हो, तपाईँ हामी कसैमा दुई मत छैन कि यसले हामीलाई गति दिएको छ। तर एक पटक हामीले यसको अर्को पाटो विश्लेषण गर्ने हो भने यही वरदान महसुस भएको कुरा कतै कतै कसैलाई अभिसाप पनि भएको छ। अर्थात् यसको दुरुपयोग पनि त्यत्तिकै मात्रामा भएको हामी पाउन सक्छौं जसको चर्चा खासै कतै कहीँ भएको हामी पाउँदैनौ। गलत प्रवृत्ति भएका मानिसको गलत नियत तथा दुरुपयोगका कारण यसले समाजमा चुनौती दिएको छ। यस्तै प्रविधि प्रयोग गरी समाजमा हुने केही घटना, जस्तै– मानिसमा त्रास फैलाउने, धम्की, फिरौती, अपहरण जस्ता घटना पनि उल्लेख्य वृद्धि भइरहेको छ। अझ भनौं कुनै पनि आपराधिक घटनामा डिजिटल प्रविधि अथवा भनौं उपकरण जस्तै– मोबाइल फोन, कम्प्युटर इत्यादि प्रयोग अत्याधिक भएको पाउन सकिन्छ र अपराधीहरुलाई सहयोगी पनि भइदिएको छ। महिलाको चरित्र हत्या गर्ने, यौनजन्य विकृति फैलाउने, नितान्त व्यक्तिगत सूचना सार्वजनिक गर्ने जस्ता घटना जसमा प्रत्यक्ष डिजिटल उपकरण प्रयोग हुन्छन् भने त्यसलाई डिजिटल क्राइम भन्न सकिन्छ भने हत्या, अपहरण, चोरी, डकैती जस्ता घटना जसमा डिजिटल उपकरण सहयोगीका रुपमा प्रयोग हुन्छन् भने त्यसलाई नन डिजिटल क्राइम भन्न सकिन्छ। यसरी हाम्रो समाज र विश्वस्तरमा नै जे जति पनि प्रविधिले उपहार दिएका छन्, ती सबैको अँध्यारो पक्षलाई पनि यी अपराधका नौलो पद्धति सँगै लिएर आएको छ। आज आएर डिजिटल उपकरण प्रयोगको व्यापकतासँगै हरेक अपराध र क्राइममा डिजिटल प्रविधि प्रयोग हुन गएको छ अथवा सहयोगी भएको छ भन्दा दुई मत नहोला।
आपराधिक घटनाहरु आज आएर स्थानीय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा नै फैलिएका छन्। एक देशमा रहेका व्यक्तिले अर्को देशका नागरिकलाई धम्काउने, फिरौती उठाउने जस्ता घटना विगतका दिनबाट पुष्टि भइसकेको छ। हाम्रो देशमा पनि यस्ता केही घटना विगतका दिनमा देखा परिसकेका छन्। यस्ता आपराधिक गतिविधि व्यक्तिगतदेखि लिएर संस्थागतरूपमा समेत छ। सञ्चार माध्यममा आएका केही विगतका घटना यस्ता छन्– अश्लिल भिडियो बनाएर बार्गेनिग, अपहरण गरी १० लाख फिरौती लिने पक्राउ, बाहिर निस्कन डराउँछन् व्यवसायीका परिवार, जमिम शाह हत्या, उठाउलान् बाटोबाटै लगायत छोरीमाया बेपत्ता, रणबहादुर बम हत्या आदि।
जसरी डिजिटल प्रविधिले व्यापकता पायो, त्यति नै रूपमा नयाँ किसिमका अपराधको पनि जन्म भएको छ र गति पनि त्यहीरूपमा बढिरहेको छ। यसले साँच्चै नै सुरक्षा निकायलाई एकदमै चुनौती दिएको छ। यस किसिमको चुनौती सम्बन्धित सुरक्षा निकायलाई सहज नभएको सबैले महसुस गरेकै हुनुपर्छ। प्रायः अपहरणका मुद्दा तथा देखिएका डरलाग्दो आपराधिक गतिविधिले गर्दा यस्तो महसुस गर्नुपरेको हो। अझ एक राष्टिय दैनिकमा माघ २७, २०६९ मा 'किन अनुसन्धानमा चुक्छ प्रहरी' लेखले पनि सम्बन्धित निकायलाई चुनौती हो भन्ने प्रष्ट पार्छ। सोही मितिमा प्रकाशित डा. युवराज संग्रौलाको लेखमा उल्लिखित 'अपराध अनुसन्धानलाई लिएर प्रहरी विवादमा तानिने मुख्य कारण अनुसन्धान प्रणाली वैज्ञानिक नहुनु नै हो' भन्ने भनाइले पनि यसैलाई पुष्टि गर्छ। यसै कारण कतिपय भए/गरेका अपराधबाट अपराधी कानुनको घेराभित्र पर्न सकेका छैनन् भने उनीहरु यसबाट हौसिएका छन्। पीडितचाहिँ झन् पीडा महसुस गरिरहेका छन्।
विश्वस्तरमा जे/जति पनि प्रविधि विकास भएका छन् ती सबै हाम्रो समाजमा तत्काल जस्तै भित्रिएका छन् र सोको उपयोग पनि भएको छ। तर हाम्रो सुरक्षा निकायको नियन्त्रण र अनुसन्धान प्रविधि भने समयअनुसार छैन। अतः यस्तो दूरी कम गर्न सम्बन्धित निकायलाई आवश्यकताअनुसार वैज्ञानिकीकरण गरी धेरै हदसम्म डिजिटल प्रविधिको अत्याधिक प्रयोग तथा सोसँग सम्बन्धित कानुन निर्माण गरी प्रभावकारी बनाइनुपर्छ। जसबाट अपराध न्युनीकरण वा धेरै हदसम्म नियन्त्रण गर्न सकिनेछ।
प्रकाशित: २३ कार्तिक २०७० २२:३२ शनिबार