विचार

योग गरौँ, जीवन बदलौँ

विनोद तिमिल्सेना
रूपान्तरण भनेको कुनै एक सोच, वस्तु वा अवस्थाबाट अर्कोमा परिवर्तन हुनु हो। मानिसको जीवन रूपान्तरण र समृद्ध हुनाका लागि धेरै कुराको तालमेल हुनुपर्छ। त्यसका  लागि हामीले आफूलाई समयअनुसार ढाली, निरन्तर लाग्नुपर्छ। आधुनिक मानिसको जीवन प्राकृतिक र सरलबाट कृत्रिम, अस्तव्यस्त, अधिक प्रतिस्पर्धी, तनावयुक्त भएर जटिल बन्दै छ।

अब हामीले बिनाऔषधि स्वस्थ हुने हाम्रो मौलिक तरिका, विज्ञानले मानेको यौगिक जीवन अपनाउनु जरुरी भइसकेको छ।

विसंगति र रोग बढ्दै
रोग भनेको मानिसको शारीरिक, मानसिक तथा आध्यात्मिक सन्तुलनमा आएको विचलन हो। हाम्रा पूर्वज, ऋषिमुनि, विद्वान्हरूले अपनाएका यौगिक जीवन, अध्ययन तथा अनुसन्धानबाट प्राप्त मौलिक रीतिरिवाज, ज्ञान, प्राकृतिक तथा सरल जीवन पद्धति छाडेर आधुनिकताका नाममा बाह्य तथा पश्चिमा संस्कृति भित्र्याएपछि हाम्रो जीवन विसंगति र रोग उन्मुख भएको हो।

केही दशकयता विकास र जीवनशैली रूपान्तरणका नाममा विदेशीले थोपरेका विभिन्न मोडेल तथा कार्यक्रमलाई अन्धाधुन्ध अपनाएर हामीले आफ्ना मौलिक संस्कृति र शैली छाड्यौँ। हामीले केही समस्या त हल ग¥यौँ तर थप समस्याको जन्जालमा फस्दै छौँ। अहिले हाम्रो समाजमा व्यक्तिवादी चरित्र हावी भएको छ। साथै परिवार, समाजप्रति बेवास्ता गर्ने, मानिस–मानिसबीच विभेद, हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, दुराचार, धर्म परिवर्तन, नैतिक पतन, असहिष्णु व्यवहार बढ्दो छ।

अर्कातर्फ हालैका वर्षमा सरकारले सार्वजनिक गरेको तथ्यांक केलाउने हो भने हामी दिनप्रतिदिन सरुवा रोगबाट भन्दा पनि नसर्ने, दीर्घ तथा नया–नयाँ रोगबाट ग्रस्त हुँदै गएका छौँ। अहिले उच्चरक्तचाप, मधुमेह, एड्स, क्यान्सर, माइग्रेसन, इन्जाइटी, नसा तथा हड्डीका बिरामीको संख्या बढ्दो छ। यसैगरी सामाजिक सञ्जाल, सञ्चारमाध्यममा आउने अधिकांश नकारात्मक सन्देश र दैनिक व्यवहारमा भोगिने कतिपय घटनाक्रमले हामीमा नकारात्कता बढ्दै गएर डिप्रेसन, इन्जाइटीलगायतका रोगको सिकार हुने क्रम पनि बढेको छ। यस्ता कतिपय रोगको उपचार ज्यादै खर्चिलो र जीवनभर औषधि खानुपर्ने हुन्छ। अब हामीले बिनाऔषधि स्वस्थ हुने हाम्रो मौलिक तरिका, विज्ञानले मानेको यौगिक जीवन अपनाउनु जरुरी भइसकेको छ।

योगमय जीवन
योगको शाब्दिक अर्थ– जोड्नु, मिलाउनु र विशेष अर्थ– ध्यानमा एकाग्र हुनु हो। योग– अज्ञानबाट ज्ञानतर्फ, जडबाट चेतन, निर्बलबाट सबल, जीवनबाट ब्रह्म, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो। पातञ्जल योग सूत्रमा योगः चित्तवृत्ति निरोधः भनिएको छ। अर्थात् चित्तका वृत्तिहरू तथा विकार निरोध गर्नु वा रोकिनु योग हो भनिएको छ। योगको मुख्य लक्ष्य व्यक्तिलाई सम्पूर्ण रूपमा स्वस्थ, सार्थक, शक्तिसम्पन्न र आनन्दित बनाउँदै आत्मालाई परमात्मामा मिलाउनु हो। यो कुनै धर्म वा सम्प्रदाय नभई हाम्रो प्राचीन वैज्ञानिक जीवन पद्धति हो र यसको अनुसरण समयको माग हो।

आवश्यकता रूपान्तरणको     
समाज रूपान्तरण गर्न सर्वप्रथम आफू रूपान्तरण हुनुपर्छ। स्वस्थ हुन शारीरिक मात्र होइन, मानसिक र आध्यात्मिक सन्तुलन पनि हुनुपर्छ। रूपान्तरण तथा परिवर्तन गर्न समय, शक्ति, श्रम लाग्छ। यो आजको भोलि नभए तापनि निरन्तर प्रयास र सचेतनाले ठूलो परिवर्तन गर्न सकिन्छ।  
हामीले एक्काइसौँ शताब्दीको विज्ञान र प्रविधिको उच्चतम प्रयोग र खोजलाई निरन्तरता दिँदै हाम्रा मौलिक र वैज्ञानिक संस्कृति तथा संस्कार, खानपान, रहनसहन, जीवनशैलीलाई पुनर्जागरण गरेर अगाडि बढ्नुपरेको छ। यसका लागि दृढ अठोट, निरन्तर प्रयास र जागरुकता आवश्यक छ।

पहिले हामी आफू बदलिनुपर्छ। त्यसपछि परिवार, समाज, देश हुँदै विश्व बदल्नुपर्छ। रूपान्तरणको सुरुवात हाम्रो दैनिक जीवनका ससाना कुराबाट गरी समग्र जीवन परिवर्तन गर्न सकिन्छ। हामीले गर्ने भोजन, हाम्रा आनीबानी, व्यवहार र सोचमा क्रमिक परिवर्तन ल्याउनुपर्छ। भोजन सन्तुलित र सात्विक भए शरीर स्वस्थ, सबल हुन गई मन–मस्तिष्क स्वस्थ हुन्छ। यसले हामीमा करुणा, प्रेम सकारात्मक सोच उत्पन्न भएर विभिन्न विकृति तथा विसंगति हटाउन मद्दत गर्छ। यो अवस्था ल्याउन योगका विविध आसन, प्राणायाम, बन्ध, मुद्रा सहयोगी हुन्छन्।

शरीरलाई आवश्यक पोषक तत्वहरू कार्बोहाइड्रेट, चिल्लो, प्रोटिन, भिटामिन, खनिज, पानी, रुक्षांश आदि हामीले खानाबाटै प्राप्त गर्छौँ।  तर हामीले त्यसको यथोचित् संयोजन गरेर खान सकेका छैनौँ। हाम्रो खाना ऋतुअनुसार आवश्यक मात्राको चिल्लो, मधुर, उचित अन्न, गहुँ, जौ, दाल, चामल, तरकारी, दूध, फलफूल, महलगायत सात्विक, सुपाच्य, हल्का, अंगलाई बलियो बनाउने, मनलाई सन्तुष्टि दिने हुुनुपर्छ।

मानिस स्वस्थ हुन भोजन, शरीर र तनाव व्यवस्थापन जरुरी हुन्छ। साथै निद्रा, ब्रह्मचर्य, योग वा व्यायाम, स्नान, ध्यान, नियमित मल निष्कासन, सकारात्मक सोच आवश्यक छ। योगले यी सबै कुरा सिकाउने हुँदा मानिस सक्षम भई जीवनमा आइपर्ने अप्ठ्यारा, बाधा सहजै पार गर्नसक्छ।   हाम्रो शरीरमा टक्सिक, विजातिय पदार्थ वा मल बढेपछि रोगले आक्रमण गर्छ। योगका विविध क्रियाले व्यायाम हुनाका साथै त्यस्ता विजातिय पदार्थलाई विभिन्न द्वारमार्फत बाहिर पठाएर शरीर शुद्ध पार्छ। यसबाट शरीरका अंगप्रत्यंग सक्रिय र चुस्त हुन्छन्। अनि सबै अंगले आआफ्ना काम राम्रोसँग सञ्चालन गरेपछि शरीरको प्रतिरक्षा प्रणाली बलियो भई मानिस स्वस्थ बन्छ। यसले गर्दा शरीरमा लागेका रोग हट्न मद्दत गर्छ भने नयाँ रोगले आक्रमण पनि गर्न सक्दैन। साथै आध्यात्मिक विकासतर्फ यात्रा अगाडि बढ्छ।

योग गर्नाले हाम्रो शरीरमा लचकता, फूर्तिलोपन, अनुहारमा प्रसन्नता, आँखामा तेज आउनाका साथै पाचनशक्ति बढेर शरीर मल तथा विकाररहित शुद्ध र स्थिर बन्छ। शरीर स्वस्थ र दिमाग चुस्त भएपछि काम तथा निर्णय गर्ने क्षमता वृद्धि भई मानिस आफ्नो परिवार, समाज र देश समृद्ध बनाउन सक्रिय हुन्छ। साथै उसलाई कुनै पनि शारीरिक तथा मानसिक रोग र विकृतिले छुँदैन।

जाँदाजाँदै,
विधिपूर्वक गरिएका योगका विविध क्रिया र प्राणायाम तथा आसनले हाम्रो शरीरका श्वासप्रश्वास, रक्तसञ्चार, अस्थिपञ्जर, मांशपेसी, पाचन, ग्रन्थी, मूत्र, स्नायु, प्रजनन्लगायतका प्रणाली सक्रिय हुने हुँदा ती प्रणालीसँग  सम्बन्धित अंगहरूले राम्रो काम गर्न थाल्छन् र त्यसको सकारात्मक प्रभाव शारीरिक, मानसिक र आध्यात्मिक क्षेत्रमा पनि पर्छ। यसले गर्दा आत्मविश्वास तथा दृढता बढ्ने, भयमुक्त हुनेजस्ता असल मानवीय गुण विकास हुन्छ। साथै जीवनमा आइपर्ने समस्या सामना गर्नसक्ने सामथ्र्य पैदा हुन्छ। र, मानिस स्वस्थ, नैतिकवान्, शान्त, संस्कारयुक्त भई असल नागरिक बन्छ। यसरी मानिसलाई रूपान्तरण गर्दै स्वस्थ र समृद्ध पार्न योगको अहम् भूमिका छ। हामीले यौगिक जीवनतर्फ अगाडि बढ्न अब ढिला गर्नु हुँदैन।

प्रकाशित: ८ असार २०७६ ०३:५२ आइतबार

रूपान्तरण योग