पर्वतारोहण गर्दा वा उच्च क्षेत्रको यात्रा गर्दा आफ्नो स्वास्थ्य र जाने ठाउँको उचाइका बारेमा सतर्क नहुँदा यात्रा जोखिमपूर्ण हुनसक्छ। त्यसैले पहिले नै चिकित्सकसँग सल्लाह लिनुपर्छ। आफ्नो स्वास्थ्यको स्थिति र गन्तव्य स्थानको परिस्थितिसंग जानकारी राख्नुपर्छ। हवाइ जहाजबाट ल्हासा जाँदा वा हेलिकोप्टरबाट मुक्ति क्षेत्र जाँदा कतिपय मानिस उचाइको कारण बिरामी हुन्छन्। भारतको बद्रीकेदार धाममा जानेहरू कतिपयले त उचाइका कारण प्राणै त्याग्छन्। त्यहाँ त विष फुलेको हुँदैन। तसर्थ विष फुलेर बिरामी भएको भन्ने अन्धविश्वासलाई विज्ञान र चिकित्साशास्त्रको कसीमा घोटेर हेर्नु जोखिमबाट बच्नु बुद्धिमानी हुन्छ। जोखिम लिएर जबरजस्ती गर्नेहरू फोक्सोमा पानी जमेर मर्ने गरेको धेरै घटना प्रकाशमा आएका छन्। कसै कसैको त गिदीमै पानी जम्न पुग्छ। बिरामीको लक्षण सुरू हुनु अगावै प्रशस्त पानी पिउने र पिसाब धेरै गराउने सामान्य औषधिको सेवन पनि उपयुक्त हन्छ। सतर्कताका लागि चिकित्सकका सल्लाहअनुसार विशेष औषधि पनि साथमा लगे हुन्छ।
विष फुल्नु, मेला लाग्नु र बिरामी पर्नु वास्तवमा कागताली हो। तर, त्यसो भनेर ती विरुवामा विष हुँदैन भन्ने चाँहि हैन। गोसाईकुण्ड मेलामा जाँदा भेटिने विषका विरुवा सयौं वर्षदेखि जडीबुटीका रूपमा भारततिर निर्यात हुने गरेका छन्। हाम्रा वैद्य, धामी र आम्चीहरूले पनि विभिन्न रोग निको पार्न यिनलाई बुटीका रूपमा प्रयोग गर्दै आएका छन्। एसिया महादेशमा विष वा बिख अथवा बत्सनाव र मीठा जहरको नामले विभिन्न उपचारका लागि आयुर्वेदमा यस्ता बुटीको प्रयोग हुँदै आएको छ। आयुर्वेदअनसार त्यस्तो बुटीलाई गौमूत्रमा प्रशोधन गरेरमात्र प्रयोग गर्ने गरेको छ। निपुण वैद्यले मात्र राम्ररी प्रशोधन गर्न सक्छ। विषका बुटी ज्यादै विषालु र खतरापूर्ण हुन्छ। विषको सानो मात्राले पनि ज्यान जान सक्छ। नेपालका पर्वतीय र लेकाली भागमा पाइने विषयका विभिन्न प्रजातिमध्ये सबैभन्दा कडा विषलाई कर्णाली क्षेत्रमा एक फाले विष भनिन्छ। कस्तुरी मृगलाई सोली थापेर मार्न यो विष अत्याधिक प्रयोग हुन्छ। विषको मुख्य स्रोत विरुवाको गानो हो। विरुवाको फेदमा करिब २-३ इन्च लामो डल्लो गानो जमिनभित्र गाडिएको हुन्छ। सुकेपछि त्यो गानो अलि चाउरी परेर कालो हुन्छ। झन्डै छोहराजस्तो डल्लो तर पुच्छर चोसो परेको हुन्छ।
एक फाले विषलाई सिकारीहरू आलुसँग मिसाएर पिँध्छन र त्यस्मा वनलसुन पनि पिंधेर मिसाउँछन्। सोली थाप्न छिपिएको निगालो ताछेर भाला जस्तो तीखो बनाउँछन्। चुच्चोमा विषको सानो गिलो डल्लो टाँसिदिन्छन्। त्यसमा अर्को सानो छेस्को जिब्री पनि माछा मार्ने बल्छीको काँडाजस्तै उल्टो फर्काएर जडिदिन्छन्। आलु र वनलसुनको लस्सामा विष तयार हुन्छ। यस्ता सोलीलाई कस्तुरी हिँड्ने बाटोमा तेर्स्याएर थापिन्छ। कस्तुरी मृग अरू मृगजस्तो बुर्कुसी मारेर दौडदैनन्। यिनको चाल खरायोको जस्तो उफ्रँदै दगुर्ने प्रकारको हुन्छ। तसर्थ उफ्रेर जमिनमा टेक्ने बेलामा निगालो सोली यिनको जीउमा ग्वाप्पै रोपिन्छ र घाउमा विष लाग्छ। केही विष र जीब्री घाउमै टाँसिन्छ। केही घन्टाभित्रै त्यस प्राणीको ज्यान जान्छ र कस्तुरीको गन्धले सिकारी कुकुरले तिनलाई सजिलै भेटाउँछन्।
जापानको ऐनु सिकारीले पनि आफ्ना काँडमा यस्तै विष लगाएर वन्यजन्तु मार्थे। विषको यस्तो परम्परागत प्रयोगका आधारमा अनुसन्धाताले विभिन्न औषधिको पहिचान गरेका छन्। यस्तो विषबाट प्राप्त हुने विषालु पदार्थलाई रसायनशास्त्रमा 'एकोनिटिन' भनिन्छ। हाम्रोतिर पाइने विष विरुवाको प्रजातीय नाम 'एकोनाइटम स्पाइकेटम' हो। अरू नेपाली विष प्रजातिमा 'एकोनिटम फेरोक्स' र 'ए. लैसिनियाटम' हुन्। ती सबैलाई विष नै भनिन्छ। तिनमो 'सुडो-एकोनिटिन' र विष-एकोनिटिन नाम विष तत्व अधिक हुन्छ। यी विष तत्वहरू एकोनिटिन भन्दा बढी विषालु हुन्छन्।
जैविक विविधताको भण्डारै भने पनि हुने हाम्रो नेपालमा तीस प्रजातिका एकोनाइटमहरू पाइन्छन्। तीमध्ये कुनै कुनैमा विष हुँदैन। त्यस्तालाई निर्विषि, निर्मसी, विषमा आदि नाम दिइएको छ। भनिन्छ यिनले विषलाई काट्छ। हाम्रो हिमाली क्षेत्रमा विष लागेका व्यक्तिलाई निर्मसीको गानो खुवायो भने ठीक हुन्छ भन्ने विश्वास निकै व्याप्त छ। वैज्ञानिक दृष्टिले त्यो पनि अन्धविश्वासै हो। जनै पूर्णिमा मेला भर्न जाँदा लेक लागेर बिरामी परेमा अरू बुटी खानुभन्दा बिस्तारै तलतिर ओरालो झर्नु नै सबभन्दा सुरक्षित उपाय हो। लेक लाग्ने (अल्टिच्युट सिक्नेस) का धेरै औषधि छन्। तर, सम्बन्धित चिकित्सकको सल्लाहअनुसार मात्र तिनको प्रयोग गर्नुपर्ने हुन्छ।
संसारको आधुनिक औषधि विकासको इतिहास केलाउने हो भने आदिवासी जनजातिका परम्परागत ज्ञानलाई विज्ञानले पुष्टि गरेर प्रविधिले प्रयोगमा ल्याएको सजिलै पुष्टि हुन्छ। त्यसबाट ठूलो अर्थ आर्जन पनि गरिन्छ। विकसित देशका बहुराष्ट्रिय कम्पनीले यस्तै औषधि निर्माण गरेर थुप्रै कमाएका छन्। तर त्यसबाट आदिवासी जनजाती समुदायलाई केही फाइदा पुग्ने बाटो भने छैन। यी सबै कारणले आदिवासी जनजातिको बौद्धिक सम्पत्तिको अधिकार सुनिश्चित गर्न जैविक विविधतासम्बन्धी अन्तरराष्ट्रिय महासन्धिमा पनि विशेष प्रावधान राखिएको छ। यस सन्दर्भमा गोसाईकुण्ड वरिपरि ढ्याङग्रो ठटाउँदै नाच्ने धामीझाँक्री जडीबुटी र औषधिको ज्ञान भण्डार पनि हुन् भन्ने बिर्सन हुँदैन। तिनको ज्ञानको आदर र बौद्धिक सम्पत्तिको अधिकार सुनिश्चित गर्नु गराउनु हामी सबैको कर्तव्य हो। सरकार र समाज त्यस कार्यबाट चुक्नु हुँदैन।
प्रकाशित: ७ भाद्र २०६७ २२:४१ सोमबार