शारीरिक स्वास्थ्य र मानसिक रोगलाई पृथक रूपमा हेर्ने चलन छ। एकले अर्को पक्षलाई प्रभाव पार्दैन भन्ने धेरैको सोच देखिन्छ। तर यथार्थमा दिमागी तन्दुरुस्ती र शारीरिक स्वास्थ्यबिच दरिलो सम्बन्ध देखाएका छन् धेरै अनुसन्धानले।
दर्जनौँ अन्वेषणात्मक लेखलाई संश्लेषण गरी सन् २०२३ मा करियस जर्नलमा प्रकाशित एक समीक्षात्मक लेखले शरीर र दिमागको अन्योन्याश्रित सम्बन्ध देख्यो। मानसिक स्वास्थ्य दरिलो हुँदा शारीरिक अवस्था सबल हुन्छ, धेरै किसिमका जटिल रोगहरू टाढै बस्छन्। त्यस्तै दिमागी स्वास्थ्यमा सम्झौता हुँदा ससाना समस्याले पनि व्यक्तिलाई थिलथिलो पार्ने देखियो।
एक अध्ययनले मधुमेह, क्यान्सर, मुटु रोग तथा हाडजोर्नीको समस्यालाई दिमागी थकानसँग जोडेको छ। मस्तिष्क रोगले सुत्न समस्या दिने अनि अनिदो हुँदा धेरै किसिमका रोगलाई हौस्याउँछ। त्यस्तै मानसिक थकानमा परेकालाई चुरोट बिँडीमा पाइने निकोटिनले तत्कालै डोपामिन हर्मोन उत्पादन गरी दिमागलाई क्षणिक आनन्द दिने भएकाले मस्तिष्कको समस्या भएका मानिसले धूमपान गर्ने सम्भाव्यता अधिक हुन्छ। परिणामस्वरूप धुवाँले ल्याउने मुटुजन्य समस्या अनि फोक्सोको रोगको सिकार हुन्छ व्यक्ति। तसर्थ, मानसिक रोगले धेरै किसिमका शारीरिक समस्या र रोगलाई मलजल गर्छ।
शारीरिक क्रियाकलापमार्फत मानसिक समस्यालाई समाधान गर्न अथवा दिमागलाई तागतिलो बनाउन सकिन्छ त भन्ने प्रश्नको उत्तर दिन बेलायतको म्यानचेस्टर विश्वविद्यालयका प्राध्यापक जुलियस अर्नबर्गर नेतृत्वको समूहले ११ हजार अधबैँसेको शारीरिक क्रियाकलापले निर्देशित गरेको मानसिक अवस्थालाई चिरफार गरेर सोसियल साइन्स एन्ड मेडिसिन जर्नलमा एक अनुसन्धान प्रकाशित गरे।
अध्ययनले शारीरिक परिश्रमले व्यक्तिलाई मानसिकरूपले सबल बनाउँछ भन्ने मात्र देखाएन, बरु उमेर छँदा गरेको कसरतले व्यक्तिको दिमागलाई बुढेसकालमा पनि ऊर्जावान बनाउने उक्त अन्वेषणको ठहर भयो। जुनसुकै उमेरमा गरेको शारीरिक परिश्रमले जिन्दगीभरको दिमागी ऊर्जा दिने देखियो। दिमागी सबलताले शारीरिक स्वस्थता प्रदान गर्ने अनि काया ठीकठाक हुँदा मस्तिष्क दुरुस्त हुन्छ भन्ने उल्लिखित अन्वेषणहरूको निचोड देखियो। तर के कुनै एक क्रियाकलापले दिमागी र शारीरिक दुवै रूपले हामीलाई स्वस्थ राख्न सक्छ त?
शारीरिक कुशलताले मानसिक समस्यालाई सुधार्ने अनि दिमाग चंगा हुँदा शरीरमा फूर्ति ल्याउने भएकाले पूर्वीय सभ्यतामा ऋषिमुनीहरूले ध्यान, योग अनि प्राणायाममार्फत समष्टिगत स्वास्थ्यको अभ्यास गरे। पश्चिमी सभ्यताले पूर्वीय दर्शनलाई दखल गर्दा हजारौँ वर्षदेखि चल्दै आएका दर्जनौँ चलन हराए।
योग, साधना, आराधना, भजन कीर्तन जस्ता अदृश्य क्रियाकलापले कसरी निरोगी राख्न सक्छ भन्ने तर्क हुन थाल्यो। टाउको दुखेको ओखती खाएको केही बेरमै सन्चो भए जस्तो योग तथा आराधनाले क्षणमै व्यक्तिलाई सकुशल बनाउन नसक्ने भएकाले पाश्चात्य तर्कसँग हाम्रो अभ्यास पराजित भयो। पश्चिमा दबाइको वर्चस्व बढेपछि हाम्रा परम्परागत मान्यता कमजोर भए।
यसरी पाश्चात्य मुलुकको उपनिवेशले गर्दा पूर्वीय दर्शनमा आघात पर्यो। हजारौँ वर्षदेखि चल्दै आएको आयुर्वेद ओखती, ध्यान, योग, प्राणायामलाई निकम्बा सावित गरियो अनि शारीरिक समस्या र मानसिक पीडा दुवैको समाधानका लागि अंग्रेजी ओखतीलाई अपरिहार्य साधन मानियो। जडिबुटीको सट्टा पश्चिमा दबाइको दबाब बढ्यो, रोग निको पार्न। तर सबै रोगका लागि ट्याब्लेट सञ्जीवनी सावित भएनन्। मानसिक समस्या समाधानमा आधुनिक ओखती खासै प्रभावकारी देखिएन भने क्यान्सरलगायत धेरै दुर्लभ रोग अनि अटोइम्युन डिजिज बिसेक पार्ने सवालमा फर्मास्युटिकल कम्पनीहरू निरीह देखिए। खबौँ डलर खर्चंदा पनि अर्बुद रोगको इलाजमा खासै प्रगति नभएपछि अन्य विकल्पको बहस भयो।
एकै रोग लागेका दुई मानिसलाई समान ट्याब्लेट दिँदा दबाइले समस्या समाधान गर्छ भन्ने विश्वासका साथ ओखती खानेलाई रोग निको भएको देखियो भने मेडिसिनले आफूलाई सन्चो पार्छ भन्ने भरोसा नभएकाको हकमा गोली निष्प्रभावी देखियो। उक्त परिदृश्यले दिमागले शारीरिक तन्तुलाई चलाउँछ अनि विश्वास आफैँमा दबाइ हो भन्ने कुरा पुष्टि भयो। मानसिक समस्या भएको मानिसलाई अंग्रेजी ओखतीभन्दा जंगलमा घुमफिर गर्दा हित गरेको देखिनु अनि शारीरिक कसरत गर्ने मानिसलाई लरतरो दिमागी समस्याले दख्खल नगर्नु जस्ता परिदृश्यले दिमाग र शरीरबिचको सम्बन्ध पुष्टि भयो।
क्यान्सरलगायतका धेरै रोगलाई ओखतीले नछुनु अनि दिमागी समस्यालाई आधुनिक उपचार निष्प्रभावी देखिँदा प्राचीनकालमा हिमालय पर्वतका समीपमा योगी तथा सिद्ध पुरुषले गर्ने योग, ध्यान, प्राणायाम एकपटक फेरि उत्खननको केन्द्र बन्यो। पछिल्लो समयमा महारोगको आयतन बढ्नु अनि उपचारका प्रयासहरू टाढिँदै जाँदा पुरातन कालका साधनाका बहुआयामिक अध्ययन भयो। पछिल्लो दशकदेखि योग, प्राणायम र ध्यानहरू संसारभर प्रयोगमा आए, प्राथमिकतामा परे।
अमेरिकी स्टानफोर्ड विश्वविद्यालयका मनोचिकित्सक डा. भानिका चावला योगले दिमाग र शरीरबिच दोहोरो संवादमार्फत फाइदा गर्ने ठान्छिन्। शारीरिक स्वास्थ्यले दिमागी मजबुतीमा मद्दत गर्ने अनि मस्तिष्क सबल हुँदा शरीरलाई फाइदा हुन्छ भन्छिन् उनी, अनि योगले एकै पटक ब्रेन र बडीबिचको संवाद गराइ दुवै पक्षलाई लाभ दिने ठान्छिन् । साधना गर्दा दिमागले शरीरको आवश्यकतालाई तुरुन्तै पहिचान गरी तत्कालीन मागलाई प्राथमिकतामा राख्न आदेश दिन्छ।
उदाहरणका लागि शारीरिक थकानपछि दिमागले तुरुन्तै विश्रामको आदेश दिने भएकाले शरीरलाई जीर्ण हुनबाट जोगाउँछ। त्यस्तै मुटु, कलेजो, फोक्सोलगायतका अंगले आफ्नो आवश्यकता र समस्याको जानकारी अविलम्ब मस्तिष्कलाई गराउँछ। कुनै तन्तुमा खराबी आएको जानकारी पाउने बित्तिकै मस्तिष्कले उपयुक्त रासायनिक तत्व तथा हर्मोन उत्पादनमार्फत समस्या समाधान गर्न सहयोग गर्छ। योगले दिमाग र शरीरबिचको संवादलाई छिटो प्रवाह गर्छ। तर साधना नगर्ने व्यक्तिको हकमा दिमाग र शरीरको वार्तालाप ढिलो हुने भएकाले तुलनात्मक लाभबाट वञ्चित हुने ठान्छिन् चावला।
सन् २०२० मा फ्रन्टियर्स इन इन्टिग्रेटिभ न्युरोसाइन्समा प्रकाशित आलेखले योग, ध्यान र प्रणायाम गर्ने व्यक्तिमा दिमागी कोस, न्युरोन बढी हुने मात्र देखाएन, बरु स्मरण भण्डारण र प्रशोधन गर्ने हिप्पोक्याम्पस र कोर्टेक्सको क्षमता पनि बढेको देख्यो। त्यस्तै सन् २०१९ मा सेज जर्नलमा प्रकाशित पृथक अन्वेषणले योग साधना गर्ने समूहको दिमागको एमआरआई गरी हेर्दा मस्तिष्कको समष्टिगत आकृति मात्र ठूलो देखिएन बरु रक्त प्रवाहसमेत अधिक भएको पाइयो। यसरी विश्लेषणात्मक क्षमता अनि प्रशोधन शक्तिका लागि जिम्मेवार दिमागका खण्डहरूको मजबुतीकरणले गर्दा योग ध्यान साधनामा लागेका व्यक्तिहरूलाई पाका उमेरमा लाग्ने दिमागी रोगको सम्भावना न्यून हुने ठान्छन् विज्ञहरू।
त्यस्तै अस्ट्रेलियाको युनिभर्सिटी अफ मेलबर्नका प्राध्यापक सेन्टल स्काइको समूहले सन् २०१७ मा साइकोन्युरोइन्डोक्राइनोलोजीमा योग साधनाले दिमागी तागतमा पार्ने प्रभाव चर्चा गरेका छन्। त्यस्तै योग सिर्जित प्रसन्नताले प्रतिरक्षा प्रणालीलाई सबलीकरण गरी ब्याक्टेरिया, भाइरसलगायतका सुक्ष्माणुको संक्रमणबाट जोगाउँछ। प्राणायाम अभ्यासले थकान कम गर्न मद्दत गर्ने, पीडाबोध घटाउने, मुटुको चाल सन्तुलन गर्ने, अनि रासायनिक तत्व न्युरोट्रान्समिटर उत्पादन गरी प्रतिकूल अवस्थामा कसरी दिमाग र शरीरलाई अविलम्ब समन्वय गरी अनुकूलतामा फर्कन मद्दत गर्ने देखियो। तसर्थ, योग, साधना तथा प्राणायामले हामीलाई दिमाग र शरीरबिचको अन्तरसम्बन्धलाई दुरुस्त बनाइ विभिन्न किसिमको रोगबाट बचाउने देखियो।
एक अध्ययनले भजन, कीर्तन, कथा, प्रवचनजस्ता कर्महरूले समेत योगले जस्तै मस्तिष्क र कायाबीचको सम्बन्धलाई सबलीकरण गरी हामीलाई स्वस्थ राख्ने भन्यो। तसर्थ, परापूर्वकालदेखि चल्दै आएका योग साधना तथा धार्मिक मान्यतालाई अन्धकारको संज्ञा दिनुको बदला संरक्षण गर्न सके समष्टिगत स्वास्थ्य अवस्थामा सुधार आउँथ्यो कि?
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।
प्रकाशित: १६ वैशाख २०८२ ०९:३२ मंगलबार