नेपाल सांस्कृतिक विशेषता भएको मुलुक हो। नेपाललाई सांस्कृतिक सम्पदामा सम्पन्न बनाउन यहाँका धेरै जातजाति तथा समुदायले उल्लेख्य भूमिका निर्वाह गरेका छन्। भूगोलका दृष्टिले सानो भए पनि नेपाल भाषा, संस्कृति, खानपान, रहनसहन, कला र वास्तुकला जस्ता विविध शिल्पकलाका कारण विश्वमा नै आफ्नो पृथक् र मौलिक पहिचान कायम गर्न सफल भएको छ।
नेपालको संस्कृतिको भण्डार उर्वर बनाउने कार्यमा उपत्यकाका नेवार समुदायको देन उपल्लो कोटीको छ। कला र संस्कृति, जात्रा र पर्व, उत्सव र समारोह तथा मनोरञ्जन आदिका कारण आजसम्म पनि काठमाडौं उपत्यका राजनीतिक मात्र होइन, सांस्कृतिक राजधानी बन्न पुगेको छ। बाह्य र आन्तरिक पर्यटकहरूको आकर्षणस्थल भएको छ।
हाम्रा नेवार पुर्खाहरूले लगाएको गुण, सीप, सोच र कौशलको मान गर्दा नै हाम्रो इतिहास सम्मानित हुने कुरामा हेक्का राख्नै पर्छ। हाम्रा पुर्खाहरूले मुलुकलाई प्रारम्भ गरिएका यी प्रशंसनीय कार्य निरन्तरता दिनैपर्ने हुन्छ। लोप हुन दिनु हुँदैन। यसै मर्म आत्मसात् गरी नेवार समुदायले आफ्नो भाषा, संस्कृति, मान्यता र लोक व्यवहार अक्षुण राख्न भगीरथ प्रयत्न गरिरहेका अनेकौँ दृष्टान्त पाइन्छन्।
नेवार समुदायले निरन्तरता दिंदै आएका तर मुलुकले ध्यान दिन नसकेको यस्तै एउटा पर्व हो सिथी नःख। नेवारी समाजमा मनाइने पर्वहरू कतिपय जनचेतनामूलक छन् भने कतिचाहिँ स्वास्थ्य चेतनासँग सम्बन्धित पनि छन्। यीमध्ये समाजमा पानीको महत्त्व बुझी पानीको स्रोत संरक्षण गर्ने अभियानको थालनी गरेर प्रारम्भ भएको पर्व हो, सिथी नःख। जललाई पूर्वीय संस्कृतिमा ज्यादै महत्त्व दिइएको र पवित्र पनि मानिएको छ। दृष्टान्तका लागि प्रत्येक शुभकार्य प्रारम्भ गर्दा स्नान गर्नैपर्ने मान्यता छ भने जलदेवता आराध्य छन्।
सिथी नःख पर्व ज्येष्ठ महिनाको शुक्ल षष्ठीका दिन उमङ्ग र उत्साहका साथ मनाइने प्रचलन छ। सिःथी शब्द संस्कृतको षष्ठीबाट अपभ्रंश भएको हो भने नःख नेवारी (नेपाल) भाषामा पर्व (चाड) हो।
यो उत्सव नेपाल संवत्को आठौं महिनामा पर्दछ। यो पर्व नेपालमा कहिलेदेखि मनाउन प्रारम्भ भएको हो भन्ने टुङ्गाे छैन तर लिच्छविकालदेखि नै यो पर्व सचेतना दिवसका रूपमा मनाउँदै आइएको अनुमान गर्न सकिन्छ।
ज्येष्ठ शुक्ल षष्ठीका दिन बिहानै टोलटोलका बासिन्दाहरू भेला भई सार्वजनिक पोखरी, ढुङ्गेधारा, इनार, नदीनाला आदि जलाशयमा सफा गर्ने कार्य गरिन्छ। वर्षभरि जलाशयमा भएका फोहर पातपतिङ्गर लेउ झ्याउ तथा पिँधमा भएका पानी दूषित पार्ने तत्त्व यस पर्वका दिन फालिन्छ।
नेपालमा मनसुन प्रारम्भ भएपछि जलाशयहरू सफा गर्न नसकिने र खेतीपातीको समय प्रारम्भ हुने हुँदा फुर्सद पनि नहुने हुनाले यो दिन उपयुक्त ठानिएको हुनुपर्छ। यो हाम्रा पुर्खाहरूको दूरदृष्टि र सोचको एक अनुपम उदाहरण हो। ढुङ्गेधाराको वरिपरि सफा गरी रङरोगन गर्ने चलन पनि छ।
इनारमा तलसम्म पुगी सफा गर्ने कार्य जोखिमयुक्त मानिन्छ। त्यसैले सबैभन्दा पहिले नाग पूजा गरिन्छ। बत्ती बाली डोरीको सहायताबाट तल पु¥याइन्छ। यदि इनारभित्र बत्ती निभ्यो भने इनारमा पस्न वर्जित गरिएको हुन्छ। इनार सफा गर्दा कति जनाको अक्सिजनको अभावमा मृत्यु भएका समाचार छापामा हाल आएको देख्दा हाम्रा पूर्वज वैज्ञानिक थिए भन्ने कुरा सहजै प्रमाणित हुन्छ। बत्ती बालेर तल पठाउने अक्सिजन ग्यासको परीक्षण प्रविधि हो।
जलाशय सफा गरेपछि पञ्चामृत फूल र अक्षता आदिद्वारा पूजा गरिन्छ, नाग देवताको आराधना हुन्छ। यसरी पूजा गरेपछि चार पाँच दिनसम्म तलाउ र इनारको पानी निकालिँदैन। सफा गर्दा र पूजा गर्दाका सामग्री सबै पिँधमा जम्मा भएपछि मात्र पानी स्वच्छ हुने हुँदा उक्त व्यवस्था गरिएको हो। पानी सफा गर्नु चुनको प्रयोग गरिन्छ, चुनले पानी स्वच्छ बनाउने विश्वास गरिन्थ्यो। यस पर्वको दिन किसानले आफ्नो खेतबारीमा बँ पूजा अर्थात् भूमि पूजन गर्ने र खेतबारीमा काम नगर्ने चलन छ।
सोही दिन नेवार समाजमा कुलपूजा गर्ने तिथि थाहा नहुनेहरूले देवाली (कुलपूजा) गर्ने गर्दछन्। सोही दिन एक अर्कालाई शुभकामना आदानप्रदान गरेकाे पनि गरेको पाइन्छ। यसै दिन नवविवाहित छोरीलाई घरमा आमन्त्रण गरिन्छ र मिष्ठान्न परिकारसहित भोज खुवाउने रित पनि चलेको छ। यस पर्वपछि खेतीपातीको समय पर्ने हुँदा केही महिनासम्म कुनै चाडपर्व उत्सव नमनाउने संस्कृति पनि विद्यमान छ। अतः यो वर्षकै अन्तिम पर्व हो भन्न सकिन्छ।
सिथी नःखलाई कुमार षष्ठी पनि भन्ने गरिन्छ। यस दिन कुमार कार्तिकेयको जन्मदिनको अवसर भएको जनविश्वासका आधारमा कुमार कार्तिकेयको पूजा अर्चना र आराधना गर्ने गरिन्छ। कुमारलाई बहादुरी र पराक्रमको प्रतीकका रूपमा लिने र जनताको रक्षकका रूपमा पूजन गरिन्छ।
यसैगरी कुमारको उपासनाबाट बाली सप्रने र बर्सात्को समयमा लुतो, घाउ, खटिरा जस्ता छालामा लाग्ने रोगले दुःख नदिने विश्वास पनि गरिन्छ।
भक्तपुरमा राजा यक्ष मल्लले शहरलाई अग्लो पर्खाल घेर्न लगाई छेउमा हिलेपोखरी निर्माण गरेका थिए। साथै सिथी नःखको दिन सबै किल्ला सफा गर्ने परम्परा चलाएका थिए भन्ने भनाइ छ।
यसै दिन भक्तपुरको चासखेलमा चण्डीदेवीको पूजा गरिन्छ भने काठमाडौँको जैसीदेवलमा शिव पार्वतीका ज्येष्ठ पुत्र कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर विशेष पहिरन गहना आभूषण आदि लगाई खटमा राखी नगर परिक्रमा गर्ने गरिन्छ।
यसैगरी मध्यपुरथिमीमा करुणामयको भव्य खटजात्रा गरी स्नानपछि विभिन्न पूजा गरी यसै दिन जात्रा गर्ने परम्परा छ। सोही पर्वको उपलक्ष्यमा कागजको पङ्खा बनाएर कौसीमा राख्ने गरेको पनि आजसम्म देखिँदैछ।
यसैदिन नेवार समुदायले आफ्नो घरको प्रवेशद्वारमा आठवटा कमलको फूलको चित्र कागजमा र धातुमा कुँदी राख्ने प्रचलन पनि छ। यसलाई कुमार कार्तिकेयप्रति आस्थाभक्तिको प्रतीकका रुपमा लिइन्छ। यस क्रियालाई पिखालखु भनिन्छ। पिखालखु नेवारी संस्कृतिकै एक महत्त्वपूर्ण विशेषता हो।
यो संस्कार भक्तपुरमा विशेष रूपमा उल्लेख्य छ। पिखालखुले सार्वजनिक स्थल समाप्त भई व्यक्तिको घर परिसर प्रारम्भ भएको सङ्केत पनि गरेको भन्ने भनाइ छ। यो दिन स्नान गर्नाले कुमार कार्तिकेयबाट आशीर्वाद पाई रोगव्याधि नलाग्ने जनविश्वास छ।
सिथी नःखको दिन जलसफाइ कार्यक्रम समाप्त भएपछि सामूहिक र पारिवारिक रूपमा भोज खाने चलन छ। नेवारी समाजमा भोजको आफ्नै संस्कार, अनुशासन र मान्यता छन्। विभिन्न पर्व उत्सव जात्रा र संस्कारमा भोजपिच्छे परिकारहरू फरकफरक हुने गर्दछन्। सिथी नःखमा चटामरी र छ थरीका वँ (बारा), छोइला, चिउरा, दही, तरकारी र अचार खाने गरिन्छ। साथमा थोँ (बियर) र ऐला (रक्सी) पनि सेवन गरी मनाउने गरिन्छ। चटामरी जुन इटालियन पिज्जा जस्तै पूर्ण भोजन हो, पिज्जाभन्दा जेठो आविष्कार हो। यस खानालाई परिस्कृत गर्दै लगेमा आजका युवाहरूको पिज्जाप्रतिको मोह कम गराउन सकिन्थ्यो। अन्य क्षेत्रमा जस्तै खानपिनमा पनि पश्चिमी शैलीको प्रभावले गर्दा रैथाने परिकारको पहिचान हराउँदै जाने हो कि भन्ने सम्भावना बढेको छ। यसतर्फसमेत सचेत रहन यो पर्वले सन्देश दिएको छ।
अध्यात्मिक र धार्मिक जीवनमा जलको महत्त्व हाम्रा पुर्खाले राम्ररी बुझेका थिए र टाढाटाढाका मूल पत्ता लगाई ढुङ्गेधारा निर्माण गराएका थिए। लिच्छविकाल र मल्लकालमा बनेका ढुङ्गेधाराहरूले नै हिजोसम्म सहरवासीको आवश्यकता पूरा गरेका थिए।
ढुङ्गेधाराको निर्माणको प्रविधि कौशल र सीपका विषयमा आज धेरै अध्ययनअनुसन्धान भएका छन्। हाम्रा पुर्खाले दिएका उपचार हामीले संरक्षण त गर्न सकेनौँ उल्टो विनाश गरिरहेका छौँ। काठमाडौँ उपत्यकामा हिजोसम्म चलनचल्तीमा ५७३ ढुङ्गेधारा थिए। यीमध्ये हाल ९८ ढुङ्गेधारा लोप भइसकेका छन् भने २५५ ढुङ्गे धारा सुक्खा भएका कारण पानी नै नआउने अवस्थामा रहेका छन्। बाँकीमा आंशिक पानी आइरहे पनि क्रमशः सुक्ने क्रममा रहेका देखिन्छन्।
हाम्रो स्वार्थका कारण आज काठमाडौँवासीले काकाकुल जीवन बिताउन बाध्य भएका छन्। हामीले देख्दा देख्दै धेरै ढुङ्गेधारा सुकिसकेका र कतिको अस्तित्व नै बाँकी रहेको छैन। हिजो ढुङ्गेधाराले के कति सुविधा दिएको थियो र आज किन भएन भन्ने चेत स्थानीयवासी तथा सरकार दुवैमा देखिएन।
काठमाडौँ कङ्क्रिट नै कङ्क्रिटको जङ्गल बन्न पुग्दा परेको पानी सोच्ने जमिन नै नभएको र उक्त कारणले जनजीवनमा परेको असर तथा भविष्यमा पर्न जाने खतरामा सोच्ने फुर्सद कसैमा देखिँदैन। पृथ्वीनारायण शाहले ‘पानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरू जग्गामा सारिकन पानी चलाउनु.....घरहरू अरू जग्गामा सारी कुलो काटी षेत बनाई आवाद गर्नु’ भन्ने उपदेश दिएका थिए। तर हामीले आज राजकुलो नासी ढुङ्गेधारा मासी आफ्नो पुरुषार्थ देखाउँदैछौं। हाम्रै कारण सांस्कृतिक सम्पदा विकासको नाममा विनाश हुँदै गएका छन्।
काठमाडौँवासी र सरकारले सिथी नःखको सन्देश बुझ्न सकेको भए आज हाम्रा नदीनाला ढल बन्ने थिएनन्। पानीको आपूर्ति सहज हुने थियो। आज नदीनालाको सफाइमा आन्दोलन नै हुन थालेका छन् भने पानीको स्रोत मेटाएर भीमकाय भवनहरू सरकारले बनाउँदैछ।
हामी हाम्रा पुर्खाका कीर्ति मासेर कृतघ्न हुँदैछौं। विगतमा भएका अप्रिय घटना स्मरण गर्दा र महत्त्व दिँदा समाजमा द्वन्द्व निम्त्याउन हामी अग्रसर हुने गरेका छौं तर पुर्खाले प्रारम्भ गरेका राम्रा कार्यको निरन्तरता दिन र उनीहरूले गरेका राम्रा कार्य, राखेका कृति मास्न हामी तयार छौं।
हामी झिनामसिना कुरामा हड्ताल नेपाल बन्द जस्ता कार्य गर्न तत्पर हुन्छौं तर सांस्कृतिक धरोहर सम्पदा पुर्खाका कृति मास्न गरेका कार्यको विरोधमा चुँ समेत बोल्दैनौँ।
आज भक्तपुर, ललितपुर र काठमाडौंका स्थानीय सरकार पुर्खाबाट पाएका उपहार बचाउन सानोतिनो कसरत प्रारम्भ गर्दैछन्, यो उत्साहजनक कदम हो। अब पुर्खाबाट पाएको सम्पत्ति जोगाउन सम्पूर्ण नेपाली नै जागरूक हुनुपर्ने अवस्था आइसकेको छ। यस कटु सत्य आत्मसात गरी पानीको स्रोत संरक्षण गर्न यस पर्वले हामीलाई उत्साहित बनाओस्। साथै, यस पर्वको दिन जल संरक्षण दिवसका रूपमा घोषणा होस्।
(संस्कृतिविद् प्राडा तीर्थप्रसाद मिश्र, रासस)
प्रकाशित: १८ जेष्ठ २०८२ १२:५९ आइतबार