विचार

राजनीतिक संस्कृति निर्माण

जीवन आफैँमा संस्कार युक्त संस्कृति हो। जीवन संस्कृति एकांगी हुन्न र छैन पनि। जीवनमा माटो छ। जीवन माटो हो। जीवनमा पानी छ। पानी जीवन हो। जीवनमा हावा छ। हावा जीवन हो। जीवनमा तेज छ। जीवन तेज हो। जीवनमा आकाश छ। आकाश जीवन हो। यिनै तत्वको संयोगबाट सम्भव भएको जीवनले संस्कार–संस्कृति निर्माण गरेको छ। यसरी निर्मित संस्कृति भौगोलिक अवस्थिति, सामाजिक अवस्था, चेतनाको स्तर, आर्थिक औद्योगिक उन्नतिले जन्माउँछ। हाम्रा ऐतिहासिक संस्कार र संस्कृतिलाई नियाल्दा तिनीहरूभित्र यी सबै तत्व समाहित देखिन आउँछ।


संस्कृतिका भौगोलिक, सामाजिक, आर्थिक अनि औद्योगिक आयाम छन्। यिनमा चुरो सरोकारी आयाम चेतनाको स्तरले बोकेको हुन्छ। चेतनाको स्तर अन्तरआत्माबाट प्रादुर्भाव हुन्छ। निर्धारित हुन्छ। सग्लो चेतना स्तरले सबै प्रकारका संस्कारलाई निर्देशित पार्ने राजनीतिक संस्कृति निर्माणमा सार्थक भूमिका निर्वाह गर्छ। यस घडीको चुरो चासोमा नेपाल र नेपाली जनताको सार्वभौम सरोकार राजनीतिक संस्कृति निर्माण गर्नु नै रहेको छ। राजनीतिक संस्कृति बनाउने आधारभूत ग्रन्थ संविधान हो।

लिखित संविधान भएका राष्ट्रहरू पहिले कतै नभएको भए पनि नेपालमा दोस्रोपटक संविधान सभा निर्वाचन भयो। यो अवस्था सिर्जना गर्न नेपालीले सबै किसिमका हर्कत व्यवहार बेहोरे। विश्व राजनीतिक संस्कार र संस्कृतिभन्दा अलग्ग आफ्नै नेपाली संचेतना सुहाउँदो राजनीतिक संस्कारमा पहल भएकै हो। अन्तर्राष्ट्रिय चेत चासो, अर्थ आकलन, राजनीतिक अन्योल सूचक चहलपहलका हलचल मच्चिएकै भए पनि राजनीति निस्तो निष्ठा नभएर संचेतना सापेक्ष नेपाली जमर्को नै साबित भएको छ। अन्ततः संविधान सभा चुनावको नाउ पार लाग्यो। चुनावपछि बाटो पहिलियो।

जे होस्, चुनाव जनताको सार्वभौम इच्छा, आकांक्षा र मनोविज्ञान व्यक्त गर्ने जनजाहेरी हो। चुनाव त्यसकारण जनमानसको सूचक र सवेदनशील चेतनाका लहर हो। चुनाव शब्दैले पनि मत जाहेर गर्ने अधिकार बुझाउँछ। मत चेतनाको जनलहर भएकोले यो राजनीतिक मौसमअनुरूप सुक्छ, बग्छ, भलभलाउँछ, वेग लिन्छ र यसको प्रवाहको गति फेरिन्छ। नेपाली जनताले नेपालको प्रत्येक चुनावी लहरमा मतद्वारा जाहेर गरेको अभिव्यक्ति यस्तै मार्ग सूूचक संकेत बनेको छ, रहेको छ। राजनीतिक चासो चहारी चक्कर लाइरहने सबै खाले सरोकारीको चेतनामूलक सरोकार रहेको छ, बनेको छ।

जनता मत मैदानमा पनि विभाजित रहेकालाई अब विभाजितभन्दा संयुक्त र साझेदारी प्रयासमा लाग भन्छन्। यसका लागि आआफ्ना पक्षधर जनताले ती राजनीतिक केन्द्र बनेका दल र दलगत अगुवालाई बाटो सफा, स्वच्छ र सुग्घर राख्ने मत मन्त्रदान गरेका छन्। दलीय अगुवा यस मत संकेत र सूचनाका सन्देश बुझीकनै आआफ्नै बुझाइ आपसमा सुझाइरहेका छन््। यहाँ सूक्ष्मतर परागका सुवास महकिन्छ। आवेशमात्र जीवन रहेनछ। आडम्बरमात्र पहल रहेनछ। द्वन्द्व र मुठभेडमात्र पनि सब थोक रहेनछ। आखिर त सहमति, सहवास र सामूहिक चिन्तन प्रयास नै हुनुपर्ने तथ्य बोध भइरहेछ। यी सबैे सकारात्मक प्रयास होइनन्, चिन्तन होइनन् भन्न कसरी सकिएला र? यसकै खातिर जनमत ज्ञापन गरिन्छ।

राजनीतिको पनि चुरो नीति त जनसेवा नै रहेको हुन्छ। जनसेवा गर्नेले तनसेवा गर्छ नै। आदिदेखि अहिलेसम्मको इतिवृत्तले यस्तै बताउँछ। लिच्छवी, मल्ल, शाह, राणा, प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र पर्यन्तका पाना यसरी नै बसेका छन्। यो कुनै नकार होइन। न त कुनै दुत्कार नै। दुत्कार र नकार नरहेरै पनि यसलाई सत्कारै रहेको मान्न सकिँदो भने रहेनछ। जनसेवाको जपना पेवाजन्य लाग्छ। यस्तो सोच मानस कुण्डमा छचल्किन्छ, छचल्की नै रहने भएकोले गर्नुपर्ने संयमको कमण्डलु र सन्तीय चेत जगाउनुपर्ने हुन्छ। यस्तो सन्त र कमण्डलु चेत चस्कँदा हामीभित्रका हामी फुर्न थाल्छ। यस्तो चेत फुरेको अवस्थाजन्य परिस्थितिको सिर्जना सहभाव, सहकर्म र सहचर्याबाट सम्भव हुनपुग्छ। अतः नेपाली राजनीतिक परिवेश र परिस्थितिले चाहिरहेको मूल चासो नै राजनीतिक संस्कति निर्माण रहेको छ।

परिवेशले सिर्जेका चाहनालाई मार्गचित्र बनाई हिँड्न सम्झौतामुखी सद्भाव जगाउनु जिरुरी हुन्छ। सद्भावपूर्ण सम्झौतामुखी चित्तवृत्तिले अहंकारलाई इतिश्री गरिदिन्छ। अहंकार र दम्भ तुहिएपछि सकारात्मक सोच पलाउन थाल्छ। सकारात्मक सोच जनमतको चाहना बनेको छ। यसलाई नबुझेको पनि कसैले छैन। बुझेर पनि बुझ पचाउने बेला छैन। अन्तर्राष्ट्रिय राजनीतिक परिवेशको प्रभुत्वले गिद्धे दृष्टि पर्न थालेकोथाल्यै छ। कुनै बुज्रुक्याइँ नभई यो जुत्ता लाउनेको घाउ बनेको यथार्थ रहेको छ। यत्ति सकारात्मक सोचले पनि सम्झौतापूर्ण सहभाग उब्जाई दिन्छ। यो सदाशयपूर्ण ध्यानर चिन्तनरराज योगाभ्यास आदिको आवश्यकता छ। राजनीतिक परिवेशको सिर्जनामा सदाशयपूर्ण ध्यान, चिन्तन, राज योगाभ्यास चाहिएकै हुन्छ। योगाभ्यास नै ठीक समयमा ठीक मनःस्थिति बनाउन ठीक अभ्यास गर्ने साधना बन्छ। ठीक अभ्यासले ठीक परिशीलन गर्ने आन्तरिक र बाह्य परिवेश सिर्जना हुनपुग्छ।

राजनीतिक योगाभ्यासमा पारमार्थिक ध्यान, चिन्तन हुन पुग्दा दम्भको क्लेश पखालिन थाल्छ। क्लेश मुक्त अवस्थामा सहलहको वातावरण बन्न थाल्छ। अलिकति सहने, अलिअलि लहसिने मनःस्थिति बोध गराउने यो सहलह शब्द अर्थपूर्ण व्यवहारमा चैतन्यप्रद रहन्छ। यही सहलह भावनाले आफ्ना ढिपीका केही अंश छुट्याई दिन्छ, तिलाञ्जली दिने चेष्टा चस्काइदिन्छ। यिनै चस्काइसाथ यतिकै आफ्ना ढिपी, दम्भ, आडम्बर र हुँकार हराउन थाल्छ। यही तिलाञ्जली भावले राजनीतिक मन मस्तिस्कमा अरुका जायज, सही कुरालाई आफ्नो मनमस्तिस्कमा शुभ्र, शान्त र शालीन स्थान दिन लगाउँछ। नेपाली जनमासको एकाग्र ध्याउना यही हो। हाम्रो नेपाली राजनीतिक क्षितीज अब सुस्तसुस्त मिमिराउन थालेको आभास भएको छ। लाग्छ, यी राजनीतिकर्मी सौम्य र शालीन ध्यानमग्न अवस्थामा बिहार गर्दाछन् , हुन् र रहनेछन्। राज योगाभ्यासको फलले नेपाललाई शालीन स्वतन्त्र राख्न भरपूर सघाउँछ।

राजनीतिक संस्कार हुर्केपछि नै राजनीतिक संस्कृति निर्माण हुन थाल्छ। नेपाल र नेपाली जनता यसै दिशामा उन्मख छन्। तिनीहरु राजनीतिक संस्कार पालन गर्न सकौँ र सिकौँ भनेर प्रतीक्षारत छन्। पूर्वीय नेपाली क्षितिज सुनौला किरण छर्देै छिटै उघि्रयोस् भन्ने व्यग्र पर्खाइमा छन्। त्यही स्वर्णीम किरणधुलीमा संविधान सभा सफल होस् र नेपाल एवं नेपाली नागरिकको सार्वभौमिकता सदाबहार रहन सकोस् भन्ने तिनको कामना छ। लाग्छ, नेपाली राजनीतिक संस्कार र संस्कृतिको निर्माण विनिर्माण जे जसो भनौं अब यहीँबाट पुनःआरम्भ हुनुपर्छ। हुनु नै पर्ने निर्विवाद सत्यलाई निर्विकल्प साबित गरेर राजनीतिक संस्कृति निर्माण संस्करणलाई अभियान मानी यज्ञ सम्पन्न गरौँ। यसको एउटैमात्र संकल्प राजनीतिकर्मीहरुलाई चुनावी मतपछि स्पष्ट वैचारिक अभिमतले अभिशेष गर्दै गरौँ। एक वर्षको छोटो अवधि अझै छोटियोस् र अपुग हुन नपुगोस्। चिरअपेक्षित संविधान सभा यथासमयमा सम्पन्न हुनु नै राजनीतिक संस्कृति निर्माणको जग बन्नेछ।

राजनीतिक संस्कृृति निर्माणका अर्को खुड्किलो सहलहको हो। सहलहको संस्कृतिले भन्छ — अलिकति आफ्नो छाड, अलिकति अरुको ग्रहण गर। थोरै त्याग, थोरै ग्रहण गर। सम्झौताको स्वर्णीम आधार यही हो। यही आधारमाथि नउभिई सम्झौता जप्नु आकाशे फलकै अपेक्षा बन्न के बेर? राजनीतिकर्मी सबै बुझक्कड छन्। कहिलेकाहीँ बुझाइलाई ढिपीले जिती दिन्छ र अनुभवका चस्काइ चहराउँछ। अलिकति फसाद पर्छ त्यहीँ। नत्र बाटो सुगमै छ। दुर्गम छैन। सुगम, दुर्गम मनको कुरो त रहेछ। मनले माने सबै सुगम न ठाने दुर्गमै दुर्गम। सुगम र दुर्गमको छ्यान निवारण गर्न अन्तरचिन्तन अनिवार्य रहन्छ। उपासना मार्गले हृदयमा इमानदारी, काँधमा जिम्मेदारी, मस्तिष्कमा समझदारी झुल्काउँछ। राजनीति सच्चा राजकाजको साझा समझदारीपूर्ण राष्ट्र निर्माणको साधना बन्नेछ। नेपाली राजनीतिलाई यस्तो संस्कार मण्डित तुल्याउन व्यापक तर साझा राजनीतिक संस्कृति निर्माणको खाँचो छ। सबै नेपाली एक जूट भएर राजनीतिक संस्कृति निर्माण गर्नु नै छ। आओ! सबै निर्माताहरू निर्माण गरौँ राजनीतिक संस्कार युक्त संस्कृति!

प्रकाशित: २ पुस २०७० २२:०१ मंगलबार