विचार

इतिहासमा महिला

नारी दिवसका सन्दर्भमा नेपाली महिलाको इतिहास उत्खनन गर्नु सान्दर्भिक छ। अहिलेको पुस्ताले थाहा पाएका समावेशी, समानुपातिक र आरक्षण केही थिएनन्। शिक्षा, सूचना, विज्ञान र प्रविधिको विकास पनि भएको थिएन। त्यस्तो बेलामा पनि गर्विलो, गरिमामय इतिहास बनाएका थिए– नेपाली महिलाले। हरेक देशका आआफ्ना परिवेश र अवस्थाअनुसार इतिहास बनेको हुन्छ।

मध्यकालीन नेपालमा भारतका नान्य देव कर्णाटकबाट आएर बाराको सिम्रौनगढमा तिरुहत (डोय) राज्य स्थापना गर्छन्। यस वंशले लगभग २ सय २७ वर्षसम्म राज्य गर्छ। जुन राज्यलाई वि.सं. १३८१ मा दिल्लीका बादशाह गयासुद्धिन तुगलकले आक्रमण गर्छन्। तत्कालीन राजा हरिसिंह देव भाग्छन्। उनको मृत्यु भाग्दाकै अवस्थामा सिन्धुलीमा भयो भनिन्छ। उनै हरिसिंह देवकी रानी देवलदेवी र छोरा जगत्सिंहलाई तत्कालीन भक्तपुरका मल्ल राजा रुद्र मल्लले शरण दिन्छन्। यिनै देवलदेवीले रुद्र मल्लको निधनपश्चात् ४० वर्षसम्म एकछत्र राज्य सञ्चालन गरेकी थिइन्। यसै घटनामा आधारित भएर साहित्यकार भीम कोइरालाले ‘महारानी देवलदेवी’ उपन्यास लेखेका छन्। मध्यकालीन इतिहासको सूक्ष्मभन्दा सूक्ष्म पक्ष केलाएर लेखिएको यो उपन्यास जति चर्चामा आउनुपथ्र्यो, त्यति आएको पाइँदैन। अचम्म लाग्छ। इतिहासमा मानिसको रुचि कम भएका कारण हो वा प्रचारमा भन्दा साहित्य साधनामा रमाउने कोइरालाले शालीन स्वभावले गर्दा हो, थाहा भएन।

त्यसबेला गंगादेवी, लालमती, ऋद्धिलक्ष्मी, योगमतीको पनि राजनीतिमा शीर्ष स्थान थियो। पृथ्वीनारायण शाहको मृत्युपश्चात् राजा भएका प्रतापसिंह शाहको गद्दीमा बसेको २ वर्ष १० महिनामै मृत्यु हुन्छ। अढाई वर्षका छोरा रणबहादुरको नायबी भएकी राजेन्द्रलक्ष्मी पति वियोगको शोकबाट ग्रस्त  भएर बसिनन्। ससुराको एकीकरण अभियान जारी राखिन्। उनकै नेतृत्वमा तनहुँ, लमजुङ, कास्कीजस्ता शक्तिशाली चौबीसी राज्य नेपालमा मिलाइन्। त्यस्तै सुवर्णप्रभा, ललिता त्रिपुरासुन्दरीले पनि नायबी चलाएका थिए। त्रिपुरासुन्दरीले राजधर्म नामक पुस्तक पनि लेखेकी छन्।

विभिन्न क्षेत्रमा योगदान पु-याएका ज्ञात/अज्ञात नेपाली महिलाको इतिहास उत्खननले उनीहरूप्रति आदर/सम्मान त हुन्छ नै, साथै अहिलेको पुस्ताले प्रेरणा पनि पाउँछ।

पछि राणा प्रधानमन्त्री चन्द्रशमशेरकी कान्छी रानी बालकुमारीको अध्यक्षतामा दिव्या कोराला सचिव भएको महिला समिति गठन भएको थियो। बिपी कोइरालाकी आमा दिव्याको आग्रहमा खोलिएको भनिएको समिति ६ महिनाभन्दा बढी टिक्न सकेन। तर नेपाली महिलाको इतिहासमा एउटा कोसेढुंगा थियो त्यो। त्यस्तै बिपीका पिता कृष्णप्रसाद कोइरालाको पहलमा महिला समिति स्थापना भएको थियो, भनिन्छ। समितिको अध्यक्षमा योगमायादेवी, उपाध्यक्षमा मोहनकुमारी (मातृकाकी आमा) सचिवमा दिव्याकुमारी (बिपीकी आमा) र उपसचिवमा पूर्णकुमारी देवी (मनमोहन अधिकारीकी आमा) आदि थिए, भनिन्छ (कोइराला जीवनचन्द्र, मातृकाबाबु चिन्तन र स्मृति)। यी दुई संस्थामध्ये कुन जेठो थियो भन्ने पत्ता लगाउन अनुसन्धान नै गर्नुपर्छ। तर मातृका कोइरालाले ‘योगमायाको अध्यक्षतामा खुलेका संस्थालाई नेपालको इतिहासमा सर्वप्रथम महिला जागृतिको प्रतीकका रूपमा स्थापित संस्था थियो’ भनेका छन्।

पछि २००४ सालमा मंगलादेवी सिंहको अध्यक्षतामा ‘नेपाल महिला संघ’ स्थापना हुन्छ। जसमा स्नेहलता सचिव, कोषाध्यक्ष श्रीमाया तथा रेवन्तकुमारी आचार्य, सीतादेवी शर्मा सदस्यका रूपमा आबद्ध भए। त्यो कार्य समितिमा कामक्षादेवी, रजनी, चम्पादेवी, साधना प्रधान, साहना प्रधान आदि थिए (लुइँटेल, पुण्यप्रसाद, नेपालमा नारी जागरण)। पहिलोपल्ट महिला मताधिकारको आवाज मंगलादेवी सिंहले उठाइन्, पद्मशमशेरले महिलालाई मताधिकार दिए। भारतमा भन्दा पहिला नेपाली महिलाले मताधिकार पाएका थिए। त्यस्तै आदर्श महिला संगठन रेवन्तदेवी आचार्य, पुण्यप्रभादेवी, कामक्षादेवी भएको संगठन भारतको जयनगरमा स्थापना भएको र यसले निरन्तरता नपाएको भन्ने भनाइ पनि छ। त्यस्तै २००८ फागुन २४ गते अर्थात् मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर कामक्षादेवीले ‘अखिल नेपाल महिला संघ’ खोलिन्। जसमा साधना र साहना प्रधान थिए (पूर्ववत्, लुइँटेल)।

२००७ सालको क्रान्तिमा मुक्ति सेनामा भाग लिने महिला पनि थिए भन्ने कुरा पत्यार नलाग्न पनि सक्छ। अहिले मुक्ति सेनासँग सम्बद्ध धनकुमारी गिरी, शुकवती सुब्बा, जमुना राई, रेणु सुब्बा, इन्दिरा कुमारी सुब्बाको इतिहास कांग्रेस आफंैले सम्झन सकेको छैन। हरेक आन्दोलनको नेतृत्व आफूले गरेको दम्भ र अहम्मा रमाउने कांग्रेसले आफ्नै इतिहास खोतल्न सकेको छैन। मुक्ति सेनालाई सहयोग पु¥याउनेहरूमा माया गिरी, रत्नदेवी कर्माचार्य, रुक्मिणी श्रेष्ठ, लक्ष्मीदेवी कर्माचार्य, कमलादेवी कर्माचार्य, दुर्गादेवी कर्माचार्य आदि थिए भन्ने भनाइ छ (पूर्ववत्, लुइँटेल)।

२००७ सालको क्रान्तिपछि बनेको राणा–कांग्रेसको संयुक्त सरकारमा महाकाली क्षेत्रका ‘गभर्नर’ भएका सुदूरपश्चिमका विद्रोही नेता भीमदत्त पन्तले आफ्नो कार्यकालमा त्यस क्षेत्रमा महिलासमेत सहभागी भएको शान्ति सेना गठन गरेका थिए भनिन्छ (सहिद, मदन–आश्रित स्मृति प्रतिष्ठान)। यसरी २००७ सालको राजनीतिक आन्दोलनमा महिलाले सशक्त रूपमा भाग लिनाका साथै सक्दो सहयोग गरेका थिए। तर २००७ सालदेखि २०१५ जेठ २ गतेसम्म जेजति मन्त्रिमण्डल गठन भए, तिनमा कुनै पनि महिलाले अवसर पाएनन्।

२०१६ जेठ १३ गते विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको मन्त्रिमण्डलमा स्वास्थ्य र स्वायत्त शासनमन्त्रीको कार्यभार द्वारिकादेवी ठकुरानीले पाइन्। त्यसबेला उनी उपमन्त्री थिइन् भने कोइरालाकै नेतृत्वमा २०१६ असार १६ गते गठन भएको मन्त्रिमण्डलमा सहायक मन्त्रीको हैसियत पाएकी थिइन्। यसरी नेपालको इतिहासमा पहिलो महिला मन्त्री भनेर इतिहास रच्ने ठकुरानी हुन्।

कुनै बेला त्यस्तै सशस्त्र संघर्ष गर्ने निर्णय गरेको नेपाली कांग्रेसका लागि हतियार जुटाउने काममा एक्ली शैलजा आचार्य खटेकी थिइन्। त्यस क्षणको सम्झना गर्दै उनले लेखेकी पनि छन्– ‘हतियार संकलन गर्ने सबैभन्दा सजिला व्यक्ति भनेका डाका नै थिए। त्यसैले उनीहरूका माध्यमबाट हतियार संकलन गरेर नेपाल भिœयाउने काम गर्न थाल्यौं। भारतमा संकलन गरेको हतियार बोर्डर हुँदै नेपाल ल्याउन म खटिएकी थिएँ। उनीहरू जता–जता जान्थे, म पनि सँगसँगै हिँड्नुपथ्र्यो। एक त केटी मान्छे, त्यसमा पनि हतियार संकलन गर्ने डाकाहरूसँग हिँड्नुपर्ने, चानचुने काम त होइन नि ! तैपनि ममा त्यो साहस र आँट कसरी पो आयो ! मलाई केटीजस्तो नदेखियोस् भनेर मैले केटाको जस्तै छोटो कपाल काटेकी थिएँ। केटाको जस्तै जिन्स पाइन्ट लगाउँथे। त्यसैले म उनीहरूसँग हिँड्दा कसैले पनि केटा हो कि केटी हो भनेर छुट्याउन सक्दैनथिए (वरगाछी, पूर्णांक १४, गुराँस पुस्तकालय विराटनगर)।’ जीवनको उत्तराद्र्धकालमा आचार्यका लागि कांग्रेस आफ्नो होइन, बिरानो बनेको थियो।

विभिन्न क्षेत्रमा योगदान पु¥याएका ज्ञात÷अज्ञात नेपाली महिलाको इतिहास उत्खननले उनीहरूप्रति आदर÷सम्मान त हुन्छ नै, साथै अहिलेको पुस्ताले प्रेरणा पनि पाउँछ। नारी दिवस मनाइरहेको क्षणले अझ बढी सार्थकता पनि पाउनेछ। समान ज्यालाका लागि कपडा कारखानामा काम गर्ने न्युयोर्कका श्रमिक महिलाले सडकमा गरेको विद्रोह ८ मार्चमा परेको दिनको स्मरण र सम्मानका लागि नारी दिवस मनाउने परम्परा सुरु भएको हो भन्ने तथ्य आत्मसात् गर्दै इतिहास खोज्न विलम्ब गर्न हुँदैन। यसले नारी दिवस मनाउनु अझ अर्थपूर्ण बनाउनेछ।

प्रकाशित: २५ फाल्गुन २०७६ १०:३९ आइतबार

महिला अन्तर्राष्ट्रिय_श्रमिक_महिला_दिवस