विचार

शैली र सोच बदलौँ

नेपाल भूपरिवेष्टित मुलुक हुनुको नाताले अन्तर्राष्ट्रिय समुदायमाझ केही छुट्टै विशिष्ट अधिकार पनि छन् । तर, ती अधिकार प्रप्त गर्नका लागि हारगुहार गर्नुपर्ने अवस्था छ । चीन नेपालको समस्या समाधानको लागि ठोस प्रस्ताव माग्छ, तर हाम्रा नेताहरू आलटालमात्र गर्छन् ! मानौँ यहाँ केही पनि भएको छैन, सबै ठीकठाक छ । योभन्दा भारतपरस्त सोच अर्को के होला ! साँच्चै नै नेपाल दुई ढुंगाबीचको तरुलजस्तै छ । नेपालीलाई अघि बढ्न र समृद्धिको बाटोमा हिँड्न गाह्रो छ । तथापि, हाम्रा पनि केही कमजोरी छन् । अहिले छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी गर्दा नेपाली जनताको जीवन संकटपूर्ण बनेको छ । भर्खरै सकिएको दसैँ, नजिकिएको तिहार, छठजस्ता महŒवपूर्ण चाड पनि निकै प्रभावित हुने अवस्था छ । सर्वसाधारण आफ्नो गन्तव्य असहज भएकाले यस पटकको चाडबाड राम्ररी मनाउन नसक्ने भएका छन् । यो अवस्था आउनुको प्रमुख कारणमा हाम्रो परनिर्भर सोच जिम्मेवार छ ।२०२७ तथा २०४५ सालमा पनि नाकाबन्दी भएकै थियो । तर, हामीले ती नाकाबन्दीसँग जुध्ने साहस बटुल्न सकेनौँ । हाम्रा प्रयास भारतलाई कसरी रिझाउन सकिन्छ भन्नेतर्फ मात्र उद्यत् रह्यो ! नेपालमा ठूला ठूला आन्दोलन भए । सरकार फेरिए, थरिथरिका नेता र उनीहरूका विचार फेरिए तर कसरी स्वावलम्बी बन्ने ? कसरी देशलाई आत्मनिर्भर बनाउने भन्नेतर्फ कसैले गमेनन् । विभिन्न काल र परिस्थितिमा घुम्ने मेचमाथि बस्ने सबैले देश र जनताका लागि दिमाग खर्चेनन् । हामी झन् पराश्रित बन्दै गयौँ । आज डिजेल, पेट्रोल, मट्टितेल र ग्याँस देशमा नभित्रिँदा हामीलाई जसरी भए पनि गाडी चढ्नैपरेको छ । सय रुपैयाँको पेट्रोललाई ५ सय तिरेर पनि गाडी चढ्ने यहाँ थुप्रै छन् । कालोबजारी गर्नेहरू यसैबेला आफूसँग भएका सामान विद्युतीय चुलो, हिटर आदि लुकाएर मूल्य अत्यधिक बढाएर बेच्न थालेका छन् । यस्तो विपद्का बेला पनि कालोबजारी गर्ने व्यवसायीलाई कुन दर्जा दिने ? सरकार अमुक छ, बोल्दैन–नदेखेझैँ गर्छ । र, ध्यान दिन्छ– मन्त्रिमण्डलको जोडघटाउमा, राष्ट्रपति–उपराष्ट्रपतिको कुर्सीमा !

भारतले लगाएको पहिलो नाकाबन्दीको ४५ वर्षसम्म पनि हामी वैकल्पिक ऊर्जा प्रवद्र्धन गर्नेतर्फ लागेनौँ । संसारमा कतिपय देश यस्ता छन् जहाँ घामको मुख पनि देख्न पाइँदैन । कतिपय देशमा पानीको चरम अभाव छ । हामी यस्तो देशमा छौँ जहाँ सौर्य ऊर्जाको भरपूर छ, पानी प्रशस्त छ । नदीनालाबाट विद्युत् निकाल्न केले रोक्यो ? यतिविघ्न सम्भावना भएर पनि हामीले सौर्य ऊर्जाबाट चल्ने साधनको सम्भावना खोजेनाँै । आफ्नो सहजता नहुने डिजेल, पेट्रोल, ग्याँसको पछि लागेर लाखौँ, करौडौँ मूल्य पर्ने गाडी खरिद गरिरह्यौँ र स्वदेशी पैसा विदेशमा बुझाइरह्यौँ । यतिमात्र होइन, हामीसँग भएका विद्युतीय ट्रली बस सेवालाई पनि कन्टेनरमा मिल्काइदियौँ ! विपद्को बेला अति नै उपयोगी हुने तराई–काठमाडौँ जोड्ने श्री ३ चन्द्र शमशेरले सुरु गरेको रोपवे पनि आज बन्द भएको वर्षाैं भइसकेको छ । कमजोर भूधरातल र कठिन भूबनोटमा पनि करोडाँै, अर्बौं रकम खर्चेर सडक बनाउन र सडकले नै हरेक गाउँबस्ती जोड्न हामी लागिपरेका छौँ ।

नाकाबन्दीले हामीलाई विगतमा सतायो । त्यो हामीले बिर्सियौँ । आत्मनिर्भर कसरी बन्न सकिन्छ भन्ने कुराको खोजी गरेनौँ । व्यवस्थितरूपमा ब्रिकेट कसरी उत्पादन गर्ने ? सानो परिवारदेखि ठूलो समूहमा खाना बनाउन मिल्ने ब्रिकेट उत्पादन र प्रयोग गर्न मिल्ने चुलोबारे खोजी गरेनौँ । हामी समस्या जतिबेला प¥यो त्यतिबेला चर्चा गर्ने अनि बिर्सिदिने संस्कारमा अभ्यस्त भएका छौँ । विपद्को कुरा गर्न, अध्ययन–अनुसन्धान र सोको कार्यान्वयन गर्न विपद् आउनु पर्दैन । नाकाबन्दी खुलेर सामानको सहज ढुवानी हुन थाल्दासाथ आफूले विगतमा भोगेको सास्ती बिर्सन्छौँ । यस्तै कार्यशैली र सोच भएकै कारण हामी दुःख पाइरहेका छौँ।

प्रकाशित: १२ कार्तिक २०७२ २३:३८ बिहीबार