तर कैयौं शताब्दी, युगहरु पार गरेर यहाँसम्म आइपुग्दा, विश्वका प्रायः सबैजसो मानव समाज सामन्ती सोच, विस्तारवाद र राज्यशक्ति दुरुपयोगबाट आक्रान्त भएका, देखेका, भोगेका दृष्टान्त पाइन्छन्। बृटिस होस् या रोमन साम्राज्य, साम्राज्यवादी शासकहरुको महत्त्वाकांक्षाले गर्दा राज्य विस्तारका क्रममा कैयौं युद्ध, महायुद्ध र विश्वयुद्ध भए अनि कैयौं मानव हताहत भए भने शासकहरुको आसेपासे तथा दलालहरुद्वारा समेत सिधासाधा आमजनता तथा गरिब किसानमाथि शोषण, दमन गरियो। सिधासाधा गरिबका जिउन पाउने मौलिक हक, अधिकार, समानताको कुरा उठाउँंदा तथा उनीहरुको पक्षमा उभिँदा साम्राज्यवादी रोमन शासकहरुद्वारा जिसस क्राइष्टलाई निर्मम शारीरिक यातनाको पराकाष्ठासम्म पुर्याइयो। त्यसताकाको मानव मस्तिष्क विकासको स्तरले निर्धारण गर्ने निर्णय क्षमता, दृष्टिकोण, सोचको स्तरले समानता, समावेशी मानवतावादी पाटो भन्दा बढी अहंकारी, हिंसात्मक, विभेदकारी र स्वेच्छाचारी पाटोलाई मानव अस्तित्वको आधार हो भन्ने बुझेको देखिन्छ। त्यसैअनुरूपको सोचको परिणामले गर्दा नेपालमा पनि पृथ्वीनारायण शाहद्वारा भूगोल एकीकरण सम्भव भयो भने जंगबहादुर राणा शासन शैली प्रारम्भ भयो।
नेपालकै सन्दर्भको कुरा गर्दा, भूगोल एकीकरण र जहानिया वा जातीय शासनद्वारा धर्म एकीकरणको परिणामले नेपालको विभिन्न भूभागमा बसोबास गर्ने विभिन्न आदिवासी जनजातिको धर्म, संस्कृति र पहिचान अतिक्रमणमा परेका कुरा बेलाबेलामा उठ्ने गरेको छ, जसको निरन्तरता राणाकालदेखि पञ्चायतकालसम्म चलिरह्यो। जन्म संस्कार, व्रतवन्ध, विवाह, मृत्यु संस्कार, साँस्कृतिक चाडपर्व, पितृकार्य आदि आमजनताका निम्ति महत्त्वपूर्ण घटना हुन्। आमजनताले देखेका भोगेका दुनिया, गाउँघर, समाज र त्यहाँ प्रचलित धर्म, सँस्कृति, भाषा, संस्कार, चाडपर्व नै उनीहरुका निम्ति प्यारो लाग्ने हुन्छ। यसको अतिक्रमण भएको महसुस भएमा उनीहरु त्यसको प्रतिकार गर्न तयार हुन्छन्, किनकि धर्म, संस्कार, सँस्कृति र भूगोलले आफनो पहिचान बोकेको उनीहरु ठान्छन्। वास्तवमा देश भनेको कुनै जड निर्जीव भूगोल होइन, देश भनेको मानव जाति वा जनता हो भनेर बुझ्नु जरुरी छ।
यसै सन्दर्भमा कुरा गर्दा यहाँनेर किरात राईहरुको एउटा व्यावहारिक प्रसङ्ग उदाहरणका लागि लिन सकिन्छ। पुराण, महाभारत ग्रन्थहरुको प्रसङ्ग जोडेर किरातहरुलाई हिन्दु धर्म निकट बताउँदै डा. प्रपन्नाचार्यले किरात राईहरु जनैधारी हिन्दु भएको प्रमाण जुटाइरहँदारहँदै पनि कैयौं किरात राईले आफ्नो धार्मिक पहिचानको छेउ टुप्पा नभेटेपछि इशाई धर्म अवलम्बन गरेका पनि छन्। त्यसैगरी किरात धर्मावलम्वीलाई हिन्दुकरण गरिँदा किरात भाषा, धर्म, संस्कृति तथा संस्कारको मौलिकता हराउँदै गएर र आफ्नो पहिचान गुमाएको महसुस गर्ने अवस्था आएका क्षण पनि देखिएको छ। फलस्वरूप, कुनै एक किरात व्यक्तिले हिन्दु धर्म संस्कारअनुसार कुनै कर्मकाण्ड गर्दा आफ्नै गोत्र थाहा नहुने वा कसको सन्तान हो भन्ने थाहा नहुने र पण्डितको अनुमानको गोत्र धारण गर्नुपर्ने अवस्था भनेको कुनै एक व्यक्तिले आफनै नाम, परिचय, स्मरण गुमेको हालतमा पुग्ने अवस्था हो, जुन कुरा कुनै सभ्य व्यक्तिका लागि खुसीको खबर हो भन्न सकिँदैन। अन्य जातजातिहरुको कथा व्यथा पनि यस्तै भएको हुन सक्छ।
दोस्रो विश्व युद्धपछि विश्व शान्ति, मानव अधिकार र विकासको निम्ति अक्टुबर २४, १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना भएबाट आमशिक्षा, आमचेतनामा स्तरोन्नति, आध्यात्मिक शिक्षामा विस्तार र जातीय समीकरण तथा सांस्कृतिक सहिष्णुतामा वृद्धि, आदि विविध कारणले साम्राज्यवाद, विस्तारवाद र राजकीय शक्तिको आडमा गरिने शोषण, हिंसा, दमन भन्दा मानवतावादी सोच, अहिंसा, शान्ति र समानताको नारा अगाडि आएको कुरा प्रष्ट छ। त्यसैअनुरूप समानता र समावेशी सोच समयसापेक्ष भएको हुनाले यस्तो दृष्टिकोणले एक्काइसौं शताब्दीको बौद्धिक र शिक्षित पुस्तालाई आकर्षित गरेको छ। १९७९ को संयुक्त राष्ट्र संघअन्तर्गत्ा आईएलओ महासन्धि नं. १६९ ले आदिवासी जनजातीको हक, अधिकारको प्रत्याभूति गरेको सन्देश र आजको युगले मागेको मानव अधिकारको रक्षा गर्नु प्रत्येक राष्ट्रको कर्तव्य हुन आउँछ। त्यसैअनुसार राजनीतिक पार्टीहरुले पनि आफ्नो पार्टीगत नीतिमा समयसापेक्ष नीतिगत परिवर्तन गर्न सकेमात्र राजनीतिले समग्रमा लोकप्रियता हासिल गर्नेछ।
राजनीतिक लाभहानिको कुरा गर्ने हो भने पनि शासकीय प्रभाव वा संवैधानिक तथा कानुनी प्रावधानद्वारा गरिएको वा गरिने हिन्दुकरणले कालान्तरमा हिन्दुहरुको संख्यात्मक वृद्धि त होला तर त्यसले लोकतान्त्रिक मूल्य र मान्यता अङ्गीकार गर्ने राजनीतिक पार्टीलाई भन्दा, परम्परागत धर्म संस्कारमा आस्था राख्ने राजनीतिक पार्टीहरुलाई नै मलजल पुर्याउनेछ। यहाँनेर भारतको दृष्टान्त सान्दर्भिक हुन सक्छ। हिन्दुस्तान, पाकिस्तान विभाजनका क्रममा इस्लाम धर्मावलम्वीहरुलाई पनि स्थान दिने सिद्धान्तले भारतलाई धर्म निरपेक्ष राष्ट्र बनाउँंदाको फाइदा कालान्तरमा धर्म निरपेक्ष नीति अवलम्वन गर्ने कांग्रेस (आई) ले एउटा सशक्त राजनीतिक पार्टी बनेर सत्ताशक्तिको फाइदा लिइरहेको उदाहरण हाम्रो सामु छ भने सनातन हिन्दु धर्ममा अस्थावान भाजपाले आफ्नो धर्मसम्बन्धी नीति बदल्न बाध्य हँुदै गरेको बुझ्न सकिन्छ। यथार्थमा, आजको युुगको राजनीतिको धरातल वा एक्काइसौं शताब्दीको राजनीतिक दिशा निर्देश भनेको वर्ग संघर्ष होइन, बजारमुखी अर्थतन्त्र मात्र पनि होइन, बहुभाषा, बहुधर्म, समानता र समावेशी नीतिलाई रक्षा गर्ने राजनीतिक संरचना, लोकतन्त्र बहुलवाद र स्वस्थ राजनीतिक प्रतिस्पर्धासमेतलाई मान्न सकिन्छ ।
प्रकाशित: २२ श्रावण २०७० २१:०९ मंगलबार