विचार

समाज स्वस्थ बनाउने जिम्मा कसको ?

गत साता एउटा विद्यालयमा आयोजित कविता वाचन प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागी हुन पुगेकी थिएँ। कक्षा ३ देखि ५  सम्मका नानीहरू सहभागी उक्त कविता प्रतियोगितामा विभिन्न कविता प्रस्तुत भए, तीमध्ये प्रायः कवितामा ती नानीका आफ्नै भावना होइन, आयोजक विद्यालयका साहित्य रचना विभाग हेर्ने एकजना शिक्षकको जोडदार प्रभाव झल्किन्थ्यो। किनकि प्रस्तुत रचनाहरूमा त्यस्ता शब्द थिए, जसले दलका नेता तथा विभिन्न निकायलाई खुइल्याउने खालका थिए। त्यो तहसम्मको सोचाइ बाल मस्तिष्कमा आउन सक्दैन। 

बीच–बीचमा तालीको गडगडाहटले हल गुन्जायमान हुँदै भव्य रूपमा कविता प्रतियोगिता सम्पन्न भयो। तर मेरो मनमा केही गम्भीर प्रश्न उठे– जुन किसिमले कलिला बालबालिकालाई देशका कार्यकारी प्रमुख, दलका नेता वा भनौं राज्य व्यवस्थाप्रतिलक्षित कटाक्षपूर्ण कविताहरू वाचन गर्न लगाइयो, त्यो ठीक थियो ? यसले ती बालबालिकाको रचनात्मक क्षमता बढाउन सहयोग गर्ला ? ती कलिला बालबालिकालाई के थाहा, कुन राजनीतिक दल कस्ता काम गर्दै छन्, को बेइमान र को इमान्दार छन् ? यस्तो अवस्थामा देशको नकारात्मक अवस्था प्रस्तुत गरिएका रचना वाचन गर्न लगाउँदा कतै तिनको मनमा असुरक्षाको भावना त आउँदैन ? त्यो विद्यालयमा आबद्ध प्रभावशाली व्यक्तिहरूको कुनै राजनीतिक दलप्रति आस्था हुनु स्वाभाविक मान्न सकिन्छ, तर त्यसको आडमा आफूलाई मन नपरेका व्यक्तिविरुद्ध विष वमन गर्न ती नानीहरूलाई त्यसरी प्रयोग गर्नु उचित हो त  ? भविष्यका कर्णधार यी बालबालिकाको मस्तिष्कमा यसरी घृणा र नकारात्मकताको बीउ रोपिँदा त्यसको प्रभाव भोलि कस्तो पर्ला ? यसले एउटा स्वस्थ समाज निर्माणमा सहयोग  गर्ला कि असहयोग ?

हाम्रो समाजको स्वास्थ्य कस्तो छ भनी बुझ्न सार्वजनिक स्थलहरूको निरीक्षण गर्नुपर्छ, सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा हुने कुराकानी सुन्नुपर्छ र सामाजिक सञ्जाल हेर्नुपर्छ।

विभिन्न अनुसन्धानबाट प्रमाणित तथ्य के हो भने स्वस्थ बच्चा जन्मिनाका लागि आमाको शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुन जरुरी छ। त्यसैले विशेष गरी गर्भावस्थामा महिलालाई सकारात्मक सोच राख्न र राम्रा–राम्रा अनुभूति लिन सुझाब दिने गरिन्छ। सोच्ने र अनुभूति गर्ने कुरा व्यक्तिगत चाहनामा भर पर्छ कि अन्य बाहिरी तŒवको बढी प्रभाव हुन्छ, त्यो अलग्गै छलफलको विषय हुन सक्छ। यहाँचाहिँ के चर्चा गर्न खोजिएको हो भने जसरी आमाको गर्भमा रहेको बच्चाका लागि उसकी आमाको शारीरिक र मानिसक अवस्थाप्रति हामी चिन्तित हुन्छौं, त्यसरी हरेक व्यक्तिलाई असर पार्ने समाजको स्वास्थ्यबारे भने हामी किन मतलब गर्दैनौं ? वास्तवमा  सामाजिक  स्वास्थको जिम्मा कसको हो त ?

अचेल दिनहुँजसो साना नानीदेखि बच्चाकी आमा तथा विभिन्न पेसामा संलग्न बुद्धिजीवीलेसम्म आत्महत्या गरेको खबर आउने गरेका छन्। जसका पछाडि कतै सामाजिक स्वास्थ्य नै कारक तŒव त होइन ? वरिष्ठ समाजशास्त्री इमाइल दुर्खिमका अनुसार आत्महत्याजस्ता घटनामा मर्ने व्यक्ति स्वयं मात्र नभई, समाज नै जिम्मेवार हुन्छ। यसरी उनले कतै समाजिक स्वास्थ्यतर्फ संकेत गर्न खोजेका त  होइनन् ?

मान्छेका लागि सबैभन्दा मूल्यवान् आफ्नो जीवन हुन्छ, जसको  विकल्प हुनै सक्दैन। जब कुनै समाजमा एउटा व्यक्तिले आफूलाई सम्मानित, सुरक्षित र महŒवपूर्ण महसुस गर्न पाउँदैन, तब उसमा निराशा उत्पन्न हुन्छ र के गरी हुन्छ समाजको ध्यान आफूतर्फ तान्ने प्रयास गर्छ। फलस्वरूप ऊ आत्महत्यासम्म पुग्छ। जहाँ समाज स्वस्थ छ, मानवीय सम्बन्धहरू मूल्यवान् छन्, अनि समाजका सबै एकाइ र संरचनासँग स्वस्थ सम्बन्ध छ, त्यहाँ मानिसले निराश भएर जीवनै त्याग्नुपर्ने अवस्था सिर्जना हुँदैन। आफैंलाई समाप्त पार्ने सोच त्यतिबेला मात्रै आउँछ, जतिबेला मान्छेले आफ्नो समस्या समाधानको कुनै उपाय भेट्टाउँदैन। समाजबाट आफू तिरस्कृत हुने अवस्था मात्र देख्छ, जुन उसलाई असहइ हुन्छ र आत्महत्या गर्न पुग्छ। उदाहरण नै हेरौं न, हामीकहाँ परीक्षामा असफल हुँदा, ऋण तिर्न नसक्दा, चरित्रमा दाग लाग्दा मानिसले आत्महत्या रोजेका छन्। यसो हुनुमा सम्बन्धित व्यक्ति मात्रै जिम्मेवार हुँदो हो त संसारभरि नै आत्महत्याका कारण उस्तै हुनुपर्ने ! त्यस्तो त पाइँदैन। यसर्थ यसको मुख्य कारण सामाजिक वातावरण, जुन विश्वका समाजपिच्छे फरक–फरक छन्। यसले के पुष्टि गर्छ भने सामाजिक स्वास्थ्य निकै महŒवपूर्ण छ, जसले व्यक्तिलाई सम्मानित जीवन जिउने वातावरण दिन्छ। समाज अस्वस्थ छ भने जतिसुकै भौतिक स्रोत–साधनले सम्पन्न होस्, मानव जीवन सुखी र खुसी हुन सक्दैन।  

सामाजिक वातावरण स्वस्थ छैन भने स्वस्थ विचारको पनि जन्म हुँदैन। समाज समृद्धितर्फ अघि बढ्दैन। हाम्रो समाजको स्वास्थ्य कस्तो छ भनी बुझ्न सार्वजनिक स्थलहरूको निरीक्षण गर्नुपर्छ, सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा हुने कुराकानी सुन्नुपर्छ र सामाजिक सञ्जाल हेर्नुपर्छ। सर्वाजनिक स्थानहरूमा पोखिने घृणा र असन्तुष्टि, सामाजिक सञ्जालका भित्ताभरि देखिने टीकाटिप्पणी तथा व्यक्तिगत पीडादायी भोगाइ, सबैमा समाज व्यवस्थालाई नै दोषी देखाइएको पाइन्छ। यसले के संकेत गर्छ भने समाजको स्वास्थ राम्रो छैन अर्थात् समाज अस्वस्थ हुँदै छ, जसको समयमै उचित उपचार आवश्यक छ। तर यसतर्फ कसैको ध्यान पुगेको देखिन्न।

अहिले हामीमध्ये धेरैजसोको मनमा भ्रष्टाचार र बेथितिसँग सम्बन्धित प्रश्नहरूको ज्वारभाटा उठिरहेको छ। दिनका दिन समाचारमा सार्वजनिक यति धेरै भ्रष्टाचार किन हुँदोहोला ? अब यसको कहिल्यै अन्त्य हुँदैन त ? नेता तथा तिनका कार्यकर्ता किन यस्ता भएका होलान् ? किन सेवाप्रदायक निकायहरू  सेवाग्राहीप्रति अनुत्तरदायी भएका होलान् ? यी प्रश्नहरूको उत्तर पाउन पहिला हाम्रो समाजको स्वास्थ्य अवस्था  नियाल्न जरुरी  छ। किनकि अस्वस्थ समाजमा प्रतिस्पर्धा पनि अस्वस्थ नै हुन्छ। मानौं, कुनै समाजमा विकासका सबै पूर्वाधार छन्, कुनै व्यक्तिको आयस्रोत पनि राम्रो भयो रे, तर उसलाई हेर्ने समाजको दृष्टिकोण अमानवीय छ भने त्यो व्यक्तिको जीवन सहज होला ? चाहे त्यो जातीय रूपमा गरिने होस् वा भाषा, लिंग र क्षेत्रका आधारमा गरिने भेदभाव, समाज स्वस्थ भन्न मिल्छ ?

कुनै गाउँका २० घरधुरीमध्ये २ परिवारको आम्दानी करोडांै छ र बाँकी १८ परिवार बाँच्न पनि दैनिक कठिन संघर्ष गर्न बाध्य छन् भने देशको कुल गार्हस्थ्य आम्दानी त बढेको देखिएला, तर त्यसले सबैको हैसियत उकासियो भन्न सकिन्छ ? यस्तो समाजमा समनताको  परिकल्पना गर्न सकिएला ? केही साता अगाडि मात्रै अमेरिकामा सार्वजनिक स्थानमा अन्धाधुन्ध गोली प्रहार हुँदा कैयौं मानिसको ज्यान गयो। त्यहाँ आर्थिक समृद्धि वा अवसर पर्याप्त भए पनि समाज पनि स्वस्थ छ भन्न सकियो त ? त्यसैले एउटा कुरा के भुल्नु हुँदैन भने आर्थिक वृद्धि एउटा पाटो मात्रै हो। आर्थिक वृद्धि हुँदै छ, तर मानवता घट्दै छ भने मानव जीवन सुरक्षित र  सम्मानित हुन सक्दैन। एउटा सर्वसाधारणले विधिको शासन र सामाजिक न्याय अनुभूति गर्न सक्दैन भने त्यो समाज स्वस्थ हँुदैन र त्यस्तो अस्वस्थ समाजले समृद्ध देशको परिकल्पना गर्नु व्यर्थ हुन सक्छ।

प्रकाशित: ३ भाद्र २०७६ ०५:५८ मंगलबार

विद्यालय समाज स्वस्थ