विचार

गर्मीमा पसिना किन आउँछ?

शरीरबाट पसिना निस्कनु स्वाभापिक प्रक्रिया हो। यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ र स्वच्छ वायु शरीरमा पुर्या उँछ। पसिनाको माध्यमले शरीरभित्र भएको विकार बाहिर आउँछ। शरीरबाट पसिना निस्केन या कुनै कारणबस पसिना भित्रै रोकिन गयो भने थुप्रै प्रकारका रोग उत्पन्न हुनसक्छ। अतः शरीरलाई स्वस्थ्य राख्नको लागि पनि पसिना निस्कन दिनुपर्छ। अचेल मानिस पसिना आउनेगरी साइक्लिङ, व्यायाम, जगिङ, मर्निङ वाक या जिममा गएर पसिना निकाल्ने गर्छन्।कहिलेकाहीँ आवश्यकताभन्दा बढी मात्रामा तथा बिनाकारण शरीरबाट पसिना आउनसक्छ। बढी पसिना आउनुलाई चिकित्साविज्ञानमा 'हाइपरहाइड्रोसिस' भनिन्छ। एक तथ्यांकअनुसार विश्वको कुल जनसंख्याको २ प्रतिशत मानिसमा हाइपरहाइड्रोसिसको समस्या छ। सामान्यता महिलाको तुलनामा पुरुषलाई धैरै मात्रामा पसिना आउने गर्छ।

छालाको भित्री सतहमा अवस्थित स्विटग्ल्यान्ड (ग्रन्थी) बाट बन्ने नुनिलो तरल पदार्थ नै पसिना हो। यो ग्रन्थीको काम शरीरको तापक्रमलाई नियन्त्रणमा राख्नु हो। अत्यधिक गर्मीमा छालालाई डढ्नबाट जोगाउनको लागि यस ग्रन्थीले छालाको माथिल्लो सतहमा नुनयुक्त पानी (पसिना)उत्पन्न गर्छ। शरीरबाट निस्केको पसिना प्रायः नुनिलो हुन्छ।

शरीरमा पसिना आउनुका विभिन्न कारण छन्। वंशाणुगत कारणले पनि बढी पसिना आउन सक्छ। गर्मीमा धेरै शारीरिक श्रम गर्नु, खेलकुदको अभ्यास वा व्यायाम बढी गर्नु, तेलयुक्त र मसलादार खाना नियमित खानु तथा कब्जियतका कारण पनि पसिना बढी आउँछ। यसबाहेक कुनै शारीरिक रोग, जस्तै– मलेरिया, टाइफाइड, डेंगु ज्वरो, छातीको टिबी, रगत दूषित हुनु, एनिमिया, मानसिक तनाव, चिन्ता, भय, आघात र कडा ज्वरोका कारण पनि बढी पसिना आउँछ। अन्य कारणमा (तातो पेय पदार्थ पिउनु, खैनी, गुट्खा तथा नशालु पदार्थको सेवन गर्नाले पनि पसिना आउँछ। अधिक मोटो हुनु तथा थायराइड ग्रन्थी शरीरको इम्युनोसिस्टमका कारण बढी सक्रिय भयो भने पनि धैरै पसिना आउँछ।

पसिना शरीरको जुनसुकै ठाँउमा पनि आउन सक्छ। तर, खासगरी हत्केला, खुट्टाका पैँताला, काखी, काछमा पसिना बढी आउँछ। यसबाहेक टाउको, निधार, माथिल्लो ओठ, पिठ्युँ, पेटतिर पनि आउँछ। शरीरको भित्री भाग हत्केला र पैतालामुनि स्विटग्ल्यान्ड बढी हुन्छ। ती ग्रन्थीहरू कुनै कारणले बढी सक्रिय भएमा पसिना आउँछ। शरीरबाट निस्केको पसिना वाष्पीकरण (वाफ) भएर जान सकेन भने पसिना गन्हाउन थाल्छ। शरीरको बाहिरी भागमा मृत छालाको पत्र हुन्छ। धैरे पसिना आउनाले छालाको पत्रलाई ओसिलो बनाउँछ। ओसिलो ठाउँमा ब्याक्टेरियाले हुर्किने अनुकूल वातावरण पाउने हुँदा त्यहाँ चाँडै दुर्गन्ध उत्पन्न हुन्छ। र, व्यक्तिले लागाएको लुगामा विभिन्न प्रकारका सेतो, पहेँलो, रातो, कालो, टाटेपाटे पसिनाका दाग बस्न थाल्छ। यसले सामाजिक अप्ठेरो पार्न पनि सक्छ। त्यसकारण बढी पसिना आउनेले नियमित आफ्नो शरीरको सरसफाइ गर्नुपर्छ। विषेशगरी पैताला, काखी, काछ र हत्केलामा बढी पसिना आउने भएकाले शरीरका यी अगंको सरसफाइमा ध्यान दिनुपर्छ।

बढी पसिना आउन नदिने मुख्य उपाय भनेको शरीरलाई शीतल राख्नु। यसका लागि घाम चर्किएको बेला बाहिर ननिस्किने, दौडधुप र व्यायाम कम गर्ने, शीतलमा बस्ने, नियमित नुहाउने, पानी प्रशस्त खाने गर्नुपर्छ। हरियो सागसब्जीका साथै दही, मोही तथा सिजनअनुसारको पानीयुक्त फलफूल बढीमात्रामा खाने, नरिवल पानी पिउने, चियाकफी, बरफ सकेसम्म नखाने, राति अबेरसम्म नबस्ने, धैरेबेर भोको नरहने, बढी मसलादार भोजन नगर्ने, खानामा लसुनको प्रयोग कम गर्ने, अदुवा र प्याजको मात्रा बढायो भने पसिना कम आउँछ। यस्ता उपायबाट पनि पसिना कम भएन भने चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ।

बढी पसिना आउने समस्या भएको व्यक्तिलाई एलोप्याथिकमा एल्युमिनियम क्लोराइडयुक्त एन्टिपर्सपाइरेन्ट नामक औषधि दिइन्छ। होमियोप्याथिक विधि भने अलि फरक छ। आँखा बन्द गर्नेबित्तिकै पसिन आउँछ भने ब्रायोनिया, कोनियमको प्रयोग लाभकारी हुन्छ। जाडोमा पनि पसिना आयो भने नक्सभोमिका प्रयोग गर्नुपर्छ। शरीरको खुल्ला भागमा पसिना आउने समस्यामा छ भने थुजा नामक औषधिको सेवन गराइन्छ। कुनै कारणबिना नै अनुहारमा पसिना बढी आउँदा रसटक्स या सिकेलिकोर नामक औषधिको प्रयोग लाभदायक हुन्छ। लुगाले ढाकेको भागमा मात्र पसिना आउँछ भने एकोनाइट, बेलाडोना, चायना प्रयोग गर्नु राम्रो हुन्छ। निदाएको बेलामात्र पसिना आउने र ब्युँझिएपछि हराउने अवस्था छ भने कोनियम नामक औषधिको प्रयोग हितकारी हुन्छ। होमियोप्याथिक औषधिको प्रयोग योग्य तथा अनुभवी चिकित्सकको परामर्शमा गर्दा बढी लाभदायक हुन्छ।

प्रकाशित: २७ भाद्र २०७२ १९:२५ आइतबार