नोबेल पुरस्कार विश्वकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ। यसले पुरस्कृत व्यक्तिलाई मात्र नभएर उनको देशलाई समेत सम्मानित बनाउँछ। नोबेल पुरस्कारको स्थापना सन् १९०० मा स्विडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा भएको हो। सन् १८३३ मा स्विडेनमा जन्मेका नोबेल तीक्ष्ण बुद्धिका थिए। उनको अध्ययनको विषय रसायन शास्त्र थियो। नोबेलले सन् १८६६ मा एक विस्फोटक पदार्थ 'डाइनेमाइट' को आविष्कार गरे। डाइनेमाइट विस्फोटन कार्यमा निकै उपयोगी साबित भयो। विश्वभर यसको माग बढ्न थाल्यो। उक्त माग परिपूर्ति गर्न नोबेलले २० भन्दा बढी मुलुकमा प्रयोगशाला र उद्योग खोले। डाइनेमाइटको व्यापारबाट उनले निकै पैसा कमाए र धनी भए।
नोबेल अविवाहित थिए। सन् १८९६ को दिसेम्बर १० मा देहान्त हुँदा उनको कुनै उत्तराधिकारी थिएन। उनी व्यक्तिले कमाएको सम्पत्ति आफ्नो सन्तान वा आफन्तलाई हस्तान्तरण गर्ने पद्धतिको विरोधी थिए। त्यसैले उनले आफ्नो शेषपछि आफ्नो सम्पति कसैलाई दिन चाहेनन्। उनले सन् १८९५ नोभेम्बर २७ मा एक ईच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे। उक्त कोषबाट प्राप्त आम्दानीलाई पाँच भागमा बराबर बाँडी विज्ञान तर्फ भौतिकशास्त्र, रसायन शास्त्र र जीवविज्ञान (फिजियोलजी एन्ड मेडिसिन)मा महत्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्याएका र विश्वशान्ति कायम गर्न विशेष योगदान पुर्याएका व्यक्तिलाई नगदसहितको पुरस्कार प्रदान गरिने व्यवस्था गर्न लगाइयो। पुरस्कृत हुने व्यक्तिले आफ्नो कार्यमार्फ्त मानवकल्याण र मानवसभ्यताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको हुनुपर्ने सर्त ईच्छापत्रमा उल्लेख थियो।
नोबेलको ईच्छाबमोजिम पुरस्कार स्थापना र व्यवस्थापन गर्न सन् १९०० एक निजी संस्था 'नोबेल फाउन्डेसन' को स्थापना गरियो। पुरस्कारको नाम 'नोबेल पुरस्कार' राखियो। सन् १९०१ देखि उल्लिखित पाँच विधामा पुरस्कार प्रदान गर्न थालियो। सुरुमा नोबेल पुरस्कार व्यक्ति वा संस्थालाइर्, एकल वा संयुक्त रूपमा प्रदान गरिने हो? केही उल्लेख थिएन। सन् १९६८ देखि नोबेल पुरस्कार तीन जनासम्मलाई संयुक्त रूपमा प्रदान गर्न सकिने र एकै व्यक्तिलाई एक वा बढी विषयमा दोहोर्याएर प्रदान गर्न सकिने व्यवस्था गरियो। त्यसै गरी नोबेल पुरस्कार व्यक्तिलाई मात्र नभएर संस्थालाई समेत प्रदान गर्न सकिने नियम बनाइयो।
सन् १९६९ देखि नोबेलको स्मृतिमा अर्थशास्त्रमा पनि पुरस्कार प्रदान गर्न थालिएको छ। यस पुरस्कारको प्रायोजक नोबेल फाउन्डेसन नभई स्विडेनको केन्द्रीय बैंक रहेको छ र पुरस्कारको रकम बैंकले नै उपलब्ध गराउँछ। त्यसैले अर्थशास्त्रतर्फ दिईने पुरस्कार वास्तवमा 'नोबेल पुरस्कार' होइन। तथापि यस पुरस्कारको छनोट प्रक्रिया, व्यवस्थापन गर्ने संस्था, प्रदान गरिने मिति र पुरस्कारको रकमसमेत नोबेल पुरस्कार सरह नै हुने हुँदा यस पुरस्कारलाई पनि नोबेल पुरस्कार भन्ने चलन बसिसकेको छ।
नोबेल फाउन्डेसनले हरेक विधामा पुरस्कारका लागि योग्य उम्मेदवार छनोट गर्न छुट्टाछुट्टै प्रतिष्ठानलाई तोकेको छ जसअनुसार भौतिकशास्त्र, रसायन शास्त्र र अर्थ शास्त्रका लागि स्विडेनको 'रोयल स्विडिस अकेडेमी अफ् साइन्सेज', जीवविज्ञानका लागि 'क्यारोलिन्का इन्स्टिच्युट' र साहित्यका लागि 'अकेडेमी अफ् लेटर्स' लाई तोकिएको छ।
शान्ति पुरस्कारका लागि भने ओस्लोस्थित नर्वेली संसद्लाई जिम्मा दिइएको छ। यी संस्थाहरूले सेप्टेम्बर महिनामा प्रत्येक विषयका लागि पाँच सदस्यीय 'नोबेल कमिटी' गठन गर्दछन्। कमिटिले नोबेल पुरस्कार पाइसकेका व्यक्तिलगायत प्रतिष्ठित विश्वविद्यालय एवं प्राज्ञिक संघसंस्थाका विशिष्ट व्यक्तिहरूबाट मनोनयन आह्वान गर्दछ। उम्मेदवार छनोट गर्ने जिम्मेवारी पाएका प्रतिष्ठानका सदस्यले पनि आफ्नो विषयको योग्य उम्मेदवार मनोनयन गर्न पाउँछन्। यसरी मनोनयन हुने उम्मेदवारको संख्या कतिपय विषयमा ३ हजारसम्म पुग्ने बताइन्छ।
नोबेल कमिटीका सदस्यले मनोनीत उम्मेदवारमध्ये योग्य देखिएका केही व्यक्तिको प्रारम्भिक सूची तयार पारी उनीहरूको कामकोे मूल्यांकन गर्न विशेषज्ञहरूकहाँ पठाउँछन्। विशेषज्ञहरूबाट प्राप्त मूल्यांकनका आधारमा कमिटीले पुरस्कारका लागि योग्य उम्मेदवारको छनोट गरी सेप्टेम्बर महिनाभित्र आआफनो प्रतिष्ठान वा संसद्लाई सिफारिस गर्दछन्। अक्टोबर महिनाको पहिलो साता छुट्टाछुट्टै बस्ने प्रतिष्ठान र संसद्को बैठकबाट बहुमतका आधारमा उम्मेदवारको नाम अनुमोदन गरिन्छ। छनोट प्रक्रियामा भएका छलफलको अभिलेख ५० वर्षसम्मको लागि गोप्य राखिन्छ।
निर्णय भएको केही क्षणपछि नै नोबेल कमिटीका पदाधिकारीले पुरस्कृत हुने व्यक्तिलाई जानकारी गराउँछन्। भनिन्छ, पुरस्कार पाउने व्यक्तिले उक्त जानकारी पाएको क्षणलाई जीवनमा कहिल्यै बिर्सेको हुँदैन। केही नोबेल पुरस्कार विजेताले यस पंक्तिकारलाई आफ्नो अनुभव सुनाएअनुसार उक्त क्षणदेखि उनीहरूले आफ्नो जीवनमा सँधैका लागि परिवर्तन भएको महसुस गरेका थिए। फ्रान्सेली साहित्यकार जँ पल सार्त्रजस्तै केही विजेताले भने नोबेल पुरस्कार अस्वीकार पनि गरेकाछन्।
प्रत्येक वर्ष नोबेलको पुण्यतिथि दिसेम्बर १० मा स्टकहोल्ममा आयोजना गरिने भव्य समारोहबीच नोबेल पुरस्कारहरू प्रदान गरिन्छ। उक्त दिन स्विडेनको लागि वर्षभरिको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ। पुरस्कार विजेतालाई नोबेलको चित्र अङ्कित एक मेडल, प्रमाणपत्र र नगड पुरस्कार प्रदान गरिन्छ। हाल प्रत्येक पुरस्कारको रकम करिब १५ लाख अमेरिकी डलर (करिब १२ करोड रुपियाँ) रहेको छ। एकभन्दा बढी व्यक्ति वा संस्थालाई संयुक्त रूपमा पुरस्कार प्रदान गरिएमा पुरस्कारको रकम तोकिएअनुसार पुरस्कृतहरूमा बाँडिन्छ।
सन् १९०१ मा पहिलोपल्ट विज्ञानतर्फको नोबेल पुरस्कार भौतिक शास्त्रमा जर्मनीका विल्हेल्म कोनराड रोङ्गेन, रसायन शास्त्रमा नेदरल्यान्डका जाकोबस हेनरिकस भान हफ र जीवविज्ञानमा जर्मनीका एमिल आडोल्फ फन् बेहरिङलाई प्रदान गरिएको थियो। यसैगरी फ्रान्सका सुली प्रुधोमलाइ साहित्यतर्र्फ र स्वीट्जरल्यान्डका रेडक्रसका संस्थापक जँ हेनरी ड्युना र फ्रान्सका फ्रेडरिक पेसीलाई संयुक्तरूपमा शान्तितर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।
सबै विधामा गरी सन् १९०१ देखि २००९ सम्म नोबेल पुरस्कार जम्मा ४१ महिला र ७ सय ६१ पुरुष गरी ८ सय २ व्यक्ति र २० संघसंंस्थालाई प्रदान गरिएको छ। आजसम्म कुल ६३ राष्ट्रले नोबेल पुरस्कार पाइसकेका छन्। सबै विधामा गरी संयुक्त राज्य अमेरिका सबैभन्दा बढी नोबेल पुरस्कार (३ सय २०) पाउने राष्ट्रमा पर्दछ। दोस्रो र तेस्रो स्थानमा क्रमशः संयुक्त अधिराज्य (१ सय १४) र जर्मनी (१ सय ३) पर्दछन्। साहित्य र शान्ति पुरस्कार विश्वका कम विकसित राष्ट्रका व्यक्तिले पनि बरोबर पाउने गरेको भएपनि विज्ञान र अर्थशास्त्रतर्फको पुरस्कार भने विकसित मुलुकका, अझ विशेष गरी संयुक्त राज्य अमेरिकाका व्यक्तिले बढी पाउने गरेको पाइन्छ। दोस्रो विश्वयुद्धअघिसम्म विज्ञानतर्फ सबैभन्दा बढी नोबेल पुरस्कार पाउने मुलुक जर्मनी थियो तर विगत ६ दशकमा विज्ञानमा नोबेल पुरस्कार पाउने वैज्ञानिकको कुल संख्यामध्ये ७० प्रतिशतभन्दा बढी संयुक्त राज्य अमेरिकाका वैज्ञानिक रहेका छन्।
विश्वकै सबैभन्दा सम्मानित पुरस्कार भएर पनि नोबेल पुरस्कार पूर्णरूपले विवादमुक्त छैन। विशेष गरी नोबेल शान्ति पुरस्कार बेलाबेलामा राजनीतिका कारण विवादित रहने गरेको पाइन्छ। यस वर्षको नोबेल शान्ति पुरस्कार विजेता अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि विवादित रहे। विज्ञान र अथशास्त्रतर्फ दिइने अधिकांश पुरस्कार अमेरिका र पश्चिम युरोपका व्यक्तिले पाउँदै आएकोले पुरस्कारका लागि उम्मेदवार छनोट गर्दा नोबेल कमिटीका सदस्यहरू पूर्णरूपले निष्पक्ष नभएको शङ्का गरिन्छ। यसै गरी महिलाहरूको यथोचित मूल्यांकन नभएको गुनासो पनि सुनिन्छ।
हाम्रा छिमेकी राष्ट्र भारतले ९, चीनले ६, बङ्गलादेशले २ र पाकिस्तानले १ नोबेल पुरस्कार प्राप्त गरेर नोबेल पुरस्कार प्राप्तगर्ने देशको सूचीमा आफ्नो नाम दर्ता गराइसकेका छन्। नेपालले कहिले नोबेल पुरस्कार पाउने हो? भन्ने प्रश्न कहिलेकाहीँ हामी पनि सुन्ने गछर्ौँ। कुनै समय नोबेल शान्ति पुरस्कारका लागि गणेशमान सिंहको नाम चर्चामा थियो। यसैगरी अन्तर्राष्ट्रिय जगत्को समेत गहिरो चासोको विषय बनेको नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएर विश्वलाई शान्तिको अनुकरणीय उदाहरण प्रस्तुत गर्न सकेको भए गिरिजाप्रसाद कोइराला वा पुष्पकमल दाहाल (प्रचण्ड) पनि नोबेल शान्ति पुरस्कारको दाबेदार बन्ने थिए कि? सानातिना र व्यक्तिगत स्वार्थमा केन्›ित भएर हाम्रा नेताहरूंले यस्तोे सम्भावनाको अन्त्य गरेका छन्।
प्रकाशित: ३ कार्तिक २०६६ २२:२१ मंगलबार