विचार

खस देश र पश्चिम तराई

खस देश, कर्णाली प्रदेश र जुम्ला
नेपालमा संघीय संरचनाको रडाको मिलाउने क्रममा अन्त्यमा ७ प्रदेशको ढाँचा मस्यौदा समितिका प्रमुख ३ दलका नेताले प्रस्तुत गरेपछि कर्णाली स्वायत्त प्रदेशको माग राख्दै भएको चर्को आन्दोलनलाई कुनै न कुनै किसिमले सम्बोधन गरिएको बुझाइ भयो।यस ७ प्रदेशको संरचनाको प्रारूपमा हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको पश्चिमी भागलाई प्रदेश संख्या ६ मा राखिएको छ। जसको स्वाभाविक नामकरण संघीयताले संस्थागत रूप लियो भने कर्णाली प्रदेश हुन सक्ने देखिन्छ। यो प्रारूपअनुरूप नै नयाँ संविधानको विधेयक सभामुखलाई बुझाउने कामसमेत भयो। उता प्रदेश ६ अन्तर्गत यहाँ उल्लिखित जिल्ला र छुट्याइएका भागलाई राखेर छुट्टै प्रदेशको खाका आएपछि जुम्लामा रन्किएको आन्दोलन रोकिएको छ भने सल्यानलगायत ठाउँमा नयाँ आन्दोलन देखापरेका छन्। बाग्लुङ, रुकुम, पर्सा जिल्ला टुक्र्याइएको विरोधमा पनि ज्ञापनपत्र बुझाउने तथा बन्द/हड्तालका कार्यक्रमसमेत भइरहेका छन्।

उता मधेसतर्फ आन्दोलन अझ चर्किनुका साथै यसले कैलालीमा विभत्स र अमानवीय रूपसमेत लिन पुग्यो। सुरक्षाकर्मी मात्र नभई अवोध बालकसमेतको ज्यान गयो यस आन्दोलनमा। तराईका विभिन्न ठाउँमा आन्दोलनले हिंसात्मक रूप लिन पुगेको छ। हरेक दिनजसो झडप भइरहेका छन्। सरकारले तराईका धेरै ठाउँमा निषेधाज्ञा जारी गरेको छ र सुरक्षा सहयोगका निम्ति भनेर सैनिकसमेत खटाएको छ। देशमा इन्धनलगायत अन्य दैनिक आवश्यकताका सामग्री आपूर्तिमा समस्या हुन लागेको स्थिति छ। सेती–महाकाली अखण्डित रहनुपर्ने भनेर चलेको बन्दसहितको आन्दोलन कैलाली र कञ्चनपुरलाई पहाडसँगै राखी प्रदेशको खाका प्रस्तुत हुनासाथ रोकियो। उता कञ्चनपुरदेखि चितवन पश्चिमसम्म स्वायत्त प्रदेशको माग राखेर सुरु भएको थारू समुदायको आन्दोलनमा पूर्व तराई केन्›ित विभिन्न दल, संघ/संगठन तथा समूहले ऐक्यबद्धता जनाएको स्थिति छ। थारू मधेसी होइनन् र थारूवान मधेस होइन भन्ने जस्ता नारा पनि आन्दोलित थारूले नै उठाइरहेको पनि देखिन्छ। यस प्रसंगमा कर्णाली प्रदेश र यसको पश्चिम तराईसँगको ऐतिहासिक सम्बन्धका विषयमा अझ गहनताका साथ बुझ्नुपर्ने आवश्यकता देखापरेको छ। जुम्ला र सुदूरपश्चिममा भएका यस पल्टका आन्दोलनले पनि कर्णाली प्रदेश भनेको के हो र यसको इतिहास कस्तो थियो भनेर अलिक महत्व र व्यापकताका साथ बुझ्न आवश्यक भएको हो।

संघीयताको खाका बनाउने क्रममा पहिलो संविधान सभामा यस क्षेत्रमा जडान–खसान जस्ता नाममा प्रदेश बनाउने चर्चासमेत चलेका थिए। नेपालको आधुनिक इतिहासमा प्रशासनिक एकाइलाई नदीको नाममा नामकरण गर्ने क्रम पञ्चायतकालमा निकै लोकप्रिय भयो। त्यसबेलाको खाकामा १४ अञ्चलमध्ये कर्णाली एक बन्यो तर ४ नयाँ जिल्लाले युक्त यस अञ्चललाई पहिलेको खस देश वा याछे ग्याल खाव्को त कुरै छाडौं त्यसपछिको शक्तिशाली जुम्ला राज्य वा नेपाल एकीकरणपछिको ठूलो जुम्ला जिल्लाभन्दा पनि सानो बनाइयो जुन कार्य ऐतिहासिक दृष्टिमा सतही र अस्पष्ट किसिमको थियो। कर्णाली अञ्चलअन्तर्गत राखिएका हुम्ला, मुगु, जुम्ला, डोल्पा जिल्लाले मात्र कर्णाली नदी सभ्यता पुरैलाई कुनै हालतमा पनि समेट्न सक्दैन। यो त कर्णालीको उपल्लो एउटा भागमात्र हो। अर्को कुरा अञ्चलको यो खाकामा बाहेक इतिहासमा कहिले पनि यस इलाकालाई नदीको आधारमा कर्णाली भनेर प्रशासनिक नाम राखिएको पाइएको छैन। साधारणतया उपल्लो कर्णाली भेगका नदीका मुख्य २ धार हुम्ला कर्णाली र मुगु कर्णाली नदी सभ्यतालाई मात्र कर्णाली प्रदेशका रूपमा बुझ्ने र चिनाउने इतिहास असम्मत र अलिक संकुचित किसिमको निर्णय थियो त्यो। पुराना स्रोतमा खसरयाछे देश, जुमला वा जुबलाङ् राज्य वा जिल्ला (पहिलेको ठूलो) को रूपमा नै चिन्ने/चिनाउने चलन थियो यस भूखण्डलाई। माथिल्लो कर्णाली भेकको मात्र नभई गण्डकी भन्दा पश्चिमतर्फको सबैभन्दा शक्तिशाली राज्य भएको आधार र इतिहासमा खस देशको विखण्डनपछि उक्त शक्तिशाली खस देश वा साम्राज्यको उत्तराधिकारी राज्यका रूपमा जुम्लाले दावा गर्न खोजेको पनि देखिन्छ। हालको जुम्ला जिल्ला त अघिको जुम्ला राज्य तथा एकीकरणपछिको विशाल जुम्ला जिल्लाको एउटा सानो अंशमात्र हो भनेर बुझ्नुपर्छ। त्यसैले ऐतिहासिक दृष्टिमा कर्णाली प्रदेशको समग्र रूप पहिल्याउन खसरयाछेको वा खस देश वा साम्राज्यको इतिहास, खस साम्राज्यको पतन र बाइसी राज्यको प्रादुर्भावसँगै जुम्ला राज्यको स्थापना र विस्तार, नेपाल एकीकरणको क्रममा जुम्ला विजयपछि बनेको जुम्ला जिल्लाको स्थिति हुँदै पछि पञ्चायतकालको अञ्चल र जिल्लाको अवस्थासम्मको स्थिति समेट्नुपर्ने हुन्छ।

सोगपो (ग्वार्लोक तुर्क, टारटार) र खसरयाचे

कर्णाली प्रदेशको सबैभन्दा पुरानो इतिहासमा पश्चिम–उत्तरतर्फबाट बौद्ध तथा स्थानीय परम्परामाथि आक्रमण गर्दै प्रवेश गर्ने तिब्बती भाषामा सोग्–पो नामले चिनिने मंगोल (ग्वार्लोक वा क्वार्लोक तुर्क, टार–टार) का विभिन्न स–साना झुण्डका नायकका अधिकारका छिटपुट ऐतिहासिक उल्लेख भएको पाइएका छन्। मध्यएसियाका किर्गिस्थान आदिदेखिका वाराडंडुर, ग्वाराख्निद जस्ता सोग्पो नायकहरू आ–आफ्ना झुण्डका साथ पश्चिम नेपालका गण्डकी र कर्णाली भेगमा आएर शासन जमाउन सफल भएका उदाहरण पाइएका छन्। यस भेगमा यस्ता सोगपोको प्रारम्भिक उपस्थिति नवौं दशौँ शताब्दीदेखि नै देखिएको छ। गण्डकी प्रदेशमा देखिएका अरमुडी जस्ता शासकसमेत बाराडंडुर जस्तै उत्तर–पश्चिमतर्फबाट यतातिर पसेका मंगोल वा सोगपोका झुन्डका एक शक्तिशाली नायक हुनुपर्छ। कर्णाली र गण्डकी प्रदेशसम्म आक्रमण गर्दै आइपुगेका खस नायक जयापिडका फौजलाई अरमुडीका फौजले गुरिल्ला तरिका अपनाएर हराएको काश्मीरका पण्डित कल्हणको कृति राजतरंगिणीमा वर्णित घटना यस प्रसंगमा स्मरणीय हुन्छ।

एघारौं शताव्दीतिर आइपुग्दा स्थानीय भाषामा याचे वा याछे भनिने (यक्षराज वा नागराज) वंशका खसहरू पश्चिम तिब्बतको गुंगे(पुराङ्को खार–री (पुरानो दरबार भएको पर्वत ताग ला खार) प्रदेश हुँदै उपल्लो कर्णाली र उपल्लो कालीगण्डकी इलाकामा पुगेर उनीहरूभन्दा एक शताव्दी जति पहिलेदेखि नै त्यहाँ आई अधिकार गर्ने सोगपोहरूलाई पन्छाएर आफ्नो अधिकार कायम गर्न सफल भएका देखिन्छन्। यी याछे वा खसहरुले जुम्ला (पुरानो स्थानीय भाषाको नाम जुब(लाङ्) भेकको सिंजालाई आफ्नो विशाल साम्राज्यको ग्रीष्मकालीन राजधानी बनाएका थिए। उनीहरूको शीतकालीन राजधानी भने अहिलेको दैलेख जिल्लाको दुल्लुमा थियो जहाँ खस देश वा साम्राज्यका शासकसहित त्यहाँको इतिहासलाई प्रकाश पार्ने विस्तृत विवरणसहितको शीलास्तम्भ अभिलेख पाइएको छ। यो खस साम्राज्य एघारौं शताब्दीको उत्तरार्धदेखि चौधौं/पन्„ौँ शताब्दीसम्म लगभग ३५० वर्ष जति बलियोरूपमा फैलिएको थियो।

याछे वा खस साम्राज्यको शक्ति चुलिएको बेला यसको विस्तार पश्चिममा गढवाल हुँदै जालन्धर, गान्धार, वाल्हिकसम्म, पुराङ्गुगेदेखि कैलाश मानसरोवर इलाकासम्म (तिब्बतको ङरी इलाका सम्पूर्ण), उत्तर–पूर्वमा माङ्युल गुङ्थाङ्, पूर्वमा नुवाकोट र नेपालमण्डलको छेउछाउसम्म र दक्षिण–पूर्वमा चितवन इलाकासम्म फैलिएको ऐतिहासिक आधार पाइएका छन्। यस आधारमा हेर्दा हालको पश्चिम नेपालको तराई वा समथर भूभाग पुरै खस साम्राज्यभित्र पर्थ्याे भन्ने बुझिन्छ। खस राजा रिपु मल्लका निग्लिहवा र लुम्बिनीमा अभिलेख नै पाइएका छन् जसमा यी राजाको दीर्घायू र युवराज संग्राम मल्लको विजयको कामनासमेत गरिएको छ। तिब्बतका वृत्तान्तमा उनलाई सस्मान्त इलाकाका दर्जनौं भारतीय रजवाडालाई जितेर आफ्नो काबुमा राख्न सफल राजाधिराजाका रूपमा चिनाइएको छ। अर्का शक्तिशाली खस राजा अशोक मल्लले बोधगया छेउछाउसम्म अधिकार गर्दै पुगेर त्यहाँअघि मौर्य सम्राट अशोकले बोधगयालाई दान दिएका ४४ गाउँ पछि इश्लाम धर्म मान्ने सोगपोले हरण गरेको हुँदा थैलाका थैला सुन चाँदीसहित मोल चुकाएर बोधगयाको गुठीलाई नै फिर्ता गराइदिने काम गरेका तिब्बती स्रोतमा उल्लेख छ।

त्यस्तै खस मल्ल राजा पृथ्वी मल्लअन्तर्गतका तराईतर्फको शासन हेर्ने स्थानीय सामन्त शासक देववर्मनले चितवन पश्चिमको दाउन्ने डाँडामा एउटा देवीको मन्दिर (अहिले पनि त्यस मन्दिरलाई कोट देवी भानिन्छ) सहित शैल दुर्ग (कोट) निर्माण गराएका थिए भन्ने जानकारी पाइएको छ। सम्भवत् खस साम्राज्यको दक्षिण–पूर्वी सीमान्त इलाकाको रक्षार्थ उक्त कोट निर्माण भएको थियो। यस कुराको उल्लेख जुम्लातिर भेटिएको एउटा पुरानो वृत्तान्तमा पाइएको योगी नरहरिनाथले प्रकाशमा ल्याएका हुन्। कोट देवीको मन्दिर अहिले पनि यथावत् हुनाले यसमा पुष्टि मिलेको छ। सुर्खेत इलाकासम्मलाई त खस राजा रिपु मल्लको राज्य भनेर स्पष्टरूपमा वि.सं. १३७० मा सारिएको अभिसमयालंकार भन्ने पुस्तकको पुष्पिकामा पाइएको छ। अशोक चल्लभन्दा अघिका क्राचल्ल र क्राशी वा टासी चल्ल र पछिका रिपु मल्लसहित जितारी मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल जस्ता खस शासकहरूले खसरयाछे साम्राज्यलाई विस्तार गर्न र बलियो राख्न सफल भएका थिए। कनकपत्र आदि तत्कालिक स्रोतमा पुण्य मल्ललाई तिरहुत मिथिलासम्म पनि शासन विस्तार गर्न सफल राजाका रूपमा चिनाइएको पाइएको छ। विस्तारित खस साम्राज्य उत्तरतर्फ सवालाख पर्वतमालायुक्त र दक्षिणतर्फ भारतीय मैदानका समथर भूभागका दर्जनौं रजवाडाका इलाकासम्म अधिनस्त गर्दै फैलिएको भन्ने ऐतिहासिक प्रमाणका आधारमा खस देश हिमालपारिदेखि तराईसम्म विस्तारित थियो भन्ने बुझिन्छ। कर्णाली प्रदेशको प्रसंगमा चर्चा गर्दा खस देशको इतिहास जोडिने र यसको मुख्य क्षेत्रभित्र सेती, महाकाली, राप्ती, भेरी र कर्णाली अञ्चलका अधिकांश भूभाग पर्थे भन्ने बिर्सन सकिन्न।

कर्णाली प्रदेशमा जुम्ला
खस देशको विखण्डनपछि छिनासिम मुकाम गरेर बनेको जुम्ला राज्य पनि अहिलेको कर्णाली अञ्चलभन्दा धेरै ठूलो थियो। कर्णाली बहाउ क्षेत्रमा बाइसी राज्य स्थापनाको क्रम यही जुम्ला राज्य स्थापनापछि चल्न थालेको हो। जुम्लाअन्तर्गत पश्चिम सीमा क्षेत्रका पुराङ तागलाखारसहित दार्चुला, बाजुरा, कालिकोट, रूकुम, डोल्पा आदि इलाका पर्थे। यसरी भेरी नदीभन्दा पश्चिमका इलाका यस जुम्ला राज्यभीत्र समेटिएका थिए। दक्षिणतर्फको अर्को बलियो डोटी राज्यसँग सिमानाका भूभागमाथिको अतिक्रमणका निहुँमा झमेला भइरहन्थ्यो। विक्रमको १८४६ मा नेपालले जुम्ला विजय गरेपछि पनि जुम्ला जिल्लाका रूपमा झन्डै/झन्डै अघि जुम्ला राज्य हुँदाकै आकारमा रह्यो यो इलाका। जुम्ला राज्य जित्न नेपालले धेरै प्रयत्न र लामो र रक्तपातपूर्ण युद्ध लड्नुपर्योज र धेरै धनजनको क्षति पनि बेहोर्नुपर्योु। जुम्लातर्फ अझै ठूलो संख्यामा हताहत भएको थियो। जुम्लाले सारा कर्णाली प्रदेशको नेतृत्व गर्दै पहिले राज्य फिर्ता गर्न र पछि स्थानीय स्वायत्तताका निम्तिसमेत वि›ोहहरू उठाएको थियो। एकीकरणको क्रममा नेपालमा गाभिएपछि जुम्लाका अन्तिम कल्याल राजा सुभान शाही लुक्दै/भाग्दै तिब्बततर्फ शरणार्थीका रूपमा रहे। उनले तिब्बततर्फबाट सहयोग जुटाइ, स्थानीयलाई समेत भड्काउँदै हुमला तथा गम जस्ता ठाउँमा वि›ोह गराएका थिए। त्यसपछि पनि जुम्लामा केही असफल वि›ोह भएका थिए। नेपालको चीनसँग युद्ध चलेको बेलामा पनि अप्ठेरो मौका पारी भेरीपारि एकछत्ररूपमा र जुम्ला छिनासिम मुकामबाट गोर्खालीलाई धपाउनेसमेत प्रयासस्वरूप छिनासिममा छुट्टै वि›ोह पनि मच्चाइएको थियो। यसपछि पनि जुम्ला भेष्का जिम्मावाल रोकायाहरूले मुगुतर्फ वि. सं. १८५० पछि पनि वि›ोह उठाएका थिए। यसरी ऐतिहासिक युगमा पनि जुम्लाले स्थानीय अधिकारका निम्ति नेपालको केन्›विरूद्ध पटकपटक सानातिना वि›ोह गरेको थियो।

पश्चिम तराईको स्थिति र जुम्ला
तराईतर्फको अवस्था कर्णाली वा जुम्लाको भन्दा पुरै फरक थियो। अघि खस देशअन्तर्गत भए तापनि पछि बाइसी/चौबिसी राज्यको युगमा यो क्षेत्रका तराईका भूभागमा कहिले अवधको वा कहिले डोटी, सल्यान तथा पाल्पाअन्तर्गत हुन्थे भन्ने देखिएको छ। खस देशको मुख्य उत्तराधिकारीका रूपमा आफूलाई चिनाउन खोज्ने भए तापनि जुम्लाले तराईका इलाकासम्म अधिकार गर्न सकेको थिएन। सन् १८१६ को सुगौली सन्धिपछि बाँके, बर्दिया, कैलाली र कञ्चनपुर इलाका हाम्रो हातबाट गुमेर भारतको अवधतर्फ परेका थिए। त्यसै हुनाले पछि अंग्रेजलाई खुसी पारेर, सहयोग गरेर र तथा चलाखीपूर्ण कूटनीतिका आधारमा जङ्गबहादुरले उक्त तराई इलाका नेपालमा फिर्ता ल्याउन सफल भएका थिए। त्यहाँ न स्थानीय सामन्तको शासन थियो न स्थानीय स्तरबाट कुनै स्वायत्तता वा स्वतन्त्रताको कुरा उठ्ने र उठाउने स्थिति। अब अहिलेको परिस्थितिमा जंगबहादुरको त्यस देनलाई प्रशंसा गर्ने कि धिक्कार्ने भन्ने कुरा महत्त्वपूर्ण भएको छ।

स्मरणीय कुरा के हो भने यदि तराईका उक्त इलाका ब्रिटिस भारतबाट त्यस बेला फिर्ता नल्याइएका भए आज भारतको सीमान्त क्षेत्रमा हुने थिए र त्यस्तो अवस्थामा आन्दोलनको कुरा र स्वायत्त प्रदेशको कुरा उठ्ने प्रसङ्ग नै हुने थिएन। उता पाल्पाका सेनअन्तर्गत परासीसम्मका अरू तराई इलाका थिए। त्यहाँ पनि न स्थानीय शासक थिए न स्वायत्तताको आवाज उठाउने नै। दाङमा भने स्थानीय थारू शासन खस देशको विस्तारको युगभन्दा अघिसम्म भएका केही ऐतिहासिक संकेत र पुरातात्विक आधार तथा लोकगाथा भेटिएका छन्। कर्णाली इलाकाका हजारौं खसले आफ्नो राज्यको वा क्षेत्रको रक्षाका निम्ति नेपालको एकीकरणको क्रममा जुम्ला आक्रमणमा आएको खसकै बाहुल्य भएको नेपाली फौजसँग वर्षौंसम्म लड्दा जीवन गुमाउनुपरेको थियो। रगतको खोलो बगेका युद्धमा धनजनको नाश सहनुपरेको थियो। त्यस्ताखाले घटना राज्य–राज्यको टकराव हुँदै नभएको पश्चिम तराईतर्फ हुने कुरै थिएन। यसरी कुनै पनि क्षेत्रमा कुनै समुदायले युगौं बसोबास गरेको अवस्थामा सम्बन्धित क्षेत्रलाई बाह्य आक्रमणबाट जोगाउने, आफ्नै शासन र राज्यको व्यवस्था गर्ने जस्ता जिम्मेवारी पनि लिनुपर्ने हुन्छ। कुनै समुदाय यस काममा धेरै अगाडि हुन्छ भने कुनै शिथिल पनि। स्थानीय परिस्थिति, सांस्कृतिक चालचलन, रहनसहन, भौगोलिक अवस्था आदिले पनि यसमा भूमिका खेलेको हुन्छ।

जे होस्, दुःख भोगाई विभिन्न स्थान र परिस्थितिमा आ–आफ्नै किसिमका हुन्छन्, अधिकार र विरोधका आवाज राज्यले सम्बोधन गर्नुपर्छ तर देश र जनताको जीवनको मूल्यमा भने कुनै हालतमा पनि सम्झौता हुनुहँुदैन। पहिचानको मुद्दालाई तीन तहको संघीयता बनाएर तेस्रो तह (स्थानीय विशेष तह) अन्तर्गत सजिलै सुल्झाउनेतर्फ सोच्नु बेस हुन्छ। प्रदेश निर्माणका माध्यमबाट मात्र पहिचानको समस्याको निराकरण खोजिरहँदा सम्भावनाका ढोका पहिल्याउनै नसकिने स्थिति देखिएको छ अहिले।

प्रकाशित: १३ भाद्र २०७२ २०:५७ आइतबार