विचार

भारत ! नेपाली भूमि छोड

पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगाको तरुल भनेका थिए। उनले भनेका कुरा अहिले नेपालीको गलामा अड्केको छ। नेपालको भूमि लिपुलेक दुई ढुंगाको तरुल बनेको छ। नेपाल सरकारलाई थाहै नदिई भारत र चीनले लिपुलेकमा व्यापारिक केन्द्र बनाएका छन्, तरुल लिपुलेकलाई दुई ढुंगाले थिचेका छन्। राजा महेन्द्रको निरंकुश शासनकालमा चीन र भारतबीच द्वन्द्व चलिरहँदा पञ्चायत टिकाउने नियतले भारतलाई खुसी पार्न सुरक्षाका दृष्टिले नेपालको भूमि कालापानीमा भारतीय अर्धसैनिक बल तैनाथ गरिएको थियो, जुन अहिले पनि त्यहाँ अड्डा जमाएर बसेको छ।  

अहिले भारत र चीनबीच कटुता छैन। दुई विशाल शक्तिशाली छिमेकी देशबीच यो व्यापारिक सम्बन्ध विस्तार हुँदै गएको छ। उनीहरू एसिया प्रथम बनाउने महŒवाकांक्षासाथ अगाडि बढिरहेका छन्। तर नेपाल यी दुई देशबीचको सेतु हो। भूगोल र भूराजनीतिक दृष्टिले महत्वपूर्ण ‘ट्रान्जिट प्वाइन्ट’ हो। तापनि छिमेकी देश भारत र चीनका आआफ्नै आर्थिक र सामरिक स्वार्थ भएकाले भारतले जस्तोसुकै हस्तक्षेपकारी भूमिका खेले पनि चीन लिपुलेकको व्यापारिक सम्झौतामा आबद्ध भइसकेको छ।

भारतले जबर्जस्ती नेपालको भूमि आफ्नो नक्सामा पारेको छ, त्यो तत्काल हटाउनुपर्छ र कालापानीबाट आफ्ना अर्धसैनिक बल फिर्ता गरी नेपालको भूमि छाड्नुपर्छ।

परापूर्वकालमा नेपाल–तिब्बतबीच युद्ध भएको थियो र नेपाली बहादुरहरूले तिब्बतलाई परास्त गरेका थिए। पछि चीनले तिब्बतलाई आफ्नो अधीनस्थ बनाएपछि चीन र नेपालबीच सुमधुर सम्बन्ध रहँदै आएको छ र चीनले नेपालप्रति कहिल्यै गिद्धे दृष्टि लगाएको छैन। उसले नेपालको विकासका लागि हरतरहले सहयोग गर्दै आएको छ। उसको एउटै स्वार्थ हो– नेपालको भूमि प्रयोग गरेर चीनविरोधी गतिविधि नहोस्। लिपुलेकमा बाहेक चीनले नेपालको भूमि हडप्ने कुकर्म गरेको छैन। तर उसको भारतसँगको नयाँ सम्बन्धले गर्दा चीनका राष्ट्रपति सी चिनफिङ पहिले भारत भ्रमण गरेर  नेपाल आएका छन्। स्पष्ट छ– यी दुई देशबीच नेपाल दुई ढुंगाबीचको तरुल नै हो, सेतु बन्न सकेको छैन।

भर्खरै भारतले नेपालको भूमि आफ्नो नक्सामा पारेको छ। सोझै नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो कब्जामा पारेको छ। त्यसको जनस्तरमा व्यापक विरोध भइरहेको छ र नेपाल सरकार, परराष्ट्र मन्त्रालयले समेत भारतको नयाँ नक्सा अस्वीकार गरिसकेका छन्। सुस्ता, महेशपुरलगायत नेपालका विभिन्न स्थानमा भारतले सीमा मिचेको छ। जंगे पिलर गायब गरेको छ र सीमाका जनता रातारात भारतीय बन्न बाध्य पारिएका छन्। भारतका मानिसलाई नेपाली नागरिकता दिलाएर नेपाललाई फिजी बनाउने दुराकांक्षामा भारत लागिपरेको छ। टिस्टा कांगडासम्मको नेपाल अहिले मेची–महाकालीमा खुम्चिएको छ। त्यसमै पनि ब्रिटिस उपनिवेशवादको जन्जिरमा जेलिएको पराधीन भारत सन् १९४७ मा आजाद भएपछि उसकै सिको गर्दै नेपालमा नवउपनिवेशवाद लादिरहेको छ।

देश गरिब होस् वा सामरिक दृष्टिले कमजोर, उसको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डता बरकरार हुन्छ। सानो देखेर हेप्ने, हस्तक्षेप गर्ने विस्तारवादी काम नेपाली जनतालाई किमार्थ सह्य छैन। देशभक्त नेपाली आफ्नो स्वाधीनता रक्षार्थ मर्न तयार छन्, एक ढिक्का छन्। एक इन्च नेपाली भूमि भारतलाई सुम्पन तयार छैनन्।

नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हो। अन्तर्राष्ट्रिय न्यायालय पनि छ। भारतले जुन हस्तक्षेपकारी काम गर्दै छ, त्यसबाट नेपाली जनता भारतप्रति क्रुद्ध र क्षुब्ध बन्दै गइरहेका छन् र स्वभावैले नेपालीको आकर्षण उत्तरी छिमेकीतर्फ बढ्दै गइरहेको छ। यस कुराले नेपालमा भारतप्रति नकारात्मक असर परेको छ, जुन भारतका लागि राम्रो होइन। भारतले जबर्जस्ती नेपालको भूमि आफ्नो नक्सामा पारेको छ, त्यो तत्काल हटाउनुपर्छ र कालापानीबाट आफ्ना अर्धसैनिक बल फिर्ता गरी नेपालको भूमि छाड्नुपर्छ। अन्यथा नेपाल र भारतको सम्बन्ध झन कटु बन्दै जानेछ। कहिले नाकाबन्दी गरेर नेपालीलाई सताउने, कहिले सीमामा तटबन्ध गरेर नेपाली भूमि जलमग्न गराउने त कहिले सीमाको दशगजा मिचेर घर बनाउनेजस्ता क्षुद्र काम बन्द गर्नुपर्छ। 

नेपाल आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले नेपाली नेताहरूलाई ऋषि मनको अर्ति दिने अनि आफूचाहिँ हस्तक्षेप मनका हुने कुरा आफैंमा अन्तरविरोधी छ। उखानै छ–मुखमा रामराम, बगलीमा छुरा। ऋषि मनको अर्ति त्यस्तै हो। भारतले नेपालको भूमि छाड्दैन, विस्तारवादी नीति त्याग्दैन भने नेपाल सरकार अन्तर्राष्ट्रिय न्यायालय जानुपर्छ। संयुक्त राष्ट्रसंघको सदस्यका नाताले त्यहाँ आफ्नो आवाज बुलन्द गर्नुपर्छ। र, त्यसको स्थायी सदस्य हुन खोजेको भारतविरुद्ध भूमिका खेल्नुपर्छ।

नेपालको नक्सा प्रमाणका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग हुन्। नेपाल सरकारले पनि आफ्नो विज्ञप्तिमा नेपालकै भूमि भनेको छ। सीमा समस्या समाधानका लागि दुवै देशका सीमाविज्ञबीच वार्ता र अध्ययन÷अनुसन्धान गरी सत्यतथ्य निकाल्नुपर्नेमा भारतले एकतर्फी रूपमा जम्मु र काश्मीरको नक्सा कोर्ने क्रममा नेपालको भूमि आफ्नो नक्सामा पार्नु सरासर अन्याय हो, विस्तारवाद हो। यस्तो काम गर्नु अन्तर्राष्ट्रिय रूपमै भारत बदनाम हुनु हो। भारत ! नेपाली भूमि छोड।

प्रकाशित: २४ कार्तिक २०७६ ०६:०५ आइतबार

पृथ्वीनारायण_शाह भूमि लिपुलेक