विचार

हिमालयको जन्मकथा र विकास

हिमालय पृथ्वीको छानो हो र सगरमाथा यो छानोको धुरीमा सजिएको स्वर्ण मुकुट। जैविक, भौगोलिक, मौसमीलगायत हजारौं विविधता  र रहस्यको केन्द्र हिमालय सौन्दर्यको केन्द्र पनि हो। वास्तवमा यो पृथ्वीको धुरी देखेर नरमाउने, नरसिने र प्रभावित नहुनेहरु कमै होलान्। कवि, कलाकार, दार्शनिकलगायत् सुक्ष्म सिर्जनात्मक नेत्रवाला वैज्ञानिक समाज पनि यससम्बन्धी गाँठाका गुथी ख्ाोल्नमै ब्यस्त छन्। पृथ्वीको कान्छो सिर्जना भए पनि आफ्ना दाजुभाइ नाघेर बाँसको तामा बढेझैं सबैभन्दा अग्लो भएको हिमालयमै विश्वको सर्वोच्च शिखर सगरमाथा पनि पर्छ। ६० वर्षपहिले आजकै दिन (२९ मई १९५३ का दिन) तेन्जिङ र हेलारीले यस शिखरमा प्रथम पाइला राखेका थिए। सगरमाथा आरोहणको हिरक जयन्तीका अवसरमा यसको  जन्मकथा र विकासको रहस्यमय कहानी सान्दर्भिक हुनेछ।
भारत वर्षको शिरविन्दुमा छाती खोलेर ठिङ्ग उभिएको यो तेस्रो ध्रुव जन्माउँदाको प्रसव वेदना विचित्रको छ। दक्षिण एसियाको शिरमा सिरानी जस्तो भएर लमतन्न परेको म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको यो तेस्रो ध्रुव नामक पर्वतमाला पृथ्वीको नवीनतम् सिर्जनामध्येको हो। भू—वैज्ञानिक अनुसन्धानद्वारा प्राप्त तथ्यअनुरूप यस हिमशैलीको आयु लगभग ६ करोड वर्ष पुरानो मानिएको छ। यसको लम्बाई करिब २५ सय किलोमिटर छ भने चौडाई २०० देखि ३०० किलोमिटरबीच छ। यस पर्वतमालाको उत्पत्ति भारतीय उपमहादीप र एसिया महादीपको टकरावबाट भएको मानिन्छ। 
यो टक्करमा यी दुई भूखण्ड ठीक तालमेलले नमिलेका र एउटाको माथि अर्को खप्टिन गएकाले भारतीय भूखण्ड निरन्तर तलतिर धसिन गई एसियाई भूखण्डको मुनि निरन्तर घुस्दै जान थाल्यो। यसरी भारतीय भूखण्ड निरन्तर एसियाई भूखण्डको मुनि पस्दै जाँदा यो संयोग स्थलको भाग चुलिँदै गयो। आज पनि यही क्रम जारी छ र हिमालयको निरन्तर वृद्धि भइरहेको छ। यसरी असन्तुलनको स्थितिमा यो वृद्धि भएकाले दुवै प्लेटको गति ऊर्जामा बदलिएर ऊर्जीय असन्तुलन पैदा गर्छ। यो असन्तुलनको स्थितिलाई सन्तुलित गर्न पृथ्वीले भूकम्प उत्पन्न गर्छ। त्यसैले यस क्षेत्रमा बेलाबेलामा भूकम्प गइरहने गर्छन्। यी दुई ठूला भूखण्डको मेलपश्चता टेथिस सागर सनै सनै विलुप्त हँुदै गयो। यसको विलुप्तपछि यसको गर्तबाट हिमालयले विस्तारै उठ्न सुरु गर्‍यो। यसको उठान क्रियाको एक लामो इतिहास छ।  यस क्रियामा हजारौं भुइचाला र ज्वालामुखी गए, जसले गर्दा यसका संरचनात्मक चट्टान टुट्दै जोडिँदै गर्न थाले। टुटेका चट्टानको स्वरूप परिवर्तन भइरहन्थे। यी उठेका भाग भूक्षय, बाढी र पहिरोका कारण तिखारिँदै चुचुरिँदै अझ बढ्दै गए। हिमालयको उत्पत्ति र विकासमा भ्रंस तथा बलनहरुको महत्त्वपूर्ण योगदान छ। भूवैज्ञानिक भाषामा भ्रंस त्यो प्राकृतिक रचनालाई भनिन्छ, जहाँ चट्टान टुटेर विस्थापित हुने गर्छ तथा बलन त्यस दबाबद्वारा उत्पन्न आकृतिहरुलाई भनिन्छ, जहाँ चट्टान वृत्तकार रूप धारण गर्छ। हिमालयहरुमा मुख्य ५ महाभ्रंस छन्। जसमा सबैभन्दा उत्तरपट्टिको (क) हिमालपारीको क्षेत्र, (ख) केन्द्रीय हिमाच्छादित हिमालय, (ग) महाभारत शैल, (घ) चुरे शैल र (ङ) यसभन्दासाना ढिस्का पर्छन्।
सबैभन्दा उत्तरपट्टिको भ्रंसलाई सिन्धु भ्रंस भनिन्छ। यो भारतीय भूखण्ड र एसियाई भूखण्डको सन्धिस्थलको बीचमा छ। यो भ्रंस तथा तिब्बतको बीचको मध्य क्षेत्रलाई सिन्धुसन्धि स्थल भनिन्छ। यसको मुख्य भाग कास्मिरदेखि नेपाल, सिक्किम, भुटान अरुणाचल हुँदै फैलिएको छ। यस ा विभिन्न प्रकारका प्राचीन चट्टान तथा मुख्य टेेथिस महासागरका अवशेष पाइन्छन्।
सिन्धु भ्रंसदेखि दक्षिणतिर मुख्य हिमालय छ। यसको सीमाले सिन्धु तथा टेथिस भ्रंस बनाउँछ। त्यसैले यसलाई टेथिस हिमालय पनि भनिन्छ। यसको शैलमाला नेपाल,  भारतको उत्तराखण्ड, कास्मिर, हिमाचल र सिक्किम भएर फैलिएको छ। यी शैलमालाको निर्माण नदीद्वारा बगाएर ल्याइएको कंकड पत्थर र अन्य अवशेषबाट भएको हो। यस क्षेत्रमा जीवावशेष प्रचुर मात्रामा मिल्छ। हिन्दुका आराध्य देव विष्णुको प्रतिरूप प्रतिमाका रूपमा पूजा गरिने शालिग्राम नेपालको मुक्तिनाथ क्षेत्रमा मात्र पाइन्छ। शालिग्राम एक जिवास्मा हो। टेथिस भ्रंसमा विश्वको सबैभन्दा उच्च पर्वत सगरमाथालगायत् अन्य मुख्य हिमाच्छादित शिखर छन्।
केन्द्रीय हिमालयदेखि दक्षिण तथा चुरे पर्वतदेखि उत्तरपट्टिबीचको क्षेत्रमा महाभारत लेक (लघु हिमालय) छ। यस हिमालयको सीमा सेन्ट्रल भ्रंस तथा मेन बाउण्ड्री भ्रंसबीचको हो। यसमा ७ देखि २०० करोड वर्ष पूर्वसम्मको आवसादि कायान्तरित र आग्नेय चट्टान पाइन्छ। यस क्षेत्रको संरचना अत्यन्त जटिल छ। यहाँ पाइने कायान्तरित शैल उच्च हिमालयबाट बगेर आएको हो। यस क्षेत्रमै गैङटोक पाथीभरा सल्लेरी काठमाडौं खप्तड, स्वर्गद्वारी, कुमाउ, गढवाल, मसुरी, नैनिताल सिमला आदि प्रसिद्ध स्थल पर्छन्।
महाभारत शैलदेखि दक्षिणको भू—भागमा १०० देखि लिएर १२०० मि. सम्म अग्ला चुरे पहाड छन्। यस क्षेत्रको सीमा मेन बाउण्ड्री भ्रंस तथा समतल भ्रंसले निर्धारित गर्छ। चुरे शैल पश्चिमातर्फ फैलिएको र पूर्वतिर साँघुरिँदै गएको छ। पाकिस्तानमा त चुरे शैलको चौडाई १०० कि.मि. भन्दा अधिक छ भने हाम्रो देशमा यसै शैलको चौडाई १० कि.मि.(चार कोष) मात्र छ। चुरेको इतिहास केवल पाँच लाख वर्ष पुरानो छ।
हिमालय पर्वत लगातार माथि उठ्न थालेपछि पृथ्वीले आफ्नो सन्तुलन बनाइराख्न दक्षिणपट्टि शैलको लम्बवत् गर्त (खाल्डो) निर्माण गर्‍यो। यसमा हिमालबाट आएका पदार्थ जम्मा हँुदै गयो र चुरेको विकास भयो। यस क्षेत्रका कुनै पनि शैल २ करोड वर्षभन्दा पुराना छैनन्। यसभन्दा तल्लो भाग मेन बाउण्ड्री भ्रंससम्म छ। यस भ्रंसको अधुरो विकासले गर्दा यसका केही क्षेत्रम्ाात्र पाउन सकिन्छ। अधुरो विकासले यसको पुष्टि गर्छ कि हिमालयको विकास अझै हँुदैछ।
यसरी युगांैदेखि हिमालयले उठ्न सुरु गरिरहेको छ। यसको विकास कहिलेसम्म चल्ने हो भन्ने केही टुङ्गो छैन। हिमालय हाम्रो देशको मात्र नभएर संसारकै रहस्यमय भू—संरचना हो। यहाँ अनेकौं पर्यावरणीय जैविक, भौगोलिक विचित्रता पाइन्छ। यसको शिरमा सजिएको हिमसागरले प्रकृतिप्रेमीहरुलाई त लोभ्याउँछ नै, साथमा यहाँको ग्लेसियरलेे हाम्रा अविरल बग्ने नदीमा पानी पूर्ति गरिरहेका छन्। शास्त्रीय मान्यताअनुसार हिमालय देवताको देश (देव दशोः हिमालय) हो, परन्तु आज यो देवस्थल ग्लोबल वार्मिङ जस्तो घातक प्रभावको चपेटामा पर्न गइरहेको छ। यो संसारको साझा धरोहरलाई प्रदूषण हुन नदिनु र यसको सुन्दरता जीवन्त बन्न दिनु सबैको कर्तव्य हो।

प्रकाशित: १४ जेष्ठ २०७० २२:४८ मंगलबार