विचार

चिन्ताको ‘चिता’

हरेक मानिस दैनिक जीवनमा बेलाबेलामा चिन्ता तथा सुर्ता महसुस गर्ने तथा अकस्मात कुनै समस्या वा कठिनाइ परेको खण्डमा आत्तिने गर्छन्। वास्तवमा चिन्ता, भय वा डर मानिसको दैनिक जीवनमा देखा पर्ने आम नकारात्मक भावना हुन्। त्यसो त केही हदसम्म मानिसको मनमा चिन्ता र डर हुनु आवश्यक पनि छ।

त्यो किनभने यही चिन्ता र डरका कारण विद्यार्थीले परीक्षाको तयारी गर्छन्। मानिसले स्वास्थ्य परीक्षण गराउ“छन्। आमाबाबुले छोराछोरीको पढाइलेखाइ तथा विवाह आदिका लागि पैसा जम्मा गर्छन्। आफ्नो र परिवारको भविष्यप्रति सजग रहन्छन्। 

चिन्ता र डरमा अन्तर
चिन्ता र डरमा सम्बन्ध रहे तापनि अन्तर छ। चिन्ता त्यस्तो भावना हो, जुन कुनै अप्रिय घट्ना हुँदैछ भन्ने खतराको आभाससँग सम्बन्धित हुन्छ। डर भन्नाले कुनै खतराको सामना गर्नुपर्दा देखा पर्ने प्रतिक्रिया हो। डरले मानिसलाई खतरासँग लड वा भागको स्थिति सिर्जना गराउँछ। जस्तो कि बाटोमा हिँडिरहेको बेलामा एक्कासि कुकुरले झम्टँदा जतिसुकै सुरो मानिस पनि डराउँछ। अनि मानिस कि भाग्छ कि त कुकुर लखेट्छ। यो डरको उदाहरण हो तर भोलि कतै जानु छ भने बाटोमा एक्कासि कुकुरले झम्टियो भने के गर्ने? कतै गाडी पल्टिने त होइन? जस्ता सोच बारम्बार आउनु चिन्ता हो।

दुश्चिन्ता विकृति
यदि चिन्ता आवश्यक भन्दा बढी र मानिसको नियन्त्रण बाहिर गयो भने यसले दुश्चिन्ता विकृति (एनजाइटी डिसअर्डर) नामक मानसिक रोगको रूप धारण गर्छ। यस्तो दुश्चिन्ता लामो समयसम्म रहिरह्यो भने घुनले धान खाएझैं मानिसलाई भित्रभित्रबाट खाएर जिउँदो लास जस्तो बनाउँछ। त्यसैले त भन्ने गरिन्छ– चिता र चिन्ता उस्तै उस्तै हुन्। चिताले मरेको मानिस जलाउँ“छ, चिन्ताले जिउँदो मानिस जलाउँछ। 
दुश्चिन्ता विकृतिलाई पहिला न्युरोसिस, साइकोन्युरोसिस तथा एनजाइटी रियाक्सन आदि भन्ने गरिन्थ्यो भने आजकलचाहिँ चिन्ता विकृति (एनजाइटी डिसअर्डर) भन्ने गरिन्छ। 
दुश्चिन्ता विकृति एक प्रमुख मनौवैज्ञानिक विकृति हो। यस किसिमको मानसिक रोगमा चिन्ताको स्तर निकै बढ्छ, जसले गर्दा व्यक्तिको दैनिक समायोजन कुप्रभावित हुन पुग्छ। दुश्चिन्ता विकृति ६ प्रकारका हुन्छन्। ती हुन् : (क) फोबिया (ख) सामान्यीकृत चिन्ता विकृति (ग) पैनिक डिसअर्डर (घ) मनोग्रसित वाध्यता विकृति (ङ) एक्युट स्टे्रस डिसअर्डर (च) पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी)।

सामान्यीकृत चिन्ता विकृति
कुनै स्पष्ट कारण र घटनाबिना डर लागिरहने, मन आत्तिरहने तथा शंकाले मन बेचैन हुने तथा शरीरका विभिन्न भागमा अप्ठरो महसुस हुने दुश्चिन्ता रोगलाई सामान्यीकृत चिन्ता विकृति भनिन्छ। सामान्यीकृत चिन्ता विकृतिलाई पहिला एनजाइटी न्युरोसिस भन्ने गरिन्थ्यो।
केही नराम्रो हुने हो कि भनेर लगातार आत्तिइरहनु यस रोगको प्रमुख लक्षण हो। यस्तो समस्याबाट पीडित व्यक्ति प्रायः चिन्तित भइरहन्छन् तर कुन कारण वा घटना वा परिस्थितिका कारण ऊ चिन्तित भएको छ भन्ने स्पष्ट बताउन सक्दैन। यस्ता व्यक्तिले अनेक तर्कहीन र असंगत कारण बताउँछन्। यो कम कडाखालको मानसिक रोग हो। अधिकांश मानिसले यसको उपचार गरेको पाइँदैन। 
यस्ता व्यक्ति प्रायः भय, शंका, दुश्चिन्ता (खराब किसिमको कुरामा पर्ने पीर, नराम्रो चिन्ता) तथा मानसिक अन्तर्द्वन्द्वले घेरिएको हुने हुँदा प्रायः तनावपूर्ण, निराशावादी, नकारात्मक कुरा गर्ने र आफ्नो जीवनप्रति असन्तुष्ट तथा उदासिन देखिन्छन्। आफूलाई अनुपयुक्त र असहाय पनि ठान्छन्। 

सामान्यीकृत चिन्ता विकृतिका लक्षण
सामान्यीकृत चिन्ता विकृति महिला–पुरुष दुवैमा देखा पर्छ। तर प्रायः किशोर अवस्थामा सुरु हुने यो रोग पुरुषको तुलनमा महिला र युवामा बढी देखा पर्छ। यस रोगका निम्नलिखित लक्षण हुन्छन्– प्रायः बेचैनी तथा तनावको अनुभव गर्नु तथा आत्तिरहनु। मुटु काँप्नु, ढुकढुकी बढ्नु, सास रोकिएजस्तो महसुस हुनु, सास छिटो छिटो चल्नु, बारम्बार पिसाव लाग्नु, चिटचिट पसिना आउनु। थकाइ लाग्नु। मांसपेशीमा तनाव हुनु। टाउको दुःख्नु। मुख सुक्नु। बढी पसिना आउनु। निद्रा नलाग्नु। डरलाग्दो सपना देख्नु। मनमा नकारात्मक विचार आउनु। जस्तै– कुनै नोक्सान हुने हो कि? कुनै दुर्घटना हुने हो कि? कोही बिमार हुने हो कि? आदि। 

चिन्ता विकृतिको निदान
डीएसएम (चौथो संस्करण)ले निम्नलिखित लक्षण देखिएमा त्यसलाई सामान्यीकृत चिन्ता विकृति मान्न सकिने उल्लेख गरेको छ। कम्तिमा ६ महिनादेखि दुश्चिन्ताका लक्षण देखिनु। दुश्चिन्ता नियन्त्रण गर्न कठिनाइ हुनु। निम्नलिखित ३ वा ३ भन्दा बढी लक्षण देखिनु– बेचैनी, थकाइ लाग्नु, एकाग्रतामा कठिनाइ, चिडचिडेपना, मांसपेशीमा तनाव तथा अनिद्रा। चिन्ता, सुर्ता र शारीरिक लक्षणका कारण दैनिक कार्यमा कठिनाइ पर्नु तर यस्ता लक्षणका कारण औषधिको प्रयोग वा अन्य कुनै रोग हुनुहु“दैन। 
सामान्यीकृत चिन्ता विकृतिमा मानसिक लक्षणका साथै शारीरिक लक्षण पनि देखा पर्छन्। कतिपय अवस्थामा त मानसिकभन्दा पनि शारीरिक लक्षण बढी देखा पर्छन्। जस्तै– थकान, कमजोरी, पेट र छाती दुखाइ, जोर्नी दुखाइ आदि। जसले गर्दा यस रोगबाट पीडित व्यक्तिले शारीरिक रोग सम्झन पुग्छ। जसका कारण उचित उपचार हुन सक्दैन।

रोगका कारण
सामान्यीकृत चिन्ता विकृति निम्नलिखित कारणले देखा पर्न सक्छ– (१) जैविक कारण– जैविक दृष्टिमा मानिसको मस्तिष्कमा सेरोटोनिन, नोरएपिनेफरिन आदि रसायनमा आएको असन्तुलन र गडबडी। (२) आनुवांशिक कारण– यस रोगबाट पीडित व्यक्तिका सन्तान र आफन्तहरुको स्नायुप्रणाली बढी संवेदनशील हुन सक्छ। यस कारणले यो रोग हुने सम्भावना हुन्छ। (३) मनोवैज्ञानिक कारण– चेतन तथा अवचेतनमा चलेको द्वन्द्व। बाल्यकालको मानसिक आघात, हीन भावना, संघर्षपूर्ण जीवन, नकारात्मक सोच, अन्तर्मुखी व्यक्तित्व आदि जस्ता मनोवैज्ञानिक कारण। 

दुश्चिन्ता विकृतिबाट पीडित हस्तीहरु
सामान्यीकृत चिन्ता विकृतिबाट युवा तथा महिला पीडित हुने भए तापनि हरेक उमेर, वर्ग र पेशाका व्यक्तिसमेत यसबाट पीडित भएको देखिन्छ। प्रसिद्ध साहित्यकार बर्नाड शा, फ्रान्सका नेता डिगाल, प्रसिद्ध व्यवसायी जोन डी. रौकफेलर, बारबरा बुस (जर्ज बुसकी पत्नी), जेम्स गार्नर (अभिनेता) तथा प्रसिद्ध संगीतकार डेनियल जान जस्ता थुप्रै हस्ती यसको शिकार भएका थिए तर उनीहरुले समयमै रोग नियन्त्रण गरी जीवन सफल बनाए।

उपचार
सामान्यीकृत चिन्ता विकृति कम कडाखालको मानसिक रोग हो। जसको दुई उपचार पद्धति छन्– १. जैविक चिकित्सा (औषधीद्वारा), २. मनोचिकित्सा (साइकोथेरापी)। साथै विश्राम चिकित्सा तथा बायोफिड ब्याक आदि पनि प्रभावकारी मानिन्छ। नेपालका प्रमुख सहरमा भने जैविक चिकित्सा सेवा उपलब्ध भए पनि मनोचिकित्सा सेवा भने शून्य छ।

प्रकाशित: १२ कार्तिक २०७० २३:४३ मंगलबार