विचार

सुशीलको गन्तव्य

प्रधानमन्त्री सुशील कोइरालाले नयाँ सरकार निर्माणको बाटो खोलिदिएका छन्। यो नयाँ कुरा भने होइन आफ्नै प्रतिबद्धता र नयाँ संविधानको व्यवस्थाअनुरूप नै उनले त्यसो गरेका छन्। तर, नैतिकताको खडेरी परेको नेपालको राजनीतिमा आफ्नै प्रतिबद्धताअनुसार भए पनि प्रधानमन्त्री पदमा नयाँ नियुक्तीका लागि बाटो खोल्नु ठूलै कुरा हो। अब उनको राजनीतिक गन्तव्य के हुन्छ भन्ने प्रश्न पनि उठिरहेको छ। कोही उनै दोहोरिएर प्रधानमन्त्री हुने लख काट्दैछन् भने कोही राष्ट्रपति भएको देख्न चाहन्छन्। कोही पार्टी सभापति रहिरहुन् भन्ने पनि चाहन्छन्। यी सबै विकल्प असम्भव पनि हैनन्।

कोइरालाको राजनीतिक भविष्यका बारेमा चर्चा हुँदा एउटा घटना स्मरण गर्दा सान्दर्भिक होला। राजाले २०५० सालमा 'कु' गरेपछि कोइराला पक्राउ परेका थिए। उनलाई नेपालगन्ज स्थित जिल्ला प्रहरी कार्यालयमा थुनिएको थियो। त्यतिबेला सडक आन्दोलन अपेक्षाकृत चर्केको थिएन। नेताहरू आन्दोलन चर्काउन चाहन्थे। तर त्यसो हुन सकिरहेको थिएन। त्यही क्रममा नेपाल पत्रकार महासंघका तत्कालीन सभापति तारानाथ दाहालको नेतृत्वमा तत्कालीन केन्द्रीय उपसभापति म स्वयं, केन्द्रीय सदस्य विनोद ढुङ्गेलसहित स्थानीय पत्रकारको टोली कोइरालालाई भेट्न जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो। त्यहाँ थुप्रै कुरा भए। सुषुप्तरूपमा सुरुभएको गणतन्त्रको नारालाई पार्टीहरूले औपचारिकरूपमा ग्रहण गरे सडक आन्दोलन चर्कन्छ र राजा झुक्छन् भन्ने तर्क हामीले राख्यौँ। कोइरालाले त्यो नारालाई आफूले कैदी जीवन बिताइरहेका बेला एक्लै औपचारिकरूपमा ग्रहण गर्न नसक्ने तर कैदबाट मुक्त भएमा नेताहरूसँग परामर्श गरी निर्णयमा पुग्ने जवाफ दिए। हामीले कार्याकर्ता पंक्तिबाट गणतन्त्रको कुरा उठोस् भन्ने मनसाय कहीँ कतै तपाईले व्यक्त गर्नुस् भनी सुझाव पनि दियौँ। उनले कूटनैतिक जवाफ दिए – 'मैले त्यस्तो नारा नलगाऊ भनेर कस्लाई भनेको छु र? अनि अब पनि भनुला र?' कोइरालासँग बिदा हुने क्रममा हात मिलाउँदै मैले उनलाई भने, 'सुशील'दा, हामी तपार्इँ र तपार्इँजस्तै नेपालीको छोरा राष्ट्रपति भएको देख्न चाहन्छौँ।' कोइरालालाई त्यतिबेला डिएसपीको कार्यकक्षमा राखिएको थियो। त्यो कोठामा राजारानीको फोटो टाँगिएको थियो। कोइरालासँग हात मिलाउँदै गर्दा मैले यो पनि थपे – 'तपाईँको स्वभाव र लोकतन्त्रप्रतिको प्रतिबद्धताका आधारमा भन्नुपर्दा हामीले राजारानीको फोटो हटाएर तपाईँको फोटो त्यसरी नै राख्न पाउँ्क।' त्यतिबेला कोइरालाले गहभरी आँसु निकाले र भने – 'तपाईहरुको चाहनाविपरीत म जाने त कुरै आउँदैन, तर त्यसका लागि ठूलो कुर्बानी गर्नुपर्छ।' अब कुर्बानी गरौँ, प्रजातन्त्रलाई अहरणीय बनाऔँ भन्नेमा सैद्धान्तिक सहमतिका साथ हामी बिदा भएका थियौँ। कोइरालाको आँखामा आँशु देखेको मैले पहिलो पटक थियो त्यो।

आज परिस्थितिले कोइरालालाई राष्ट्रपतिका रूपमा उभ्याउने वातावरण निर्माण गरिदिएको छ। यो सकैका लागि प्राप्त हुने बिरलै अवसर हो। उनका सामु उपस्थित अन्य अवसरभन्दा यही उनका लागि उत्तम हुनेमा धेरै चर्चा हुनुपर्दैन। कोइरालाको कोट देखाएर सत्तामा जाने र व्यक्तिगत आकांक्षा पूरा गर्न चाहनेहरूले उनलाई यस्तो 'सेरेमोनियल' पदमा जान सल्लाह दिनेछैनन्। तर, यस्तै बेला लिने सही निर्णयले त्यो व्यक्तिको कद बढाउने त छँदैछ, देशमा एउटा नयाँ परिवेश खडा गरिदिएर नयाँ संस्कार पनि स्थापित गरिदिन सक्छ। आज कोइराला त्यस्तै चौबाटामा उभिएका छन्। चौबाटाबाट उनले जुन बाटो पनि समाउन सक्छन्। तर, कुनबाटो जाँदा उनी स्वयम् सम्मानित बनिरहन र समकालीन राजनीतिलाई दिशा निर्देश गर्नसमेत सकिन्छ भन्ने चाहिँ हेर्नै पर्छ।

कोइरालाले यतिबेला आफ्नो छोटो विगत पनि हेर्नुपर्ने हुन्छ। उनी प्रधानमन्त्री भएपछिको सफलता संविधान निर्माण नै हो। त्यसबाहेक अन्य पाटामा उनले आफू स्वयं सन्तुष्ट हुनसक्ने केही हुनसकेको छैन। यो महŒवपूर्ण सफलता हासिल गरिसकेपछि पनि प्रधानमन्त्री पदमा निरन्तरता दिनु पूर्णिमाको उज्यालोपछि औंसी रोजेजस्तो मात्र हो। पार्टी सभापतिमा उनी स्वयंले 'एकपटकका लागि मलाई भोट' भनेर १२ औं महाधिवेशनमा भोट मागेका हुन्। उनको सभापतिŒवकालमा भातृसंस्थाको महाधिवेशनसम्म पनि हुन सकेन भने पार्टीको महाधिवेशनसमेत समस्यामा परेर प्राविधिकरूपमा सम्बोधन गर्नुपर्ने अवस्था आयो। त्यसका कारणमा कोइरालाका अक्षमतामात्र हैन, शेरबहादुर देउवाको असहयोगी प्रवृत्ति पनि दोष्ीा छ। तर, इतिहास लेख्दा त कोइरालाको पालामा महाधिवेशन भएन भनेर न लेख्ने हो। यस अवस्थामा फेरि सभापतिको आकांक्षा राख्नु आफ्नै प्रतिबद्धताविरुद्ध आफूलाई चुनौतीको चंगुलमा फसाउनु हो। उनी सभापति भए मनोनीत हुन र पदाधिकारीमा पर्नसक्नेले उनलाई त्यसमा उठ्न दबाब दिइरहेको देखिन्छ। यस जोखिमको यात्रा सुरु गरेर आफ्ना सफलता भुलाइ, असफलताको प्रचार गराउने अवसर दिनु कोइरालाका लागि उचित हुनेछैन। त्यसकारण पनि उनी लोभ नगरेरै, शक्तिको दुरुपयोग नगर्ने र उनको स्वभावअनुसारै देशकै अभिभावकीय भूमिका खेल्न सकिने राष्ट्रपति हुनका लागि मानसिकरूपमा तयार हुँदा उनको व्यक्तित्व साझा बन्ने अवस्था निर्माण भएको छ। विसं ०६२/०६३ पछिको गिरिजाप्रसाद कोइरालाकै हाराहारीमा पुगेको व्यक्तित्व जोगाइराख्न पनि सुशील कोइरालाले कार्यकारी चरित्रका पदमा आकंाक्षा नराख्नु उत्तम हुनेछ।

कोइरालाको राष्ट्रपति हुने निर्णयले देशमा केही नयाँ प्रवृत्ति पनि स्थापित गर्नेछ। निश्चित जिम्मेवारी पूरा गर्ने संकल्पका साथ भूमिका खोज्ने र त्यो भूमिका पूरा गरेपछि एउटै पदमा दोहोर्यािएर बसिराख्न हुँदैन भन्ने सन्देश जानेछ। यसो गर्दा आफ्नो कार्यकालमा के गर्ने भन्ने सोच्न नेतालाई प्रेरित पनि गर्नेछ र आर्यघाट नपुग्दै पद नछाड्ने चरित्र भनेर आलोचित नेपाली राजनीतिमा सुधार ल्याई नयाँ पुस्तालाई नयाँ अवसरका लागि बाटो खोल्ने चलनसमेत सुरु हुनेछ।

यतिबेला कोइरालाले नेल्सन मन्डेलाबाट पनि सिक्नुपर्छ। उनी यस्तै संभावनाबीचबाट पनि अलग रहेर बस्न सके। अनि नयाँ पुस्ताका लागि अवसर खुला गरिदिए। आजीवन राष्ट्रपति हुन पनि सक्थे उनी। आजीवन राष्ट्रपति हुने मार्ग रोजेका भए मन्डेलाले अहिलेको जति सम्मान पाउँथे कि पाउँदैनथे यसै भन्न सकिँदैन। त्यस्तै आफ्नै नेता गणेशमान सिंहदेखि माहात्मा गान्धीसमेतलाई स्मरण गर्दै कोइरालाले आफ्नो चरित्रलाई जोगाउनु पर्छ।

आफ्नै अगुवाइमा बनेको संविधानको भावनाअनुसार देश चलेको, नागरिकले अधिकारको अधिकतम प्रयोग गरेको र अवसरमा सबैको समान पहुँच स्थापित भएको अवस्थालाई शितलनिवासबाट नियाल्दै, संविधानको अभ्यास गर्दैगर्दा आउने जटिलतालाई संविधानको भावनाभित्रै रही सहज बनाउन अभिभावकीय भूमिका खेल्दै देशको अभिभावका रूपमा रहनु नै कोइरालाका लागि उत्तम हुनेछ। संविधान बनाउने अगुवालाई देशको अभिभावक बनाउन पाउँदा नेपाली जनतालाई पनि गौरवको अनुभूति हुनेछ। यतिमात्र होइन, सतीले सरापेको देश भनेर गरिने व्याख्यालाई चुनौती दिँदै राम्रो काम गर्नेको सम्मान हुँदोरहेछ भन्ने नवीन सन्देश नयाँ पुस्तालाई दिन पनि कोइरालाको यो निर्णय सहयोगी हुनेछ। आफ्नो स्वार्थका लागि दिइएको सल्लाहको ठाँउमा मुलुकको अपेक्षा र आफ्नो चरित्र सुहाउँदो भूमिका पहिचान गरी नेतृत्वमा पुग्ने व्यक्ति नै त अन्ततः इतिहास पुरुष हुन्छ।

प्रकाशित: १६ आश्विन २०७२ २०:३२ शनिबार