विचार

पशु बलिका विपक्षमा

चार्डपर्व सांस्कृतिक सम्पदा हुन्। अहिले दसैँको बेला छ। यससँगै खसी, बोका, भेडा चेयाङ्ग्रालगायत पशु बलि दिन सरकार र जनता तत्पर देखिएका छन्। कतिपयले हातमा पैसा बोकी पशु खरिद गर्न बजार चहारिरहेका छन्। शक्ति पीठहरूमा बलि दिन सरसफाइ गरिँदैछ। पशुमा पनि प्राण हुन्छ। तर, हामीले उनीहरूको जीवनको सम्मान गरेका छैनौँ। मानिसलाई बाँच्न आवश्यक वातावरण पशुले जोगाउँछन् तर, हामी भने पशुको संरक्षणमा उदासीन छौँ। बलि प्रथाले हामी आफ्नै खुट्टामा बञ्चरो हान्ने काम गरिरहेका छौँ।

प्रत्येक पाँच वर्षमा लाग्ने बाराको गढी माई मेलामा लाखँै पशुको बलि दिइन्छ। गत वर्ष पशु बलि रोक्ने नागरिक प्रयासले विवाद चर्काएको थियो। जिल्ला प्रशासनदेखि पुनरावदेन अदालत हेटौँडासम्म मुद्दा चलेको थियो। तपस्वी रामबहादुर बमजन पनि बलि रोकिछाड्ने अडानमा थिए। तर,उनको प्रयास सफल भएन। अन्ततः लाखौँ पशु पंक्षी बलि दिइयो। राज्यकै स्तरबाट प्रभावकारी पहल नभएसम्म बलि प्रथा रोकिँदैन। दसैंमा सरकारले पनि बलि दिने हुनाले राज्यको पशुबलि रोक्न राज्यको पहल पनि यही पर्वबाट सुरु गर्नुपर्छ। पशु बलिको विकल्प दसैंबाट सुरु भए जनता पनि विकल्पप्रति सकारात्मक हुन सक्छन्।


पशु बलिले मुलुक र जनतालाई आर्थिक नोक्सानी गर्नुका साथै वातावरण र मनोविज्ञान समेतमा प्रतिकूल प्रभाव पार्छ। तैपनि यसलाई एकाएक रोक्न खोज्दा शान्ति खलबलिन सक्छ। योजनाबद्ध प्रयासबाट मात्र यो अभियान सफल बनाउन सकिन्छ। यसका लागि देशव्यापी जनचेतना अभियान चलाउनु आवश्यक छ। पशु बलिको सट्टा कुभिन्डो, नरिबल र अरू फलफूल चढाएर मनोकामना पूरा गर्न सकिन्छ। छठ, शिवरात्रीजस्ता पर्वमा बलि दिइँदैन। तैपनि यसले मानिसको मनोकामना पूरा हुने विश्वास छ।


पशु बलि रोक्दा मानिसभित्रको हिंसा वृत्तिलाई रोक्ने ऊर्जा उत्पन्न हुन्छ। समाजमा रहेका अन्धविश्वास र कुरीति हटाउन सकरात्मक संदेश दिनसक्छ। यसकारण पनि दीर्घकालीन योजना बनाउँदा उत्तम हुनेछ। सति प्रथा पनि नेपाली समाजमा चलेको थियो। तर, आज किम्बदन्तिका रूपमामात्र छ। यो पनि एकाएक समाप्त भएको होइन। त्यसलाई अन्तर्राष्ट्रिय स्तरबाटै रोक्ने प्रयास भयो। जनतालाई सचेत बनाउने कार्य भए। अन्ततः सति प्रथा रोकियो। यो पशु बलि रोक्न प्रेरणा बन्नसक्छ। बलिको निम्ति सरकारले रकम छुटयाउँदै आएको छ। यसको अर्थ बलि चढाउनु नेपालको कानुनअनुसार वैध नै हो। तैपनि, पशुहरूको जीवनको अधिकारमा यसबाट अतिक्रमण भने हुन्छ। यसैले मानव अधिकारजस्तै मानवेतर प्राणीको बाँच्ने अधिकारको पनि संरक्षण हुनुपर्छ। सुरुमा, मानव अधिकार रक्षाका क्षेत्रमा काम गर्नेहरूले बलि प्रथा रोक्ने अभ्यास गर्नुपर्छ। त्यसपछि सरकारले पनि बलिका राज्य कोषबाट रकम विनियोजन गर्न बन्द गर्नुपर्छ। अनिमात्र सामान्य जनतामा पशु बलिविरुद्ध चेतना जगाउन सकिन्छ।

प्रकाशित: २६ आश्विन २०६७ ००:०० मंगलबार