विचार

चिनियाँ कृषिक्रान्तिमा नेपाली चासो

चीन सरकारको कृषि तथा ग्रामीण मामिला मन्त्रालयको निमन्त्रणामा जुन १७ देखि जुलाई ३ सम्म चीनका विभिन्न भागको भ्रमण अवसर मिल्यो। अहिले चीनले गरिरहेको विकास जान्ने कौतुहलता साथ हामी दुई जना चीन पुग्यौं। चीनको नीतिगत र विविध पक्षको जानकारीका लागि पहिलो पटक सन् २००६ र दोस्रो पटक सन् २०१९ मा भ्रमण भएको थियो। पछिल्लो ६ वर्षमा चीनको विकासबारे प्रशस्तै पढे–सुनेकाले र अहिलेको विकास स्थलगत अवलोकन गर्ने र विगतभन्दा अहिले देखिएका भिन्नताको विश्लेषण गर्ने थियो।

दोस्रो लेखकको विद्यावारिधि तुलनात्मक कृषि नीति क्षमता सम्बन्धमा हो। त्यसमा तुलना गरिएका ६ देशमध्ये एक चीन भएकाले यसैमा अध्ययन–अवलोकन केन्द्रित थियो। यसैले हामीले दुई हप्ता चीनलाई सूक्ष्म तरिकाले बुझ्ने कोसिस गर्यौं। विभिन्न विश्वविद्यालय र चिन्तन संस्थाहरू भ्रमण गरी वैज्ञानिक, चिनियाँ युवा, सरकारी कर्मचारी, प्राध्यापक, विद्यार्थी, चिनियाँ अन्तर्राष्ट्रिय विज्ञहरूसँग छलफल तथा विचार विमर्श गर्यौं। ग्वान्झाव, बेइजिङ र सिन्च्याङ, विगुर स्वायत्त क्षेत्रका विभिन्न स्थान जस्तै च्यांगी प्रिफेक्चर र त्यहाँका विभिन्न सहर, लिन्गोङ, उरुम्की लगायत विभिन्न औद्योगिक क्षेत्रहरूको स्थलगत भ्रमण, कृषिमा आधारित ठूला उद्योगहरूमा छलफल र अन्तर्राष्ट्रिय कृषि पार्क कार्यशालामा सहभागी भयौं। यस अवधिमा हामीले देखे, बुझेका र जानेका आधारमा यो लेख तयार पारेका छौं।

चीनः एक झलक

विश्वका पाँच खण्डको एक खण्ड अर्थात् ९.६ मिलियन वर्ग किमी क्षेत्रफल भएको, पूर्वदेखि पश्चिमसम्म पाँच हजार २०० किमी र उत्तर र दक्षिणसम्म पाँच हजार ५०० किमिमा फैलिएको छ। २२ हजार किमी अरू देशसँगको सीमा र १८ हजार किमी समुद्री तटसँग जोडिएको यो विशाल देशमा एक अरब ४१ करोडभन्दा बढी जनसंख्या छ। यसको ९६ प्रतिशत जनता उत्तरपूर्वको ३६ प्रतिशत भागमा र बाँकी चार प्रतिशत उत्तर पश्चिमको ६४ प्रतिशत भागमा बस्छन्। यसरी यो देशको जनसंख्या विवरण अति असमान देखिन्छ। यस्तो हुनुको पछाडि उत्तरपूर्वी भागमा उर्वर भूमि; ठूला सहर; पूर्वाधारको विकास र रोजगारीका राम्रा अवसर तथा जनजीविकाको सहजता रहेछ।

यो देशमा लगभग ३३ प्रतिशत हिमाली, ३४ प्रतिशत जति पहाड र बाँकी ३३ प्रतिशत समतल क्षेत्र छ। संसारमा बिरलै पाइने धातुहरू जस्तै टुंगेस्टिन (अति कडा धातु), टिन, रेयर अर्थ एलिमेन्ट (१७ धातुको समूह), टान्टालुम (अति बलियो र नखिइने धातु) सबैभन्दा धेरै यही देशमा रहेछ।

भानाडियम (स्टिल बलियो बनाउने एक प्रकारको रसायनिक तत्त्व), मोलिब्डेनम (अति धेरै तापक्रममा पनि नपग्लिने रसायन) र लिथियममा यो देश संसारमा दोस्रो स्थानमा छ। कोइलामा तेस्रो, जिंकमा चौथो, फलाम, लिड, सुन र चाँदीका खानीमा विश्वकै पाँचौ र तेलमा आठौं स्थानमा छ।

विश्व खेतीयोग्य कुल क्षेत्रफलको सात प्रतिशत चीनमा छ। यो देशको जनघनत्व एक सय ४३ वर्ग किमी रहेको पनि तटीय क्षेत्रमा ४०० र पश्चिमी क्षेत्रमा १० प्रति वर्ग किमीभन्दा कम छ। जम्मा ५६ जनजाति रहेको चीनमा ९२ प्रतिशत हान जाति छन्।

चीनमा कुल आठ दल सक्रिय रहे पनि वर्चस्व र राज्य सञ्चालक चाहिँ सधैं चिनियाँ कम्युनिष्ट पार्टीकै छ। यसको शासकीय तह केन्द्रमा स्टेट काउन्सिल अर्थात् सेन्ट्रल पिपुल्स गभर्मेन्ट र योभन्दा तल दोस्रो तहमा २३ वटा प्रदेश (प्रोभिन्स) छन्। पाँच स्वायत्त क्षेत्र, चार केन्द्र शासित महानगर र दुईवटा विशेष प्रशासनिक क्षेत्र (प्रदेश तह) छन्। तेस्रो तहमा ३३९ प्रिफेक्चर तथा चौथो तहमा दुई हजार ८०० काउन्टी र पाँचौ तहमा १० हजार ३१४ टाउनसिप र सबैभन्दा तल्लो तह गाउँ (भिलेज) सात लाख चार हजार ३८२ वटा छन्। यहाँ दलीय संरचनामा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, पोलिटब्युरो र यसभित्र स्ट्यान्डिङ (स्थायी) कमिटी, महासचिव र केन्द्रीय सैन्य आयोग रहेछन् भने प्रदेश, सिटी, काउन्टी टाउनसिप र गाउँमा पनि पार्टीका कमिटीहरू छन्।

अरू साना दलहरूमा रिभोलुसनरी कमिटी अफ चाइनिज कोमिन्ताङ; चाइना डेमोक्य्राटिक लिग; चाइना डेमोक्य्राटिक नेसनल कन्स्ट्रक्सन एसोसियसन; एसोसियसन फर प्रमोटिङ डेमोक्रेसी; पिजान्ट एन्ड वर्कर्स डेमोक्य्राटिक चाइना झि गोङ दाङ; जियु सान सोसाइटी; ताइवान डेमोक्य्राटिक सेल्फ गभर्नर्मेन्ट लिग रहेका छन्।

केन्द्रीय तहका राज्य अंगहरूमा सबैभन्दा सर्वोच्च नेसनल पिपुल्स कांग्रेस; अनि चाइना पिपुल्स कन्सल्टेटिभ कन्फरेन्स, स्टेट काउन्सिल (केन्द्र सरकार); सेन्ट्र«ल मिलिटरी कमिसन; सुप्रिम कोर्ट; र सुप्रिम प्रोकुरारेट रहेका छन्।

चीनको इतिहासमा हुयङ्दी (एलो इम्पेरर) को शासनबाट सुरु भई पहिलो एकीकरण अवधि (२०१ देखि २०६) मा क्विन डाइनेष्टी र २०६ बिसीदेखि हान डाइनेष्टीको बोलावाला छ। त्यो बेलादेखि सुई, टाङ, सोङ, युआन, मिङ, कुइङ डाइनेष्टी हुँदै सन् १९१२ मा गणतन्त्र चीनको रूपमा स्थापित भई १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएको रहेछ।

कन्फ्युसन विचारधारबाट प्रभावित यो देशमा तावइजम हुँदै माओइजमा आएर रोकिएको छ। यो देशका प्रमुख धर्महरूमा तावइजम, बुद्धिजम, इस्लाम, क्रिश्चियन र बहु धर्ममा विश्वास गर्ने जनसंख्या छ। ऐतिहासिक कालदेखि कथा साहित्य लेखनमा ख्याति प्राप्त यो देश माटोको भाँडा बनाउने, रंगिन चित्रकला, हस्त लेखन, ओपेरा लगायतमा स्थापित रहेछ।

चिनियाँ सुधारको यात्रा पनि लामै भए पनि महत्त्वपूर्ण परिवर्तन भने माओ नेतृत्वको रेड आर्मीले नेसनलिष्टलाई हटाएर शासन गर्न थालेपछि कोरियासँग लडाइँ, भूमिसुधार, ग्रेट लिप फर्वाड, आर्थिक ढाँचा, रुससँग विमति, सांस्कृतिक क्रान्ति, रेड गार्ड परिचालन, संयुक्त राष्ट्र संघमा सदस्य ग्रहण जस्ता काममा बितेको छ।

चाउएनलाईले थालेको आधुनिक योजनाको आधारमा महत्त्वपूर्ण सुधारको थालनी चाहिँ देङ सिआओ पिङ शासनमा आएपछि भएको हो। चीनमा १९४९ देखि १९७७ सम्म सुधारको सुरुवात, १९७८ देखि १९८५ सम्म सुधार केन्द्रित योजना अवधि, १९८६ देखि २००० सम्म ग्रामीण गरिबी निवारण केन्द्रित र २००१ देखि २०१२ सम्म ग्रामीण गरिबी निवारण, २०१३ देखि २०२० सम्म लक्षित गरिबी निवारण अवधि रहेछ। यो अवधिमा चीनले गरिबी निवारणमा असाधारण उपलब्धि हासिल गरेको र यसलाई चीनले ‘लिभिङ नो वान बिहाइन्ड’ भन्ने नाराका साथ अगाडि बढाएको रहेछ।

यो अवधिमा चिनियाँ जनताले दुई कुरामा चिन्तित नहुनु (टु नो वरिज) र तीन कुराको सुनिश्चितता गर्ने (थ्री ग्यारेन्टी) को कार्यक्रम सञ्चालन गरिएको रहेछ। दुई वटा चिन्ता गर्नुनपर्ने सवालमा खान र लाउन चिन्ता गर्नुनपर्ने र तीन कुराको सुनिश्चितता प्राथमिक शिक्षा, प्रारम्भिक स्वास्थ्य र सुरक्षित आवासको सुनिश्चितता गरिने प्रावधान कार्यान्वयनमा आएछ। यो अवधिमा नौ करोड ९० लाख जनता ८३२ काउन्टी १२ हजार ८०० गाउँ गरिबीबाट पूरै मुक्त भई चीनमा गरिबीको रेखामुनि मानिस नरहेको अवस्था बनेछ।

यो तहको उपलब्धिको जस सिपिसी र वर्तमान राष्ट्रपतिलाई दिइएको छ। सन् २०१३ देखि २०२० को अवधिमा गरिबी उन्मूलन गर्न चीनले ४२.७६ बिलियन युआन प्रत्यक्ष खर्च र १०६.६ बिलियन अन्य सहायता कार्यक्रममा खर्च गरेको छ। गरिबी निवारण गर्ने यो कामको लागि सिंगो पार्टी परिचालन गरिएको रहेछ।

सन् २०२१ देखि भने चीनले गरिबी निवारणको लक्ष्य हासिल गरी सकेपछि ग्रामीण पुनःउत्थान कार्यक्रम सुरु गरी सहर र गाउँबिच, क्षेत्र र क्षेत्रबिच र आयमा भएको विषमता हटाउने नीति लिएछ। अब सन् २०३५ सम्ममा ग्रामीण तथा कृषिको रूपान्तरणबाट समाजवादी आधुनिकीकरण (सोसलिष्ट मोडनाइजेसन) मा पुग्ने लक्ष्यसहित काम गर्दैछ।

चिनियाँ कम्युनिष्ट पार्टी शासनको सय वर्ष पुगेको उपलक्ष्यमा सन् २०४९ मा चीन विश्वमा सबै क्षेत्र (ऊर्जा, शक्ति, अर्थतन्त्र, सुरक्षा, विज्ञान र प्रगति आदि) मा १ नम्बरमा पुग्ने उद्देश्य साथ सी चिनफिङको नेतृत्वमा दु्रत गतिमा विकास गरिरहेको यो देशले उच्चतम विकासको आधार भने कृषि मार्फत गरिबी निवारणलाई मानेर काम गरेको रहेछ। अहिले चीनको सामाजिक जीवन र जनसांख्यिक संरचना पनि फेरिएको छ।

अहिले चीनको राजनीतिक प्रणाली कम्युनिष्ट पार्टीको प्राधिकरण अनुरूप सञ्चालित र आर्थिक सामाजिक अवस्था पूर्ण त खुला र पुँजीवादी शैलीको बेजोड सम्मिश्रणबाट सफलतापूर्वक सञ्चालन भएको छ। माओले सुरु गरेको जग्गा व्यक्तिको नभई राज्यको हुने प्रावधानबाहेक व्यक्तिले निजी सम्पत्ति जति पनि कमाउन र राख्न पाउनेदेखि वैभवशाली जीवनशैलीलाई प्राथमिकता दिएको छ। यसलाई चिनियाँ शैलीको समाजवादी विकास भनिँदो रहेछ।

वयस्क केटाकेटीहरू सकेसम्म विवाह गर्नै नचाहने र एकल जीवनमा रमाउने तथा ढिलो गरी विवाह गरिहाले पनि बच्चा नजन्माउने गर्दा निकट भविष्यमा जनसांख्यिक अवस्थाले जटिलता सिर्जना हुने भएकाले नीति निर्माताहरू त्रसित भई दुई वा सोभन्दा बढी बच्चा जन्माउने आमा बुबालाई राज्यबाट विभिन्न छुट र सुविधा दिने नीति लिएको छ। सन् २०२३ मा चीनको वार्षिक बाल जन्मदर एक हजार जनसंख्यामा ६.३९ बच्चा रहेछ।

ऐतिहासिक कालदेखि प्रभावकारी र सशक्त रहेको चीनको संयुक्त परिवार प्रथा अब बदलिएर एकल परिवार बनेको र भविष्यमा एक जनाले दुई बाबुआमा र चार हजुरबुवा– हजुरआमाको लागि रेखदेख पुर्‍याउनुपर्ने जनसांख्यिक संरचनाले यिनका नीति निर्मातालाई अहिले ज्यादै सताएको छ।

कृषिको माध्यमबाट गरिबी निवारण

चीनले कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण र यान्त्रिकीकरणको माध्यमबाट लक्षित गरिबी निवारणमा केन्द्रित रही सन् २०११मा १२.२३८ मिलियन निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यालाई सन् २०२० मा आउँदा शून्यमा झारेको रहेछ। यो कार्य सम्पन्न गर्ने अवधारणा ग्रामीण पुनःउत्थान अर्थात् रुरल रिभिटलाइजेसन रहेछ। ग्रामीण शिक्षा, सहकारी र स्वास्थ्यलाई प्राथमिकतासहित रूपान्तरणलाई एकै साथ लगिएको छ।

लक्षित गरिबी निवारणको सफलतापछि चीनले ग्रामीण क्षेत्रको समग्र विकासको लागि ग्रामीण रिभिटलाइजेसनको कार्यक्रम लागु गरेको रहेछ। जसमा तीन वटा मान्यताः गाउँ र सहरका जनताको जीविकाको गुणस्तर फरक हुन नहुने; ग्रामीण क्षेत्रको दु्रत सहरीकरण हुनुपर्ने; र गाउँ–सहरको जनसंख्या वितरण ती क्षेत्रमा सिर्जना गरिएको सम्पन्नताको सापेक्षतामा आधारित हुनुपर्ने नियम कडाइका साथ लागु गरिएको रहेछ।

यो ग्रामीण पुनःउत्थान कार्यक्रमले चीनले विगत ६ दशकमा सामना गरेको क्षेत्रीय (उत्तर पश्चिम र दक्षिण–पूर्वबिचको) असमानता; सहर र ग्रामीण क्षेत्रबिचको असमानता र धनी र गरिबबिचको आर्थिक असमानतालाई सम्बोधन गर्नु रहेछ।

चिनले सन् २०२० देखि कृषिको औद्योगिकीकरण तीव्र रूपमा अगाडि बढाएको रहेछ। गाउँ र सहरबिचको दूरी अन्त्य गर्ने तथा धनी गरिबबिच असमानता अन्त्य गर्ने मूल माध्यम कृषिको औद्योगिकीकरणलाई बनाएको छ। औद्योगिकीकरणको प्रक्रियामा कृषिको विशिष्टीकरण, यान्त्रीकरण र उच्च प्रविधिको अत्यधिक प्रयोग गरेको छ। यसो गर्दा हजारौं हेक्टर एकै बाली उत्पादन क्षेत्र तय गरी अति ठूला जग्गा मेसिनले जोत्ने, बिउ रोप्ने, गोड्ने, बाली काट्ने र प्रशोधन गर्ने गर्दा अति थोरै उच्च प्राविधिक दक्षता भएका केही मानिसबाट साधारण खेती गर्नेभन्दा सयौं गुणा कममा कार्य सम्पादन हुँदोरहेछ।

ड्रोनबाट बालीमा किटनाशक औषधी प्रयोग, आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि प्रयोग गरी सिँचाइ, मल र औषधी बालीको जराजरामा पुर्‍याउँदा सिञ्चाइमा पानीको प्रभावकारिता, औषधी र मलको प्रभावकारिता बीसौं गुणा बढ्ने रहेछ।

कृषि औद्योगिकीकरण गर्न ‘कृषि पार्क विकास तथा व्यवस्थापन’ को अवधारणा कार्यान्वयनमा ल्याएको रहेछ जसमा कृषि अनुसन्धान तथा प्रसार, कृषि उत्पादन र कृषि प्रशोधन तथा व्यापार समेत एउटै क्षेत्रबाट (जहाँ औद्योगिक कृषि सुरु गरेको छ) गर्ने, त्यो क्षेत्रमा यस्तो पार्क (पार्क भन्नाले अनुसन्धान, उत्पादन, प्रशोधन र वितरण एकै फर्मबाट गर्ने स्थान) विकास गर्न आवश्यक पर्ने पहुँच सडक, बिजुली, पानी सहज तरिकाले पुर्‍याई दिने व्यवस्था तथा लामो समयसम्म जग्गा भाडामा सरकारले उपलब्ध गराउने (भूमि चीनमा राज्यको स्वामित्व रहने र उपयोगको लागि उपलब्ध गराउने रहेछ) बैंकले सहुलियत ऋण उपलब्ध गराउने, बजार व्यवस्था निकासी व्यापारमा सम्बन्धित तहका सरकारहरूले आवश्यक सहयोग पुर्‍याउने, विश्वविद्यालय र अनुसन्धान संस्थाले अनुसन्धान गरी कृषि पार्कको आवश्यकता अनुसार अनुसन्धान परिणाम उपलब्ध गराउने र यो सबैको संयोजन तथा व्यवस्थापन सहज बनाउन चिनियाँ कम्युनिष्ट पार्टीका तत्समितिका सदस्यले गर्छन्।

यस्ता कृषि पार्क कुन क्षेत्रमा, कत्रो बनाउने भन्ने निर्णय चिनियाँ कम्युष्ट पार्टीको वार्षिक जनकांग्रेस र केन्द्रीय समितिले गरी केन्द्रीय सरकारमा पठाउने र सम्बन्धित मन्त्रालयहरूले समन्वयात्मक रूपमा प्रदेशहरू वा जिल्ला वा नगर सरकारहरूले आफ्नो मन्त्रालय मातहतका निकायले सहयोग गरी कार्य सम्पादन हुने रहेछ।

अहिले चीनको ध्यान कृषि औद्योगीकीकरण गरी संसारभर आफ्नो व्यापार प्रभाव विस्तार गर्ने र शक्ति सम्पन्न गर्ने रहेको छ। यो काम गर्न यसले ल्याएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स अर्थात् बिआरआईको खाकामार्फत गर्नेरहेछ। चीन अहिले बाहिर भनिने जस्तो छैन। खुला समाज, युवाको आर्थिक विकासका उद्योगहरूमा अत्यधिक परिचालन, व्यक्तिगत स्वतन्त्रता, धन कमाउने छुट सबै छ।

ग्रामीण क्षेत्रहरू पनि कृषि औद्योगीकीकरणको माध्यमबाट निकै विकासित भएको छ। अबको एक दशकमा चीनका कृषकले खेतबारीमा नगई कम्प्युटर अगाडि बसेर कमान्ड थिचेका भरमा सम्पन्न गर्ने बलियो आंकलन र तैयारी भइरहेको छ।

नेपाल जस्तो देश र खासगरी नार्क, कृषि वन विश्वविद्यालय जस्ता अनुसन्धान संस्थाहरूले चीनमा सक्रिय चाइनिज एकेडेमी अफ एग्रिकल्चर, चीनको कृषि मन्त्रालय र १७ वटा भन्दा बढी कृषि विश्वविद्यालयहरू एक हजार पाँच सय ५१ भन्दा बढी प्राविधिक तथा व्यावसायिक अध्ययन अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्न सके र नेपाल सरकारले मधेशमा खाद्यान्न बाली केन्द्रित ‘कृषि पार्क’ पहाडमा फलफूल तथा पशुपन्छी केन्द्रित ‘कृषि पार्क’ र उच्च पहाडी क्षेत्रमा त्यहीका उत्पादन सुहाउँदा ‘कृषि पार्क’ निर्माण गर्न सके आर्थिक विकास ग्रामीण तथा कृषिको रूपान्तरणबाट सम्भव छ र चीन सरकारका प्रतिनिधिले हामीलाई भने अनुसार चीन र त्यहाँका कम्पनीहरू नेपाल कृषि पार्क निर्माण र सञ्चालनमा लगानी गर्न समेत तयार छन्।

प्रकाशित: २३ असार २०८२ ०९:१२ सोमबार

# Aalekha # Nagarik