कहिले कलमको मसी सुकाइन्छ, कहिले नीब बंग्याइन्छ। कहिले कलमको बिर्को खुल्दैन र कहिले कलमले अलिअलि लेखे पनि पर्याप्त लेख्न सक्दैन। कतिपय अवस्थामा कलमको निब भाचिन्छ भने कहिलेकाही त कलमै पनि भाँचिन्छ। त्यसैले कलमका पीडा, समस्या र जीवन रक्षाका लागि यसको पनि दल चाहिन्छ। अर्काको आवाज मुखरित गर्नेको स्वर सुनाउन पनि उसलाई दल चाहिन्छ, कलमको दल। यस्तो दल जसले यसको निब लुलो हुन नदेओस्, कुरो घुम्न नदेओस् र कसैले कलम भाँच्न नसक्ने आड देओस्।
आजको दिनमा कसैले नेपालमा कलमको दल छ भन्ने सोचेको छ भने उसलाई बिचरा भन्नुपर्ने अवस्था छ। किनभने हेर्दा दल भएको देखिन्छ तर वास्तविकता अलि फरक रहेछ। यस्ता कथित कलम दलका शाखा देशैभर छन्। कलमहरू लड्ने, भगडा गर्ने र तानातान गर्न यी स्थानले धेरै सहयोग गरेका छन्। यो स्थानको नेतृत्वमा पुग्नका लागि ठूलो रडाको हुन्छ। कोही लाखौं खर्च गर्न तयार हुन्छन् भने कोही आफ्ना सबै कर्म छाडेर यसमा एक तमास भिड्छन्। कोही जीवनभर आफू घोटिएको यही स्थानमा पुग्न भनेर हजारौं ठाउँमा बिन्ती बिसाउँछन्। किनभने यो गजबको आसन हो। यहाँ पुगेपछी दिव्य दस हजार वर्ष गरेको तपस्या सफल भएको भान हुन्छ। विदेश घुम्ने र ठूला भाषण गर्ने मौका प्राप्त हुन्छन्। आफ्ना जनतालाई कर लगाएर उठाएको पैसा खर्च गर्न गोराहरू लाइन लागेर बसेका हुन्छन्। गोडा दुईएक पेजको ‘प्रपोजल' लेखेका भरमा करोडौंको प्रोजेक्ट झर्छ। केही वर्षको अन्तरालमा संसार घुम्न पाइन्छ। अनि किन नलडुन् कलम आफैँमा, किन हानथाप नहोस् र किन पित मसी छ्यापाछ्याप नहोस् एक आपसमा?
साँच्चै कलमको दल छ र यो निकै बलियो छ भन्ने भ्रममा बाँचेको थियो आफ्नो दुई दशक कलम घोट्ने पेसामा सिध्याएको यो लेखक पनि। कलमको दललाई बलियो बनाउन सके धेरै राम्रा कलम यस क्षेत्रमा प्रवेश गर्नेछन् अनि कलमको इज्जत बढ्नेछ र कलमजीवी हुनु एक सामाजिक प्रतिष्ठाको विषय हुनेछ भन्ने भ्रममा बसेको रहेछ बिचरो यो कलम। यति लामो समयसम्म आफ्नो पेसागत समूहको स्वरूप थाहा नपाएर आस्थाको दियो बालेर बस्ने यसको भ्रम देशको एक दुर्गम जिल्लामा गएर पो टुट्यो।
अहिलेसम्म कलमको दलमा आस्था राखेपनि यसको काम कारबाही नजिकबाट हेरेको थिएन यस कलमले। एकपल्ट कलमहरूमा कसले कति भ्रष्टाचार गर्यो भन्ने आरोपप्रत्यारोपबीच छानबिन कमिटीको संयोजक बन्ने सौभाग्य पाएको थियो तर त्यस कमिटीको भाग्यमा तुहिनु सिवाय अर्को कुनै कुरो भाविले लेखेकै रहेनछ। करोडौंको अंक छानबिनका लागि अक्षरका खेलाडीको कुनै दाल गल्नेवाला पनि थिएन। जे होस् छानबिन दुर्घटनाले पनि कलम दलप्रति खासै खिन्न बनाएको थिएन। तर कलमहरूको हकहितका लागि एक मुख्य कलम छान्ने खेलमा सुदूर जिल्लामा जाँदा कलमको दल हुन्छ भन्ने भ्रम सम्पूर्णरूपमा चकनाचुर भयो। यहाँ कलमको दल त बाघको छाला पो रहेछ, खासमा यसका सबै सदस्य त दलका स्याल पो रहेछन्। सुन्दा सानो विभेद लाग्ने तर कत्रो फरक? कलमको दल होइन रहेछ यो बरु दलको कलम पो रहेछ।
कलम कलमबीच आफू कुन दलको स्तुतिगान कति चहकिलो स्वरमा गर्ने प्रतिस्पर्धा रहेछ। कलमलाई कलमसँग उसको ज्ञान, बुद्धि र विवेकले होइन राजनीतिक आस्थाले छुट्याउँदो रहेछ। कलमको कलमसँग कुनै सम्बन्ध रहेनछ, कलमको मसी त सिधै राजनीतिक हुँदोरहेछ, कुनै निलो, कुनै रातो र कुनै पहेँलो। कुन रंगको मसी धेरै कलममा भरिएको छ त्यही कलमले नेतृत्व गर्ने र अन्त्यमा कलमबीच होइन त्यसमा भरिएको मसीको रंगको प्रतिस्पर्धा रहेछ यो कलमको दल भनाउँदो संस्थामा। ओहो, कस्तो विडम्बना।
देशका शासक कलम विरोधी भएका कुनै अवस्था थियो यो देशमा। त्यस्तो अवस्थामा कलमको सहारा लिएर दलहरू जनतामा नपुगेका होइनन्। जनताको अधिकारका लागि त्यस्तो कार्य जरुरी पनि थियो। हतियारधारी रावणसँग लडेर लोकतन्त्रलाई उन्मुक्ति दिलाउन बानर सेनासँग मिल्नुपर्ने देखेर दलहरू कलमका रुपमा प्रकट भएका हुन्। तर बन्धक लोकतन्त्रको उन्मुक्ति पश्चात कलमहरुले दलको मसी पखालेर व्यावसायिक स्वतन्त्रताको स्वच्छ मसी भर्नुपर्ने हो। तर त्यसो भएन छ।
जब कलम दलको भयो त्यसपश्चात् कलमहरूको कुनै दल भएन। कुनै कलम पैसाको भयो, कुनै शक्तिको, कुनै जातिको त कुनै समुदायको। मानौं, कलमले लेख्ने होइन भजन भट्याउनेमात्र हो र आफ्नो अन्नदाताको विरोधीका विपक्षमा विष वमन गर्नेमात्र हो। अनि किन नदेखुन् जनताले कलममा खोट? अनि किन नभनुन् जनता कलमले लेख्ने होइन पाउ चाट्ने र खोइरो खन्ने कार्यमात्र गर्छ भनेर। कुनै कलम आज कसैको पक्षमा देखिन्छ भने भोलि त्यस शक्तिले गलत कार्य गरेको अवस्थामा त्यसको विरोधमा पनि त्यतिकै खरो र सशक्तरूपमा उभिनसक्नु पर्छ। तर दुर्भाग्य नेपालको, कुनै एक रंगको मसीले एकथरीको समर्थनमा मात्र र अर्कोथरीको विरोधमा मात्र लेख्ने जागिर खाएजस्ता देखिन्छन्।
दलको कलम नहुने हो भनेमात्र कलमको दल बलियो हुन्छ। जब कलमको दल बलियो हुन्छ अनि दलको खुट्टा जमिनमा अडिन्छ, जनताको टाउको खोज्दै हिँड्दैन। शक्ति पृथकीकरणको सिद्धान्तमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच शक्ति सन्तुलनको अवधारणा प्रस्तुत गरिएको छ। अहिलेको आधुनिक विश्वले कलमको स्थान तिनैको हाराहारीमा पुर्याएको छ। त्यसैले जसको पाउ जमिनमा स्थिर तवरले अडाउने भूमिका खेल्नुपर्नेछ त्यसैको सामु गएर कलमले आफ्नो शिर निहुर्यायो भने कसरी बन्ला जिम्मेवार राजनीति र कसरी चल्ला कानुनको शासन?
प्रकाशित: ८ चैत्र २०७० २२:४३ शनिबार