माघ १ मा स्थानीयरूपमा बृहत् मेला लाग्ने हुनाले तत्कालीन नेकपा (माले)ले यो ठाउँमा सरकारविरोधी चेतना फैलाउने कार्यक्रम राखेको थियो। माघेसंक्रान्तिको यो घटना हुनुभन्दा करिब ५ दिनअघि मालेका नेता अमृत बोहरा र माधव पौडेल पिस्कर पुगेका थिए। कार्यक्रमको आवश्यक व्यवस्था मिलाएर उनीहरू काठमाडौं फर्केका थिए। तर, प्रहरीले पार्टीका उच्च नेतृत्व नै सो कार्यक्रममा सहभागी हुने सूचनाका आधारमा आक्रमण गरेको थियो। थुप्रै स्थानीय बासिन्दालाई प्रहरीले गिरफ्तार गरेको थियो। त्यसबेलाका स्थानीय नेता हाल एमाले पोलिटब्युरो सदस्य अरुण नेपाललगायत मेघनाथ पौडेल, सरेश नेपाल, छत्रबहादुर बोहरा, मानबहादुर थामीलाई सरकारले जेल हाल्यो।
पिस्कर सिन्धुपाल्चोक जिल्लाको एउटा सानो र विकट गाउँ हो। यो गाउँमा जनजातिको बाक्लो बस्ती छ। स्थानीयरूपमा नै कथित माथिल्लो वर्गबाट पीडित उनीहरूमा राजनीतिक चेतना जागृत भइसकेको थियो। यही चेतनाका कारण पनि तत्कालीन भूमिगत राजनीतिक मोर्चालाई सरकारविरोधी क्रियाकलापका निम्ति यो ठाउँ उपयुक्त थियो। उनीहरूले आफूमाथि भइरहेका वर्गीय शोषण र उत्पीडनविरुद्ध आवाज उठाइरहेका थिए। त्यही आवाजको एउटा रूप २०४० सालको माघेसंक्रान्तिका दिन पिस्करका जनसमुदायको शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम थियो। र, त्यसलाई पञ्चायती शासकहरूले दमन गरे। प्रहरीको गोलीद्वारा दुई निर्दोष थामीको निर्मम हत्या भयो।
घटनालगत्तै हत्या र दमनको देशव्यापी विरोध तथा प्रतिवादको योजना अघि सारिएको थियो। मानव अधिकारको व्यापक हनन भएको निचोडसहित सञ्चार तथा मानवअधिकारवादी संस्थाहरू परिचालित भएका थिए। यस हत्याकाण्डको देशव्यापीरूपमा विरोध भयो। यसलाई अन्तर्राष्ट्रियकरण गर्ने काम पनि भयो। जसले दरबारलाई समेत समस्यामा पारेको थियो। त्यसबेला राजाका निकट मानिने व्यक्तिले पनि घटनाको विरोध गरेका थिए। देशव्यापी पर्चा, पोस्टरिङ र विरोध प्रदर्शन हुनथाले। संघर्षको परिणामस्वरूप पिस्कर क्षेत्रमा गरिएका नाकाबन्दी हटाउन र केही मात्रामा भए पनि दमन खुकुलो पार्न सरकार बाध्य भयो। त्यस घटनाको छ वर्षमै देशमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो।
मन्दिरमा लागेको मेलामा प्रहरीले दमन गरेर मान्छे मारेको घटना यसअघि नेपालमा भएको थिएनन। त्यसकारण पनि यसले तत्कालीन व्यवस्थाप्रति जनधारणा नकारात्मक बन्दै गयो। मुलुकमा ठूलो परिवर्तन भइसकेको छ। पिस्करमा चाहिँ के परिवर्तन भयो? त्यो विषय पनि खोज्नुपर्ने भएको छ। प्रजातन्त्रका लागि लडेका पिस्करका जनताले अहिले गणतन्त्र देख्नपाए। पिस्करका सहिदहरूले व्यवस्था परिवर्तनसँगै समाज परिवर्तनको आशा पनि राखेका थिए। चित्तबुझ्दो उपलब्धि हुननसकेको पक्कै हो। गाउँमा मोटरबाटो त पुगेको छ, तर त्यसको उचित व्यवस्थापन हुनसकेको छैन। पञ्चायती व्यवस्थाविरुद्ध लड्ने त्यस बेलाको राजनीतिक मोर्चाले एक भएर समाज परिवर्तनमा ध्यान दिने जनताको विश्वास थियो। तर, प्रजातन्त्र स्थापनासँगै हिजो संघर्ष गर्ने वीर नै विभक्त भए। र, उनीहरूबीच नै लुछाचुँडी भएपछि जनताको सपना पूरा हुन गाह्रो पर्नु स्वाभाविकै हो। प्रजातन्त्र स्थापना भएको ६ वर्ष पुग्दानपुग्दै अर्को राजनीतिक संघर्षको सामना गर्नुपर्योव। तत्कालीन नेकपा (माओवादी)ले ‘परिवर्तनको सपना'का नाममा देशमा हिंसात्मक आन्दोलन सुरु गर्योक। र, पिस्करका धेरै मानिसलाई व्यवस्थाविरोधी गतिविधिमा सामेल गर्ने प्रयत्न भयो। आफ्नै आँखाले महादेव मन्दिरमा नरसंहार देखेका केही आमाले काख रित्तो पनि बनाए। माघे संक्रान्तिको रातमा बारीका कान्ला फालहालेर ज्यान जोगाएका बाबुहरूले अर्को परिवर्तनका नाममा दोहोरो बन्दुकको मार खेप्नु पर्ने बाध्यता भयो। हिजो पिस्कर दमनका बेला सबैभन्दा पीडित हुनेहरू सशस्त्र संघर्षका नाममा अर्को पीडामा परे। पञ्चायती व्यवस्थाविरुद्ध लागेको आरोपमा जेल परेका पिस्करका छत्रबहादुर बोहरा नै गाउँबाट लखेटिए। उनलाई गाउँमा बस्ननदिने मात्र होइन, उनको घरजमिन नै कब्जा गरिएको थियो। मुलुकमा शान्तिस्थापना भएपछि मात्र उनले आफ्नो घरको आँगन टेक्नसकेका थिए। यसरी हिजो दमन र पीडामा परेका व्यक्ति नै परिवर्तनका नाममा थिचिएपछि जनतामा राजनीतिक वितृष्णा बढेको स्पष्टै देखिन्छ।
समाज परिवर्तनसँगै पिस्करको माटोमा पनि केही परिवर्तन त भएको छ। तर, एकपछि अर्को व्यवस्था परिवर्तन भए पनि विकास राम्ररी हुनसकेको छैन। नीति निर्माणको तहमा पहँुच नपुगेका यहाँका बासिन्दा अब पनि व्यवस्था परिवर्तनका नाममा आफ्नो काख रित्तो पार्न, सिउँदो पुछ्न या अभिभावक गुमाउन नपरोस् भन्ने कामना गर्न थालेका छन्।
प्रकाशित: ३० पुस २०७१ २२:४३ बुधबार