सभ्य, सुसंस्कृत र विभेदरहित समाजको परिकल्पना अझ हिंसाबाट सम्भव हुँदैन। हिंसाले प्रतिहिंसा जन्माउँछ। र, त्यसले विनास। अधिकार प्राप्तिका लागि होस् वा सत्ता र सरकार परिवर्तनका लागि जहाँ हिंसा रोजिएको छ, कहीँ त्यहाँ सफलता हात परेको छैन, हिंसा गर्नेहरूलाई। हो, केही अपवाद उदाहरण छन्, हिंसाले सत्ता र सरकार त परिवर्तन भएको। तर, त्यही हिंसाको सिकार भएका छन्, हिंसाका पक्षधरहरू। विश्व इतिहासले यही भन्छ– लिबिया, इजिप्ट, इराक, सिरिया यसका पछिल्ला उदाहरण हुन्। अझ जातीयता वा साम्प्रदायिकता कति भयाबह हुन्छ, रुवान्डा, नाइजेरिया हेरे पुग्छ। हिंसा कुनै पनि समस्याको समाधान हुन सक्दैन। र, भएको इतिहास पनि छैन। हिंसात्मक युद्धमा १० वर्ष खर्चेको नेकपा माओवादीले शान्ति प्रक्रियाबाट हरेक समस्याको समाधान खोजेको तथ्य अहिले नै इतिहास भइसकेको छैन। त्यही शान्ति प्रक्रियालाई टुंगोमा पुर्या उने अहिले त्यही माओवादी पार्टी संविधान निर्माणमा अन्य पार्टीसँगै सहकार्य गरिरहेको छ।
संघीयताको सीमांकनको विषय र सीमांकनका क्रममा आफ्ना माग समेट्ने विषयमा चासो राख्नु, दबाब दिनु कदापि गलत हुन सक्दैन। तर, अन्तिम नमानिएको सीमांकनको खाकालाई लिएर पछिल्ला दिनमा जसरी आन्दोलन र हिंसाका घटना भइरहेका छन्, त्यसले मुलुकलाई भने जटिल मोडतिर लगिरहेको छ।
काठमाडौंबाट टीकापुर हेर्न सकिँदैन। अहिले मिडियामा जे–जसरी सतही र भ्रामक आएका छन् त्यसले समाजलाई दिग्भ्रमित पारिरहेको छ। नेता, पत्रकार, लेखक र जातीय तथा भेगीय भावनामा बगेर अन्धा भएका व्यक्तिले मिडिया तथा सामाजिक सञ्जालमा ओकलिरहेको विष र उग्र भावनाले समाजलाई उत्तेजित पार्ने कार्य गरिरहेको छ। टीकापुरमा भएको बिभत्स हत्यापछि यहाँ केही अपवाद घट्नाबाहेक कुनै पनि त्यस्ता कार्य भएको छैन जसले समाज विभाजन गरोस्।
घटनास्थल नजिकै मुनुवा गाउँको चियापसलमा थारू र पहाडी सँगै बसेर चिया पिइरहकै छन्। बिहान साँझ थारू र पहाडीबीच उठबस भइरहेकै छ। दुःख सुखका कुरा गरिरहकै छन्। थारूको घरमा तेल सकिए, पहाडीले पैचो दिएकै छ। पहाडीको घरमा नुन सकिँदा अलिनो खानुपरेको छैन। थारूले आफूसँग भएको नुन बाँडेकै छ। थारूका घरका कुखुरा पहाडीका आँगनमा चर्न जान कर्फ्युले रोकेको छैन। कुनै आन्दोलनले छेकेको छैन। आन्दोलनबाट प्रभावित भएका क्षेत्र र गाउँको जनजीवन कर्फ्यु र निषेधाज्ञाले असहज बनाए पनि थारू र पहाडी समुदायबीचको सम्बन्धमा कुनै कर्फ्यु र निषेधाज्ञाले प्रभाव पारेको छैन। टीकापुरमा केही थारू अगुवाको घरमा आक्रमण गर्दा त्यसो नगर्न र रोक्ने पहाडी नै थिए। र, अहिले पनि टीकापुरमा कतिपय थारू समुदायका मान्छे पहाडीकै घरमा सुरक्षित बसिरहेका छन्।
समाजको आवश्यकता महसुस हुने नै अप्ठ्यारोमा परेका बेला हो। त्यस्तै सहयोग र सद्भाव थारू समुदायका व्यक्तिले पनि पहाडी समुदायप्रति राखेको छ। त्यो व्यवहारतः देखिएको छ। हो, केही मान्छेले यो समाज र यहाँको सामाजिक सद्भाव बिगार्ने प्रयास नगरिरहेका होइनन्। अहिले पनि देखिने र नदेखिने गरी ती र त्यस्ता कोसिस भइरहेका छन्। राजनीतिक दलका शीर्ष नेता, कैलालीबाट निर्वाचित सभासदले काठमाडौंबाट बोलेर पुग्दैन। अब जिल्लामै आएर सामाजिक सद्भाव बिग्रन नदिन सार्वजनिकरूपमा सामूहिक प्रतिबद्धता र आग्रह गर्न जरुरी छ। यहाँ पहाडी र थारू समुदाय पहिलेजत्तिकै मिलेर बसेका छन्। उनीहरूमा कुनै किसिमको विभाजन छैन। उनीहरूबीचको सद्भाव बिग्रिएको छैन। हो, टीकापुर घटनालाई लिएर थारू र पहाडी समुदायका बीचमा विभाजन ल्याउने कोसिस हुँदैछ। सद्भाव बिगार्ने कोसिस हुँदैछ। यसलाई बेलैमा रोक्न सकिएन भने ठूलो दुर्घटना हुन सक्छ। त्यो दुर्घटनाको सिकार केवल टीकापुर र यहाँका समुदायमात्र हुने छैनन। यो देश नै त्यसको शिकार हुनेछ। संविधान निर्माण र बाँकी प्रक्रिया त देश रहे हुने कुरा न हुन्।
भारतको काला पहाडमा बेल्चा चलाउन जानु थारू–पहाडी दुइटैको नियति बनेको छ। सिमलामा स्याउ टिप्न गाउँबाट हुलका हुल युवाको लस्कर सीमा काट्दा, त्यसमा यो जाति त्यो जाति भन्ने हुँदैन। गरिबी र अभावले कहिले काला पहाडमा पसिना बगाउने त कहिले सिमलाको कठ्यांग्रिदो चिसोमा स्याऊ खेती र भेडी गोेठ स्याहार्ने काम गर्नु थारू र पहाडी दुइटै समुदायको रहर होइन, बाध्यता हो। हो, यी बाध्यताका बीचमा बाचिरहेकालाई भूगोलभन्दा भात महत्व राख्छ। भातको जोहो गर्न कठिन भएको बेला भविष्यको चिन्ता हुँदैन, भूगोलको चिन्ता हुँदैन। भातको चिन्ता हुन्छ। सधैं सत्ताको स्वाद चाखेका र कहिले झुपडीमा नपुगेकाहरूले अधिकार र समानताका कुरा गर्नु बनावटी हुन्छ। भूगोललाई जहाँसुकै मिसाए पनि त्यसको नाम जे सुकै राखिए पनि सुदूर गाउँको एउटा सामान्य किसानलाई कुनै अर्थ राख्दैन। सबैले आफ्नो राजनीतिक अडान र हठ त्याग्न जरुरी छ।
धनगढीस्थित सञ्चारकर्मी
प्रकाशित: १३ भाद्र २०७२ २०:५१ आइतबार