विचार

महान् छन् पृथ्वीनारायण

२५३ वर्ष पहिले मेची र महाकालीबीचको नेपाल खण्डभित्र ५३ साना ठूला राज्य थिए। ती कति उत्तरी भोटसँग जोडिएका थिए त कति भारतसँग। त्यस्तै कतिचाहिँ दुवैतिर नजोडिएका पनि थिए। त्यस्तैमा पर्थ्यो गोरखा राज्य।त्यसबेला राजाका दाजुभाइमा राज्य पनि अंशबन्डा लाग्नेे प्रथाले धेरै भुरेटाकुरे ठाकुर भए। नेपालदूनमा तीन सहरमा एकै वंशका तीन मल्ल राज्य थिए। शाह राजाका ८ वटा राज्य हुँदा 'शाहका ८ टीका' भनिन्थ्यो। पाल्पाका सेनहरूको पाल्पा तनहुँदेखि मकवानपुर विजयपुरसम्म धेरै राज्य भए। मल्ल जस्तै खस मल्ल, शाही, ठकुरीहरूको पनि पश्चिमतिर बाइसी चौबीसी राज्य भए। यसरी अंशबन्डाकै कारण धेरै राज्य खडा भए।

यीमध्ये भोटसँगको प्राचीनकालदेखि नै आवतजावत निकासी पैठारी हुने कुति केरुङ दुई प्रसिद्ध नाका भएबाट व्यापारको आदान–प्रदानले पनि नेपालदूनका 'कान्तिपुर राज्य' सम्पन्न थिए। पश्चिममा पाल्पा, पर्वत, डोटी, जुम्ला ठूला र सम्पन्न थिए। भोटसँग साँध जोडिएका तराईमा अधिकार भएका जति राज्य थिए, ती सम्पन्न थिए। अरु सामान्य आर्थिक हैसियतका थिए। यी राज्यबीच साँधसिमानालाई लिएर वा व्यापार आदान–प्रदान नमिलेर झगडा भइरहन्थे। जनता पनि धार्मिक, सामाजिक, आर्थिक कारोबारमा कठिनाई भोग्नु परिरहँदा आजित थिए। यस्तो अवस्थामा दक्षिण छिमेकी भारतका नवाफको तथा राजारजौटाको रापताप त बेहोरिरहनै पर्थ्यो भने पछि इस्टइन्डियाका कारिन्दा व्यापारी तथा धर्म प्रचार गर्ने पादरीहरूको पनि घूसपैठ हुन लागिरहेको थियो। यस्तो अवस्थामा पनि हिमाल पहाडका त्यतिका राजारजौटामा परिस्थिति अनुगमन गर्दै शक्तिशाली विजयी सम्राट बन्ने आकांक्षा र इच्छाशक्ति जागेको देखिँदैन। पाल्पाका मुकुन्दसेन, काठमाडौंमा जयप्रकाश मल्ल साधनसम्पन्न र शक्तिशाली राजा थिए। गोरखा राज्य आकारमा पनि सानो, न भोटको व्यापार न तराईमा जग्गाजमिन, न धेरै ऊर्वर भूमि, केवल रुखो पहाड भएको कमजोर राज्य। यस्तो स्थितिमा पनि गोरखाकै एक वीर र जोधाहा राजा पृथ्वीनारायणमा मात्र नेपाललाई एक बनाएर 'गिरिराजचक्र चुडामणि' अर्थात हिमाली क्षेत्रका राजाहरूका शिरोमणि हुने महत्वाकांक्षा कसरी आयो? उनमा मात्र कताबाट यस्तो प्रेरणा जाग्यो? यस सम्बन्धमा विचार गर्नु अर्को पक्ष छँदैछ। अहिले चर्चा गर्न खोजिएको पक्ष भने उनका महत्वपूर्ण अवदानको मात्र हो।

पृथ्वीनारायण राजा हुनासाथ एकीकरणको तारतम्य मिलाउन लागे। पहिले थालेको सं. १८०१ को युद्धमा कान्तिपुरको बलियो आड रहेको नुवाकोट किल्ला कब्जा गरिहाले। यसले कान्तिपुरको भोटसँगको व्यापारको ढोका बन्द गरिदियो। क्रमशः उनी अघि बढ्दै गए। सं. १८१४ मा कीर्तिपुरको किल्लामा आक्रमण गर्दा उनको ठूलो हार भयो। दाहिने हात मूल काजी कालु पाण्डे गुमाउनुपर्यो । आफै पनि घाइते भए। अनि युद्धबाट हटेर जितेको जमिन रक्षा गर्ने र व्यापारी माल नलुट्ने सर्तमा जयप्रकाश मल्लसँग सन्धि गरे। जुन साल पृथ्वीनारायणको कीर्तिपुरमा ठूलो हार भयो त्यसैसाल इस्टइन्डिया कम्पनीले मुर्सिदावादमा नवाफलाई हराएर करोडौं हात लाए। अब अंग्रेज व्यापारीमात्र रहेनन्, महसुल नतिरी व्यापार गर्न पाए। विजयी शासकसरह पनि भए। साथै भारतभरको शासन कब्जा गर्ने महत्वाकांक्षा उनमा जागेर आयो। यो देखेपछि पृथ्वीनारायणले एकीकरण रणनीति परिवर्तन गर्ने विचार गरे। उनले 'अब आपसमा नलडौं, आफ्नो आफ्नो हैसियतअनुसार धनदौलत उठाएर काठमाडौं, भादगाउँ, पाटन, गोरखा राज्यसँग लाभहानि दामासाही गर्ने सर्तमा मिलौँ, अन्य देशसँग लडौं, कुनै ठाउँमा कतै अन्याय हुन नदिऊँ, धर्मपत्र गराउँ' भन्ने प्रस्ताव उपत्याकाका राजाहरुसमक्ष पठाए। तर त्यो प्रस्ताव स्वीकृत नभएको पनि उल्लेख पाइन्छ। अंग्रेज कम्पनीको शक्ति उता दिन दुगुना, रात चौगुना भएर बढ्न लाग्यो।

त्यसपछि पृथ्वीनारायणले तराईसम्मको क्षेत्र ओगटेको मकवानपुर राज्यतर्फ चढाई गरे। एकै झमटमा त्यो राज्य हात लाग्यो। त्यसपछि भने गोरखा राज्य बिहारसँग जोडिन पुग्यो। तुरुन्तै अस्ताउन लागेको नवाफको अवशिष्ट शक्तिसँग भिड्नुपर्योस तर शक्तिशाली गोरखालीले ढिम्कनै दिएनन्। परन्तु त्यसपछि तुरुन्तै दिल्ली वादशाह, बङ्गाल र लखनौका नवाफको संयुक्त सेनालाई हराएर उत्तर भारतमा शक्तिशाली ब्रिटिसको सिक्का जम्यो। उदीयमान गोरखालीलाई दबाएर आफ्नो अनुकूल गरिदिने जयप्रकाशको सहायता गर्न आएको किनलक नेतृत्वको ब्रिटिस सेनालाई पनि बीचैबाट गोरखालीले धपाए। यति भएपछि भारतको ब्रिटिस शक्तिलाई समेत हराउन सक्ने भनेर नेपालका सानातिना राजारजौटामा दहसत छायो। बाहिरी देश, विशेषतः भारतमा उनको कीर्तिपताका फैलियो। सं. १८२५ मा उनी विनायुद्धै कान्तिपुर राजधानी जित्न समर्थ भए। अर्को साल भादगाउँ पनि जिते। उनको जीवनकालमै पूर्वका चौदण्डी विजयपुर गरी क्रमैले जम्मा ६ वटा राज्य जितिएका थिए। यहाँ उल्लेखनीय कुरा के छ भने, पृथ्वीनारायणले यी राज्य जित्दा त्यति धेरै क्षय–व्यय हुने ठूला युद्ध कहीँ पनि गर्नुपरेन। ठूलो युद्ध लडेको कीर्तिपुरसँग थियो। घरभित्रका युद्धमा धेरै क्षय व्यय नहोस् भन्ने चाहन्थे उनी। यसैले त उनले कान्तिपुर सहरमा आक्रमण गरेनन्। यहाँभित्र आक्रमण गर्दा हतियारधारी सिपाहीमात्र मर्दैनन्, धेरै निःशस्त्र जनता पनि पर्छन् र त्यहाँका बालवृद्ध विधवाको विजोग हेर्नुपर्छ भनेर भरसक देश हात लाउन त्यहीँका मान्छेलाई हात लिने रणनीति लिएका थए। त्यसैले त कान्तिपुर सर गोरखाली आए भनेर सबै भागे, प्रतिकारै गरेन। इन्द्रजात्रा हेर्दै गरेका राजा पनि जात्रा छाडेर पाटनतिर लागे। अनि पृथ्वीनारायणले सबै जनतालाई सम्झाइबुझाई पहिले जस्तै जात्रा चलाए। बाँडाकी छोरी कुमारीलाई ढोगेर उनैसँग टीका आशीर्वाद थापेर परम्परा संस्कृति यथावत् कायम गरे।

भक्तपुरमा सेनापतित्व दिएर भाइ शुरप्रतापलाई पठाए– 'सम्झाइबुझाइ राजाहरूलाई ल्याउनू' भनेर। परन्तु उनी भक्तपुरको राजा हुने उत्कट इच्छाले गर्दा हत्तपत्त सहर कब्जा गर्नतिर लागे र बन्दुक पड्काउँदै राजाहरू रहेतिर लागे। जयप्रकाश भागेर निस्कँदा खुट्टामा गोली लाग्यो र त्यही बेथाले बिते। तर पृथ्वीनारायण भाइले चाँडै भक्तपुर जित्यो भनेर प्रसन्न भएनन्। डाङ्डुङ गरेर राजा मराइस भनेर भाइलाई खप्की गरे पति उनी देशै छाडेर कास्कीतिर लगेका, उतै बिते।

मकवानपुर जितेपछि त्यसमा राजा हुने रहर जेठा भाइ महोद्दामर्कीर्तिले गरेका थिए। पहिले राजा भएका हुनाले दलमर्दन शाहको दावी पाटनमा थियो भने आफूले जितेको भक्तपुर राज्यको राजा हुने आकांक्षा शुरप्रतापले पालेका थिए। पृथ्वीनारायणले कसैको इच्छा पूरा गर्न दिएनन्, राज्य बाँडेर सेन मल्ल राजाहरूको गल्ती दोहोर्याशउन चाहँदैनथे। बल्लबल्ल जोडेको राज्य फेरि किन टुक्राउने? यसमा उनका भाइहरू वागी भए तर उनी डगेनन्। यो कार्य पृथ्वीनारायणको अत्यन्त दूरगामी महत्वको रह्यो। किनकि जितेका राज्य भाइ–भाइबीचमा अंश लगाएका भए आज हामीले 'नेपाल' पाउने थिएनौँ। आफूलाई हरक्षेत्रमा सहयोग गर्ने, एकीकरणका महत्वपूर्ण योद्धाहरु आफ्ना भाइहरुलाई चिड्याएर पनि उनले यो राज्यको स्वरूप सग्लो राखे। एकीकरणका साथसाथै यो कार्य पनि उनकोे जीवनको ऐतिहासिक महत्वको कार्यका रूपमा छ।

धर्म, रीतिथिति नडगोस् भनेर जेठा छोराले यो राज्य थामीखान सक्तैन भन्ने जान्दाजान्दै पनि उनले प्रतापसिंहलाई युवराज बनाए। कति भारदारले महिला साहेबलाई राज दिनुपर्छ भन्दाभन्दै पनि त्यसो गर्न उनले सकेनन्। राजवंशलाई अभिशाप बन्ने कुरो त्यही भयो। उसवेला रोल नमिच्ता अयोग्यको हातमा राजकाज परेको थियो। विस्तारै राज्य कमजोर भयो। अहिले २२७ वर्षपछि गद्दिनसिन राजाको हत्यापछि रोल मिचियो, अयोग्यको हातमा राजकाज पर्योु र शाहवंशको राज्य पनि समाप्त भयो।

उनले आफ्नो जीवनमा मुलुकको भलो हुनेमात्र कुरा गरेका छन्। हाम्रा पुर्खा ५३ भागमा बाँडिका थिए। दैनिक व्यवहार गर्न त परै जाओस्, निचुलो गरेर रातमा निदाउन पनि सक्तैनथे। रातोदिन कचिङ्गल, कलझगडा, लुटपाट र मारकाटमै समय व्यतीत हुन्थ्यो। जीवन निर्वाह गर्न खोज्दैखोज्दै हाम्रा पुर्खा कहाँमात्र पुगेनन्? पृथ्वीनारायणको एकीकरण अभियानमा नेपालमा सुख शान्ति बहाल होस्, सुशासन होस्, जनतामा वैरभाव नहोस्, एकता, मेलमिलाप र अमनचैन कायम होस् भन्ने नै देखिन्छ। उनले जितेका जति देशमा न्यायनिसाफ कायम गरिदिए, सुख शान्तिले जनता जिउन पाएर नै उनीसँग धमाधम मिल्न गए। जाने जतिलाई संरक्षण पनि दिए। पाटनका छ प्रधानमा एक जना उनीसँग मिल्न नुवाकोट गएका पछि उनै पृथ्वीनारायणका संगी भइदिए। काठमाडौंका धेरै धनीमानी, भद्रभलाद्मी र व्यापारीले त पृथ्वीनारायण सदलबल कान्तिपुर पस्ता छिरिक्क प्रतिवाद गरेनन्।

यस्तो ऐतिहासिक वास्तविकता हुँदाहुँदै पनि नजानेर वा बुझ पचाएर अहिले केही बुज्रुक पृथ्वीनारायणले खुनी युद्ध चलाए, सबैको राज्य अधिकार खोसे, सबै जातिको शोषण गरेजस्ता भ्रामक प्रचारबाजी गरिरहेका छन्। त्यस्तो कुरा विदेशीले गर्ने हो। उनीहरुले त यही लेखिरहेकै थिए। उनलाई निरङ्कुश तानाशाहका रूपमा प्रस्तुत गरी ठूलो भ्रमको खेती गरिरहेका छन्। फलस्वरूप अढाइ सय वर्षपछि पनि पृथ्वीनारायण शाहमाथि राजनीति भइरहेको छ। उनका निर्जीव सालिक पनि फोरेर साटो फेर्ने हिसाबले एकता दिवसका रूपमा मनाइआएको पृथ्वी जयन्तीलाई हटाएर राष्ट्रिय इतिहासको प्रतीक मेटाउने प्रयास गरिँदो छ।

जुनबेला पृथ्वीनारायणका फौजले काठमाडांै खाल्डो वरिपरिबाट घेरेका थिए, क्रिश्चियन पादरीहरूले गोरखालीलाई नहराई हुन्न, गोरखालीले हामीलाई मद्दत गर्दैनन्, जयप्रकाशलाई जिताउन सके यिनले हामीलाई व्यापारी कोठी राख्न र धर्म प्रचार गर्न मद्दत गर्छन् भनेर अंग्रेज अधिकारीलाई सिफारिस गरेका थिए। क्रिश्चियन पादरीहरूले नै जयप्रकाश मल्लको यो बेहोराको चिठी कलकत्तासम्म पुर्याेएका थिए। त्यही कारण किनलकको नेतृत्वमा अंग्रेजी सेना काठमाडांैलाई लक्ष्य गरेर सं. १८२४ मा अगाडि बढेको थियो। तर गोरखाली फौजले तिनलाई सिन्धुलीमै हराएर फर्काइदिए। त्यसको एक वर्षपछि काठमाडौं र पाटन जिते। त्यसपछि यहाँ अड्डा जमाएर बसेका क्रिश्चियन पादरीहरूलाई पृथ्वीनारायणले निकालिदिए। 'समुन्द्रपारबाट आएका यी साधु भलामतिका रहेनछन्, एक हातमा बाइबलको किताब र अर्को हातमा तरबार लिएका छद्मभेषी धर्मध्वजी रहेछन्' भन्ने बुझेकाले काठमाडांै र पाटन जित्नेबित्तिकै उनले यस्तो आदेश दिएका थिए। यो कार्य त्यसबेला नेपाललाई वरदान भएको थियो तर अहिले त्यही कुरो अभिशाप बन्न लागेजस्तो भएको छ।

देश निकालामा परेका मुख्य पादरी जिसेप्पी र उनका चेला चपेटाहरूले पृथ्वीनारायणउपर भए/नभएका दोष थोपरेर विष वमन गर्दै लेखे। प्रचारप्रसार गरे। पृथ्वीनारायणलाई मात्र तिनले आक्षेपको वर्षा गरेका छैनन्, नेपालको सनातन धर्म, संस्कृति, इतिहास मास्ने कार्य पनि अहिलेसम्म गर्न लागिपरेकै छन्। अहिले अढाइ सय वर्षपछि तिनै धर्मध्वजीहरुबाट किनिएका नेपालीकै हातबाट नेपाललाई आघात पार्ने काम भइरहेको छ। देशको इतिहास, धर्म–संस्कृति, राष्ट्रियता मासियो भने त्यस देशको अस्तित्व पनि रहँदैन। यी भनेका राष्ट्रका प्राण हुन्, आत्मबल हुन्। अहिले आपसमा नेपालीमा भेदभाव बढावा दिने राष्ट्रियता, राष्ट्रिय विभूतिलाई लाञ्छना लाउने, पृथ्वी जयन्ती, प्रजातन्त्र दिवस नमनाउनु भनेकै त्यसका उदाहरण हुन्। देशको जनताको आत्मबल मेटाएर विदेशीलाई प्रश्रय दिने काम हुन्। पृथ्वी जयन्ती मनाउन छाड्नु भनेको विदेशमुखी भएर आफ्नो इतिहास, संस्कृति र राष्ट्रियता मास्न खोज्नु हो।

विदेशी र तिनका मुखवीरका रूपमा अहिले पनि काम गरिरहेका केहि नेपाली नेताहरुले चाहेजस्तै भुरेटाकुरे राज्य समेटेर साँच्चिकै पृथ्वीनारायणले एकीकरण एकता नगरिदिएका हुन् त नेपालको अवस्थिति अहिले कस्तो हुने थियो होला? अढाइ सय वर्षअगाडि नै यहाँ कम्पनीका कोठी खुल्ने थिए, व्यापार उनकै हातमा हुने थियो। यहाँका राजारजौटा एक एक गरेर माखा जस्तै पन्साइने थिए। भोटका नेपालीका बत्तीस कोठी अंग्रेज व्यापारीका कोठीमा परिणत हुने थिए, नेपाली तिनका कारिन्दा मुन्सी बन्ने थिए। यहाँ त्यति बेलैदेखि चर्चहरूको अखडा बन्ने थियो, हाम्रा सबै विभूति वीर पुरुषार्थी व्यक्तिको नामोनिशान रहने थिएन। काठमाडौ अंग्रेजसाहेबको ग्रीष्मकालिक राजधानी बन्थ्यो सायद।

प्रकाशित: ३० पुस २०७२ २१:११ बिहीबार