विचार

भुइँचालो र बच्ने उपाय

सम्भवतः भूकम्प मानव जीवनकै कठोरतम् विपत्तिमध्येकै एक हो। आगमनको पूर्वानुमान गर्न नसकिने, मानवीय र भौतिक संरचनाको ठूलो क्षति हुनसक्ने र उद्दार कार्य पनि कष्टकर हुने हुँदा भूकम्पलाई अन्य प्राकृतिक प्रकोप जस्तै बाढी, पहिरो, सुख्खा, हिमपात, आँधिबेहरी र सुनामी भन्दा पनि कठोर विपत्तिका रुपमा लिइन्छ।
नेपालमा वि.सं. १२७९ देखि नै भूकम्प गएका तथ्यांक प्राप्त छन्। त्यसयता क्षति पुर्याँउनेखालका २५ भन्दा बढी भूकम्प गएका छन्। वि.सं. १३१२ मा काठमाडौं उपत्यकामा गएको भूकम्पबाट तत्कालीन राजा अभय मल्ल र वि.सं. १४०१ मा तत्कालीन राजा अरी मल्लको समेत मृत्यु भएको थियो। वि.सं. १८९० (७.७ रेक्टर स्केल) र वि.सं. १९९० (८.४ रेक्टर स्केल) नेपालमा आएका भूकम्पमध्ये ठूला मानिन्छन्।
पृथ्वीको सतहमा एकाएक आउने चाल वा कम्पन्नलाई भूकम्प वा भुइँचालोे भनिन्छ। पृथ्वीको सतह सामान्यतया स्थिर र अचल हुन्छ। वास्तवमा चट्टानहरु एकापसमा घुस्दा वा छुटि्टँदा उत्पन्न हुने ऊर्जा विभिन्न तरंगका माध्यमबाट बाहिर निस्कन्छन्, जसले कम्पन पैदा गर्छन्। सतहदेखि सयौं किलोमिटरभित्र भू-गर्भीय खण्ड चलायमान र धेरै चाप र दबाबका कारण अत्याधिक तापक्रम भएको लेदो (म्याग्मा) हुन्छ। त्यही म्याग्मामाथि विशाल चट्टान तैरिइरहेका हुन्छन्। त्यसरी तैरिइरहेका चट्टान एक आपसमा घुस्दा वा छुट्टिँदा म्याग्मा माथितिर आउँछ र यसकोे दबाब सतहसम्म आई कम्पन पैदा हुन्छ। भुइँचालोे मानवीय क्रियाकलापबाट पनि उत्पन्न हुनसक्छ। ठूला खानीबाट फलाम, कोइला, तेल आदि निकाल्दा र आणविक हतियारको परीक्षण गर्दा पनि भूकम्प उत्पन्न हुनसक्छ।
भूकम्प आउनुअघिका तयारी
• समुदाय र घरपरिवारमा भुइँचालोे वा अन्य सम्भावित प्रकोपबारे छलफल गर्ने र परिवारका सदस्यलाई भुइँचालो आएमा कसरी सुरक्षित रहने भन्ने कुराको जानकारी दिने।
• प्रत्येक कोठाको सुरक्षित स्थान थाहा पाइराख्ने (पढ्ने टेबल वा डेस्क, खाट जस्ता फर्निचरमुनि, ढोकाको चौकोशमुनि)।
• घरबाट नजिकको सुरक्षित स्थान पहिचान गर्ने।
• 'घँुडा टेकी गुडुल्की मारी ओत लागी समात'को अभ्यासले संवेदनशील अंगहरूको सुरक्षा गर्न सकिन्छ। यो कार्य प्रतिरक्षाको समयमा आफैं गर्न सकिन्छ। आपतकालीन समयमा धेरै मानिस यो कार्य गर्न बिर्सन्छन्। यो विधिको प्रयोगले चोटपटक लाग्नबाट बच्न सकिन्छ।
• खतरायुक्त स्थ्ाान थाहा पाइराख्ने, ‰यालको ऐना, झुण्डाइएका वस्तु, अग्लो स्थानमा रहेका असुरक्षित सजावटका वस्तु र गह्रौ वस्तु र र्या,कको नजिक नबस्ने।
• घरबाहिर सुरक्षित स्थान पहिचान गर्ने : भवनहरू, रुख, बिजुली वा टेलिफोन वितरणका खम्बा, पुलभन्दा टाढा खुल्ला ठाउँको पहिचान गर्ने।
• ग्यास, पानीको धारा र विद्युत् राम्रोसँग जडान भए/नभएको परीक्षण गर्ने, विद्युतीय सामग्रीमा लचकदार तारहरूको प्रयोग गर्ने र यिनीहरूलाई लाइनबाट छुटाउने तरिकाको ज्ञान राख्ने। पानीको धारा, ग्यास र विद्युतीय उपकरणहरू बन्द गर्ने ठाउँ थाहा पाइराख्ने। यी उपकरण चलाउने विधि जान्ने।
• आपतकालीन ढोकाको पहिचान गर्ने : आपतकालीन अवस्थामा घर वा काम गर्ने स्थानबाट भाग्न मिल्ने सम्भावित सबै बाटो पत्ता लगाउने। र, आपतकालीन अवस्थामा कसरी भाग्ने भनी त्यसको अभ्यास गर्नुका साथै समस्या पहिचान गर्ने।
• घरमा रहेका किटनाशक औषधी, ग्यास, मट्टितेल, पेट्रोल, डिजेल वा त्यस्तै प्रज्ज्वलनशील पदार्थहरू जथाभावी राख्नु हुँदैन।
• फूलका गमलालाई डोरीले बाँधेर वा नलड्ने गरी राख्नुपर्छ।
• पानीको ट्याङ्कीलाई दायाँ-बायाँबाट टेवा दिई नहल्लिने गरी राख्नुपर्छ।
• आपतकालीन टेलिफोन नम्बर, प्राथमिक उपचारको बाकस, बोक्न मिल्ने रेडियो र ब्याट्रीवाला टर्च, अतिरिक्त ब्याट्री, खाना बनाउन ठोस इन्धन, मैनबत्ति, पैसा, अति आवश्यक कागजपत्र र नियमित सेवन गर्ने गरेका औषधी अतिरिक्तको व्यवस्था गरेर झट्पट झोला तयार पारेर भेट्ने स्थानमा राख्नुपर्छ।
• कम्तिमा पनि तीन दिनलाई पुग्ने खाना र पानी जगेर्ना गरेर राख्ने।
• आफ्नो परिचयपत्र सधैँ आफैसँग बोक्ने।
• प्राथमिक उपचारको ज्ञान राख्ने।
• भुइँचालोको समयमा परिवारमा सबै सदस्य एकै स्थानमा नहुन सक्छन्, त्यसका लागि आपतकालीन सञ्चारको योजना बनाउने
घरभित्रको सुरक्षा :
• गह्रौ सजावटका वस्तु जस्तै- दराज, भित्तामा राखिएका किताव र्याखकहरू राम्ररी बाँधेर वा काँटी/कब्जा लगाएर नहल्लिने बनाउने, जसबाट यी वस्तु मानिसमाथि खसेर हुने चोटपटकबाट बच्न सकिन्छ।
• ठूलो, गह्रौं र फुट्न सक्ने वस्तुहरू र्यावकको तल्लो भागमा राख्ने।
• प्रज्ज्वलनशील पदार्थ घरबाहिर राख्ने।
• जुत्ता भेटिने स्थानमा राख्ने। फुटेका सिसाका टुक्रा र अन्य बिझ्न सक्ने वस्तुबाट बच्न एक जोर जुत्ता र टर्चलाइट प्लाष्टिकमा राखेर ओछ्यानमुनि राख्ने। जसले गर्दा अँध्यारोमा खोज्ने झन्झटबाट छुटकारा पाइन्छ।
• गह्रौ वस्तुहरू जस्तै - चित्र र ऐना, ओछ्यान र मानिस बस्ने ठाँउभन्दा टाढा झुण्ड्याउने।
• रातमा मानिस निदाएको अवस्थामा जान सक्ने भुँइचालोका लागि सटर वा पर्दा लगाउने र विशेषगरी ओछ्यानमा ‰यालका सिसाको टुक्रा पस्नबाट बचाउने।
• आवश्यक सामग्री जोहो गर्ने : खाद्यान्न, पिउने पानी, प्राथमिक उपचारको बाकस र अत्यावश्यक औषधी, वैकल्पिक ब्याट्रीसहितको टर्च लाइट, बोक्न मिल्ने रेडियो (विद्युत् नभएको अवस्थामा भुइँचालोेको सूचना पाउन रेडियो एउटा राम्रो माध्यम हो) को व्यवस्था गर्ने।
भुइँचालोे जाँदा के गर्ने?
• धैर्य गर्ने : घरभित्र भए भित्रै र बाहिर भए बाहिर नै बस्ने। घरभित्र वा बाहिर गर्नाले चोटपटक लाग्नसक्छ।
• घरभित्र भए ‰याल, ढोका, फुट्न सक्ने वा खस्नसक्ने गह्रौं वस्तुदेखि टाढा बस्ने।
• पहिले नै सुरक्षित भनेर चिनिएका ढोकाको चौकोस, मन्दिर, टेवुल, खाट जस्ता फर्निचरमुनि वा त्यस्तै सुरक्षित स्थानमा बस्नुपर्छ।
• 'घुँडा टेकी गुडुल्की, ओत लागी समात' को विधि अपनाउने।
• बालबालिका र पाल्तु जनावरलाई सुरक्षितसाथ राख्ने। बालबालिका र पाल्तु जनावरलाई सम्भव भएसम्म आफ्नै साथमा सुरक्षित स्थानमा राख्ने। विषेशगरी उनीहरुका अंग सुरक्षित भए/नभएको सुनिश्चित गर्ने।
• भुइँचालाको समयमा सकेसम्म घर नछाड्ने र छोड्नैपर्ने अवस्था आएमा नआत्तिइकन निस्कने। हतार गर्दा चोटपटक लाग्न सक्छ। सम्भावित आगोबाट सावधान रहने। बाहिर निस्कँदा विद्युतीय लिफ्ट प्रयोग नगरी भर्यानङ प्रयोग गर्ने।
• घरबाहिर भए रुख, साइनबोर्ड, भवन, विद्युतीय तार वा खम्वा नभएको खुला ठाउँमा जाने।
• कम्पन नरोकिँदासम्म टाउको सुरक्षित तरिकारले छोप्ने।
• सवारी साधन चलाइरहेको अवस्थामा भुइँचालो गए सवारी साधनको गति विस्तारै कम गर्दै बाटोको छेउतिर लगेर रोक्नुपर्छ। सवारी साधनलाई एक्कासि रोक्दा झन् ठूलो दुर्घटना हुन सक्छ। सवारी साधन रोक्दा आकाशे पुल, ठूलो बिजुलीका पोल वा लठ्ठा, अग्ला रुख, सुरुङ र साइन बोर्डको छेउमा रोक्नुहुँदैन।
• जहाँ जुन अवस्थामा भए पनि सावधान रहने। भिडभाडमा भए आफूलाई जोगाउने। घर बाहिर भए, साइनबोर्ड, भवन, विद्युतीय तार वा खम्बा नभएको खुला ठाँउमा जाने।
• यदि भुइँचालोबाट घर भत्किएर पुरिइहाल्यो भने विश्वस्त भएर खोजी तथा उद्दार टोलीको प्रतीक्षा गर्नुपर्छ। यस्तो अवस्थामा सिठ्ठी, सुसेली, बजाएर तथा बज्ने सामान भेटिए त्यसलाई बजाएर उद्दारकर्मीलाई थाहा दिने प्रयास गर्नुपर्छ।
• घरभित्र भए भुइँचालोको कम्पन रोकिएपछि मात्र घर बाहिर निस्कने। यस्तो अवस्थामा दौडने, चिच्च्याउने र धकल्ने जस्ता कार्य नगर्ने।
नेपाल भूकम्पीय जोखिमको दृष्टिले 'उच्च जोखिम' क्षेत्रमा पर्छ। नेपाल विश्वमा एघारौँ र दक्षिण एसियामा भारत, पाकिस्तान र अफगानिस्तानपछि चौथो भूकम्पीय जोखिमयुक्त मुलुकमा पर्छ। भूकम्प स्वयंले मानवीय क्षति पुर्‍याउँदैन। मानव निर्मित संरचनाको प्रकृतिले मानवीय क्षति पुर्याकउने हुँदा यिनको निर्माण गर्दा भूकम्पीय जोखिमलाई ध्यान दिने र पूर्व तयारीका उपाय आत्मसात गरी व्यवहारमा उतार्न सके भूकम्पबाट हुने मानवीय क्षति निश्चितरुपमा कम गर्न सकिन्छ।
लेखक क्यानेडियन रेडक्रससँग आबद्ध एसियाका लागि विपद् जोखिम न्युनीकरण विशेषज्ञ हुन्।

प्रकाशित: ८ आश्विन २०६९ २३:११ सोमबार