पाँचथरको लालीखर्कमा जन्मिएका प्रपन्नाचार्य (१९८०–७२) ३० वर्षको उमेरमा अक्षराम्भ गरी संस्कृत पढेपछि वेदान्त दर्शनका प्रकाण्ड विद्वान् भइछाडे। आरम्भमा रामकृष्ण प्रपन्नाचार्यको नाम गरेका उनी पूर्वका किराती युवाहरुलाई यज्ञोपवित धारण गराई सात्विक जोसमनी सन्त परम्पराको मूलधारमा ल्याउन सफल भए। जीवनका अनेकन् घुम्तीहरुमा काले, सिङ्गाने, र्यााले, फटाहा, नानीगोठालो, गाइगोठालो, हली, खेताला, ढाक्रेलगायत विभिन्न नामले चिनिए। अन्ततः कर्मभीरु उनै राई वेदान्तमा विद्यावारिधि गरेपश्चात डा. स्वामी प्रपन्नाचार्य कहलिए। उनको अद्धितीय प्रतिभालाई कदर गर्दै २०७० सालमा जयतु संस्कृतम्ले 'संस्कृत विद्या शिरोमणि' पदवीले सम्मान गर्यो्।
दिमागमा चारवटै वेद कैद गरी स्वदेश फिर्नुअगाडि सरयु संस्कृत विश्वविद्यालयका उपकुलपति भइसकेका राई गोर्खा दक्षिण बाहु दोस्रोबाट पनि सम्मानित भए। त्यस्तैगरी नेपाल संस्कृत विश्वविद्यालयले पहिलोपल्ट उनलाई महाविद्यावारिधिको उपाधिसमेत प्रदान गर्यो्। हामी आज उनलाई वेदान्ताचार्य (वेदगुरु), निडर, विद्वता र सरलताका धनी, सरस्वतीका वरदपुत्रलगायतका विविध नामले चिन्छौँ। त्याग, तपस्या र साधनाका प्रतिमूर्ति राई ब्राह्मणत्व जन्मले नभई कर्मले निर्धारण गर्नेमा पूर्ण विश्वस्त थिए।
यतिबेला २०६३ सालमा स्वामी प्रपन्नाचार्यलार्ई जीवनमै पहिलो पल्ट भेट्दाको घटना घरिघरि याद आइरहेको छ। म त्रिवि कीर्तिपुरबाट संस्कृति विषयको स्नातकोत्तर तहको आंशिक परिपूर्तिका लागि गोकर्णबारे शोधपत्र तयार गर्ने सिलसिलामा उनलाई भेट्न मृगस्थलीको त्यही चन्द्रेश्वर सत्तल पुगेको थिएँ जहाँ उनले आखिर जीवनको अन्तिम श्वास फेरे। मैले परिचय दिँदै भेट्नुको उद्देश्य बताएपछि उनले मप्रति चासो राख्दै आफ्नो लालीखर्के वाल्यजीवन भोगाइका केही तीतामीठा घटना बताएका थिए। उनलाई आफ्ना बाबुले छिमेकी माइलीलाई डल्ला फोर्ने खेतालाका रूपमा बोलाउन भनी पठाउँदा आफू लाजले एक शब्द पुक्क नबोली फर्केपछि बाबुले मारसँग 'काले राई, तैले कसरी गरिखालास्?' भनी झपारेको घटना त्यस बेलासम्म ताजै रहेछ, सुनाए।
केही क्षणको बसाइँपछि उनले मलाई तिमी बाहुनको छोरा अनि संस्कृतिको विद्यार्थी रहेछौँ, 'संस्कृत पढ्न आउँछ? इतिहास के हो?' लगायतका अनेक प्रश्न गरेका थिए। उनले इतिहासको अर्थ बताउँदै भने– 'आजकलका युवालाई आफ्नो इतिहास र संस्कृतिप्रति त्यति चासो छैन। तिमीले राम्रो विषय पढेछौं अझ राम्रो गर्नु।' त्यसपछि चन्द्रेश्वर सत्तलको चारैतिर भित्तामा सजाएर राखिएका कृतिहरु, प्रमाणपत्र, प्रशंसापत्र, कदरपत्र, सम्पानपत्रहरु देखाउँदै उनले भने– 'यो काले राईलाई किन यतिविघ्न सम्मान गरेको भन्ने तिमीलाई लागेको होला! म एउटा कुवाको भ्यागुतो होइन, समुद्रको माछो हुँ।' यति भनी उनी स्तब्ध बने। त्यसपछि म त्यहाँबाट बाहिरिएको थिएँ।
आज उनको जीवित शरीर हाम्रो सामु नरहे पनि उनका वेदमा के छ?, मिल्किएका झिल्कालगायत प्रसिद्ध कृतिहरु नेपाल र नेपालीका मनमस्तिस्कमा युगाँैयुगसम्म अमर रहने छन्। उनको खट्कँदो अभावलाई ती कालजयी कृतिहरुले परिपूर्ति गर्ने नै छन्। स्वामी संग्रहीभन्दा पनि बढी त्यागी, गुणी, ज्ञानी, वैष्णवधर्मी मात्र नभएर संन्यासी नै थिए। वेद अध्ययन गर्नुहुँदैन भन्ने मान्यता बोकेको समुदाय र समाजमा हुर्केका उनी वेदका खरो ज्ञाता बनेर उत्रे। उनले समस्त विश्व जगतमा नखुलेको वेदको रहस्यमय पाटो उजागर गरेर समस्त नेपालीलाई वेदको मूल मर्म सिकाए। आज त्यसैको परिणति चारवटै संस्कृतका वेदहरु नेपाली भाषामा अनुदित भइसकेका छन्।
प्रकाशित: १६ आश्विन २०७२ २०:३० शनिबार