विचार

अब के गर्ने ?

आज देशलाई राष्ट्रवादले छपक्क छोपेको छ । केपी शर्मा ओली नेपालका महान् राष्ट्रवादीका रूपमा उदाएका छन्। उनको राष्ट्रवादले नेपाललाई ढुंगेयुगमा मात्र होइन, जाडो, भोक, रोग र तनावबाट हरेक दिन सर्वसाधारणले ज्यान गुमाउनुपर्ने वातावरण निर्माण गरिदिएको छ। राष्ट्रवादका अगाडि हामी नागरिकले पाइरहेको दुःख कष्ट अनि आकालमा खेप्नुपरेका मृत्यु नगन्य हुन्।६, ६ जना उपप्रधान मन्त्रीका महामहिम ओली आफ्नो बिगँ्रदो स्वास्थ्य र खरोजस्तो देखिने स्वभावका कारण पनि 'इगो' र 'लोभ'बाट माथि उठेर काम गर्छन् कि जस्तो लाग्ने गथ्र्याे तर उनी प्रधान मन्त्री भैसकेपछि नेपालको अवस्था भर्टिकल सेपमै ओरालो लाग्न थाल्यो । आज नेपालको सम्पूर्ण अर्थव्यवस्था नकारात्मक दिशातिर धकेलिँदै 'कालो अर्थतन्त्र' ले छोप्दा पनि उनी बेखबर र निरीह प्रधान मन्त्रीबाहेक अरु कुनै भूमिकामा देखा पर्न सकेका छैनन् । संघीयता विरोधी, हिन्दुवादी, माओवादी जस्ता परस्पर विरोधी राजनीतिक धार बोकेकाहरुलाई सत्ताको सारथि बनाएर प्रधान मन्त्री बनेका ओलीले देखाउने राष्ट्रिय गाईजात्रामा हरेक दिन हाम्रा लागि द्वन्द्वकालभन्दा पनि दुःखद र पीडादायी बन्न थालिसकेका छन् ।

मधेसवादी दल र मोर्चासँगको वार्ता अपारदर्शी रहिरहनु, मधेस आन्दोलनबारे सरकारीतवरबाट कुनै आधिकारिक धारणा बाहिर नआउनु, देशमा औषधिजन्य वस्तुलगायत दैनिक उपभोग्य वस्तु चरम अभाव भैरहँदा पनि केही विकल्प दिन नसक्नु, आफ्नो नालायकीपन लुकाउनका लागि बारम्बार झुटो हल्ला फैलाउनुले केपी ओली र उनको कम्पनी हामी जस्ता सर्वसाधारणका लागि दुःख र निराशाको स्रोतमात्र बनेका छन् ।

हुन त वर्तमान परिस्थिति निर्माण गर्न हामी धेरै नेपालीको बराबर योगदान छ । आजको युगमा पनि सबैभन्दा क्षमताबिहीन अनि अनपढहरुलाई नै भोट हालेर सत्ताको चाबी त हामी नेपालीले नै सुम्पेका हौँ । हाम्रो पुस्ता, हाम्रो चेतना, अनि हाम्रो भविष्यका लागि न्याय गर्न सक्ने नेतृत्व छान्न नसक्ने हामी नेपाली वर्तमान नेताहरुभन्दा बढी अक्षम र नालायक हौँ । हाम्रो गलत निर्णयको परिणाम त हामीले अझ धेरै भोग्न बाँकी नै छ । हरेक दिन मनमा डरमात्र लागिरहन्छ– के नेपाल अब म जस्ता सर्वसाधारणका लागि बस्न अयोग्य मुलुक बनिसकेको हो ? के नेपाल अब नेता, भ्रष्टाचारी, गुण्डाहरुका लागि स्वर्गको टुक्रा बनिसकेको हो ?

शायद इतिहासमा आमनेपाली आजको दिनमा जस्तो निराश कहिल्यै थिएनन् होला । आशाका लागि अब सर्वसाधारणले कतै फर्कने ठाउँ पनि बाँकी छैन जस्तो लाग्छ । वर्तमानमा सत्ता वा विपक्षमा रहेका दलहरु वा क्षत्रीय राजनीतिमा आफ्नो पकड बनाउन आन्दोलनरत मधेसवादी दलहरुबाट नेपाल र नेपालीको भविष्य सुध्रन्छ भनेर आशा गर्नु एउटा दिवासपनाबाहेक केहि होइन । किनभने देशको राजनीतिक नेतृत्व जिम्मेवार रहेको भए, ४ महिनाभन्दा बढी अपारदर्शी वार्ताको नाटक गर्दै आमनेपालीको जीवनलाई 'सर्भाइबल मोड'मा धकेल्ने थिएनन् । नेतृत्व यति धेरै अविश्वसनीय र घृणित बनिसक्यो कि टेलिभिजनमा समेत अनुहार हेर्न र बोली सुन्न मन लाग्दैन ।

मलाई आपूर्ति मन्त्री गणेशमान पुनले भनेको याद छ– दशैँमा त हामीले इन्धनको आपूर्ति सहज बनाउन सकेनौँ तर तिहारको मुखमा इन्धनका लागि कोही पनि नेपाली लाइनमा बस्नुपर्ने छैन ।' उनको कुरा सुन्दा मलाई आनन्द लागेको थियो । परिवर्तनका लागि लडेको एउटा युवा पक्कै पनि फरक हुनुपर्छ अनि उसको बोलीमा सत्यता हुनुपर्छ जस्तो लाग्थ्यो । तर उनी पनि एमाले–कांग्रेसी जस्तै अर्को हावादारी मन्त्रीबाहेक नेपालीको लागि अरु केही रहेनछन् ।

नेपाल झन्डै ३ करोड नेपालीको घर हो । जनसंख्या र शिक्षाको अनुपात हे¥यो भने पनि यो बहुसंख्यक युवा र शिक्षितहरुको देश हो । हाम्रो पुस्ता विश्वमानचित्रसँग परिचित छ । वर्तमान विश्वमा अति विपन्न अनि गरिब देशहरुले पनि कसरी आर्थिक तथा प्रविधिको क्षेत्रमा ठूलो फड्को मारे भन्ने कुरा हामी धेरै नेपालीलाई थाहा छ । हामी सिंगापुर जस्तो बन्नुपर्छ, हामी स्विट्जरल्यान्ड जस्तो बन्नुपर्छ भन्ने नारा नेपाली राजनीतिमा नयाँ होइनन् । तर पनि हामी दिन÷प्रतिदिन निराशाको अँध्यारो चक्रब्यूहमा फसिरहेका छौँ । हिजो राम्रो देखेको आज राम्रो हँुदैन अनि भोलि अझै नराम्रो बनिसकेको हुन्छ । देशमा बिग्रेको कुराको उदाहरण नै दिनुपर्दैन, हामी सबैलाई थाहा छ ।

कुनै पनि बिग्रेको देश अनि समाज राम्रो बनाउने भनेको सकारात्मक ऊर्जा, उद्यमशीलता अनि लाखाँै नागरिकको दिनरातको परिश्रमले हो । राजनीतिक दल अनि नेतृत्व सकारात्मक परिवर्तनका लागि माहोल बनाउन आवश्यक पर्ने हुन् । तर विडम्बना, नेपालमा राजनीतिक दलहरुको भूमिका सकारात्मक रहेन । आज देखापरेको बेथिति, भ्रष्टाचार, राजनीतिक अन्योलता अनि हामीहरुमा बढिरहेको निराशाको पछाडि राजनीतिक दल अनि नेतृत्व जिम्मेवार छन् । थाहा छैन, स्थापित भनिएका राजनीतिक दलबाट कति आमनेपालीले अझै पनि सुख र शान्तिको आशा राखेका छन् ।

नेपाल र हामी नेपाली असफलताको एउटा दुष्चक्रमा फसिसकेका छौँ । नेपालमा बस्ने धेरै नेपालीलाई लाग्ने गर्छ, यो देशको भूभाग छाडेर जुनसुकै देशमा परिश्रम गर्न जाने नेपाली भाग्यमानी हुन् । आमसर्वसाधारणको सोचविचारलाई नकारात्मकता अनि अविश्वासले ग्रस्त बनाएको छ । जो आए पनि त्यस्तै हुन, हामी जति कराए पनि केही हुनेवाला छैन, आफ्नो दुःख आफैँसग छ जस्ता निराशाजनक सोचले हामीलाई सामाजिक अनि व्यक्तिगतरूपमा कमजोर बनाउँदै लागिरहेको छ । अहिलेको जटिल अवस्थामा पनि ३ करोड नेपालीको भविष्यसँग खेलवाड गर्ने राजनीतिक नेतृत्वविरुद्ध कोही सडकमा नउत्रनु सर्वसाधारण नेपालीमा देखिएको निराशाको डरलाग्दो परिणाम हो ।

आज सर्वसाधारण नेतालाई मानसिक रोगी बने भनेर गाली गर्छन् तर वास्तविकता अर्कै हो । मुट्ठीभर नेताहरुले दिन÷प्रतिदिन ३ करोड नेपालीलाई मानसिक अनि सामाजिकरूपमा रोगी बनाइरहेका छन् । जसले हामीलाई कमजोर बनाइरहेका छन्, उनीहरु नै खुलेआम आफ्नो सेवा÷सुविधा अनि मन्त्रीमण्डल विस्तारमा व्यस्त छन् । हामी नेपाली कमजोर अनि अवाजबिहीन बनिरहेका छौँ । नेपाल एक्काइसौँ शताब्दीका लागि बाँच्न अयोग्य मुलुकमा रूपान्तरण भइरहेको छ । आज हाम्रो सामु एउटै प्रश्न बाँकी छ– अब के गर्ने ? देश छाडेर जाने वा अपराधी नेताहरुलाई टुलुटुलु हेरेर बस्ने वा नयाँ राजनीतिक संस्कार निर्माणका लागि सामाजिक आन्दोलन सुरु गर्ने ?

वास्तवमा राजनीतिक दल अनि नेतृत्वले बिगारेको देश बनाउने पनि राजनीतिले नै हो । देशको राजनीति नबदलेसम्म अब नेपालमा सकारात्मक परिवर्तन सम्भव छैन । सकारात्मक परिवर्तन ल्याउन सक्ने गरी राजनीति बदल्नका लागि अब के गर्ने भन्ने बहस घरघरमा हुन् जरुरी छ । नागरिक तहबाट अब केही पहल हुन सकेन भने नेपाल र नेपालीको भविष्य केपी ओलीको सरकारसँगै अन्त्य हुनेछ ।

प्रकाशित: २१ पुस २०७२ २३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App