विचार

महिला हिंसा : घरबाटै रोकौं

परिवारको संरचना सुरु हुन्छ महिला–पुरुष मिलेर। परिवारमा रहेका सदस्यबीच एक आपसमा गाँस्ने माध्यम भनेको नाता सम्बन्ध नै हो जसमा आमा—बुबा, हजुर आमा—बुबा, छोरी/छोरा, दिदीभाइ—दाजुबैनी, बुहारी—सासू, नातिनी—नाति आदि यी केही उदाहरणमात्र हुन्। सन्तानको जन्म हुने आमाबाट नै हो वा अन्य कुनै प्रक्रियाहरुबाट बच्चा जन्माउने भए पनि जन्म दिने भनेको महिलाले नै हो। संसारको सृष्टिलाई निरन्तरता दिने काम महिलाबाट हुन्छ भने बीर्य उत्पादन पुरुषले मात्र गर्न सक्छ। यो अपरिवर्तनीय छ। पुरुषमा भएको क्रोमोजममा एक्स र वाई गुण हुन्छ भने महिलामा एक्स एक्समात्र हुन्छ। पुरुषमा भएको क्रोमोजोमहरुले मात्र छोरी वा छोराको लिंग निर्धारण गर्ने काम गर्छ। छोरीलाई जन्म दिने कि नदिने भन्ने कुरा जन्मअगाडि लिंग पहिचान गरी निर्धारण गरिन्छ जुन अवैधानिक हो तर राकिनुभन्दा पनि बढ्दै गएको पाइन्छ। संसारको आंकडामा छोराभन्दा छोरी बढी जन्मन्छन् भन्ने समाचार आएका छन्। नेपालको हकमा आधुनिक प्रविधिहरु प्रयोग सँगसँगै निरन्तररूपमा छोरीको संख्या कम हुँदै गएको राष्ट्रिय तथ्यांकले देखाएका छन्। 
घरमा भएका सदस्यले केा कसले के गर्ने, के लाउने, कहाँ जाने—नजाने, के गर्ने के नगर्ने आदि अलिखित नियमहरु घरपरिवारमा बनेका हुन्छन् त्यसैलाई सबैले आ—आफ्नो तोकिएको भूमिकाअनुसार निर्वाह गर्दै जान्छन् बिना रोकतोक। पारिवारिक नियम कानुन परम्परादेखि पुस्ता दरपुस्ताबाट निरन्तर चल्दै आएको हुन्छ। अलिखित परिवारको समाजको नियम बन्ने आधार भनेको संस्कृति, सामाजिक परम्परा, धर्म नै हुन्। यी सबै परम्परामा अगुवाई गर्ने नेतृत्व दिने/लिने कार्य पुरुष घरमुलीबाट हुन्छ। यसलाई निगरानी गर्ने कार्य पनि पुरोहित, समाजका अगुवा, घरको मूली हजुरबुबा /बुबाले गरिरहेको हुन्छ वा हजुरआमा/आमामार्फत् अनुगमन गर्ने कार्य हुन्छ। घरका मुलीहरुलाई डोर्याजउने काम परम्परा, सामाजिक सांस्कृतिक अलिखित अभ्यास, धार्मिक ग्रन्थ र अभ्यास, देशको संविधान, कानुन आदिबाट भएको हुन्छ। छोरीलाई अर्काको घर पोत्न जाने र छोरालाई बुढेसकालको सहाराको रूपमा लिइन्छ। महिला र पुरुष हुनुमा पनि बाल्यकालमा पाएका संस्कार नै सँगै आएको हुन्छ, यसैको वरिपरि घुमिरहेको हुन्छ। महिलालाई सधैं दोस्रो दर्जा वा सहयोगीका रूपमा मात्रै लिइएको हुन्छ। छोरीलाई विवाह गरेर पठाउन पाएको दिन आमाबुबालाई ढुक्कको निद्रा पर्छ। छोरीलाई अर्ति उपदेश दिने गरिन्छ बिदा गर्ने समयमा– घरमा मुखमुखै नलाग्नु, चुपो लागेर बस्नु, सहनु, बुहारी भएपछि सुन्ने कान ठूला र बोल्ने मुख सानु पार्नु, पति भनेको परमेश्वर हुन, उनको राम्रो सेवा गर्नु, रिझाउनु श्रीमतीको कर्तव्य हो आदि। यस समयमा हामी यति अन्ध भएका हुन्छौँ कि मानवलाई मानव व्यवहार पो ठीक हुन्छ त महिला भएकैले किन दोस्रो दर्जा?
कथम् कदाचित चलिरहेका सामाजिक नियमहरुको उल्लंघन कुनै परिवारको सदस्यबाट हुन गएको खण्डमा गाईगुइँ हुन्छ, नजिकको सदस्यमार्फत् सम्झाउने कोसिस हुन्छ र त्यतिले पनि नभएमा अब मुलीले नै सम्झाउने वा दण्डित गर्ने वा नगर्ने भन्ने कुरा पनि मुलीले नै निर्धारण गर्छन्। त्यसमा पनि यदि छोरी छ भने ऊसँग सम्बन्धित परिवेशलाई लिएर निर्णय लिएको हुन्छ। जस्तो– कुनै उसको केटा साथी छ र ऊ बढी समय बाहिर बिताउन थालेकी छिन् वा अबेला घर आउन थालेकी छन् भने उनलाई भन्ने गरिन्छ– विवाह नगरी यसरी राति राति हिँड्नु हुँदैन, धेरैबेर एक्लै बाहिर नबस्नु, केटाको नियत ठीक हुँदैन, जेागिएर हिँड्नु, सत डग्न दिने होइन, कुलको इज्जत जान्छ आदि। त्यस्तै केटा छ भने कस्तीखालकी केटी रहिछ यति अबेरसम्म पनि बाहिर साथीसित घुम्ने, आमा बाबुले पनि केही भन्दा रहेनछन् कि क्या हो। त्यस्ता केटीहरुसँग संगत नगर्नु है, तँ पनि फस्लास्। आफ्नो ठेगानमा बस्नु। यदि केही तल–माथि परे पनि साटसुट मिलाउने गरिन्छ। मानौं केटाले गरेका गल्तीहरुको दोष पनि धेरैजसो महिलाहरुलाई नै दिने गरिन्छ र उसको कमजोरीले गर्दा नै यस्ता घटना भएका हुन् भनिन्छ। केटी मान्छे भएपछि घरमा खान पकाउन सिक्नु, घर सफा गर्नु, घरमा आमालाई सघाउनु आदि कुरा सिक्नु अनिवार्य छ। विवाह गरेर घर गएपछि सबै काम गर्न सजिलो हुन्छ भन्ने गरिन्छ। छोरीलाई यी कार्य गर्न मन लागोस् वा नलागोस् उसको कुरो कसैले सुन्दैनन् र भनिन्छ– केटी मान्छे हो गर्नैपर्छ, सिक्नैपर्छ। केटाको हकमा भने ठीक उल्टो बाहिर घुम्नु, साथी बनाउनु, खेलकुद गर्नु, अध्ययनमा ध्यान दिनु भन्ने अर्ति उपदेश दिइन्छ। यदि पढाईमा कमजोर रहेछ भने राम्रो मेहनत गर्नु, भोलि पर्सि आमा बा, श्रीमतीलाई पाल्नुपर्छ, धेरै कमाउनुपर्छ, ठूलो मान्छे बन्नुपर्छ भन्ने निरन्तर सबैजनाबाट दबाब आइरहन्छ।
यी माथिका कथन अधिकांश घरमा धनी गरिब, शिक्षित अशिक्षित, जातजाति, हिमाल, पहाड तराई, सुगम दुर्गम, सहर गाउँ सबैतिर हुने गरेका व्यवहार हुन्। हो, यसमा कतै उन्नाइस बीस हुन सक्छ तर अन्ततोगत्वा महिलालाई दिइने स्थान भनेको दोस्रो दर्जा नै हो। यसरी क्रमिकरूपमा छोरा र छोरी हिँडने बाटा फरक फरक हुँदै जान्छन्। छोरीलाई विशेषगरी यौनिक नियन्त्रण नै पहिलो मुद्दाका रूपमा लिइएको हुन्छ। महिनावारी हुनुभन्दा अगाडि सात आठ वर्षको उमेरमा छोरीलाई गुन्युचोली दिनु, वेल पूजा गर्नु विशेष कार्यक्रमसाथ एक किसिमको लक्ष्मणरेखा कोर्दै जानु हो। यो भनेकोे किशोर अवस्थामा प्रवेश गर्नुभन्दा अगाडि नै वा महिनावारी हुनुभन्दा अगाडि सामाजिक बार र बन्देज लगाउने तयारी हो। यसलाई छोरीले निसर्त पालना गर्दै जानुपर्ने हुन्छ। छोरीको पहिलो महिनावारी सुरु हुनुअघि वा सोही समयमा सामाजिक रीतिरिवाजअनुसारका अभ्यासे थालनी हुन्छ। 
ब्राह्मण क्षत्रीहरुको समुदायमा बाह्र दिनसम्म घाम हेर्न नपाउने, लोग्ने मान्छेको मुख हेर्न नपाउने गरी एउटा कोठामा बस्न बाध्य हुन्छन् वा पारिन्छ। विशेषगरी आफ्नो दाजुभाइ, बुबा वा हजुरबुबालाई हेर्न दिइँदैन। त्यस अवस्थामा बच्चीलाई थाहासमेत हुँदैन कि ऊ किन त्यहाँ छ, उसको शरीरबाट आएको रगत कसरी अनि किन अशुद्ध हो वा बिटुलो हो वा किन दाजुभाइ, बुबा हजुरबुबालाई हेर्नुहुँदैन भन्ने। अर्कोतर्फ किशोरावस्थामा आउने परिवर्तनका कारण उत्पन्न केही गतिविधिलाई पनि व्यवस्थापन गर्नुको साटो अभिभावकले हप्काउने र पिटेर नियन्त्रण गर्ने गर्छन्। यसले गर्दा उनीहरुमा अर्को नकारात्मक वातावरण सृजना हुन थाल्छ। यसैगरी आफूमाथि आइपर्ने समस्याबारे कसैसँग सहयोग माग्यो भने उल्टै होसियार भएर हिँड्ने सुझाव दिइन्छ। 
परिवारमा महिला पुरुष वा छोरी छोरा भएकै कारणबाट किन सानो र ठूलो? किन पहिलो र दोस्रो दर्जा, पहिलो दर्जा दुवै हुनै नसक्ने हो त? समान दृष्टिले हेर्ने दिनको सुरुवात् कसले गर्छ भनेर पर्खेको? अहिले हामीले नगर्ने हो भने कसले गर्छ? यसमा सबैजना गम्भीररूपमा लाग्नुपर्ने हुन्छ।

प्रकाशित: ४ माघ २०७० २३:३१ शनिबार