नेपालमा संविधान सभाबाट संविधान निर्माण हुनुपर्छ भन्ने नेहरूको प्रस्ताव थियो भन्ने मेरो निष्कर्ष मैले पुस्तक पल्टाउँदा फ्याट्ट भेटेर लेखेको होइन। त्यसका खासखास आधार छन्। ती आधार पनि उसबेलाका कांग्रेसीहरूकै बीचमा चलेको जुवारीमूलक 'सत्य के' र 'सत्य यो' जस्ता साहित्यको आधारमा होइन। ती सबै आधार यहाँ उल्लेख गर्न सम्भव नभए पनि केही निम्नबमोजिम छन्ः
१. त्रुटि भयो भनिएको विषयको सन्दर्भमा :
नेहरूको सुझावभन्दा ७ महिनाअघि नै कांग्रेसको घोषणापत्रमा थियो भन्ने आचार्यको टिप्पणी रहेछ। हो, थियो। त्यसैलाई मात्रै लिएर म संविधान सभा कांग्रेसको मानसपुत्र हो भन्नेमा विश्वस्त छैन। यसका लागि खासगरी त्यसबेलाको मात्र नभई त्यसअघि र पछिका घटनापरिघटनामा दोहोरो भारतीय भूमिका हेर्नुपर्छ। टुप्पोमात्रै हेरेर नेहरूले पनि कांग्रेसको घोषणपत्रकै आधारमा भनेका होलान् भनेर जस लिने अर्कै कुरा हो।
जुन कुरालाई त्रुटि भनिएको हो, त्यो थाहा नपाइएको होइन। मसँग भएका स्रोतहरू – पुरुषोत्तम बस्नेत, 'नेपाली कांग्रेसको इतिहासको प्रारूप' भाग १ (पूर्णपाठ) र भुवनलाल प्रधान, 'नेपालको जनक्रान्ति २००७' मा (विभिन्न शीर्षक बनाउँदै लेखकले मूलमूल अंशलाई उद्धृत गर्नुभएको छ) लगायतमा छ। आचार्यको उद्धरण र बस्नेतको पुस्तकमा साभार भएको ससाना दुईवटा फरक छन्। तर भुवनलालको पुस्तकमा भने सम्बन्धित अंशमा अलि बढी फरक छ (यो मैले नलेखे पनि हुन्थ्यो। तर आचार्यले उद्धरण चिह्नभित्र राखेर प्रकाशन गरेको हुनाले लेखिएको हो।) मसँग भएका स्रोतमा लेखकहरूले मूलप्रति आफैँसँग भएको दाबी गर्नुभएको छैन। बस्नेतले बीपीकै लेखनीबाट साभार भन्नुभएको छ भने प्रधानले चन्द्रशेखर रघुबंशीको सौजन्यबाट भन्नुभएको छ। तीन जनामध्ये कसको सही हो मलाई थाहा छैन।
अब प्रश्न उठ्छ मलाई त्यो घोषणापत्र थाहा हुँदाहुँदै पनि मैले किन त्यस्तो निष्कर्ष निकालेँ? मेरो दृष्टिमा यसका कारण चाहिँ बढी महŒवपूर्ण छन्। भारतले त्यसबेला खेलेको दोहोरो भूमिका (सरकार–सरकारबीच र भारतीय सरकार र नेपाली आन्दोलनकारी) को सम्बन्धमा प्राप्त अभिलेखको अध्ययनबाट नेहरूको प्रस्तावलाई समर्थन गर्छ। त्यसैले लेखिएको हो।
त्यसका केही आधार यस्ता छन् :
१. नेपाली कांग्रेसको जन्मबाटै :
नेपाली कांग्रेसको जन्मको विषयमा स्वदेशी विदेशी लेखक तथा आत्मकथा, संस्मरणको माध्यमबाट धेरै लेखिएको छ। मेरो अध्ययनमा त्यस्ता सामग्रीमध्ये पुरुषोत्तम बस्नेत र डा. राजेश गौतमका कृति (नेपाली कांग्रेस) नै सबैभन्दा विस्तृत हुनुपर्छ। तर यी र अरू त्यही सम्बन्धमा प्रकाशित सामग्रीसँग तुलना गर्दा कतिपय कुरा मिल्दैनन्। जस्तो — नेपाली कांग्रेसको जन्मको सम्बन्धमा बस्नेतले 'बीपीलाई लाग्यो, नेपाल प्रजातन्त्र कांग्रेसको साधन र स्रोत तथा नेपाली राष्ट्रिय कांग्रेसको जनआधारलाई एकै ठाउँमा एकत्रित गर्न सकियो भने अति छिटै एकतन्त्रीय शासनलाई परास्त गर्न सकिन्छ' (पृष्ठ १३४)। यो लेखाइबाट बीपीको प्रयासबाट एक भएजस्तो लाग्छ। तर ढुण्डीराज भण्डारी ('विश्वेश्वरप्रसाद कोइरालाको प्राइभेट सेक्रेटरीका रूपमा तीन वर्ष, क्रान्तिभन्दा अघि पार्टीको मुखपत्र 'नेपाल पुकार' र 'नव नेपाल' को सहकारी सम्पादक') ले '...नेपाल डेमोक्रेटिक कांग्रेसका कर्णधारहरू दिल्ली पुगे र भारतका उपप्रधानमन्त्री सरदार बल्लभभाई पटेलसित भेट गरे। यस अवसरमा पटेलले भने, 'राणा साहब, केबल पैसेके बल पर पार्टी चला नहीं करती, जनबलका सहयोग प्राप्त करना आवश्यक है।' बुद्धिमान्लाई इसारा भए पुगिहाल्छ। यता नेपालको जेलबाट मुक्त भएपछि विश्वेश्वरप्रसाद कोइराला पनि पटेलसित भेट गरे। पटेलले उनलाई इसारा गरे कि जनबललाई संगठनको रूप दिन अर्थको पनि आवश्यकता पर्छ। यसप्रकार दुवै संस्था ... आपसमा मिलेर काम गर्ने भावनाले प्रेरित भए। फलतः १४ चैत्र, २००६ (२७ मार्च, १९५०) मा कलकत्ता अधिवेशनमा दुवै संस्था एकापसमा मिली नेपाली कांग्रेसलाई स्थापना गरे।' ('नेपालको ऐतिहासिक विवेचना', २०२५, पृ. ३३१। यसका पछिल्ला संस्करणमा पृष्ठ संख्या चाहिँ फरक छन्।) भण्डारीको यो लेखाइकोे खण्डन गरिएको सामग्रीचाहिँ मसँग छैन। अर्कोतर्फ भुवनलालले भने 'नेपाली राष्ट्रिय कांग्रेस (कोइराला गुट) र नेपाल प्रजातन्त्र कांग्रेसमा लाग्ने केही कार्यकर्ताहरूले के सोचे भने देशबाहिरको शक्ति विभाजित रहेमा कुनै पनि संघर्ष प्रभावकारी हुँदैनथ्यो। तसर्थ उनीहरूले यी दुई समूहलाई मिलाई एउटै दल बनाउने विचार गर्न लागे... आखिर त्यस प्रस्तावलाई विश्वेश्वरले पनि सकार्नै पर्योय।' (नेपालको जनक्रान्ति २००७, पृ. ३६४–५) भनेर लेखेका छन्। बीपीकै आफ्नै भनाइ भने उनको आत्मवृत्तान्तको पृष्ठ १०९ मा छ। त्यसमा सुवर्णजीहरू म कहाँ आएको र मैले आपत्ति छैन भने भन्ने छ।
जन्मकै कुरा लेख्नुको कारण भण्डारीले आफ्नो तत्कालीन हैसियतलाई जनाउँदै दुवै कांग्रेसलाई मिलाइदिने बुद्धि पटेलले दिएका थिए भन्ने चाहिँ बढी विश्वसनीय छ भन्नलाई हो।
२. 'घोषणापत्रकै आधारमा भएको हुनुपर्छ' भन्ने सन्दर्भमा :
आचार्यले मेरो लेखाइ त्रुटिपूर्ण भन्दै 'वास्तवमा नेहरू वा त्रिभुवनको टिपोट, वार्ता वा वक्तव्यहरूमा संविधान सभाको उल्लेख २००६ सालमा प्रकाशित उक्त घोषणापत्रकै आधारमा भएको हुनपर्छ' भनेका रहेछन्। प्रकाशनको लागि स्थानाभाव हुने कारण उसबेला त्यत्ति लेखियो। त्यो कुरालाई समर्थन गर्ने त्यसभन्दा अघिका कुरा धेरै छन्। तिनको विषयमा आचार्य भरपूर जानकार छन् भन्ने म विश्वास गर्छु। सबै उल्लेख गर्न फेरि पनि स्थानाभावको उही समस्या छँदैछ। त्यसैले त्यसमध्ये केही प्रतिनिधि उदाहरण यहाँ दिएको छु। नेपालीमा अनुवाद गर्दा कतिपय अवस्थामा उही अर्थ नआउने भएकोले देवनागरी लिपिमा अंग्रेजी भाषा नै राखेको छु।
नेहरूहरू नेपालको राणा शासनको विरुद्धमा थिए भन्ने पुष्टि गर्न कुनै प्रमाण पेस गर्नु पर्दैन। उनी आफूले चाहेबमोजिम नभएकोमा आक्रोशित थिए भन्ने विषयमा उनले सेप्टेम्बर ३०, १९५० मा पश्चिम बंगालका मुख्यमन्त्री विधानचन्द्र राय (जसको विषयमा बीपीले आत्मवृत्तान्तको पृ. ११९ मा पनि उल्लेख गरेका छन्) लाई लेखेको पत्रमा 'याज यु पर्ह्याप्स नो, द सिचुयसन इन नेपाल इज डायनामिक। वी आर नट एट अल स्याटिस्फाइड विथ द स्टेट अफ अफेयर्स देअर। ड्युरिङ द लाष्ट थ्री एअर्स वी ह्याभ बिन प्रेसिङ अन द गभर्न्मेन्ट देअर टु इन्ट्रोड्युस सब्स्ट्यान्सल रिफर्म्ज। याज लङ अगो याज १९४७, इभन बिफोर द पार्टिसन, आइ सेन्ट श्रीप्रकाश देअर टु एडभाइज द गभर्न्मेन्ट अबाउट कन्स्टिट्युसनल रिफर्म्ज। ही प्रिजेन्टेड अ स्किम आफ्टर अ लङ आर्गुमेन्ट। दिस वाज ह्वीटल्ड डाउन एण्ड केप्ट इन कोल्ड स्टोरेज' भनेर लेखेका छन् (भासिन १/१००)। यसबाट १९४७ देखि नै भारतले आफ्ना कुरा राख्न चाहेको थियो। तर राणाले टेरेनन् भन्ने देखिन्छ।
त्यसपछि मोहन शमशेरको भारत भ्रमणमा नेहरूले युगअनुसारको ऐतिहासिक कदम चाल्नुपर्छ भनेका र पटेलले देशमा अशान्तिको वातावरण कायम रह्यो भने सदैव खतरा रहन्छ भनेपछि मोहन शमशेरले 'नेपाललाई अब अधिक भय दक्षिणको छ' भनेर जवाफ दिएपछि माथि उल्लेख गरेजस्तै पटेलको सुझावबमोजिम नेपाली कांग्रेसको जन्म हुनुलाई संयोगमात्र ठान्न सकिँदैन र पुरुषोत्तम बस्नेतले लेखेजस्तो बीपीकै दिमागमा उम्रेको वा प्रधानले लेखेजस्तो बीपीले कार्यकर्ताको प्रस्ताव 'सकारेको' मात्रै पनि भन्न नसकिएला।
३. सत्याग्रहको स्थगन :
मे २८, १९४७ मा नेहरू, मातृका र गणेशमान सिंह (कृष्णबहादुर प्रधान) बीच भएको कुराकानीको अभिलेख गणेशमानको 'मेरा कथाका पानाहरू' भाग १ तथा मातृका कोइरालाको 'अ रोल इन अ रिभोलुसन' लगायतका नेपाली प्रकाशनमा पनि प्रकाशित भैसकेको छ। त्यसमा नेपालमा चलेको सत्याग्रह बन्द गर्न नेहरूले दबाब दिएको र जुन २ तारिखदेखि नै सत्याग्रह रोकिएको दृष्टान्त पनि छँदैछ। त्यतिमात्रै होइन धर्म रत्न 'यमि' को 'नेपालका कुरा' नामक पुस्तकको पृष्ठ १४१ मा उल्लेखित एउटा नेपालीलाई ननिको लाग्ने कुरा त म किन यहाँ प्रस्तुत गरूँ र!
४. फेरि, नेहरूले डिसेम्बर १९, १९४८ मा सञ्चार मन्त्री रफी अहमद किदवाईलाई लेखेको 'इफ आवर गभर्न्मेन्ट अलाइड इटसेल्फ र्याफदर ओपन्ली वीथ एन याजिटेसन बाइ नेपालिज अर अदर्स, द्याट उड बी अपोज्ड टु इन्टरनेशनल प्रसिजर एन्ड कन्भेन्सन। ह्वाट इज मोर, इट उड रिजल्ट इम्मेडियट्ली इन थ्रोइङ प्रिजेन्ट गभर्न्मेन्ट इन नेपाल इन्टु द ह्यान्ड्स अफ द अमेरिकन मिसन यु रिफर्ड टु। आइ थिंक इट इज इजियर टु कम्ब्याट फरेन इन्टेरेष्ट्स देअर थु्र गभर्न्मेन्ट मिन्स एन्ड द नर्मल डिप्लोम्याटिक अप्रोच। वी आर डुइङ कन्टिन्युअल्ली। इट इज ओपन अफ कोर्स टु नेप्लिज टु क्यारी अन एनी याजिटेसन दे लाइक...' (भासिन १/६२) र नेहरूको मार्च १७, १९५० को संसद्मा दिएको भाषणको अंश (हेर्नको लागि भासिन १/८४) ले पनि भारतको भूमिकालाई थप प्रष्ट्याउँछ।
५. नेपाली कांग्रेसको घोषणापत्रमा लेखिएको उल्लेखित अंशबाहेक अन्यत्र त्यसको कार्यान्वयनका विषयमा केही पनि भेटिँदैन। तर नेहरूहरूले जुन ३ बुँदे सर्त राखेका थिए, तीमध्ये दुई बुँदा जस्ताको तस्तै पालना भए। पहिलो बुँदाको सम्बन्धमा त्रिभुवनले नेपाल फर्केपछि घोषणा गरे पनि त्रिभुवनमा शक्तिको लोभ पलाएपछि कार्यान्वयन हुन सकेन।
६. भारतीयले त्रिभुवनलाई भेट्न नदिएको, राजा भारत भागेपछि बीपीले 'अब हाम्रो हातबाट गयो' भन्ठानेको र लोहियाकै सुझावबमोजिम प्रेस वक्तव्य दिएको कुरा पनि आत्मवृत्तान्तको पृष्ठ ११७ मै छ। यी र यस्तै प्रमाणको आधारमा म पटेलको 'सुझाव' को आधारमा मिलेका कांग्रेसको अधिवेशनमा अकस्मात् फुर्योै होला भनेर म विश्वास गर्दिन। त्यसैले मैले त्यो निष्कर्ष निकालेको हुँ। मेरो निष्कर्षका आधार यिनै हुन्। नेहरूले पनि कांग्रेसको घोषणापत्रको आधारमा भनेको हुनुपर्छ भन्ने आचार्यको अनुमानको आधारचाहिँ टिप्पणीमा देखिएन।
मेरो अध्ययनमा नेपाली कांग्रेसको इतिहास लेखाइमै मिलाउनु पर्ने कुरा धेरै बाँकी छन्। कतिपय लेखकले अलि नकरात्मक धारणा बन्ने वा विदेशीले श्रेय पाउने खालका तथ्यलाई उल्लेख गरेका छैनन्। त्यसले गर्दा मजस्तो सामान्य पाठकको अतिरिक्त पछिल्लो कांग्रेसी पुस्ता नै भ्रममा पर्ने अवस्था छ। जे होस्, आचार्यले त्यति नलेखिदिएको भए मेरो निष्कर्षका यी आधार सायद लेखिने थिएनन्। सार्वजनिक बहसको विषय पनि बन्दैनथ्यो।
प्रकाशित: ५ आश्विन २०७२ २३:१७ मंगलबार