खगोलशास्त्रीय यथार्थमा सबै ग्रहले सूर्यको परिक्रमा गर्ने भए पनि ज्योतिर्विज्ञानले हामी बसेको पृथ्वीलाई स्थिर मानेर अरु ग्रह आकाशमा परिक्रमा गरेको मान्छ। यस अर्थमा सबै नौ ग्रह आफ्नो आफ्नो बाटोमा माथि भनिएको ३६० डिग्रीको वृत्तमा आफ्नो आफ्नो गतिमा सदैव भ्रमण गरिरहेका हुन्छन्। जसलाई ग्रहको गोचर भनिन्छ। खगोलशास्त्रअनुसार त्यो ३६० डिग्री वा सबै राशिमा एक पटक भ्रमण गर्न विभिन्न ग्रहलाई फरकफरक समय लाग्छ। यसको मुख्य कारण ग्रहहरुको पृथ्वीबाट फरक दूरी र उसको आफ्नो फरक फरक गति हो। सूर्यले करिब एक वर्षमा त्यो वृत्त भ्रमण पूरा गर्छ भने चन्द्रमाले करिब २७ दिनमा त्यो वृत्त पूरा गर्छ। मंगलले यो वृत्त एक वर्ष ६ महिनामा, बुधले लगभग १२ महिनामा, बृहस्पतिले करिब १२ वर्षमा, शुक्रले एक वर्षमा त्यो वृत्त पूरा गर्छन्। शनिलाई त्यो वृत्त पूरा गर्न तीस वर्ष लाग्छ। शनि एउटा राशिमा झन्डै लगभग साढे दुई वर्षसम्म रहन्छ। यस अर्थमा शनिलाई यो वृत्त पूरा गर्न अरु ग्रहको तुलनामा सबैभन्दा बढी समय लाग्छ। तसर्थ यसलाई ढिलो ग्रह पनि भनिन्छ।
माथिको वृत्त पूरा गर्न लाग्ने समय हेर्दा, चन्द्रमा करिब सवा दुई दिन एउटा राशिमा बस्छ भने सूर्य, बुध र शुक्र एक एक महिना, बृहस्पति करिब एक वर्ष र मंगल करिब ४५ दिन एउटा राशिमा बस्छन्। तसर्थ ज्योतिषीहरुले दैनिक र साप्ताहिक राशिफल चन्द्रमाको गोचर र त्यसको प्रभावबाट, पाक्षिक, मासिक र त्रैमासिक सूर्यलगायत बुध, शुक्र र मंगलको गोचरबाट, अर्धवार्षिक र वार्षिक बृहस्पति र शनिको गोचरबाट निकाल्ने गर्छन्। तसर्थ ती पूर्ण र सधैं सबै विषयमा मान्य नहुन सक्छन्।
ज्योतिर्विद्हरुले कुनै पनि मानिसको चिना टिपन बनाउने र उसका वर्तमान, भविष्य र दशाहरुबारे बताउने माध्यम ऊ जन्मेको बेलामा आकाशमा ग्रह तथा नक्षत्रहरु कुन कुन अवस्थामा थिए र अहिले तिनीहरुको स्थिति के छ भन्ने हेरेर नै हो। अर्थात् एउटा निश्चित नक्षत्र र ग्रहहरुको स्थितिमा जन्मेको मान्छेको जीवनमा ग्रहहरु भ्रमण गर्दै जाँदा अनुकूल वा प्रतिकूल असर पर्छ।
हुन त सबै ग्रह एकपछि अर्को राशिमा गोचर गर्दै हुन्छन् र त्यसको प्रभाव प्राणी तथा समस्त भू मण्डलमा परेकै हुन्छ तर पनि जब शनि ग्रह एक राशिबाट अर्को राशिमा सर्छ तब त्यसको अर्थ अलि धेरै नै हुन जान्छ।
जबजब ग्रहहरु गोचर गर्दै एकपछि अर्को नक्षत्र र राशिमा जान्छन्, तबतब हरेक राशि र नक्षत्र भएका मानिसमा त्यसको प्रत्यक्ष सकारात्मक, नकारात्मक वा सामान्य असर पर्छ। यसको मुख्य कारण सम्बद्ध ग्रहसँग सम्बन्धित महादशा, अन्तरदशा तथा सुक्ष्म दशाहरु ती राशि वा व्यक्तिलाई लाग्न जानु हो। दशा शब्दको खास अर्थ समय हो तर जनमानसले यो शब्दलाई नकारात्मक शब्द बनाएको छ जुन गलत हो।
धेरै प्रकारका र समयका दशाहरु ज्योतिषीय सिद्धान्तले बताए पनि हामीले सबैभन्दा बढी सुनेको र सुन्नासाथ तर्सने दशा भनेको शनिको साढेसाती र अढैया नै हो। यी दुवै दशा शनि ग्रहसँग सम्बन्धित छन् र शनिको गोचरबाट लाग्ने गर्छन्।
के हो शनिको साढेसाती र अढैया दशा?
पुराणका अनुसार शनि सूर्यका छोरा हुन् र संसारका हरेक प्राणीलाई आफ्नो आफ्नो कर्मअनुसारको फल दिनका लागि एकमात्र न्यायाधीशको काम गर्न खटिएका देवता हुन्। तसर्थ शनिको दृष्टिमा कोही आफ्नो र कोही पराया छैन। पौराणिक कथाहरुमा भगवान् शिवलाई समेत शनि लागेका कथा प्रसंग आउनाले पनि शनिको शक्तिको अनुमान गर्न सकिन्छ। जब शनिग्रह एक राशिबाट अर्को राशिमा गोचर गर्छन्, त्यसबेला कुनै राशिलाई साढेसाती लागेको हुन्छ। उदाहरणका लागि यदि शनि ग्रह मेष राशिमा छ भने मेष राशिका मानिसलाई मध्य मेषभन्दा एक अगाडिको राशि मीनलाई अन्त्य र मेषभन्दा एक पछाडिको राशि वृषलाई आद्य साढेसातीको दशा लाग्छ। त्यस्तै, यो अवस्थामा मकर राशिलाई सुरुको र कन्या राशिलाई दोस्रो अढैया लाग्छ। ज्योतिषीय नियमअनुसार आद्यभन्दा मध्य र मध्यभन्दा अन्त्य साढेसाती कडा हुन्छ। त्यस्तै, सुरुको भन्दा अन्त्यको अढैया बढी कडा हुन्छ।
२०७१ साल कात्तिक २५ गते बिहान ६ बजेबाट शनिग्रह विगत साढे दुई वर्षदेखि बसेको तुला राशिबाट सरेर वृश्चिक राशिमा प्रवेश गर्दैछ। अब यसको अर्थ त्यस दिनबाट कन्या राशिलाई शनिको साढेसाती दशा सकिन्छ भने धनु राशिलाई सुरु हुन्छ। वृश्चिकलाई आद्यबाट मध्यमा सर्छ र तुलालाई मध्यबाट अन्त्यमा साढेसाती जान्छ। त्यस्तै, कर्कट र मीन राशिको अढैया समाप्त भएर मेष र सिंह राशिलाई अढैया लाग्छ। साढेसातीको अवधि साढेसात वर्ष र अढैयाको अवधि अढाई वर्षको हुन्छ।
साढे साती तथा अढैयाको प्रभाव र न्यूनीकरणका उपाय
यस्तो अवस्थामा साढेसाती तथा अढैया लागेका राशिका मानिसको जीवनमा महŒवपूर्ण उतारचढाव आउने कुरा एकातिर ज्योतिषशास्त्रले बताउँछ भने अर्कोतिर विभिन्न अनुसन्धानले पनि यो कुराको पुष्टि गरेका छन्। तर शनिको साढेसाती र अढैया सबैलाई खराबचाहिँ हुन्न। व्यक्तिको जन्मकुण्डलीमा शनि ग्रहलाई हेरेर मात्र दशाफल बताउन सकिन्छ। कसैलाई यी दशा समयहरु असाध्यै राम्रो पनि हुन सक्छन्। सबैले बुझ्ने भाषामा भन्नुपर्दा व्यक्तिको जन्मकुण्डलीमा शनि भएको ठाउँमा ७ को अंक भएमा वा लग्नबाट तेस्रो, छैटौं र एघारौं कोठामा बलवान् शनि ग्रह बसेको भए त्यस्ता व्यक्तिलाई यी दशा शुभफलदायी हुन्छन्। जसबाट मानसम्मान बढ्ने, मेलमिलापमा वृद्धि, रोजगारीमा पदोन्नति, घरजग्गा जोडिने आदि शुभफल हुन्छ। यदि ती स्थानमा शनि छैन भने ती व्यक्तिको शनि खराब हुन सक्छ र दशाको फल प्रतिकूल हुन्छ।
माथि भनिएझैं साढेसाती तथा अढैया हामीले सोचेजस्तो आफैंमा खराब हुँदैन। तर पनि ज्योतिषीय मान्यतामा शनि पाप र दुःखदायी ग्रह भएकाले यसको प्रभाव मानिसको जीवनमा नकारात्मक नै हुन्छ। बढी खर्च हुने, काम ढिला हुने, मानसिक अशान्ति र बाहनबाट दुःख हुने शनिका मुख्य प्रभाव हुन्। यसको राम्रो र खराब पक्ष थाहा पाउन ज्योतिषीसँग परामर्श लिनुपर्छ।
यदि जन्म समयमा शनि खराब रहेछ भने पनि त्यसको प्रतिकूल प्रभावबाट बच्ने वा न्यूनीकरण गर्ने उपायहरु शास्त्रले बताएको छ। यदि खराब साढेसाती वा अढैया छ भने त्यस्तो अवस्थामा केही उपाय गरेर प्रतिकूल प्रभावबाट बच्न सकिन्छ। यसको मतलव यी कुरा ज्योतिषशास्त्रमा विश्वास गर्ने जोकोहीले मान्नुपर्ने कुरा हुन्। ती उपाय वैदिक वा तान्त्रिक मन्त्रोपचार विधि, यन्त्र विधि, रत्न धारण विधि वा अरु पूजापाठका उपचार विधि हुन सक्छन्। मन्त्रोपचार विधिमा निश्चित समयमा मन्त्र जप गर्ने र गराउने तथा दान धर्मका कुरा आउँछन् भने यन्त्र र रत्नचाहिँ धारण गर्नुपर्छ। शनिको रत्न नीलम हो। खासगरी यो रत्न औंठी वा लकेटमा धारण गर्नुपर्दा ५ क्यारेटभन्दा बढीको पञ्चधातु वा चाँदीमा बनाएर निश्चित दिन, बार, तिथि मिलाएर दाहिने हातको माझी औंलो वा घाँटीमा छाला छुने गरी लगाउनुपर्छ। नेपालमा शुद्ध रत्न पाउन गाह्रो हुने र अरु लगाउँदा त्यसको प्रभाव नहुनाले रत्नभन्दा वैदिक मन्त्र र पूजापाठ उपचार विधि बढी प्रभावकारी हुन्छ। यन्त्र धारण पनि त्यति व्यावहारिक नहुन सक्छ। तर जे गरे पनि ज्योतिर्विद्को परामर्शमा गर्नुपर्छ।
प्रकाशित: २२ कार्तिक २०७१ २१:२५ शनिबार