विचार

अग्निनियन्त्रकको पोसाक

दमकल कार्यालय भनेको अग्निनियन्त्रण गर्ने औजार–उपकरण र जनशक्तिले सुसज्जित संस्था भन्ने आमबुझाइ छ। तर, हाम्रो दमकल सेवा योभन्दा भिन्न अवस्थाबाट गुिज्ररहेको छ। हामीसँग आधुनिक औजार–उपकरण र अग्निसमन गर्ने रसायनको त कुरै छाडौँ, अग्निनियन्त्रणको आधारभूत वस्तु पानीसमेत पर्याप्त र सहज उपलब्ध छैन।विश्व सन्दर्भमा हेर्ने हो भने, दमकलले अग्निनियन्त्रणका साथै उद्धार तथा आपत्कालीन एम्बुलेन्स सेवा पनि प्रवाह गर्छ। तर, हाम्रोमा भने १९९४ सालमा स्थापना भई अहिलेसम्म निरन्तर सञ्चालनमा रहेको दमकल कार्यालय ७७ वर्ष पार गरिसक्दा पनि संस्थागत विकास र विस्तार हुनसकेको छैन। 
विपद्का बेलामा पीडितलाई मानवीय सेवा प्रदान गर्ने यस संस्थालाई सरकारले उच्च प्राथमिकताका साथै यसको विकास र विस्तार तथा जनशक्ति तयार पार्नमा ध्याननदिएको दमकल कार्यालयहरूको वर्तमान अवस्थाले पुष्टि गर्दछ। कुनै पनि राज्य नागरिक सुरक्षाप्रति कति संवेदनशील छ भन्ने त्यहाँको विपद् व्यवस्थापन गर्ने दमकल कार्यालयको विकास र विस्तारमा यसले प्राप्त गर्ने प्राथमिकताबाट प्रष्ट हुन्छ। नेपालमा सेवा प्रवाहको हिसाबले दमकल कार्यालयहरू अन्यन्तै पछाडि छन्, किनभने हामीले दमकल कार्यालयलाई कहिल्यै प्राथमिकतामा राखेनौँ। यसको विकास, विस्तार, जनशक्ति निर्माण एवं आधुनिक औजार–उपकरण तथा प्रविधि भित्याउनेतर्फ पनि हामीले कहिल्यै ध्यान दिएनौँ। 
दमकल कार्यालयको विकास र विस्तारका लागि स्रोतसाधन अभाव छ। अग्निनियन्त्रण तथा उद्धार कार्यमा प्रयोग हुने यन्त्र–उपकरण हामी आफैले निर्माण गर्नसकेका छैनौँ। सबै कुरामा हामी परनिर्भर छौँ। यही कारण हामीले दमकल कार्यालयको क्षमता विकास र विस्तार गर्न सकेनौँ भन्ने कुरालाई केही हदसम्म स्वीकार गर्न सकिएला। आफ्नै स्रोतसाधन प्रयोगबाट गर्नसकिने संस्थागत सुदृढीकरणका सामान्य, तर अत्यावश्यक कुरा पनि हामीले गर्नसकेका छैनौँ।
कुनै पनि संस्थाले प्रवाह गर्ने सेवा तथा उसको काम, कर्तव्य र अधिकारको बारेमा ऐननियममा स्पष्ट व्यवस्था हुन्छ। तर, नेपालको दमकल सेवाको सन्दर्भमा आजसम्म यसमा कार्यरत कर्मचारीको सेवा, सर्त तथा दमकल परिचालन सम्बन्धमा कुनै स्पष्ट ऐननियम छैन। यसकारण दमकल कार्यालयले व्यावसायिक अग्निनियन्त्रकहरू भर्ना गर्ने तथा पुराना कर्मचारी व्यवस्थापन एवं कर्मचारीतन्त्रमा दण्ड–पुरस्कार प्रक्रियालाई प्रभावकारी बनाउन कठिनाइ उत्पन्न भइरहेको छ। 
जनतासँग प्रत्यक्ष सम्पर्कमा रही फिल्डमा खटिने कर्मचारीका लागि संस्थाको परिचय गराउने पहिचानसहितको पोसाक ‘ड्रेस कोड' हुन्छ। विश्वका प्रायः सबै देशका दमकलकर्मीका लागि छुट्टै ड्रेस कोड, चेन अफ कमान्ड फौजी संरचनासहितको पदीय हैसियत हुन्छ। यसैका आधारमा दमकलकर्मी प्रभावकारीरूपमा परिचालित हुन्छन्, तर नेपालका अग्निनियन्त्रकहरू अग्निनियन्त्रण कार्य गर्दा दातृ निकायबाट सहयोगस्वरूप प्राप्त पुराना तथा विभिन्न रंग र आकारका ताप प्रतिरोधात्मक फायर ज्याकेट प्रयोग गरिरहेका छन्! दमकलकर्मीलाई हालसम्म पहिचानयुक्त औपचारिक अफिसियल पोसाकको व्यवस्था छैन। यसबाट दमकल सेवाप्रति जिम्मेवार निकाय कति उदासीन छ भन्ने थाहा हुन्छ।
जापानले हालै विभिन्न १० राष्ट्रका दमकलकर्मीलाई दिएको अग्निनियन्त्रण तथा दुर्घटना उद्धार तालिम उद्घाटन समारोहमा आआफ्नो देशको दमकलको पोसाक लगाउनुपर्ने थियो। सहभागी नौ देशका दमकलकर्मीले आफ्नो देशको दमकल सेवाको पहिचानयुक्त पेासाक लगाएका थिए। नेपालको प्रतिनिधित्व गरेको यस पंक्तिकारले भने आफ्नो दमकल सेवाको छुट्टै पोसाक हालसम्म व्यवस्था नभएको तीतो अनुभव गर्नुपरेको थियो। उक्त तालिममा सहभागी नेपालभन्दा भौगोलिक, जनसंख्या, आर्थिकस्तर तथा इतिहासको हिसाबले साना राष्ट्रको दमकलको व्यवस्था तथा क्षमता अन्तर्राष्ट्रियस्तरसँग मेलखाने खालको थियो भने नेपालको दमकल सेवामा हामीले आधारभूत कुरासमेत व्यवस्था गर्न नसकिरहेको अवस्था छ। यसबाट पाठ सिकी हामीले दमकल कार्यालयको विकास, विस्तार तथा क्षमता अभिवृद्धि गर्नेतर्फ सम्बन्धित निकायले पहल कदमी लिन जरुरी भइसकेको छ।
नेपालको सन्दर्भमा दमकल कार्यालयले प्रवाह गर्ने सेवा भनेको अग्निनियन्त्रण कार्य हो। अन्तर्राष्ट्रिय मान्यता तथा आमनागरिकको सुरक्षाप्रति संवेदनशील हुने हो भने हामीले अग्निनियन्त्रणसँगै उद्धार सेवा पनि दिनुपर्छ। अग्निनियन्त्रण गरेरमात्र दमकलको दायित्व पूरा हुँदैन। आगलागीमा परेका घाइते, अग्निजोखिममा परेका तथा भूकम्पजस्ता प्राकृतिक विपद्मा ‘फर्स्ट रेस्पोन्डर' का रूपमा फायर फाइटर खटिने व्यवस्था हुनुपर्छ। यसका लागि नेपालभरका दमकलकर्मीलाई अग्निनियन्त्रण तथा उद्धार कार्यका विभिन्न विधामा तालिम प्रदान गर्नुपर्छ। यसका साथै निश्चित अवधिमा फायर फाइटरले अनिवार्य उद्धारसम्बन्धी तालिम लिनुपर्ने र विपद्का बेला गरिने उद्धारकार्यको पूर्वाभ्यास गर्ने व्यवस्था गरी चुस्तदुरुस्त राखिनुपर्छ।
दमकल सेवामा कार्यरत कर्मचारीका लागि छुट्टै सेवा सर्त, तालिम केन्द्रको व्यवस्था गरी हाम्रो परिवेशमा घट्ने विभिन्न घटना व्यवस्थापन गर्ने प्रकृतिको नियमित तथा एडभान्स तालिमको व्यवस्था हुन जरुरी छ। हामीसँग यस प्रकारको तालिम दिने संस्था र व्यवस्था नभएको हँुदा आकस्मिकरूपमा दमकल कार्यालय आएर विदेशी फायर फाइटरले दिने अल्पकालीन तालिमले नेपाली फायर फाइटरको क्षमता अभिवृद्धि हुनको सट्टा झन् दोधारमा पर्ने गरेको छ। एउटै काम देश र भाषाअनुसार फरकफरक नाम र तरिकाले गरिने हँँुदा नेपाली अग्निनियन्त्रक दोधारमा पर्ने गरेका हुन्। त्यसैले विपद् व्यवस्थापनको अन्तर्राष्ट्रिय तालिमलाई नेपालीकरण गरी हाम्रो सन्दर्भमा उपयुक्त ढाँचामा रूपान्तरण गर्दै ‘म्यानुअल' निर्माण गर्नुपर्छ। यसबाट तालिममा एकरूपता आउने छ। विपद्का बेला यस्तो ज्ञान/सीप अग्निनियन्त्रकले प्रभावकारीरूपमा कार्यस्थलमा प्रयोग गर्न सक्नेछन्।
दमकल कार्यालयमा रहेका फायर इन्जिन एरियल ल्याडरलगायत अन्य औजार–उपकरण सञ्चालनसम्बन्धी विधि (एसओपी) निर्माण गरी त्यही बमोजिम सञ्चालन गर्न सक्नुपर्छ। यसो हुँदा विदेशीबाट प्राप्त महँगा औजार–उपकरण सञ्चालनमा हुने मनोमानी अन्त्य भई यस्ता सामग्री चाँडो बिग्रिने समस्याबाट छुटकारा पाउन सकिन्छ। विपद्को समयमा एक क्षणको पनि महत्व हुन्छ। समयमा उद्धार कार्य गर्ननसक्नु भनेको उद्धार नगर्नुसरह नै हो। त्यसैले विपद् उद्धारका लागि उद्धारकर्मी चुस्तदुरुस्त हालतमा रहनु पर्दछ र उनीहरूलाई उपयुक्त तालिम तथा आधारभूत औजार–उपकरण उपलब्ध गराइनुपर्छ।
प्रमुख, जुद्ध बारुण यन्त्र कार्यालय, काठमाडौँ

प्रकाशित: १० पुस २०७१ २२:२९ बिहीबार