विचार

सेवा नरोक

चिकित्सा शास्त्र अध्ययन संस्थानको बेथिति सुधार्ने माग राखेर डा. गोविन्द केसीले थालेको आमरण अनशनको साता दिनसम्म पनि सुनवाइ नभएपछि नेपाल मेडिकल एसोसियसन आन्दोलित भएको छ। डा. केसीको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै डाक्टरहरूको संगठनले 'आइतबारबाट देशभर स्वास्थ्य सेवा’ बन्द गर्ने घोषणा गरेको छ।

स्थिति यति गम्भीर होला भनेर सम्भवतः कसैले पनि कल्पना गरेको थिएन। त्यस्तो अकल्पनीय स्थिति उत्पन्न भयो भने त्यो भयावह हुनेछ। डाक्टरहरूको हड्तालका कारण बिरामीको ज्यान गयो भने सम्बन्धित कुनै पक्षले पनि क्षमा पाउनेछैन।

डाक्टरहरूकै अन्तरात्माले पनि उनीहरूलाई क्षमा दिने छैन भने बिरामी खोजी खोजी उपचार गर्दै हिँड्ने डा. गोविन्द केसीको समर्थनमा यस्तो निर्मम उपाय अपनाउनु शोभनीय पनि होइन। यसैले हामी सबैभन्दा पहिले नेपाल मेडिकल एसोसियसनसँग आइतबारदेखि सेवा बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गर्छौँ। सरकार र त्रिवि पदाधिकारीको संवेदनहीन तथा गैरजिम्मेवार व्यवहारका लागि देशभरका बिरामीलाई सजाय दिनु न्यायोचित हुँदैन।

डा. केसीले उठाएका मागहरू उचित छन्। हामी ती मागहरू पूरा हुनुपर्छ भन्ने नेपाल मेडिकल एसोसियसनको समर्थनप्रति भने ऐक्यबद्धता जनाउँछौ। संविधान सभा निर्वाचन गराएर प्रशंसा पाएको वर्तमान सरकारले डा. केसीको अनशनप्रति देखाएको बेवास्ताका कारण सद्भाव गुमाएको छ। डा. केसीको अनशनलाई यसरी नै उपेक्षा गरियो भने यसले भयावह स्थिति उत्पन्न हुनसक्छ। देशभरका चिकित्सकसँगै न्याय र अहिंसाका पक्षधरहरू बिस्तारै आन्दोलित हुने लक्षण देखिइसकेको छ। राजनीतिक दलका नेताहरूले यो लक्षण नदेख्नु दुर्भाग्य हो।

उनीहरूले अग्रसर भएर सरकार र त्रिवि प्रशासनमाथि संकट समाधानका लागि दबाब दिनुपर्थ्यो। अझै, बेला छ। सेवा नरोक्न मेडिकल एसोसियसनलाई मनाउने र सँगसँगै डा. केसीका माग पूरा गाउने कार्यमा नेताहरू अग्रसर होऊन्। अन्यथा, उनीहरू कर्तव्यबाट त च्युत हुनेछन् नै जनताका आँखामा थप गिर्नेछन्। तिनको जो बाँकी साख पनि समाप्त हुनेछ। यस्तो अवस्थामा मुक दर्शक बन्नु नागरिक समाजको धर्मविरुद्ध हुन्छ। डाक्टरहरूलाई अस्पतालमै बस्ने वातावरण बनाउन उनीहरूका तर्फबाट सडकमा आन्दोलन गर्ने कार्य न्यायप्रेमी नागरिकहरूको हो।

अनशन नैतिक अस्त्र हो। नैतिक शक्ति जनसमर्थन आधारित हुन्छ। जनमत सत्यका पक्षमा हुन्छ। यसैले डा. केसीको पक्षमा व्यापक जनसमर्थन छ। त्यही समर्थनले शासनलाई झुकाउनेछ। तर, देशभर स्वास्थ्य सेवा बन्द भयो भने जनताले त्यसको चर्को विरोध गर्नेछन्। अहिलेको जनसमर्थन र सद्भाव घटेर जानेछ। उल्टो जनमानसमा डाक्टरहरूप्रति वितृष्णा बढ्नेछ। सम्भवतः सरकार र त्रिविका पदाधिकारी त्यस्तै अवस्था उत्पन्न होस् र डा. केसीको माग पूरा गर्नु नपरोस् भन्ने चाहन्छन्। सरकारी पक्षले नैतिक जिम्मेवारी बोध गरेको भए अहिलेको अवस्था नै उत्पन्न हुने थिएन।

नेपाल मेडिकल एसोसियसन र डा. केसीलाई पनि सरकार र त्रिविका पदाधिकारीको यस दुनिर्यतमा गौर गर्न हामी आग्रह गर्छौँ। यसैले सेवा रोक्ने निर्णय तत्काल फिर्ता लिएर आन्दोलनका अरू उपाय अपनाउन हामी नेपाल मेडिकल एसोसियसनका पदाधिकारीहरू तथा हिप्पोक्रेटिक शपथ लिएका सबै चिकित्सकहरूलाई आग्रह गर्छौँ। सेवा बन्द नगरी आन्दोलन अगाडि बढाऊ! सरकार र त्रिविले पनि मुलुकको चिकित्सा शिक्षालाई 'माफिया’को हातबाट मुक्त गराउन प्राणाहुति गर्न तत्पर डा. केसीका उचित मागहरू तत्काल पूरा गरेर तिनको जीवनको रक्षा गर्नुपर्छ। समय कसैले पनि खेर नफाल!

प्रकाशित: ३ माघ २०७० २१:१४ शुक्रबार