विचार

'मसान'को समाजशास्त्र

भारतीय सिनेमा 'मसान' ले उठाएको समस्या धेरै हदसम्म हाम्रा युवायुवतीको पनि समस्या हो। त्यसैले निर्देशक निरज घवनले पहिलो सिनेमाबाटै व्यावसायिक निर्देशकले कैयन् सिनेमाबाट नपाउने प्रशंसा पाए। गत वर्ष यो सिनेमा संसारप्रसिद्ध क्यान्स फिल्म फेस्टिबलमा पुरस्कृत भयो।

झट्ट हेर्दा यो, बनारस निवासी दुई जोडी प्रेमीको दुःखान्त र अन्तरसंघर्षको मार्मिक कथा हो। तर, त्यतिमै सीमित छैन। अन्तर्यमा यसले सिस्टममाथि गतिलो प्रश्न उठाएको छ। होटलको कोठामा युवाजोडी देवी पाठक र पियुषको सहवासको उत्तेजक दृश्य चल्तीको शालीनताको परिभाषामा अट्दैन। तर, कथाको प्रस्थान विन्दु त्यहीँ छ। तिनीहरू पक्राउ पर्छन्। विपरीत लिंगीबीच प्रेमको उत्कर्ष शारीरिक सम्बन्धबाट पनि व्यक्त हुन्छ। पूर्वी समाजमा प्रेमलाई अझै अपराध मानिन्छ। प्रहरी यातना र सामाजिक कलंकको डरले प्रेमीले आत्महत्या गर्छ। बाँकी रहन्छ देवीको अथक संघर्ष र भ्रष्ट प्रहरीको बदनियत। देवीले आफूलाई दोषी नठान्नु स्वाभाविक हो किनभने दुवैको सहमतिमा उनीहरूबीच शारीरिक सम्पर्क भएको थियो। हुतिहारा भएर प्रेमीले आत्महत्या नगरेको भए ऊ समाजको मध्ययुगीन रीतविरुद्ध बलियो भएर लड्न सक्थी। यता प्रहरी अधिकृत मोबाइलमा खिचिएको देवीको नग्न भिडियो देखाएर उसको बाबुसँग ३ लाख रुपियाँ घुस माग्छ। सिनेमामा समानान्तररूपमा अर्को जोडी दीपक चौधरी र शालु गुप्ताको अन्तर्जातीय प्रेमकथा छ। दीपक मसानमा मुर्दा पोल्ने चाण्डालको छोरा हो। यही कुरामा उसलाई हीनताबोध छ। वर्ण व्यवस्थामा आधारित समाजले उसलाई दिएको उपहार यही हो। त्यही पेसा गरेर बाबुले उसलाई इन्जिनियरिङ पढाइरहेको हुन्छ। दीपक स्वयंलाई पनि लास जलाउन सधैँजसो व्यस्त हुनुपर्छ। यो रहस्य खुलिसकेपछि पनि शालु उसलाई साथ दिन्छे। पारिवारिक सहयोग नहुँदा भागेरै दीपकसँग जान तयार हुन्छे। पूर्वी समाजमा युवावर्गले प्रेममा छुत, अछुत र जात व्यवस्थालाई चुनौती दिन थालेको यो सुन्दर संकेत हो। तर, तीर्थ यात्रामा जाँदा दुर्घटनामा परेर शालुको पूरै परिवारको मृत्यु हुन्छ। आफूले जलाउन लागेको लास आफ्नै प्रियतमाको हो भन्ने जब चाण्डाल प्रेमीलाई थाहा हुन्छ, त्यस्तो बेला उसको हालत के होला? दीपक चौधरी यही कहालीलाग्दो समयसँग साक्षात्कार गर्छ।

प्रेमको दायरा

प्रेममा असफल मान्छे अपूरो, अधुरो र अमिल्दो हुन्छ। ऊ आफूलाई बेकाम ठान्छ। निकास दिन नसके जिन्दगी नै कुण्ठित हुन्छ। अनि ऊ जीवनको लडाइँमा हार खान थाल्छ। तर, असफल प्रेमलाई संघर्षको विन्दु बनाउन सक्ने मान्छे जिन्दगीको कुनै पनि लडाइँसँग हार्दैन। पूर्वी समाजका सारा युवालाई देवी पाठकको संघर्षले सिकाउने पाठ यही हो।

दर्शनशास्त्रीहरूले विपरीत लिंगीबीचको प्रेम सम्बन्धलाई दुई भागमा विभाजित गरेका छन्। प्लाटोनिक र फिजिकल रिलेसनसिप । प्लाटोनिक रिलेसनसिपको दायरा व्यापक हुन्छ। कतिले यसलाई ममता, मित्रता र बन्धुत्वका रूपमा अर्थ्याउँछन्। कतिले चाहिँ यस्तो प्रेमलाई आत्मिक र आध्यात्मिक ठान्छन्। जीवशास्त्रीहरूले यस्तो सम्बन्धलाई महत्व दिँदैनन्। आधुनिक युगमा युवायुवतीको प्रेमको उत्कर्षचाहिँ फिजिकल रिलेसनसिपमै व्यक्त हुन्छ। त्यसैले यौनलाई मानव अधिकार मानिएको हो। अन्नपूर्ण राणाको मुद्दामा अदालतले बिहे नगरे पनि महिला आमा बन्न सक्छिन् भन्ने फैसला सुनायो। यसले बिहेअघिको शारीरिक सम्बन्धलाई अवैध ठानिदैन भन्ने नजिर स्थापित गर्छ। तर, धर्मभीरु समाजमा कानुनभन्दा सामाजिक नियमहरू अत्यन्त बलवान् हुन्छन्। सामाजिक रीत लत्याएर कोही पनि समाजमा टिक्न सक्दैन। त्यस्तो परिस्थितिमा पनि धैर्य नगुमाई जीवनको लडाइँमा होमिनु महत्वपूर्ण कुरा हो। 'मसान' मा देवीले यही गर्छे।

ओशो रजनीशले पूर्वी समाजमा आइन्सटाइन र मेरी क्युरी बन्नुपर्ने युवाहरू किन असफल छन् भन्नेबारे रोचक व्याख्या गरेका छन्। उनका अनुसार यहाँका युवकको दिमाग चौबीसै घण्टा युवतीहरूको स्कर्टवरिपरि घुमिरहेको हुन्छ। अनि युवतीहरू चौबीसै घन्टा युवकलाई कसरी आफ्नो स्कर्टवरिपरि घुमाउने भनेर तल्लीन रहन्छन्। यस्तो अवस्थामा तिनीहरू कसरी आइन्सटाइन वा मेरी क्युरी बन्न सक्छन्? पूर्वी समाजमा सेक्स यति दमित नभएको भए तिनको दिमागमा बारम्बार त्यही कुरा घुमिरहने थिएन। देवी पाठक र पियुषले पनि विवाहित जोडीको नाटक गरेर सहवास गर्नैलाई होटलको शरण लिनुपर्ने थिएन। तर, वर्गीय खाडल गहिरिँदै गएको समाजमा कैयन् युवायुवती कलेजको मुख देख्न नपाई पढाइ छाड्न बाध्य हुन्छन्। आइन्सटाइन वा मेरी क्युरी बन्नसक्ने तिनको सम्भावनाको हत्या गर्भमै भइसकेको हुन्छ।

अछुतको प्रेमकथा

वर्ण व्यवस्थामा आधारित समाजले श्रम र सिपमा विश्वास गर्ने आफ्नै सहधर्मी समुदायलाई अछुत बनाएर गरेको अपराधको सजाय युगौँसम्म भोग्नुपर्छ। कानुनका दृष्टिमा दण्डनीय भए पनि सामाजिकरूपमा यो अझै दण्डनीय छैन। यो त्यसै भएको होइन। हाम्रा आदर्श मानिएका धर्मशास्त्रले त्यही सिकाएका छन्। रामायणमा 'मर्यादा पुरुषोत्तम' राम तपस्या गरेको आरोपमा शूद्र शम्बुकको हत्या गर्छन्। महाभारतमा कृपाचार्य राजकुलीन नभएकाले कर्णलाई अर्जुनसँग धनुर्विद्यामा प्रतिस्पर्धा गर्न दिँदैनन्। 'म सूतपुत्रसित बिहे गर्दिनँ' भनेर द्रौपदी आफ्नो स्वयंवरका लागि राखिएको मत्स्यवेदमा भाग लिनबाट कर्णलाई वञ्चित गर्छिन्। सत्यवादी युधिष्ठिर कर्णको जातीयतालाई बारम्बार होच्याउँछन्। यस्ता अनेक उदाहरण छन्। यो विरासतलाई चुनौती दिएर प्रेम गर्ने आधुनिक युगका दलित युवायुवतीले अनेक चुनौती भोग्नुपरेको छ। 'मसान' ले यिनै अछुत युवाको प्रेम गर्ने निष्पाप अधिकारको वकालत गरेको छ।

यस्तो विषादमा सामाजिक कलंकविरुद्ध संघर्ष गरिरहेकी एक्ली देवी र घाइते दीपक बाँकी क्रूर समयको सामना कसरी गर्लान्? 'मसान'ले त्यही उच्च संवेदनालाई मर्मस्पर्शी शैलीमा उठाएको छ। तर, देवी पाठक व्यवस्थालाई चुनौती दिन सक्दिन। ऊ धैर्य त गुमाउँदिन, सामाजिक कलंकको डरले व्यवस्थाको अन्याय पनि चुपचाप सहिदिन्छे। व्यवस्थासँगको यो समर्पण अत्यन्त घातक छ। आफ्नो प्रेम गर्ने अधिकारमाथि धावा बोल्ने, प्रेमीलाई आत्महत्या गर्न बाध्य पार्ने र उल्टै त्यसबापत घुस माग्ने प्रहरीको भण्डाफोर गर्न देवीले किन सकिन? 'मसान'को सबैभन्दा कमजोर पाटो यहीँ छ। हो, व्यवस्थासँग एक्लो व्यक्ति सधैँ पराजित हुन्छ। देवीले आँट गरेको भए यसमा सजिलै संगठित हस्तक्षेप हुनसक्थ्यो। हरेक यात्राको अन्त्य अर्को यात्राको सुरुवात हो। सिनेमाले दीपक र देवीको मिलनको सुन्दर संकेत गर्छ। समान भोगाइ भएका मानिसहरू नै आखिर एकअर्काका सबैभन्दा असल साथी बन्न सक्छन्!

प्रकाशित: ३० पुस २०७२ २१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App