विचार

संसदीय अभ्यासमा राजनीति

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ सालमा प्रतिनिधिसभा भंग गरेपछि अवरुद्ध संसदीय अभ्यास बल्ल पुनः सुरु भयो। जनताका प्रतिनिधिको संस्था संसद्को सर्वोच्चता संसदीय व्यवस्थाको विशिष्ट चरित्र हो ।जनताको मतबाट जितेका र सम्पूर्णरूपमा जनताप्रति उत्तरदायी सांसदहरूले कुनै पनि निर्णय लिँदा जनता र राष्ट्रलाई सर्वोपरी ठान्छन् भन्ने दर्शनमा संसदीय पद्धतिको जग बसेको हो । यही मान्यताका आधारमा अहिलेसम्म संसदीय पद्धति विश्वभर लोकप्रिय र अन्य विकल्पहरूको तुलनामा उत्तम विकल्पका रूपमा स्वीकारिएको छ । विसं २०५८ सालमा संसद् विघटन भयो ०६२/०६३ आन्दोलनका बलमा त्यो पुनःस्थापित पनि भयो । तर, तत्कालीन राजनीतिक परिवेशअनुसार त्यो संसद्ले आफ्ना विशिष्ट चरित्रसँग सम्झौता गर्दै सहमतिका आधारमा मुलुक चलाउने अभ्यासलाई मौन स्वीकृति दियो । सुन्दा कर्णप्रिय लाग्ने सहमतिको रटान संसद्मा केपी ओली र सुशील कोइरालाबीचमा प्रधानमन्त्री पदका लागि भएको प्रतिष्पर्धासँगै समाप्त भएको छ । संसदीय अभ्यासमा सामान्यतः नसुहाउने र संसदीय पद्धति प्रतिकूल अभ्यास हो सहमतिको रटान । यसको अन्त्यपछि अब मुलुक फेरि संसदीय पद्धतिलाई अनुशरण गर्दै अगाडि बढ्दै छ ।

सहमतिका नाममा देश सञ्चालन हुँदा पारदर्शिता ओझेलमा पर्छ । फलस्वरूप, भ्रष्टाचार मौलाउने मौका पाउँछ भने भ्रष्टाचारीलाई कारबाही गर्ने आँट राजनीतिक नेतृत्वले गर्न सत्तैmन । विसं २०५८ सालदेखि २०७२ असोजसम्मको समयलाई व्याख्या गर्ने हो भने, भ्रष्टाचारीमात्र हैन, अन्य अपराधी पनि राजनीतिक संरक्षणमा उन्मुक्ति पाउन सक्दा रहेछन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ । संसद्मा बलियो प्रतिपक्षीको अभावका कारण यस्तो अवस्था आउने गर्छ । त्यसैगरी सहमतिको रटानले भागबन्डाको संस्कृतिलाई मलजल गर्छ । प्रक्रिया र क्षमताको महŒव पूर्णरूपमा समाप्त हुन्छ । यस अवधिमा पनि यस्तै भएको छ । हरेक निकायमा भागबन्डा एउटा संस्कृतिका रूपमा रहन पुगेको छ । विश्वविद्यालयहरूदेखि गाँउघरका विद्यालय व्यवस्थापन समितिमात्र हैन, स्थानीय निकायमा प्रतिनिधिŒव गर्ने दलका प्रतिनिधिका बीचमा विकास योजनासमेत भागबन्डाका आधारमा छनौट गर्ने संस्कृति बलियोसँग स्थापित हुन पुगेको छ । यस संस्कृतिले समाजलाई प्रक्रियाका आधारमा सञ्चालन हुन दिँदैन भने आवश्यकताको सिद्धान्तलाई पनि पूर्णरूपमा खारेज गर्दै पहँुचका आधारमा काम हात पार्ने पद्धति स्थापित गर्छ । अहिले हाम्रो समाज र सिंगो राष्ट्र यस अवस्थामा अभ्यस्त भइरहेको छ । संसदीय अभ्यासको अभाव र संसद्मा बलियो प्रतिपक्षको अनुपस्थितिले विधिसम्मत र निश्चित प्रक्रियाका आधारमा मुलुक चल्ने लोकतान्त्रिक मान्यतालाई कमजोर बनाउँदै लगेको छ । लोकतन्त्रलाई बलियो र परिणाममुखी बनाउन लोकतान्त्रिक संस्थालाई सुदृढ बनाउनुपर्छ । यो लोकतन्त्रलाई अभ्यासमा लैजाँदै गर्दाको पहिलो र अनिवार्य सर्त नै हो । गत १४ वर्षका अवधिमा एउटा पनि लोकतान्त्रिक संरचना स्थापित हुनसकेका छैनन् । बरु, भएकालाई पनि भागबण्डाको संस्कृतिले अपारदर्शी, कमजोर र निरीह बनाई दिएका छन् । हुँदाहुँदा सरकारमा समेत प्रधानमन्त्रीले चाहेको काम मन्त्रीले नगर्ने र सबै आआफ्नो ढंगले चल्ने गरेको पनि देखियो । लोकतन्त्रको प्रत्यक्ष अभ्यास गर्ने सरकारलाई समेत कसरी कमजोर बनाउने गर्छ संसदीय अभ्यासको अभावले भन्ने निष्कर्ष पछिल्लो नेपाली राजनीतिक अभ्यासलाई हेर्ने हो भने देखाउँछ ।

संसदीय पद्धतिको अभावमा धेरै कुरा गुमेका छन् । खराब संस्कृति स्थापित हुँदै गएका छन् । लोकतान्त्रिक संरचना कमजोर बन्दै गएका छन् । त्यसका परिणाम देखिनेमात्र हैन, त्यसका नकारात्मक असरको अनुभवसमेत हामीले गरिरहेका छाँै । दण्डहीनता फस्टाइरहेको छ । प्रशासन संयन्त्रसमेत आदेशमा चल्ने संस्थाका रूपमा उभिँदै गएको छ । प्रक्रिया र आवश्यकताभन्दा धेरै ठूलो आधार पहुँच हुन पुगेको छ । यी सबै विकृति अन्त्य गर्दै देशलाई एउटा पद्धतिमा लैजानु अहिलेको सबैभन्दा प्रमुख आवश्यकता हुनपुगेको छ । संसदीय व्यवस्थालाई अस्वीकार गर्नेहरू र यो व्यवस्था असफल साबित भयो भन्दै सबै अधिकार एउटा व्यक्तिमा केन्द्रित गर्नुपर्छ भन्नेको अहिले पनि वर्चस्व छ । तैपनि संसदीय पद्धति अभ्यासमा आइछाडेको छ । यस कुराले संसदीय पद्धतिको ओज र गुरुŒव निकै रहेको र यसलाई पूर्णरूपमा खारेज गर्न अब कसैले पनि सत्तैmन भन्ने स्थापित पनि गरिदिएको छ । यस व्यवस्थाको मूल मर्मप्रति विश्वास नरहेकाबाट यस पद्धतिका आधारबाट मुलुकलाई प्रक्रिया र विधिबाट सञ्चालन गर्न सहयोग पुग्ला तर उनीहरूकै भरमा सबै छाड्न भने सकिने अवस्था छैन । सत्ताका लागि प्रचण्ड र कमल थापाको गठबन्धन बन्नसक्ने देशमा संसदीय पद्धतिलाई बलियो बनाउन मनभित्रको अधिनायकवादी महŒवाकांक्षा उनीहरूले त्याग्छन् भन्नेमा विश्वास गर्न सकिँदैन । त्यसकारण संसदीय पद्धतिका पक्षधर नेपाली कांग्रेसले यो पद्धतिलाई बलियो बनाउँदै व्यक्तिगत आकांक्षालाई त्यागेर देशमा संसदीय संस्कृतिको पुनःस्थापन गर्न निकै मिहिनत गर्न जरुरी देखिएको छ । भागशान्तिका भरमा मुलुक चलाउने र बाँडीचुँडी खाने प्रवृत्तिलाई 'समयको माग'का रूपमा व्याख्या गरी नेपाली कांग्रेसलाई पनि भागबन्डामा आउन दिइएको दबाब र त्यसका पक्षमा सामाजिक सञ्जालमा आएका अभिव्यक्ति हेर्दा नेपालमा संसदीय संस्कृति उपेक्षित हुँदै गएको देखिन्छ । गैरसंसदीय संस्कृतिले देशका ल्याएको विसंगतिलाई चिर्दै संसदीय संस्कृति स्थापित गर्दै लैजान कांग्रेसले रणनीतिकरूपमा योजना बनाउनु पर्छ । महाधिवेशनका मुखमा उत्पन्न यस परिस्थितिले महाधिवेशनमा समेत यससम्बन्धी एजेन्डा तय गर्नुपर्ने देखिएको छ । देश पद्धतिका आधारमा चलेको छ कि छैन ? क्षमता, योग्यताका आधारमा अवसर उपलब्ध भएका छन् कि छैनन् ? लोकतान्त्रिक मान्यता र सिद्धान्तलाई कार्यकारीले पछ्याइरहेको छ कि छैन ? राज्य प्रदत्त सेवा सुविधामा सबै नागरिकको समान पहुँच स्थापित हुनसकेको छ कि छैन ? राष्ट्रिय ढुकुटीमा जनताको नियन्त्रण स्थापित हुनसकेको छ कि छैन ? भन्नेजस्ता महŒवपूर्ण सन्दर्भमा प्रतिपक्षी दलले चनाखो भएर, विश्लेषणात्मकरूपमा र संसदीय मान्यताका परिधिभित्र रहेर खबरदारी, रचनात्मक सहयोग तथा आवश्यक परे दवावयुक्त आन्दोलनसमेत थाल्नुपर्छ । संसदुमा बलियो प्रतिपक्षीले यतिमात्र भूमिका खेल्न सक्यो भने त्यसले अलग परिणाम दिन सक्छ । यसले असलमा संसदीय पद्धतिसमेत स्थापना गर्छ । प्रधानमन्त्रीको निर्वाचनमा प्रतिष्पर्धा गर्दा नेपाली कांग्रेसलाई लागेको अवगाल पखाल्न पनि योजनाबद्धरूपमा कांग्रेसले यो भूमिका पूरा गर्दै संसदीय पद्धतिको विशेषता र त्यस विशेषताले दिने परिणाम जनताले महसुस गर्नेगरी दिलाउन सक्नुपर्छ । थुप्रै आलोचना भए पनि प्रतिष्पर्धामा उत्रिएको कांग्रेसले यही लक्ष्यका साथ आफूलाई हिडाउन सक्नुपर्छ ।

सत्ता गठबन्धनको मोह संसदीय पद्धतिमा हुँदैन । सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र निर्माण गरी संसद्को सर्वोच्चता स्वीकार्न तयार नभएको सन्देश सत्ता पक्षले दिएको छ । राजनीतिक नेतृत्वलाई सम्मान गर्न यस्तो संयन्त्रको गठन कहीँ कतै गरिएको भए पनि त्यसको संवैधानिक र कानुनी मान्यता हुँदैन । सरकारकै नेतृत्व गरेको दलको वरिष्ठ नेताको नेतृत्वमा यस्तो संयन्त्र गठन हुँदा त्यसलाई पार्टीको तहबाट हुने सहयोगका लागि गठन भएको मान्न सकिन्छ । तर, यहाँ महŒवाकांक्षी नेता भनेर चिनिने प्रचण्डको नेतृत्वमा संयन्त्र गठन भएको छ । प्रचण्डको पार्टी र प्रधानमन्त्रीको पार्टी फरक हो । यस्तो संयन्त्रलाई सरकारले स्वीकारेर त्यसको निर्देशनमा चल्नु संसदीय संस्कृति होइन । संसद्ले चिन्न नसक्ने, संविधानले नचिन्ने र कुनै कानुनले आधिकारिकता दिन नसक्ने संयन्त्र गठन गर्ने सरकारले संसद्को सर्वोच्चता स्वीकार गर्दैन । यस्तो संरचना संसदीय अभ्यासका क्रममा अवरोध ठहर्न सक्छ । भागबन्डा नमिल्दा सरकारको आयुमा समेत समस्याका रूपमा उपस्थित हुनसक्छ । त्यसकारण सरकारले आफ्नो गठनसँगै महाभुल गरेको छ । यस भुलले गर्दा उसले कांग्रेस जस्तो बलियो प्रतिपक्ष्ीाको बढी आलोचना र खबरदारी खेप्नुपर्ने छ भने त्यही संरचना वर्तमान गठबन्धन तोड्ने हतियारसमेत बन्न सक्नेछ । सत्ता गठबन्धन जानेर वा नजानेर संसदीय संस्कृतिको विपक्षमा उन्मुख भइसकेकाले प्रतिपक्षीको भूमिकामा नेपाली कांग्रेसे संसदीय संस्कृति स्थापित गर्न प्रभावकारीरूपमा प्रस्तुत हुनु जरुरी छ ।

प्रकाशित: ३० आश्विन २०७२ २१:५१ शनिबार