सासूले भन्नुहुन्छ कामै गरिन'
...
'अंग्रेजीमा भन्दा रैछन् पानीलाई वाटर
नबुझेर दिइछु मैले काँचो कटर'
थपरीका तालमा हाम्रा हजुरआमा, आमाहरु नजिकैको स्कुलमा जम्मा भएर यस्तै गीत गाएर दिनभर धोको फेरेरै नाच्थे। कृष्णाष्टमीको दिनदेखि बेलुकी सबैको घरघरमा पालैपालो यस्तै गीत गाउँथे, नाच्थे। दिनभरको थकाई महिलाहरु बेलुकी हुने गीत, नाचसँगै साट्थे। तीज मनाउन अघिल्लै दिन गाईवस्तुका लागि घाँस काटेर थुपार्थे। माइत जानेहरु पनि घाँस, दाउरा, घरको कामको जोहो गरिसक्थे। बारीका डिल, नजिकैको खरबारीमा तीजकै लागि घाँस नकाटी राख्ने चलन। मकै, गहुँ जाँतोमा पिँधेर आटोपीठो अगाडि नै टन्न बनाउँथे। तीजमा नाचगान गर्न जान नपाइने सुर्तामा परिवारलाई मात्र होइन, गाईवस्तुलाई समेत मन सन्तुष्ट पार्ने जिम्मा महिलाकै काँधमा।
नजिकै जंगलबाट खर्सुङका बलिया खम्बा काटेर ल्याउँथे पुरुषहरु। महिलाकै लागि चर्के पिङ (चमच्चा) बनाइदिन्थे। हरियो बाबियो काटेर भारी नै ल्याउँथे। तीन जनाले बटारेर लठ्ठे पिङ तीजको अघिल्लै दिन तयार बनाउँथे। हामी पिङ बनाएको हेर्न बाबाआमाले भनेको नटेरेरै स्कुलको नजिक कुद्थ्यौं। उमंग एक हप्ताअघि नै सुरु हुन्थ्यो। अघिल्लो दिन फुपू, दिदीहरु घरबाट बच्चा बोकेर माइत आउँदै गरेका हुन्थे।
तीजको दिन रातै रङको पहिरनमा देखिन्थें। चौबन्दी चोली होस् वा ब्लाउज, फरिया सकेसम्म नयाँ लगाउँथे। मेरो गाउँका प्रायजसो महिला वर्षको एकपटक तीजमा मात्र नयाँ लुगा फेर्न पाउने अवसर पाउँथे। स्कुलको एकछेऊमा चर्के, लठ्ठे पिङ हुन्थ्यो। अर्कोतिर टहरमा लहरा बटारेर बनाएको रिङ घुसाएकै बहानामा बिस्कुट, चक्लेट जित्ने गेम हुन्थ्यो। महिला, केटाकेटीलाई लक्षित गरिएका बेलुन, मिठाई, चक्लेट, चुरा, टिका यस्तै अस्थायी पसले टाढाबाट आउँथे। केटाकेटीका लागि त्यस्तो रमाइलो तीज महाउत्सवझंै लाग्थ्यो। बालबच्चाले भनेअनुसारका मिठाइ किनिदिएर भुलाउँदै आमाहरु नाच्न, पिङ खेल्नमा व्यस्त। उनीहरु एकखालको आनन्दमा थकाई मेटिरहेका हुन्थे। गाईवस्तु, बाख्रा, कुखुराको पिरलो, कामको थकाई, घरको टन्टा सबै बिर्सेर दिनभरि नाच्थे। विवाह भएर पराइघर गएका फुपूहरु आइपुगेका हुन्थे। त्यसै दिन भेट भएर नयाँ घरको सजिलो, असजिलोबारे कुरा साट्थे। संगीहरु वर्ष दिनमा भेट हुँदा पनि माइतमा धेरै बस्ने फुर्सद नभएको चर्चा गर्थे। पञ्चमीको भोलिपल्ट नै घर फर्किनुपर्ने, घरको काम सबै आफै भ्याउनुपर्ने दुःखसुखका कुरा बाँड्थे।
दिदीबहिनीले गाएका ती गीत मेरो मानसपटलबाट अझै मेटिन सकेका छैनन्। त्यो बेला गाइने गीत महिलाका साँच्चिकै वेदना थिए। बिहानदेखि बेलुकीसम्म काममै रगटिइरहने दिदीबहिनीलाई सासूले जस नदिँदा निस्केको मनभित्रको गुदी गीतमा हुन्थ्यो। घाँस र दाउरासँगको जीवन वेदना भएर गीतमै मिसिन्थ्यो। मिठो, मसिनो खान नपाउँदाको पिर कहन्थे। सबैभन्दा ठूलो कुरो आफू अनपढ हुँदा विवाहपछि खप्नुपरेको दुःख गीतबाटै पोख्थे। बाबुआमालाई दोष दिन्थे, गीतबाटै आफ्नो भाग्यलाई सराप्थे। एउटी नवविवाहित महिलाले नयाँ घरपरिवारमा जाँदा 'वाटर' माग्दा 'कटहर' दिएको प्रसंग गीतमै आउँथ्यो। अर्को छोरीले पढ्न हुन्न भन्ने सोचाइको उपज गीतमा थियो। त्यसैले त तीज दुःख ओकल्ने आवाज बन्थ्यो, वेदना साट्ने थलो बन्थ्यो। वर्षभरि मनमा गुम्सिएका वेदना तालीले ताल दिँदै दिदीबहिनीहरु लगातार गाइरहन्थे। पालैपालो गाउन थालेपछि दिनभरि नै पुग्थ्यो मनका कथा।
'एक हात पुरुष, अर्को हात नारी हो
छैनौं कोही तलमाथि बराबरी हो'
...
'घरको काम चुलौचौको सबै मिली गर्नुछ
समान हक लिएर अघि बढ्नुछ'
मेरो गाउँमा पनि आजभोलि तीजका गीत बदलिएका छन्। समय बदलिँदै जाँदा गीतसंगीत बदलिनु नौलो होइन। समयको माग हुनुपर्छ। दिदीबहिनीलाई नयाँ कपडा लगाउन तीज कुर्नुपर्दैन। पढ्न पाइन भनेर गुनासो गर्नुपर्दैन। छोराछोरी मिलेर स्कुल जान्छन्। सासूले गाली गर्छिन् भन्ने टन्टा छैन। त्यति धेरै काममा जोतिरहनुपर्दैन। मकै, गहुँ पिँध्न मिल छ। वाटर माग्दा पानी दिन सक्छन्। आमा समूह, महिला संघ, संगठनमा महिला संगठित छन्। आफ्नै अधिकारका गीत गाउँछन्। मनका कुरा साट्न तीज कुर्नुपर्दैन। फुपूलाई मोवाइलबाटै निम्तो पुग्छ। मन लागेको समयमा घरबाहिर निस्कन सक्छन्। प्रत्येक घरबाट रोजगारका लागि पुरुष विदेश छन्। घरव्यवहार महिलाले सम्ह्ालेका छन्।
सहरमा भने तीज फरक छ। महँगा साडी, छड्के तिलहरी, झपक्कै गहना, पर्व आउनुअघि नै दर खाने कार्यक्रम। कहिलेकाँही तीज र विकृतिका विषयमा बहस बन्छन्। यसपटक अख्तियारले तडकभडकमा रोक लगायो। फेरि अर्को बहसको विषय बन्यो। कसैले समर्थन, कसैले विरोध गरे। उहिले तीज विशुद्ध महिलाका लागि भनिन्थ्यो। धर्म, संस्कृति, रीतिरिवाज हाम्रो परम्परा यसै भन्छ। अहिले तीज महिलामा मात्र सीमित छैन। पुरुष पनि त्यत्तिकै सहभागी छन्। तीज गीतमा महिलाभन्दा पुरुषले धेरै एल्बम निकालेका छन्। स्वतन्त्रताको पर्वमा पुरुषले पनि साथ दिएका छन्।
तीज स्वतन्त्रताको पर्व हो। संस्कृति मापन गर्ने विधि छैन। तर पनि तीज बदलिएकै हो। संस्कार, संस्कृति बदलिँदा तीज उही ठाउँमा रहिरहन सक्दैन। हामी तीजका गीतबाटै थाहा पाउँछौं। महिलाहरु स्वतन्त्र हुँदैछन्। जात, भाषा, धर्मको आधारमा तीज सीमित छैन। हिन्दु मात्र होइन अन्य धर्म मान्नेहरु पनि तीजमा सरिक हुन्छन्। यसले साँस्कृतिक एकतामा मद्दत पुर्याएको छ। तीजलाई महिलाले आफ्नै पक्षबाट फराकिलो बनाउँदै छन्। यो हुनेखानेका लागि मात्र हुनुहुँदैन। हुनेखाने र हुँदाखाने बीचको खाडल नबनोस्। 'घाँटी हेरी हाड निलौं' भन्ने भनाइ आत्मसात गर्नुपर्छ। देखासिखी होइन, दिदीबहिनी बीच मेलमिलाप, एकता, स्वतन्त्रताको पर्व बनोस् सबैलाई शुभकामना।
प्रकाशित: २२ भाद्र २०७० २१:३७ शनिबार