शायद, यही पढ्ने संस्कृतिलाई बढावा दिनका लागि राजधानीमा चार दिने एनसेन नेपाल लिटरेचर फेस्टिबल सुरू गयरिएको छ। बिहीबारदेखि सुरू यो फेस्टिबल अहिले पनि चलिरहेको छ। जहाँ पढ्ने, लेख्ने, सुन्ने र प्रतिक्रिया व्यक्त गर्ने क्रम जारी छ। लिटरेचर फेस्टिबल भनिए पनि साहित्यबाहिरका राजनीति, समाज, मिडिया, युवा चाहना जस्ता विविध क्षेत्र समेटेकाले होला, यसको आकर्षण सबै वर्ग र तप्काका मानिसमा देखिएको छ। अहिले नेपाली युवामाझ व्यापकरुपमा जरा गाड्न सफल न्यु मिडियाबारेको छलफलले युवा पुस्तालाई आकर्षित गर्नेछ भने मातृभाषा लेखनले जाति/जनजातिले महोत्सवप्रति स्वामित्व अनुभव गर्ने अवस्था सृजना भएको छ। त्यतिमात्र हैन, फिल्म, इतिहास, नाटक, आध्यात्मिकता जस्ता विविध क्षेत्रलाई समेटेर महोत्सवले यो सबैको साझा हो भन्ने विश्वास दिलाउन सकेको छ। जसले महोत्सवको रौनकमा दम भरेको छ। हुन त 'जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि' भने झैं अप्रत्यक्षरुपमा साहित्यले सबै क्षेत्र समेट्ने भएकाले पनि यो फेस्टिबलमा धेरै विषयले प्रवेश पाएको हुन सक्छ। यसले पर्वलाई धेरैले अपनत्व ग्रहण गर्न सक्ने वातावरण पनि बनेको छ।
लेखक र पाठकबीच प्रत्यक्ष भेटघाट हुने अवसर नै यो पर्वको रमाइलो विशेषता बनेको छ। जहाँ पाठकले आफ्ना परिचित/अपरिचित प्रिय लेखकसँग भलाकुसारी गर्न पाउनेछन्। आफूलाई लागेको तीतो पोख्न पाउनेछन् भने जिज्ञासाको भारी पनि बिसाउन सक्नेछन्। खारिएका नेपाली लेखक, प्राध्यापक, साहित्यकार, सम्पादक/पत्रकार मात्र हैन, विदेशी अतिथिहरुको उपस्थिति यो उत्सवको अर्को महŒवपूर्ण पाटो रह्यो। प्रसिद्ध भारतीय पत्रकार एवं लेखक विनोद मेहताका साथै अद्वैता कला र अमिस त्रिपाठीजस्ता भारतीय लेखकहरूको सहभागिताले पनि नेपाली साहित्यकर्मीबीच उल्लास नै भित्र्यायो। आफूले पढिरहेका, सुनिरहेका र कल्पना गरिरहेका मानिससँग आँखैअगाडि बातचित्को व्यवस्था मिलाएर आयोजकले पाठकहरुलाई अविश्मरणीय गुन लगाएका छन्।
यो यस्तो खालको दोस्रो उत्सव हो। यो वर्षमा कति पटक जरुरी पर्ला वा केन्द्रीय र क्षेत्रीयस्तरमा पनि आवश्यक पर्ला कि नपर्ला भन्नेबारे बहस गर्न सकिन्छ। तर यस्तोखालको कार्यक्रम सरकारी क्षेत्रबाट गरिनुपर्नेमा भने दुई मत हुन सक्दैन। किनकि साहित्य, कला, मनोरञ्जन, संस्कृति जस्ता विषय कुनै एक व्यक्ति, संस्था वा क्षेत्रविशेषको हुन सक्दैन। तर पनि यस्तो कार्यमा देखिएको सरकारी निष्त्रि्कयताबीच निजी स्तरको बुकवर्म ट्रस्ट संस्थाले यो उत्सव आयोजना गरेर पढ्ने/लेख्ने संस्कृतिका पक्षधरलाई ठूलो गुन लगाएको छ। त्यतिमात्र हैन, यस्तो महŒवपूर्ण कार्यमा सहयोग पुर्याएर एनसेलले पनि सामाजिक उत्तरदायित्व तथा भाषा र संस्कृतिको उत्थानमा आफ्नो दायित्व प्रष्ट्याएको छ।
मुलुकमा यस्तै कार्य गर्न भनेर खोलिएको नेपाल प्रज्ञा प्रतिष्ठान के गर्छ, धेरैलाई जानकारी छैन। यतिखेर भने सोही प्रतिष्ठानको आँगनमा यस्तो उत्सव आयोजना हुनुले ऊ पक्कै झस्किएको हुनुपर्छ। त्यसैले आगामी दिनमा यो प्रतिष्ठानले निजी स्तरका उत्साही आयोजकहरुसँग समन्वय गर्दै साहित्यिक उत्सवहरु आयोजनाको पहलकदमी लिनुपर्छ। त्यसो भयो भने यस्तो कार्यक्रम अझै भव्य, बढी सहभागीमूलक र प्रभावकारी हुनेछ।
प्रकाशित: ७ आश्विन २०६९ ०२:२० आइतबार