विचार

गाई : पवित्र र समृद्धिको प्रतीक किन?

गाईलाई हिन्दु समुदायमा माता र लक्ष्मीका रूपमा लिइन्छ। अरु घरपालुवा जनावरभन्दा विशिष्ठ मानिन्छ। किन त? ५ हजार वर्षअघि सिन्धु नदीको आसपासमा अन्य घरपालुवा पशुका साथै गाईपालनको पनि चर्चा गरिएको छ। वैदिक कालमा गाईको आर्थिक र सामाजिक मात्र नभई धार्मिकरूपमा ज्यादै महत्व थियो।त्यसबेला यी पशु नै मानिसको धन दौलत तथा समृद्धि मापनको आधार थिए। जोसँग धेरै पशु हुन्थ्यो ऊसको सामाजिक प्रतिष्ठा र इज्जत धेरै हुन्थ्यो। धेरै धनी व्यक्तिलाई संस्कृतमा गोपति (अर्थात् गाईहरुको मालिक) भनिन्छ। राजाहरुले हात्ती, घोडा र गाई जस्ता पशु उपहार वा दानको रूपमा दिने गर्थे। दूध, दही, घीउ आदि हिन्दुहरुको सबै प्रकारका धार्मिक कार्यमा नभई हँुदैनथ्यो। वेदमा गाई, गोरु र साँढेको उल्लेख अरु जनावरभन्दा धेरै भएबाट पनि वैदिक कालदेखि नै हिन्दुले गाईलाई विशेष महत्व दिने गरेको बुझिन्छ। 
गाईलाई पवित्र मानी पूजा गर्ने चलन भने करिब २५०० वर्षअगाडिदेखि सवल हुँदै गएको मान्न सकिन्छ। छान्दोग्य उपनिषद्मा अहिंसाबारे वयान गरिनु र पुरानो वैदिक विश्लेषण कमजोर हँुदै गएपछि गोबधलाई हिन्दुहरुले निषेध गर्दै गएको देखिन्छ। हिन्दु धर्ममा अहिंसाले थप स्थान पाउनमा बुद्ध, जैन र कृष्णका उपासक तथा अनुयायीहरुले गहिरो प्रभाव पारेपछि भने गोबधलाई जघन्य पापका रूपमा व्याख्या गर्न थालेको प्रतीत हुन्छ। संहारकर्ता शिवको बाहन नन्दी अर्थात साँढे हरेक शिव मन्दिर अघिल्तर राखिनु, भगवान कृष्णलाई गाईपालक अर्थात गोपालवंशी भनिनु र नेपालको इतिहासमा गाईपालकहरुले राज्य गरेको इतिहास भेटिनुले नेपाली हिन्दु समुदायमा गाईको धार्मिक महत्व अत्याधिक रहेकोमा सन्देह रहँदैन। गाईलाई राष्ट्रिय जनावरका रूपमा व्याख्या गरिनुले यसलाई कति महत्व दिइएको थियो भन्ने कुरा ज्ञात हुन्छ। अर्कातिर पश्चिमा विद्वान्हरुले प्राचीनकालमा हिन्दुहरुले पनि गाईको मासु खान्ो गर्थेे भन्ने प्रमाण पेश गरेका छन्। रिग्वेद ८.४३.११ मा गाई र गोरुको बलिदिने विषय उल्लेख छ। अमरनाथ पाल (१९९६) का अनुसार उत्तरवैदिक कालमा हिन्दुबीच पाहुनालाई गोरु काटेर खुवाउने चलन थियो। अमरनाथको यो विश्लेषणलाई लोड्रिक (२००५)ले आफ्नो अनुसन्धानमा पुनर्पुष्टि गर्दै हिन्दुहरुले गाईलाई लक्ष्मीको स्वरूप, माता मान्ने प्रचलनको प्रारम्भ इशाको चौथो शताब्दीदेखि प्रारम्भ भएको व्याख्या गरेका छन्। डा. उमेशचन्द्र पाण्डेयले आफ्नो पुस्तक गौतमधर्मसूत्राणी (संवत् २०६९०) मा हिन्दुहरुले गाई र गोरुको मासु खान्थे भन्ने कुराको खण्डन गरेका छन्। जे भए तापनि हिन्दु समाजमा गाईको ठूलो महत्व थियो भन्ने विषयमा दुई मत छैन। 
इशाको १००० तिर गाईलाई पवित्र मान्ने चलन ज्यादै सुदृढ भएको बुझिन्छ। यो विश्वास कति बलियो थियो भन्ने कुरा चौधौँ तथा पन्ध्रौं शताब्दीमा भारतका मुस्लिम शासक बाबर तथा अकबरले समेत गाई काट्ने प्रचलन रोक्ने कानुन निर्माण गरेेबाट पनि बुझ्न सकिन्छ। भारतका शासक सिवाजी (ई. १६२७–१६८०) ले गोबध रोक्ने अभियान चलाउँदा उनलाई करोडौँ हिन्दुले समर्थन गरेका थिए। गाईलाई उनीहरुले आफ्नो पहिचान, प्रतिष्ठा र सभ्यताको द्योतकका रूपमा लिएका थिए। गाई सामाजिक/सांस्कृतिकरूपमा विवादित विषय पनि हो। गाईको मासु खानु पाप हो भनेर विश्वास गर्ने हिन्दु र गाईको मासु खाने समुदायबीच हजारौं वर्षदेखि यसले राजनीतिक, साम्प्रदायिक तथा सामाजिक द्वन्द्व सिर्जना गर्ने विषय पनि बनेको छ। नेपालमा पनि गाई मारेेको विषयमा हिन्दु र गैरहिन्दुबीच समय /समयमा झडप हुँदै आएका छन्। 
गाईको दूध, घीउका साथै यसको पिसाब अर्थात गहुँत र गोबरलाई हिन्दुले आफ्नो दैनिक जीवनमा शुद्धीकरण गर्ने वस्तुका रूपमा प्रयोग गरेको देखिन्छ। गोबरले आफ्नो भान्सा वा चुलो दैनिक लिपेर सफाइ गर्ने, कुनै पनि अशुद्ध हुने क्रियाकलाप जस्तै जुठो परेको, सुतक परेको आदि अपवित्र हुने क्रियाकलापपछि गहुँत प्रयोग गरी शुद्धीकरण गर्ने काममा प्रयोग गरिन्छ। गाईलाई मातृत्व, धन र प्रतीकात्मकरूपमा लिने गरिन्थ्यो। यसलाई जे मागे पनि दिनसक्ने वस्तु अर्थात कामधेनुका रूपमा बयान गरिएको पाइन्छ। महाभारतमा वर्णन गरिएअनुसार दक्षले सबै जीवजन्तु सृष्टि गरेपछि खानेकुरा हाहाकार भयो। सबै प्राणीलाई खाना उपलब्ध गराउनका लागि उनले अमृत पान गरेपछि उनको मुखबाट सौरभी नामको गाई सृष्टि भएको उल्लेख छ। कृष्ण भगवानले भन्नुभएको छ– हामी गाईका गोठाला हौं, गाई नै हाम्रो धन हो र हामी यसैको उपासना गर्छाैं। (हरिवंश पुराण २.१६.२) बाल्यकालमा गाईको मख्खन चोरेर खाएको, युवावस्थामा गाईको अगाडि बसेर कृष्णले बाँसुरी बजाइरहेको चित्रहरु जताततै देख्न पाइन्छ। यसबाट पनि कृष्ण र गाईको ज्यादै नजिकको सम्बन्ध प्रष्टिन्छ। यसबाट महाभारतकालमा नेपाललगायत भारत वर्षमा गाईलाई ज्यादै महत्व दिइएको पुष्टि हुन्छ। 
गाई संरक्षण र यसको मासु खान गरिएको बन्देज खासगरी माथिल्ला भनेर चिनिने जातिहरुको हकमा मात्र कडाईका साथ लागु गरिएको पाइन्छ। गैरहिन्दु जाति खासगरी बौद्ध, मुस्लिम तथा क्रिश्चियन आदि धर्म मान्ने समुदायसमेत बसोबास गर्ने नेपाली समाजमा गाईको मासु नखाने चलन माथिल्ला जातिका हिन्दुहरुको हकमा मात्र कडाईका साथ लागु गरिएको संकेत मिल्छ। विविधतायुक्त हिन्दु समाजका तल्लो जाति भनेर वर्गीकरण गरिएका व्यक्तिहरुलाई भने गाई र गोरुको मासु खाने प्रचलन कायमै रहेबाट पनि यो कुरालाई बल प्रदान गर्छ। हिन्दुको गाईलाई संरक्षण गर्ने प्रतिबद्धतामा गान्धीले भनेका थिए– हिन्दुहरुको क्षमता उनीहरुको गार्ई संरक्षण गर्ने क्षमताबाट देख्न सकिन्छ त्यसैले हिन्दुले गाईको संरक्षण गर्नुपर्छ (लोड्रिक,२००५)। फ्रेडरिक एस.सिमोन (१९७९)ले आफ्नो लेखमा मानवशास्त्री मार्भिन ह्यारिसले प्रस्तुत गरेको गाईसम्बन्धी मार्क्सवादी विचारलाई उल्लेख गदै हिन्दुको गाई संरक्षण धार्मिक भन्दा आफ्नो वातावरणसँगको अनुकूलनको प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। उनले हिन्दुहरु बसोबास गर्ने स्थानमा गाईको उपलब्धता, त्यसको उपयोगिता र मानिसको दैनिक जीवनमा गाईले दिनसक्ने योगदानका आधारमा गाईको संरक्षण गर्ने हेतुले यसलाई पवित्र मानेको तर्क पेश गरेका छन्।
अनुसन्धाता, काठमाडौं विश्वविद्यालय 

प्रकाशित: २३ भाद्र २०७१ २०:३६ सोमबार