विचार

नेपाली राजनीति र कांग्रेस

नेपालको इतिहासमा सबैभन्दा पुरानो र अहिलेसम्म सशक्तरूपमा क्रियाशील राजनीतिक पार्टी नेपाली कांग्रेस नै हो। यसको जन्म २००३ मंसिर १५ गते नेपाली राष्ट्रिय कांग्रेसका रूपमा भएको थियो। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ चैत २७ गते एकीकरण भएपछि नेपाली कांग्रेस जन्मेको हो। यसले आफ्नो जन्मकालदेखि नै गाँस, बास, कपास र स्वतन्त्रतासहितको नागरिक सर्वोच्चता जुनसुकै मूल्यमा पनि संरक्षण गर्न २००७ सालमा ऐतिहासिक सशस्त्र जनक्रान्तिको सफल नेतृत्व गरी निरकंुश राणा शासन समाप्त गर्‍यो। यस्तै २०४६ र २०६२/६३ को अहिंसात्मक जनआन्दोलनको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको हो।

संसारकै इतिहासमा एउटै पार्टीले विभिन्न स्वरूपका अधिनायकवादी शासनविरूद्ध ३/३ पटकसम्म सशक्त, सबल र सफल ऐतिहासिक जनआन्दोलन गरेको उदाहरण छैन। यसको स्थापना कालदेखि नै कांग्रेसले नेपाली जनताको अटुट अगाध माया र विश्वास पाएको छ। यसैले कांग्रेस नेपालीको आस्थाको केन्द्र रहिआएको छ। त्यसैले वर्तमान अवस्थामा पनि अतिउग्रवादी माओवादीसहितका कम्युनिष्टहरू र अतिउग्रवादी दक्षिणपन्थीका दुश्चक्रबाट नेपाल र नेपालीलाई मुक्त गराउने ऐतिहासिक दायित्व कांग्रेसकै काँधमा पुनः आइपरेको छ। यसै पनि साढे ६ दशकको गौरवमय इतिहास बोकेको एकमात्र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस नै हो।

२०६७ जेठ १४भित्र लोकतान्त्रिक संविधान निर्माण गरी, त्यसै संविधानको आधारमा हुने निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण बहुमतका साथ विजयी गराएर अतिवादी कम्युनिष्ट र दक्षिणपन्थीको चंगुलबाट नेपाल र नेपालीलाई मुक्त गराउने दायित्व कांग्रेसको काँधमा पुनः आइपरेको छ। यस ऐतिहासिक दायित्व पूरा गर्न, गराउन कांग्रेसलाई समय सापेक्षरूपमा संगठित गरेर आफ्नो घोषित उद्देश्य राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई मूर्तरूप दिन कार्यरत हुनु शीर्ष नेतृत्वदेखि गाँउटोलसम्मका हरेक सबै कांग्रेसजनको साझा कर्तव्य हो।

विगतमा नेतृत्वले पटक/पटक गरेका गल्तीलाई अब नदोहोर्‍याउने वाचा गर्दै क्षमतावान बुद्धिजीवी तथा पेसागत संघ/ संस्थाको सफल नेतृत्व गरेका र आबद्ध व्यक्तित्वहरूलाई प्राथमिकताका आधारमा पार्टीका हरेक तहमा सहभागी गराएमा नेपाली कागंं्रेसलाई कुनै पनि शक्तिले परास्त गर्न सक्नेछैन। यसका लागि पार्टी नेतृत्वमा बसेकाहरूले तेरो मेरो भन्ने सानो र साँघुरो सोचाइबाट माथि उठेर काम गरिदिए पुग्छ। यसकै आधारमा नेपाली कांग्रेस सशक्त पार्टीका रूपमा पुनः विकसित बन्नेछ। यसरी संगठित भई क्रियाशील हुँदा कांग्रेसको घोषित लक्ष्य प्राप्त गर्न धेरै दिन कुर्नुपर्ने छैन। नेपाली कांग्रेसको घोषित लक्ष्य भनेको एउटै वाक्यमा भन्नुपर्दा समृद्ध नेपालमा सम्पन्न, सभ्य नेपाली समाज बनाउनु हो। बी.पी. कोइरालाले भनेजस्तै मानिस रोटीले होइन, विचारले परिचालित हुन्छ। यसैले कांग्रेसले पनि वैचारिक मोर्चामा बढी ध्यान दिनु आवश्यक छ।

अहिले नेपाली जनमानस भयाक्रान्त अवस्थामा छ। यसको मूल कारण नैतिकताहीन राजनीति हो। यस्तो राजनीतिक बेइमानी नेपालका ठूलासाना सबैजसो पार्टीमा छ तापनि मात्रागत रूपमा एकीकृत नेकपा (माओवादी)मा अरू पार्टीका तुलनामा बढी देखिन्छ। माओवादीका क्रियाकलापले यसलाई पुष्टि गरिरहेका छन्।

माओवादीविरुद्धका यी आरोपहरू वास्तविक तथ्यमा आधारित छन्। नेपाली कांग्रेससहित् तत्कालीन ७ पार्टी र नेकपा माओवादीबीच भएको १२ बुँदे सम्झौतादेखि अहिलेसम्मका माओवादीका शीर्ष नेतादेखि कार्यकर्तासम्मका उद्दण्ड क्रियाकलाप नै यसका प्रमाण हुन्। यिनै कारणले गर्दा नेपाली राजनीति अत्यन्तै जोखिमपूर्ण र कहाली लाग्दो मोडबाट अगाडि बढ्दैछ।

राजनीतिको प्रभाव सर्वव्यापी हुने भएकाले राजनीतिक पार्टीहरूको सत्तापक्ष र सत्ताबाहिरको नेतृत्व धैर्यशील एवं नैतिकवान हुनुपर्दछ। यसको विकल्प छैन। त्यस्तो नेतृत्वको मूल आधार विवेकशीलतामा क्रियाशील हुन्छ। विवेकशीलता अर्को शब्दमा नैतिकता हो। जुन नेतृत्वमा नैतिकता हुँदैन, त्यस्तो नेतृत्वले राष्ट्र र त्यस राष्ट्रका जनतालाई पाइलैपिच्छे धरापमा पारेर सर्वनाश गराउँछ। राष्ट्र जनता कहालीलाग्दो खतराको महाजालमा फसेका हुन्छन्। भिन्न विचार राख्नेको अस्तित्व नस्वीकार्ने, हतियारको दम्भ बोकेका, हत्याहिंसा र आतंकको भरमा राजनीति गर्नेहरूमा नैतिकता हुँदैन। किनभने नैतिकता गर्न हुने काम गर्ने र गर्न नहुने कामकुरा नगर्नु नै हो। त्यसैले नैतिकहीन राजनीतिक पार्टी नेतृत्वबाट यस्ता कुरा हुनै सक्तैन भन्ने नेपाली राजनीतिमा स्पष्टसँग देखिएका छन्। नेपाली राजनीतिमा खासगरी माओवादीको हतियारको आधारमा गरिएका बेइमानीपूर्ण राजनीति र सरकारको नेतृत्व गरेका नेकपा (एमाले) र नेपाली कांग्रेसको नेतृत्व अनिर्णयको बन्दी बने किंकर्तव्यविमूढ नालायकी देखाएकाले संसद् अवरूद्धसहित हरेक क्षेत्र अस्तव्यस्त भएका छन्। कुन बेला के हुन्छ कुनै ठेगान छैन।

नेपाली राजनीति कहालीलाग्दो खतरनाक मोडबाट अगाडि बढ्दैछ तापनि सबै दलको नेतृत्वमा राजनीतिक इमान्दारी भएमा २०६७ जेठ १४ गतेभित्र नयाँ संविधान बन्न सक्छ। यसका लागि सही नेतृत्व र तत्परताको खाँचो छ। त्यस्तो नेतृत्व गर्न नेपाली कांग्रेस नै पुनः अघि सर्नुपर्छ।
- लेखक नेपाल प्राध्यापक संघका अध्यक्ष हुन्।

प्रकाशित: १८ कार्तिक २०६६ ००:५१ बुधबार