‘जो अगुवा उही बाटो...' भनेझैँ ऐननियम र कानुनको पालना गराउनु पर्ने निकाय नै जनतालाई पेट्रोल र डिजेलमा दिनरात एकोहोरो ढंगले ठगी गर्न निर्लिप्त हुनु अत्यन्त लज्जास्पद अवस्था हो। अब प्रहरीका उपल्लो निकायले उक्त पम्पको जिम्मेवार अधिकृतमाथि आरोप थोपरेर आफू पानीमाथिको ओभानो बन्न खोज्ने अनुमान गर्न सकिन्छ। तर कसैलाई बलीको बोको बनाएरमात्र समस्या समाधान हुँदैन। आर्थिक लाभ हुने काममा माथिल्लो तहसम्म कमिसन जाने परम्परा छ। त्यसैले माथिल्ला तहका अधिकारीहरूले पम्पबाट कुनै ‘नजराना' पाएका थिएनन् भनेर विश्वास गर्नसकिने अवस्था छैन। त्यसो हैन भने यस घटनाको उचित छानबिन गरेर दोषीलाई हदैसम्मको कारबाही अविलम्ब गरिनुपर्छ जसले गर्दा भविष्यमा कसैले पनि जनतालाई ठग्ने आँट गर्नसक्ने छैनन्।
प्रहरीमा अपराध र ठगीले प्रश्रय पाउनुको प्रमुख कारण ‘कमिसन'को खेल नै हुनुपर्छ। प्रहरीका अधिकांश अधिकृत धेरै अपराध र बढी आर्थिक कारोबार हुने स्थानमा सरुवा भएर जान चाहन्छन्। त्यसका निम्ति माथिल्लो निकायसम्म घुस खुवाउन पनि तम्सन्छन् भन्ने विश्वास जनमानसमा छ। यसरी घुस खुवाएर कुनै स्थानसम्म पुग्ने व्यक्तिले पैसा कमाउनैका लागि ठगी वा अपराध गर्नु आश्चर्य होइन। तर यस्तो अपराधमा नजराना लिने प्रहरी उच्च अधिकृत र गृह मन्त्रालयका उपल्लो तहका पदाधिकारीसमेत उत्तिकै दोषी हुन्छन्। विडम्बना, हाम्रो अहिलेको न्याय प्रक्रिया र शासन प्रणालीले भने यसलाई देख्दैन वा देख्न चाहँदैन।
देशमा कानुनको शासन स्थापना गर्ने हो भने सुशासन र सुव्यवस्था कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीलाई स्वच्छ र शुद्ध बनाउनै पर्छ। यसका लागि जनसम्पर्क हुने कुनै पनि निकायमा भ्रष्ट, अक्षम र कमजोर कर्मचारीलाई नातावाद, कृपावाद र कमिसनवादका आधारमा नियुक्त गरिनु हुँदैन। राजनीतिक नेतृतत्वका साथै तालुक अड्डा गृह मन्त्रालयले सधैँ नेपाल प्रहरीमा पदको भागबण्डा गरेर असल प्रहरीको मनोबल गिराउने काम गरेको देखिएको छ। राजनीतिक नेता, मन्त्री र प्रहरी प्रमुखसम्म भ्रष्टाचारमा लिप्त अधिकारीहरूकै पहुँच हुन्छ। तिनैको सिफारिसमा विभिन्न स्थानमा सरुवा भएर जाने अधिकृतको मुख्य सोच नै कसरी जनतालाई चुसेर आफू र माथिल्ला निकायका आफ्ना शुभेच्छुकलाई खुसी पार्ने भन्ने रहन्छ। अहिले पम्पमा देखिएको ठगी त एउटा प्रतिनिधि घटनामात्र हो। जनतालाई दुःख दिने र पैसा कमाउने नियतका प्रहरी अधिकृत देशभर थुप्रै छन्। आशा गरौँ, यस घटनाले सबैको आँखा खोल्नेछ र प्रहरीको छवि सुधार्न आवश्यक कदम चाल्ने शिक्षा ग्रहण गरिनेछ।
प्रकाशित: ४ चैत्र २०७१ २३:०७ बुधबार