामको आत्मा खासमा यिनै कुरा हुन्। असहिष्णु भएर कसैलाई मृत्युदण्ड दिनु वा फतवा जारी गर्नु इस्लामकै आत्मा निमोठ्नु हो । फयाद त पछिल्लो उदाहरण मात्र हुन्। यसरी कतिलाई ढुंगाले हानी हानी मारिएको छ, कतिलाई गोली ठोकी, कतिलाई झुन्ड्याएर मारिएको छ। सलमान रुस्दी र तसलिमा नसरिनजस्ता संसारप्रसिद्ध लेखकले फतवा झेल्दै संसारका विभिन्न देशमा शरणार्थीका रूपमा भौतारिनुपरेको छ। कट्टरपन्थीहरूले कुनै पनि दिन तिनको ज्यान लिने खतरा छ।

मुहम्मदको जन्मताक अरयिबा संसार अत्यन्त अशान्त र अन्धविश्वासी थियो। युद्धबन्दीका पत्नी र बच्चाहरूको शिरच्छेदन गर्नु, बलिरहेको आगोमा जिउँदो मान्छेलाई फालिदिनु त्यतिखेर अति साधारण प्रचलन थियो। सांकृत्यायनका अनुसार हिन्दु पुत्र अम्रुले आफ्ना भाइ मारिएको प्रतिशोधमा तमीम वंशमाथि आक्रमण गरे। सारा तमीम बस्ती छाडेर भागे। हमरा नामकी एक वृद्धा र भोकमारी लागेको अर्को कुनै बस्तीबाट खाना खोज्दै आएको अमारा नामको पुरुषलाई जिउँदै जलाइयो। कोमल शिशुलाई लक्ष्य बनाएर तीर हान्नु, चोक्टा चोक्टा काट्नु, शत्रुको कलेजो खानुजस्ता क्रिया नृशंसताका परिचायक थिए। यस्तैमा सन् ५७० मा मक्कामा मुहम्मदको जन्म भयो। गर्भमै पिता, चार वर्षमा माता र आठ वर्षमा हजुरबाबु गुमाएर पूरै अनाथ हुन पुगेका मुहमदले आफूभन्दा १५ वर्ष जेठी पत्नी खादिजाको व्यापारको सिलसिलामा सिरिया, प्यालेस्टाइन ओहोरदोहोर गर्ने अवसर पाए। यस क्रममा उनलाई यहुदी र इसाई सिद्धान्तले प्रभाव पारे।

एक दिन उनले अल्लाहका दूत ग्रेबेलको दर्शन मिलेको र अल्लाहको सन्देश पाएको सुनाए। उनी अल्लाहका उपदेश जनतालाई सुनाउन थाले। शत्रुहरूले मार्न खोज्दा भागेर उनी मदिना गए। त्यहाँ उनको भव्य स्वागत भयो। उनको यस पलायनलाई हिजिरा भनिन्छ। सन् ६२२ मा भएकाले यही साललाई उनका अनुयायीले नयाँ संवत् माने। मुहम्मदले मक्कामा हमला गरेर जित हासिल गरे। आफ्नो धर्म मानेको खण्डमा त्यहाँका वासिन्दालाई छाडिदिने वचन दिए। उनले मक्कामा रहेका कैयन् मूर्ति फोरिदिए तर मक्कावासीको अगाध श्रद्धाको प्रतीक काबाको पत्थर फोरेनन्। आज पनि मक्कामा हज गर्न जाने मुसलमानहरू त्यस पत्थरलाई सात फेरो लगाएर चुम्बन गर्छन्।

इस्लामको अर्थ परमेश्वरमा आफूलाई समर्पण गर्नु हो। द्वेष, घृणा आदि दुर्गुण त्यागी प्रेम र सद्व्यवहार गर्नु, अहिंसा, न्याय र नियमको उचित व्यवहार गर्नु, गरिबलाई दान दिनु, शत्रुलाई पनि क्षमा गर्नु, विद्वान्को सम्मान गर्नु आफूलाई ईश्वरमा समर्पण गर्नु हो। तत्कालीन अरबमा इस्लामका यी सिद्धान्त महान् क्रान्ति थियो। यो अत्यन्त सरल धर्म हो। यसमा जातिभेद छैन। मूर्तिपूजा, यज्ञजस्ता निरर्थक कुरा वर्जित छन्। अल्लाहका अगाडि कोही उचनिच छैन, सबैमा भातृत्वको विकास हुनुपर्छ। पैगम्बरका यिनै सुन्दर उपदेशलाई उनको मृत्युपछि चेलाहरूले संकलन गरेर कुरान प्रकाशित गरे। मुसलमानका लागि यही किताब ईश्वरीय वचन हो। कुरानबाहेक अन्य केही पूरक ग्रन्थ पनि इस्लाममा समावेश गरिए।

पैगम्बर मुहमदको विचार तत्कालीन भ्रष्ट र अन्यायी समाजविरुद्ध विद्रोह थियो । मूर्तिपूजा, सूदखोरी, नैतिक मूल्यको पतन र शोषणविरुद्ध उनले नयाँ सामाजिक तथा अर्थव्यवस्था सुरु गरे । समूहका प्रधानलाई 'ढाई'ले सबैलाई सबै कुराको समान वितरण गर्थ्यो। एक खालको कम्युन सिस्टम थियो। 'खलिफा'को हैसियत पनि सर्वसाधारणको जस्तै हुन्थ्यो। उसको पनि सार्वजनिक आलोचना हुन्थ्यो। हरेक मुसलमानले आम्दानीअनुसार जाकात अर्थात् आयकर तिर्नुपर्थ्यो। यो गरिब समुदायलाई वितरण गरिन्थ्यो। इतिहासकारहरूका अनुसार यो न्याय व्यवस्था चार खलिफाको कालसम्म जम्माजम्मी साठी वर्ष चल्यो। पछि गरिबका लागि बटुलिने जाकात सामन्तको खजानामा पुग्न थाल्यो। सामन्तहरूले साम्राज्य फैलाउन इस्लामलाई प्रयोग गर्न थाले। त्यसपछि त महात्मा मुहम्मदका अतिमानवीय उपदेश कुरानमा थन्किए। व्यवहारमा मौलवीतन्त्रका असहिष्णुता र कट्टरपन्थ इस्लाम धर्ममा बेलगाम हुन थाले।

असरफको 'अपराध'

प्यालेस्टिनी मूलका असरफ सन् १९८० मा सउदी अरबमा जन्मेका हुन्। ब्रिटिस अरब कला परिषद् इज अफ अरबियाका सक्रिय सदस्य उनी सउदी अरबको चित्रलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने प्रमुख व्यक्ति हुन्। सन् २०१३ मा भएको एउटा फुटबल म्याचमा आफ्नै सहकर्मी कलाकारसँग विवाद गर्दा अरबको दक्षिण पश्चिमस्थित आभामा उनी पक्राउ परे। चार वर्ष जेल र आठ सय कोर्रा सजाय तोकियो। जमानतमा रिहा भएपछि फेरि त्यो मुद्दा उल्ट्याएर तल्लो अदालतमा पुर्या इयो जसले उनलाई मृत्युदण्ड सुनायो। मुद्दामा सन् २००८ मा प्रकाशित कवितासंग्रह 'इन्सट्रक्सन विदिन' मा उनले अल्लाह निन्दा गरेको आरोप लगाइयो। फयाद आफूलाई नास्तिक मान्दैनन्। सार्वजनिकरूपमा एउटा व्यक्तिलाई आभामा धर्मान्ध प्रहरीले कोर्रा हानेको भिडियो केहीअघि उनले पोस्ट गरेका थिए। उनका नजिकका मित्रहरूका अनुसार यो मुद्दा त्यही भिडियो अपलोडप्रति कट्टरपन्थीहरूले उनीसँग लिएको प्रतिशोध हो।

फयादलाई मृत्युदण्ड सुनाएको खबर पाउनेबित्तिकै संसारभरि कवि, लेखक र मानव अधिकारवादी विरोधमा उत्रिए। गत जनवरी १४ मा एउटा जर्मन साहित्यिक संस्थाको आह्वानमा संसारभरि उनका कविताहरू वाचन गरिए। नेपालमा पनि चितवन र हेटौँडाका कविहरूले विरोध सभा गरे। काठमाडौँको वसन्तपुरमा बुकहोलिक्स र शिल्पी थियटरमा युवाकवि सौरभ कार्की, शिखर घिमिरे, अज्ञात लुइँटेलकोे आह्वानमा देशका प्रसिद्ध कविहरूले असरफका पक्षमा कविता सुनाए। यो क्रम संसारभरि जारी रहनेछ। मृत्युदण्ड सुनाउने र रमिता हेर्नेका लागि यो सजाय सामान्य होला। परिवार र आफन्तलाई पुस्तौँसम्म यसले पिरिरहनेेछ। यस्तै खालको घटनामा भारतमा पनि एक लेखक र अर्का मुसलमानको हत्या भएको थियो। त्यसप्रति भाजपाको कट्टरपन्थी हिन्दु सरकारको मौनविरुद्ध भारतीय लेखक तथा कलाकार आफूले पाएको सरकारी सम्मान धमाधम फिर्ता गर्दैछन्। एउटा कवि वा लेखकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान र जीवन रक्षाका लागि संसारका सारा न्यायप्रेमीले आवाज उठाऊन्। पैगम्बरको मानवताका असली अनुयायी संसारका सारा मुसलमानले पनि यसमा साथ दिनु जरुरी छ।

प्रकाशित: १४ माघ २०७२ २०:२४ बिहीबार