विचार

विपद् व्यवस्थापनमा ‘सोसल मिडिया'

गत साउन १७ गते सिन्धुपाल्चोक जिल्लाको जुरेमा ठूलो पहिरो गयो र सुनकोशी नदी थुनियो। थुनिएको ठाउँमा ठूलो ताल बन्यो, जुन फुटेका खण्डमा कोशी ब्यारेजलगायत तल्लो भेगका स्थान डुबानमा पर्नसक्ने खतरा देखापर्योल। उक्त घटनाको फ्ल्यासन्युज सञ्चारमाध्यमहरूमा बिहानैदेखि आउन थाले पनि पहिरो गएको स्थानको सचित्र विवरण आउन सकेन। यस्तो अवस्थामा सोसियल मिडिया प्रयोगकर्ताले बिहान ५ बजेर ५० मिनेट जाँदा घटनास्थल नजिकबाट टि्वट गरे। त्यसपछि ९ बजेर २३ मिनेटमा उनले पानीको बहाव बढेको फोटो टि्वट गरे, लगत्तै अन्य फोटो पनि राखे। उनले टि्वट गरेका सूचना र फोटोहरू नै परम्परागत र सोसियल मिडियाका लागि खुराक बन्न पुग्यो। इन्जिनियर कपील धितालले प्राकृतिक प्रकोपलाई लिएर गरेको ‘कन्वर्जेन्स बिहेवियर'का टि्वटहरू नागरिक रिपोर्टिङको उत्कृष्ट उदाहरण हो।सन् १९५७ मा चार्ल्स इ. फ्रिज र जेएच म्याथ्युसनले गरेको महत्वपूर्ण अनुसन्धानअनुसार प्राकृतिक प्रकोपको अवस्थामा तीन कुरा (मान्छेको भीड, खबर र स्रोतसाधन) प्रकोपको स्थानतिर आकर्षित हुन्छन्। आफ्नो सम्पत्ति र आफन्तको चिन्ता, घट्नाबारे जिज्ञासा, सहयोगको भावना, मानवीय वेदना, चोरी–लुटपाट आदि विभिन्न कारणले नागरिकको भीड प्रकोपको स्थानमा वढ्दै जान्छ। विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने जनशक्ति र स्रोतसाधन घट्ना घटेको स्थानतर्फ परिचालित हुन्छन्। घट्नासम्बन्धी सूचना प्रचारप्रसार हुन थाल्छन्। यी सबै कार्य र प्रक्रियाका कारण विभिन्न प्रकारका समस्या देखापर्छन्, जसले गर्दा विपद् व्यवस्थापन चुनौतीपूर्ण हुन्छ। त्यसमाथि नयाँ सञ्चार तथा सूचनाप्रविधिको पहुँचका कारण नागरिक स्वस्फूर्तरूपमा विभिन्न सोसियल मिडियामा सम्बन्धित निकायभन्दा पहिला नै घट्नासम्बन्धी प्रतिक्रिया दिन थाल्छन्। यसरी विपद् व्यवस्थापन हालका वर्षमा झनै चुनौतीपूर्ण बन्नथालेको छ।
सञ्चार तथा सूचनाप्रविधिको व्यापकतासँगै व्यक्तिगत प्रयोजनको लागि सोसियल मिडियाको व्यापक प्रयोग हुन थालेको दशकभन्दा बढी भइसक्यो। हाल विश्वको २५ प्रतिशत जनसंख्या कुनै न कुनै सोसियल मिडिया प्रयोग गर्छन्। २००४ मा स्थापना भएको फेसबुकको हाल १ अर्ब ३५ करोड मासिक क्रियाशील प्रयोगकर्ता छन् भने त्यसको २ वर्षपछि खुलेको टि्वटरका २७८ मिलियन भन्दा बढी क्रियाशील प्रयोगकर्ता छन्। फेसबुक कम्पनीका अनुसार १ दिनमा ५० प्रतिशत क्रियाशील प्रयोगकर्ता लग इन गर्छन् भने १ महिनामा ५०० अर्ब मिनेट खर्च गर्छन्। नेपालमा प्रयोग हुने सोसियल मिडियामध्ये सोसियल नेटवर्किङ साइटमा फेसबुक र माइक्रो ब्लगिङमा टि्वटर बढी प्रचलनमा छ। सोसियल मिडिया परिवार, आफन्त तथा साथीभाइसँग सम्पर्कमा रहने वा आफ्नो स्टेटस र फोटो पोस्ट गर्ने मात्र नभई हाल प्रकोप वा विपद्को अवस्थामा पनि प्रयोग हुँदै आएको छ।
प्रत्येक प्राकृतिक वा मानव सिर्जित प्रकोपको अवस्थामा नागरिक र सम्बन्धित निकायको अनलाइन क्रियाकलाप बढ्दै गइरहेको छ। यस्ता अनलाइन क्रियाकलापको ‘रेस्पोन्स' निकै छिटो हुन्छ। अमेरिकाको भर्जिनिया टेक्नोलोजी नामक शिक्षण संस्थामा २००७ मा भएको सुटिङ कान्डमा विद्यार्थीले २ घन्टाभित्रै फेसबुकमा ‘आइ एम ओके, एट भिटी' नामक ग्रुप बनाइ आफू सुरक्षित रहेको सूचना प्रशारण गरेका थिए। त्यसैगरी २००८ मा भारतको मुम्बईमा भएको आतंकवादी आक्रमणको सूचना टि्वटरका प्रयोगकर्ताले तत्कालै प्रशारण गरेका थिए।
विभिन्न अध्ययनअनुसार सोसियल मिडियाको प्रयोग विपद् व्यवस्थापनका चारवटै चरणमा हुन्छन्। तर नागरिकस्तरमा रेस्पोन्स चरणमा यसको प्रयोग निकै भएको पाइन्छ। विपद् व्यवस्थापनमा यस्ता माध्यमलाई कसरी परिचालित गर्नसकिन्छ भन्नेबारे विज्ञहरूको विभिन्न धारणा पाइन्छ। साधारणतया जनशक्ति व्यवस्थापन, स्रोतसाधन परिचालन र सूचना समन्वयलाई विज्ञहरूले महत्व दिएको देखिन्छ, तर प्रविधिमा आधारित सामाजिक पक्षलाई खासै ध्यान दिएको पाइँदैन। 
विभिन्नि अनुसन्धानमुताविक विपद् ‘कन्वर्जेंस बिहेवियर' ८ प्रकारका हुन्छन् विस्थापित, चिंन्तालु; मद्दतकर्ता, जिज्ञासु, एक्सप्लोइटर, शोकसन्तप्त, चियरलिडर र डिटेक्टिभ। विस्थापितहरू घट्नाबाट बचेका व्यक्ति हुन् भने चिन्तालु विस्थापितका बारेमा चिन्तित समुदाय हुन्। यिनीहरू आफ्नो सम्पत्ति र हराइरहेका आफन्तबारे सूचना लिन चाहन्छन्। मद्दतकर्ताहरू विपद्मा सहयोग गर्छन्। कसैले सोधखोज गरेको प्रश्नको जवाफ पनि दिन्छन् र आवश्यक सूचना पनि सम्प्रेषण गर्छन्। उनीहरूलाई स्याबास् भनेर हौसला दिने काम गर्नेलाई चियरलिडर भनिन्छ। जिज्ञासुहरू तमासे हुन् भने एक्सप्लोइटरचाहिँ ठगी, कालोबजारी, लुटपाट गर्छन्। कोहीकोही भने दुःखीमात्र हुन्छन्, जसले आफू शोकसन्तप्तमात्र नभई घट्नास्थलमा प्राप्त भएका कुरालाई चिनोको रूपमा पनि संकलन गर्छन्। ‘डिटेक्टिभ बिहेवियर' भन्नाले अवाञ्छित व्यवहार रोक्न नागरिक वा संगठनिक निकायद्वारा गरिने क्रियाकलाप हो। 
प्राकृतिक प्रकोपको अवस्थामा देखिएको कन्वर्जेंस बिहेवियर विपद् व्यवस्थापकको लागि दुईधारे तरवार हो। यो एकातर्फ सूचना र जनशक्तिको स्रोत हो भने अर्कोतर्फ समस्याको पोको पनि बन्नसक्छ। यीस्ता बिहेवियर भौतिक ‘स्पेस'मा मात्रै सीमित नरही साइबर स्पेसमा समेत देखिन्छन्। तसर्थ कन्वर्जेंस बिहेवियरको व्यवस्थापन भौतिक स्पेसमा मात्रै नभएर भर्चुअल संसारमा पनि आवश्यक देखिन्छ । तर भौतिक स्पेसमा सजिलैसँग गर्नसकिने व्यवस्थापन साइबर स्पेसमा कठिन हुन्छ। उदाहरणको लागि विपद्को अवस्थामा सुरक्षा निकायहरूको उपस्थितिले अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा सहयोग गर्छ, तर भर्चुअल संसारमा कन्वर्जेंस बिहेवियरलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण हुन्छ। 
केही वर्षअघि हाइटीमा आएको विनाशकारी भूकम्पमा सहयोग गर्ने हेतुले नागरिकले ‘अर्थक्वेक हाइटी' नामक फेसबुक ग्रुप १ घन्टाभित्रै स्थापना गरे, जसमा छोटो समयमा नै ३.५ लाखभन्दा बढी सदस्य आवद्ध हुनपुगे। यो समूहमा सञ्चालक र सदस्यले जरुरी फोन नम्बर, हराइरहेका व्यक्तिको सूची, नक्सा तथा विभिन्न सूचना पोस्ट गरेका थिए। झन्डै ६ महिना ७ जना सञ्चालक र केही बफादार सदस्यले २४ सै घन्टा अनलाइन बसेर सूचना सम्प्रेषण गरिरहे, जसका कारण विस्थापित र चिन्तालुलाई सूचना लिनदिन सजिलो भयो। यो स्वस्फूर्त काममा कुनै आर्थिक लाभको आशा गरिएको थिएन। सञ्चालक तथा सहयोग गर्ने संस्था जस्तैः गुगल, रेड क्रसहरूलाई स्याबास् भनेर हौसला दिने काम पनि उक्त ग्रुपका चियरलिडर सदस्यले गरेका थिए। जिज्ञासुहरूले प्रविधिको मद्दतले परिस्थितिको जानकारी लिए, तर कुनै सहयोग गरेनन्। शोकसन्तप्तहरूले भर्चुअल मैनबत्ती वा शोकसन्देश पोस्ट गरी संवेदना प्रकट गरे, कुनै मद्दत नगर्ने र शोकमग्न रहनेखालका बिहेवियरका कारण ग्रुपका सञ्चालकहरूको ध्यान बेलाबखत अन्त गइ समयको खति हुन्थ्यो। एक्सप्लोइटरहरूले उक्त ग्रुपको विभिन्न स्थानमा जस्तैः फोरम, मेनपेज, फोटो क्याप्सन आदिमा फर्जी सहयोगको अपील गर्दै लिंक पोस्ट गरे। त्यस्ता लिंकमा क्लिक गर्दा आफूले दिने आर्थिक सहयोग नक्कली वेबसाइटमार्फत् एक्सप्लोइटरहरूको हातमा पुग्ने सम्भावना रहन्छ है भन्दै सचेत गर्ने कार्य डिटेक्टिभहरूले गरे। सञ्चार तथा सूचनाप्रविधिको प्रयोगले नागरिक स्वयं पनि अदृश्यरूपमा सूचना संकलन गरी कुनै पनि अवाञ्छित क्रियाकलापबारे सूचना सम्प्रेषण गर्नसक्छन् भन्ने यो बलियो उदाहरण हो। 
मार्क जुकरबर्गले फेसबुक स्थापना गर्दा प्रयोगकर्ताहरूले फेसबुकमा आफ्नो स्टेटस पोस्ट गर्ने, फोटो अपलोड गर्ने र मित्रहरूसँग सम्पर्कमा रहने मात्र नभई यसलाई विपद् व्यवस्थापनमा पनि प्रयोग गर्छन् भनेर कल्पना पनि नगरेको हुनसक्छ। माथि प्रस्तुत गरिएका उदाहरणबाट हामीले बुझ्नु के पर्छ भने, सोसियल मिडियाको प्रयोग प्रविधिले मात्रै सञ्चालित गर्दैन, यसको उचित प्रयोग प्रविधि र सामाजिक अन्तरक्रियाबाट हुन्छ। केवल फेसबुक वा टि्वटरमा अकाउन्ट खोल्दैमा र केही सूचना पोस्ट गर्दैमा सोसियल मिडियाको उचित प्रयोग भएको मान्न सकिन्न। यसले सामाजिक व्यवहारलाई पनि सम्बोधन गर्नुपर्छ। नेपालमा पनि विपद् व्यवस्थापनका लागि सोसियल मिडियालाई उचित तवरबाट कसरी प्रयोग गर्ने भन्ने कुरामा राष्ट्रियस्तरमा नै नीति बनाउनु आवश्यक छ।

प्रकाशित: १२ माघ २०७१ २३:५७ सोमबार